Sunday, July 12, 2009

'नेपालमा ९० सालभन्दा ३० गुणा ठूलो भूकम्पको खतरा'

विसं १९९० मा नेपालमा गएको महाभूकम्पको चर्चा सबै गर्छन् । तर, नेपालमा अब यति ठूलो भूकम्प जाँदै छ कि ९० सालको भूकम्प निकै सानो हुनेछ । किनकि, हामी ९० सालको भन्दा करिब ३० गुणा बढी क्षति गराउने महाभूकम्पको प्रतीक्षामा छौँ । त्यस भूकम्पले तराईदेखि पहाडसम्म भयंकर क्षति पुर्‍याउनेछ । ९० सालको भूकम्पले भक्तपुर र काठमाडौंका थुप्रै मठमन्दिर र घरहरू भत्काएको थियो । त्यति बेला भारतको बिहार राज्यमा पनि गएको त्यस भूकम्पभन्दा ३० गुणा बढी क्षति गराउने अबको महाभूकम्पले नेपालको कुन हालत बनाउला ? त्यसले काठमाडौं, पोखरा, विराटनगरलगायत ठूला सहरको अवस्था कस्तो बनाउला भन्ने सम्बन्धमा प्रशस्तै अध्ययन भइसकेका छन् । तिनले डरलाग्दा तथ्यहरू सार्वजनिक गरेका छन् ।
हामीलाई एउटा ठूलो भूकम्प जानैपर्छ र जान्छ भन्नेसम्म थाहा छ, तर कहिले जान्छ भन्नेचाहिँ अहिलेसम्म पत्ता लगाउन सकिएका छैन । नेपालको इतिहासमा यस्ता भूकम्प धेरैपटक गएका छन् । लिच्छविकालमा संवत् २५५ मा ९० सालको भन्दा धेरै गुणा ठूलो भूकम्प गएको थियो । युरोपेली पात्रोले त्यसको व्याख्या गर्छ । त्यस्तै, २५०० वर्ष अगाडि शाक्यमुनि बुद्धका पालामा पनि नेपालमा विशाल भूकम्प गएको थियो । तर, त्यो भूकम्प कस्तो थियो र के-के भयो भन्ने जानकारी पाइसकिएको छैन । त्यस भूकम्पबारे जान्न हामी नेपालको पुरातत्त्व विभागको सहयोगमा पुरातात्त्विक वस्तुको अध्ययन गरिरहेका छौँ— खासगरी, लुम्बिनी क्षेत्रका पुरातात्त्विक वस्तुका । पुरातत्वविद्हरूले त्यसबेला भूकम्प गएको थियो भन्ने केही संकेत पाएका छन्, जो भूकम्पीय अध्ययनका लागि महत्त्वपूर्ण छन् ।
किन जान्छ त नेपालमा भूकम्प ?नेपाल सक्रिय रूपले महादेशीय ठक्कर खाने क्षेत्रमा अवस्थित छ । त्यसैले यस हिमाली देशमा ठूलो भूकम्प जाने सम्भावना रहेको हो । भारतीय पठारको जमिनका पाप्राहरूको बनोट महासागरीय माटो र पत्रले बनेको छ । भित्री सतह तातो र चिप्लो छ । माथिल्लो आवरणको केही भाग जसलाई भूतत्त्व-पट्टिका (टेक्टोनिक प्लेट) भनिन्छ, यो लेदो परेको छ । त्यही भाग घसि्रने र चिप्लिने गर्दार् भूकम्प पैदा हुन्छ । ती भूतत्त्व-पट्टिकाहरू पृथ्वीको भित्री भागको गतिशीलताका कारण हलचल गर्छन् । यस हलचलले ड्याङजस्तो परेको महासागरीय ढिस्को (ओसियानिक रिजेज) र महासागरीय सुरुङ भाग (ओसेयानिक टे्रन्चेज) मा पट्टिकाहरू निर्माण गर्न भूमिका खेल्छ । महादेशहरू चलायमान हुन्छन् । ती चल्दा दुई महादेश चिप्लिएर नजिकिँदै जान्छन् । भित्र हुने त्यही हलचलले भूकम्प पैदा गर्ने हो ।
अहिले भारत र चीनको स्वशासित प्रदेश तिब्बत वाषिर्क पाँच सेमीका दरले अगाडि बढिरहेका छन् विपरीत दिशातर्फ । यसो हुँदा पृथ्वीका पत्रहरू सरेर माथिल्लो तहमा चिरा पर्ने र चट्टानहरू धकेलिने गर्छन् । झट्ट सुन्दा यो दुई सेमी थोरैजस्तो लागे पनि धेरै हो । चीन उत्तरबाट दक्षिण र भारत दक्षिणबाट उत्तरतिर सर्दै गएको छ । दुई क्षेत्र यसरी नजिँकिदै जाँदा एक दिन जम्काभेट भएर ठोकिन्छन् । त्यही बेला भूकम्प जान्छ । ती कुनै बेला बिस्तारै ठोकिन्छन्, त कुनैबेला जोडले । यसरी एउटा निश्चित गतिको शक्तिले धक्का दिँदा एक भाग धसिन्छ त अर्को माथि उठ्छ । कहिलेकाहीँ चाहिँ महादेशहरू अगाडि त बढ्छन् तर भूकम्प जाँदैन । ५० लाख वर्षपछि अहिले भारतभित्र दबिँदै गएर तिब्बती भाग माथि पर्नेछ । त्यसैले नेपालको हिमाली भागलगायत तिब्बती क्षेत्र अग्लिँदै गएको हो ।
भूकम्प नगई डाँडाकाँडा र पहाडपर्वत बन्दैनन् । त्यसैले, भूकम्प जानु जरुरी छ । प्रश्न कहिले, कहाँ, कत्रो जान्छ र कति क्षति पुर्‍याउँछ भन्ने हो । हिमाल/पहाड बन्ने अर्को कारण ज्वालामुखी पनि हो । तर, नेपालमा ज्वालामुखीको समस्या भने अहिलेका लागि छैन । चिनियाँ भूभाग अर्थात् उत्तरी भाग माथि चढ्ने हुनाले हिमाल पनि चुलिँदै जान्छन् । भारत र तिब्बतका बीचमा भइरहेको यो सर्ने प्रक्रिया सबैभन्दा छिटो भइरहको छ । फ्रान्सको पनि हिमाली (आल्पस) क्षेत्रमा भूकम्प नगएको होइन । अहिलेचाहिँ रोकिएको छ त्यस क्षेत्रमा । जान त भूकम्प महासागरभित्र पनि जान्छन् । जापान, इन्डोनेसिया र अमेरिकाको प्रशान्त महासागरवरिपरिको पानीमुनि त्यस्तो भइरहेको छ । पानीमुनि गएको भूकम्प हामी त्यति थाहा पाउँदैनौँ र त्यसले त्यति क्षति पनि गर्दैन ।
महादेश र पठार तुरुन्तै ठोकिने होइनन् । बिस्तारै सर्दै गएर लाखौँ वर्षको समय लाग्छ ठोक्किन । भारत त पहिले एसिया महादेशमै थिएन । करिब दुई करोड वर्षपहिले टेथ्य भनिने समुद्रले भारतीय महाद्वीपीय-कपट्टिका (कन्टिनेन्टल प्लेट) लाई युरासियाको पट्टिकाबाट छुट्टयाएको थियो । यसैगरी सर्दै गएर पछि मात्रै एसिया महादेशमा जोडिन आइपुगेको हो भारत ।
हराउन सक्छ सगरमाथा पनिभूकम्प जाँदा हिमाल चल्छन् । पहिरो जान्छ । उपत्यका सर्छन् । कुनै उपत्यका त नामेट नै हुन्छन् । नयाँ उपत्यका जन्मिन्छन् । भूदृश्य (ल्यान्ड्स्केप) बदलिन्छन् । सन् २००४ मा पाकिस्तानमा गएको भूकम्पले केही उपत्यकालाई १० देखि २० मिटर तल झारेको थियो ।अहिले सगरमाथा बिस्तारै अग्लिरहेको छ । कुनै दिन त्यसको उचाइ घट्दै गएर सबैभन्दा पुड्को हिमाल पनि बन्न सक्छ । सगरमाथा धसिँदै र के टु ठडिँदै जाने भयो भने किन सम्भव नहुने ? तर, यो तत्कालै हुने प्रक्रिया नभएर दसौँ लाख वर्षको प्रक्रिया हो । हिमाल विशाल र अडिग लाग्छन् । तर, ती पनि घडीका सुईजस्तै चलमल गर्छन् । धरती नै चलायमान भएपछि यहाँका हरेक वस्तु चलायमान हुने नै भए ।
लाखौँ वर्षको इतिहास हेर्‍यौँ भने कुनै हिमाल माथि गएको त कुनै तल खस्केको पाउँछौँ । हामीले के अनुमान गरेका छौँ भने करिब एक करोड ५० लाख वर्षपहिले फ्रान्सको आल्पस क्षेत्रमा पनि सगरमाथा जत्तिकै अग्ला हिमाल थिए । तर, ती पछि विलुप्त भए । आल्पस क्षेत्रमा हिमाल नासिएझैँ सगरमाथा पनि आठ/दस करोड वर्षपछि त्यसैगरी हराउन सक्छ । एसिया र खासगरी हिमाली वृत्तमा भएको यो तीव्र भूकम्पीय क्रियाकलाप निरन्तर चलिरहने पर्वत रचनाक्रिया (ओर्गोजेनेसिस प्रोसेस) हो ।
तिब्बत चुलिँदा वैज्ञानिक आश्चर्यचीनको स्वशासित क्षेत्र तिब्बत पाँच हजार मिटरभन्दा पनि बढी उचाइमा पुगेको छ । यसको कारण यही हो भन्न सकिने अवस्था छैन । हिमाली क्षेत्रबाट टाढाको तिब्बत त्यसरी अग्लो हुन पुग्यो । हिमाली भागबाट निकै टाढा तिब्बतका सिँचुवान राज्य पनि अग्लिइरहेको छ । हामीले बुझ्न नसकेको कुरा नै यही हो ।
खुम्बुदेखि चितवनसम्मका पहाडले उचाइ लिइरहेका छन् । प्रतिवर्ष ती दुई सेमिका दरले अग्लिइरहेका छन् जुन निकै धेरै हो । हिमाली क्षेत्रमा भएको उचाइको वृद्धि आश्चर्यजनक छ । विश्वव्यापी मौसम-परिवर्तन पनि यौटा कारण हुनसक्छ । मौसम-परिवर्तनका कारण सगरमाथाको बरफ पग्लिन्छ । बरफ पग्लिँदा त्यसको उचाइ घट्दै जानसक्छ । हाललाई भने सगरमाथाको उचाइ चुलिँदो छ । त्यसैले सगरमाथा अहिले, जर्ज एभरेस्टले नापेको बेलामा भन्दा अग्लो भयो भनिएको हो । हामीले के अनुमान गरेका छौँ भने सगरमाथा अहिले वाषिर्क चार मिलिमिटरका दरले चुलिँदै गएको छ । सगरमाथा मात्रै नभएर अन्नपूर्ण, मनास्लुलगायत समग्र हिमाली शृंखला नै अग्लिइरहेको छ ।
नेपालमा एकदम धेरै जान्छन् भूकम्प । साना भूकम्प त निरन्तर गई नै रहन्छन् । तर, चार म्याग्निच्युडदेखि मात्रै वस्तुहरू हल्लने र थर्कने गर्छन् । साना भूकम्प हप्ताको सरदर एउटा र ठूलोचाहिँ वर्षमा एउटा जान्छ नेपालमा । ६ म्याग्निच्युडको भूकम्पलाई हामी ठूलो भन्छौँ, किनभने यसले घरहरू भत्काउन थाल्छ । तर, सबै भूकम्प जाँदा मानिसले चाल पाउँदैनन् । पहाड, हिमाल, जंगलतिर गएका भूकम्प स्थानीय मानिसले थाहा नपाउन सक्छन् । यस्ता भूकम्प धेरै जान्छन् नेपालमा ।
भ्रम र यथार्थनेपालका सबै सीमाक्षेत्र र एसियाका सबैजसो भागमा भूकम्पीय सम्भावना र जोखिम देखिन्छ । नेपाल निकै भूकम्पीय जोखिम भएको क्षेत्र हो । तर, कतिपयले भन्नेगरेजस्तो सबैभन्दा बढी भूकम्पीय जोखिम भएको क्षेत्र भने होइन । पाकिस्तान, भारतको आसामलगायत पूर्वी र उत्तरी भाग, बर्मा, थाइल्यान्ड, जापान, इन्डोनेसियालगायतका देशमा भूकम्पको जोखिम प्रशस्त देखिन्छ । भारतीय सामुदि्रक भागमा पनि धेरै सम्भावना छ, तर पानीभित्र भूकम्प जाने भएकाले धेरै क्षति हुँदैन ।
ठूलो भूकम्प गएको ठाउँमा फेरि तत्कालै अर्को ठूलो भूकम्प जानु दुर्लभ हो । त्यसैले, अहिले एकदम ठूलो भूकम्पको सम्भावना नेपाल र आसामको पूर्वी भागमा छ । यसको कारण के पनि हो भने धेरै लामो समय भइसक्यो आसाममा ठूलो भूकम्प नगएको । भूकम्पबारे अमेरिकालगायत अन्य ठूला र विकसित देशमा पनि प्रत्येक ६० वर्षमा ठूलो भूकम्प जान्छ भन्ने विश्वास थियो, नेपालमा प्रत्येक ९० वर्षमा ठूलो भूकम्प जान्छ भन्ने विश्वास भएझैँ । यो सत्य होइन । यसको वैज्ञानिक पुष्टि गर्ने कुनै पनि आधार छैन । अझ ह्वेल माछाले पृथ्वीलाई थामेर बसेको छ र त्यसले काँध फेर्दा पृथ्वी हल्लिन्छ, देउता रिसाएर भूकम्प जान्छ भन्ने कथन त पक्का हावादारी हुन् ।
भूकम्प एकैखाले हुँदेनन् । कुनै साना त कुनै ठूला हुन्छन् । कुनै पृथ्वीको धेरैभित्र जान्छन् त कुनै अलि बाहिर । कुनै बांगोटिंगो भएर जान्छन्, त कुनै सीधा । हामीले तिनलाई अवलोकन गर्न सकेका छैनौँ । नेपालका सन्दर्भमा त झन् कम जानकारी छन् हामीसँग । भूकम्पसम्बन्धी जानकारी बढी हासिल गर्न हामीले महत्त्वपूर्ण ठानेका ठाउँमा भूकम्पको सूचना बटुल्ने उपकरण राखेका छौँ । केही वर्षपहिले अमेरिकीले पनि त्यस्तै जानकारी लिन वीरगन्जदेखि त्रिशूलीसम्म ६ महिनादेखि दुई वर्षसम्म ७५ वटा उपकरण राखेका थिए ।
पृथ्वीसँगै नाच्छ उपग्रहपृथ्वीको धरातल धिमा गतिमा चलायमान हुन्छ । मानिसले भने भूकम्प जानुपूर्व वस्तुहरू यताउति चलेका महसुस गरेका छन् । कुनै चिज प्रायः भइरहेको ठाउँभन्दा अन्यत्रै मोडिएको पाइएका छन् । भिरालो ठाउँ अन्तै फर्किएको देखिएको छ । भूकम्प जानुपूर्व पृथ्वीको धरातलमा यस्तैखाले अनौठा परिवर्तन देखापरेपछि भूकम्प गएको थाहा पाइन्छ । तर, हामी वैज्ञानिकहरूले त्यसलाई अझै पनि मापन गर्न सकेका छैनौँ । ती निरन्तर देखिएका पनि छैनन् । अवलोकन भने पटक-पटक गरेका छन् मानिसहरूले । हामीसँग अहिलेसम्म त्यसको चित्तबुझ्दो व्याख्या छैन । अहिले केही वैज्ञानिक पृथ्वीको चुम्बकीय धरातल भूकम्पसँग सम्बन्धित भए/नभएको यथार्थ पत्ता लगाउन अध्ययन गरिरहेका छन् । त्यसका लागि केही भूउपग्रह पनि छाडिएका छन् । एउटा फ्रान्सेली र एउटा रुसी भूउपग्रह छाडिएका छन् । यिनले पृथ्वीको चुम्बकीय धरातलको चलायमानबारे खोजी गर्छन् । र, भूकम्प जानुपूर्व वस्तुहरू चले/नचलेको पनि हेर्छन् ।
अहिले हामीलाई भूकम्प कहाँ जान्छ भन्ने थाहा भए पनि कसरी र कहिले जान्छ भन्ने थाहा छैन । भूकम्पसम्बन्धी जानकारी बटुल्नका लागि हामीले काठमाडौंको त्रिचन्द्र क्याम्पस, त्रिभुवन विश्वविद्यालय र खानी तथा भूगर्भ विभागसँग मिलेर अध्ययन गरिरहेका छाँ । नेपालका विभिन्न ठाउँमा भूकम्पीय चहलपहललाई मापन गर्ने यन्त्र (सिस्म्रोग्राफ) २५ वटा राखेका छौँ । तिनले २४ सै घन्टा नरोकिईकन काम गरिरहेका हुन्छन् । ती मेसिनले म्याग्निच्युड एकदेखिको भूकम्पको हरेक झड्कालाई केन्द्रमा पठाउँछन् रेडियो तरंगमार्फत । तर, हामीले चाहिँ महसुस गर्न सक्दैनौँ । त्यस्ता केन्द्र सुर्खेत र काठमाडौं गरी दुईवटा छन् । भूकम्पको गति पत्ता लगाउन भूउपग्रहको माध्यमद्वारा जिपिएस प्रयोग गर्छां जुन नयाँ प्रविधि हो । जिपिएसका सात/आठवटा केन्द्रले लगातार काम गर्छन् नेपालका लागि । यो फ्रान्स र नेपालबीचको सम्भवतः सबैभन्दा पुरानो संस्थागत सहकार्य हो ।
भूकम्पका बारेमा धेरै अध्ययन हुने गर्छन् । नेपालमा हरेकपटक भूकम्प जाँदा खानी तथा भूगर्भ विभागले कहाँ गयो, कस्तो र कत्रो गयो भनेर गृह मन्त्रालयलाई तत्कालै जानकारी दिन्छ ताकि उद्धारकार्य सहज होस् । भूकम्प मापन गर्ने काम खर्चिलो छ । सिस्मोग्राफहरू बारम्बार बिगि्ररहने हुनाले तिनको मर्मत सम्भार गरिरहनुपर्छ । ती राखिएका केन्द्रमा गएर निरन्तर निगरानी पनि गर्नैपर्‍यो । त्यसबाहेक हामी अन्य अनुसन्धानका काम पनि गर्छौं । हाम्रो एनालाइसिस डिपार्टमेन्ट एन्ड इन्भाइरोमेन्टल सर्भिलियन्स (डिएएसई)ले सहकार्य गर्छ नेपालसँग ।
भूकम्प कहिले, कसरी र कस्तो तरिकाले जाला ? गएपछि के हुन्छ ? हामीले कहिलेसम्म पर्खिनुपर्ला ठूलो भूकम्प ? भूकम्पलाई कसरी स्पष्ट बुझ्न सकिन्छ ? भूकम्पको भविष्यवाणी गर्न हामी धेरै घोत्लिने गरेका छौँ । भूकम्प गयो भने कसरी बाँच्ने भनेर हामी गाउँलेलाई भेला गराएर ज्ञान पनि दिने गर्छौं ।
लौ है सतर्क रहनू !हामीले काठमाडौंमा भवन निर्माणबारे सतर्क गराउन थालेको दस वर्ष भइसक्यो । तर, जुनसुकै तरिकाले पनि भवन ठड्याउने क्रम चलिनैरहेको छ । काठमाडौंमा भवन निर्माणको तरिका पूर्णरूपमा परिवर्तन गर्नु जरुरी छ । तर, काठमाडौंका मानिसलाई त्यसबारे बुझाउन सकिएको छैन । हामीले पर्खिरहेको भूकम्प गयो भने काठमाडौंका केही ठाउँमा त कुनै पनि भवन बाँकी रहने छैनन् । ढलेका भवनले बाटो छेकेर उद्धार गर्न जाने ठाउँ पनि हुने छैन । ठमेलदेखि टेकुसम्म त सारा भवन ध्वस्तै हुनेछन् । त्यस क्षेत्रका मानिसका जीवन असाध्यै जोखिममा छ । हामीले यो कुरा वर्षौंदेखि भन्दै आएको हो । तर, कसैले सुनेका छैनन् । एक/दुई गर्दागर्दै साततलेसम्म घर ठड्याएका छन् मानिसहरूले, जब कि त्यहाँ भुइँतले घर मात्रै बनाउनुपर्छ । एउटा वास्तविकता के हो भने अब नेपालमा जाने ठूलो भूकम्प जताबाट गए पनि सबैतिर क्षति गर्नेछ ।
यही वेलामा जान्छ भन्न त कठिन छ, तर एक/दुई वर्षपछि हामी महाभूकम्प जान सक्ने सम्भावनातिर अगाडि बढ्छौँ र त्यो नयाँ कुरा पनि होइन । किनभने दस वर्षदेखि अमेरिकी प्राध्यापक रोजर बिलाँले 'सतर्क रहनू, लौ है नेपालमा अब महाभूकम्प जान सक्छ' भन्दै जनताको ध्यान तान्ने कोसिस गर्दै आएका हुन्, तर कसैले पनि टेर-पुच्छर लगाएको छैन ।
नेपालमा भवन निर्माणका नियम कानुन र आचारसंहिता नै नभएको भने होइन । तर, कसैले सम्मान गरेको छैन । अर्को कारण के भने नेपालमा तत्कालै नगरी नहुने कामले सरकारलाई व्यस्त बनाएको छ । भविष्यबारे सोच्ने फुर्सद नै छैन । सरकारलाई हतारो त निर्वाचनको हुन्छ । किनभने निर्वाचनको निश्चितता हुन्छ, तर भूकम्पको हुँदैन ।
अर्को कारण त भ्रष्टाचार पनि हो । तर, सबै कारण भ्रष्टाचार भने पक्कै होइन । भ्रष्टाचार त फ्रान्समा पनि हुने गर्छ । फ्रान्सको दक्षिणमा पर्ने निस भन्ने भागतिर सानाखाले भूकम्प जाने गर्छन् । त्यहाँ भवन तथा विमानस्थल निर्माणका लागि नियम बनाइएको थियो । तर, मानिसले पालना गरेनन् । मानिस आफ्नै हितका लागि बनाएका कानुन पनि मान्दैनन् । अनि क्षति भइसकेपछि सरकारलाई दोष दिन्छन् । कसले दबाब दिएको छ र काठमाडौंमा ६ तले घर बनाउन ? सरकारलाई मात्रै दोष दिने ?
मैले त काठमाडौंको बारेमा सोचेको छु । गाउँको बारेमा सोच्ने हो भने त झन् कहाली लाग्छ । उद्धारकर्मी पुग्दैनन् । भएका पनि सहर-बजारमै केन्दि्रत हुन्छन् । सडकहरू छिन्न-भिन्न भएका हुन्छन् । फोनका तार छिनेर गाउँ पूरै सम्पर्कविहीन हुन्छ । पानीका पाइप फुट्छन् । अस्पताल भवन ढल्छन् । भएका ठाउँमा पनि घाइते राख्ने ठाउँ हुँदैन । औषधिको अभाव हुन्छ । उद्धार गर्ने मानिस हुँदैनन् । अनि के गर्ने ? नेपालमा जाने महाभूकम्पपूर्व नै हामी सबै जानकारी लिने प्रयास गरिरहेका छौँ ? तर, भोलि नै गयो भने ? त्यसैले, हरेकपटक रेडियोमा भूकम्प गयो रे भन्ने सुन्नासाथ म झसंग हुन्छु । अन्तै गएको भन्ने थाहा पाएपछि 'ए नेपालमा होइनरहेछ' लामो सास फेर्छु । यसपटक बँचियो भनेर अलि ढुक्क हुन्छु । तर, एकदिन त भूकम्पको सामना गर्नु नै छ ?
पढिसकेपछि नेपाल बिर्सिने ?नेपालमा युवाशक्ति पलायन भएर पनि समस्या भएको छ । अध्ययन गर्ने दक्ष जनशक्तिको अभाव छ । युवा नेपालीहरू नेपालमा बस्दैनन् । नेपालमा अध्ययन गर्छन् अनि क्यानाडा, अमेरिका वा फ्रान्सतिर भाग्छन् । नेपालको ठूलो समस्या हो यो । शिक्षित पिँढी त्यसरी भागिदिएपछि को बस्ने त नेपालमा ? हामी त नेपालका लागि सधैँ काम गर्न सक्दैनौँ, सहयोग गर्ने मात्रै हो । काम त नेपालीले नै गर्ने हो । यो विषयमा म एकदम निराशावादी छु । हुन त नेपालीका लागि पनि गाह्रो छ । भूशास्त्र पढ्यो, काम नै पाइँदैन । काम नपाएर निराश भएका वेला विदेशमा मौका देख्छन्, अनि भाग्छन् ।
त्यति मात्रै हुन् र समस्या ?नेपालका हिमालका अर्को समस्या भनेको बढ्दो तापक्रम हो । सय वर्षदेखि नै पृथ्वीको तापक्रम विस्तारै-विस्तारै बढ्न थालेको हो । तीव्र रूपमा बढ्न थालेको गत दस वर्षदेखि मात्रै हो । अहिले वर्षको शून्य दशमलव एक डिग्रीका दरले बढिरहेको छ । तैपनि नेपालमा त्यत्ति धेरै बढिसकेको छैन । तर, नेपालमा वर्षा भने एकदम परिवर्तन भइरहेको छ । कहिलेकाहीँ मनसुन अति कम हुन्छ । अहिले नेपालमा पहिलेभन्दा वर्षा कम हुन्छ ।
नेपालमा चिन्ता के भने भारत र चीनमा तीव्र गतिमा विकास हुँदै छन् । त्यसरी विकास हुँदा बढ्ने सवारीसाधन र कलकारखानाले गर्दा झन् तापक्रम बढाउनेछ । नेपालमा हिउँ र बरफसम्बन्धी काम गर्नेले हिमालमा बरफ पग्लिइरहेको पाएका छन् । बरफ पग्लेर ताल बन्छ । उचाइमा त्यसरी ताल बन्नु ज्यादै खतरा हो किनभने त्यो प्राकृतिक बाँधजस्तो हुन्छ । अनि त्यहाँ बढी पानी जम्मा भएपछि त्यो भत्किन्छ । तापक्रम वृद्धिले हिमालको बरफ पगाल्नु नेपालका लागि ठूलो खतरा हो ।
प्रस्तुति : दधिराम सापकोटा/पेरिसबाट
(फ्रेदेरिक पेरिय भूकम्पविद् हुन् । लामो समयदेखि उनी भूकम्पीय र ज्वालामुखीय जोखिमको अध्ययन गरिरहेका छन् । पेरिसको जुस्यू विश्वविद्यालयका प्राध्यापक पेरियले नेपालको भूकम्पीय जोखिमबारे विभिन्न अध्ययन गरेका छन् । पेरियसँग दधिराम सापकोटाले प्रकाशोन्मुख नयाँ पुस्तकका लागि यो कुराकानी गरेका हुन् । पुस्तक केही महिनाभित्रै बजारमा आउँदै छ ।)naya patrika

No comments:

Post a Comment