• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, July 13, 2009

    उपस्थिति महिलाको नाम पुरुषको

    चेतन अधिकारी
    छिमेकी बहिनीको विवाहमा उपहार र नगदको हिसाब राख्ने जिम्मा मलाई आइपर्‍यो । स्वभावैले विवाहमा महिला उपस्थिति बढी हुने गर्दछ । उपहार लेखाउन र नगद दिन महिलाहरू लस्कर लागेर आए, लेख्दै र उपहार बुझ्दै गए । पानैपिच्छे पुरुषको मात्र नाम आउँछ । तर उपहार दिन आएका केही बाहेक सबै महिला छन् ।
    एक वृद्धाले थैलीबाट पैसा निकाल्दै भनिन् 'लेख्नु त बाबु डम्बरुप्रसाद भट्टराई ।' मैले यसो ती वृद्धातिर हेरें 'आफू आएर पैसा दिनुहुन्छ किन अर्कैको नाम लेखाको ।' उनले उत्तर दिइन् 'छोराकै नाम लेखाउनु परो नि । उही हो व्यवहार गर्ने, छोराको नाम लेखाउनु हँुदैन र ।' अर्की अधबंैसे आइन र पर्सब्ााट पैसा निकाल्दै भनिन् 'लेख्नु त हरिप्रसाद बिमली ।' आफू आएर किन अर्कैको नाम लेखाको दिदी भनेर उनलाई पनि मैले सोधे । 'हामी त के र घर मालिककै नाम लेखाउनु परो नि ।'
    एउटा किशोरलेे भने 'लेख्नु त अंकल पारस प्याकुरेल ।' 'तिमीभन्दा ठूला मान्छे घरमा छैनन्' मैले सोधे । एक वृद्धले उनलाई आमाको नाम लेखाउन सल्लाह दिए । उनले प्रतिक्रिया दिए 'मै आएको छु मेरै नाम लेख्दा भइगो नि ।'
    यी दुईथरी अभिव्यक्तिले पुरुष महिलाबीच आत्मविश्वासकोे कत्रो खाडल रहेछ भन्ने अनुभूति गरायो । १८ वर्षे किशोरले आफू नै घरको आधिकारिक मान्छे हो भ्ान्ने तर्कसहित आफ्नो नाम दर्ज गर्न ठूलै स्वर गरे । उता जीवनको उत्तरार्द्धमा पुगेकी वृद्धाले आफंै पैसा बोकेर आए पनि व्यवहार गर्ने छोराको नाममा नै दर्ता गराइन् । आएका
    पुरुष कसैले पनि महिलाको नाममा उपहार दिएनन् ।
    यो तथ्यांकले नेपाली समाजको लैङ्गकि संरचना र सम्पत्तिको स्वामित्वको सवाललाई प्रतिनिधित्व गरेको आभास भयो । सामाजिक संरचनाले कहिल्यै पनि महिलालाई सम्पत्तिको हकदार, घरकी मुलीको भूमिका निर्वाह गर्न दिएको रहेनछ । महिलालाई नीति निर्माण
    तहमा पुर्‍याएर हरेक निर्णयमा सहभागी गराउने, सम्पत्तिमा समान अधिकार दिने, परिवारमा घरमुलीको भूमिका निर्वाह गर्ने स्थानमा पुर्‍याउने भनेर सरकारदेखि देशी विदेशी संस्थासमेत लागिपरेका छन् । तर महिलाहरूले आफूलाई घरमुलीको भूमिकामा उभ्याउन सकेका रहेनछन् । समाजले आफूलाई पहिचानै दिँदैन भन्ने हीनताबोध अझै कायम छ । नत्र भने किन अधिकांश महिला भौतिक रूपमा उपस्थित भएको स्थानमा आफू होइन्ा सात समुद्रपारि रहेका पुरुषको उपस्थिति जनाउँछन् ।
    दमक नगरपालिकाले जनश्रमदानबाट सडक बनाउने अभियान सञ्चालन गरिरहेका बेला वडा नम्बर १६ मा झन्डै सयजनाको लस्करमा ७५ जनाभन्दा बढी महिला थिए । श्रमदान गर्नेको सूची हेर्दा सयमा ९० जना पुरुषको नाम छ । समितिमा पनि पुरुषकै बाहुल्यता छ । काममा खट्ने महिला, जस जति सबै पुरुषलाई । पुरुष जति सबै विदेश छन्, गाउँको विकास गर्ने सबै महिला हुन् । तर रेकर्डचाहिँ पुरुषको नै छ ।
    सम्पत्तिमा महिला निरीह र पुरुष सक्रिय छन् । महिलाको साक्षरता स्थिति अत्यन्त न्यून छ, आर्थिक अवसरको कमी छ, कमाए पनि त्यसको स्वामित्व महिलामा छैन । सरकारले भूमिमा महिलाको स्वामित्व बढाउनका लागि केही वर्ष अघिदेखि आकर्षक कार्यक्रम अघि सारेको छ । महिलाका नाममा जमिन रजिस्टे्रसन पास गर्दा सरकारी राजस्वमा २० प्रतिशत छुट दिने चलन छ । जसले गर्दा महिलाहरूले भूमिमा अधिकार बढाइरहेका छन् ।
    तर पनि तथ्यांकहरूलाई केलाउने हो भने सम्पत्तिको स्वामित्वबाट नेपाली महिलाहरू धेरै टाढा छन् । पछिल्लो जनगणना २०५८ अनुसार करिब १५ प्रतिशत घरका मुली मात्र महिला छन् भने ८५ प्रतिशत घरमुली पुरुष छन् । यिनै १५ प्रतशितले मात्र सार्वजनिक स्थानमा उपस्थिति जनाए आफ्नै नाम लिने अवस्था छ । महिलाहरू कुनै कार्यमा काम सघाउने वा सभामा मास बढाउने भूमिकामा मात्र रहनुपर्ने अवस्थाको अन्त्य हुनु जरुरी छ । kantipur

    No comments:

    Post a Comment