• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, July 13, 2009

    अष्ट्रेलियन धनीहरुको सूचीमा नेपाली

    काठमाडौं असार २९ नागरिक- विश्वकै धनी मुलुकहरु मध्येमा पर्ने अष्ट्रेलिया । त्यहाँका सर्वाधिक धनीमध्येका एकजना चाहिँ नेपाली छन् । १९ वर्षअघि पढ्नका निम्ति त्यता गएका शेष घले हालैको सर्भेमा अष्ट्रेलियन धनीहरुको सूचीमा देखिएका हुन् ।
    अष्ट्रेलियाको बि आर डब्ल्यू म्यागजिनले प्रकाशित गरेको मुलुककै दुई सय जना सर्वाधिक धनीहरुको सूचीमा घले १ सय ६४ औं स्थानमा परेका छन् । उनी उक्त मुलुकको दुई सहरमा विस्तार भएको एक कलेजका साचालक हुन् भने त्यहाँका विभिन्न कम्पनीहरुमा उनको सेयर छ । म्यागजिनको पछिल्लो संस्करणले प्रस्तुत गरेको जानकारीमा उनको सम्पत्ति २० करोड ८० लाख डलर भएको उल्लेख गरेको छ । मेलबर्नमा बसोबास गर्दै आएका शेष त्यहाँस्थित 'मेलबर्न इन्ष्टिच्यूट अफ टेक्नोलोजी' का साचालक हुन् । त्यहाँ दुई हजार विद्यार्थी अध्ययनरत् छन् । त्यसै कलेजको सिड्नीस्थित अर्को शाखामा एक हजार विद्यार्थी पढ्छन् । विभिन्न वेब पोर्टलले दिएको जानकारी अनुसार उनको कलेजको शाखा निकट भविष्यमै अष्ट्रेलियाका अर्को महत्वपूर्ण सहरहरु पर्थ र बि्रस्बेनमा समेत खुल्ने क्रममा छ ।उनले कलेजका निम्ति मेलबर्नमा आफ्नै घर किनेका छन् । विलियम स्ट्रीटस्थित माज्दा साइटमा रहेको उक्त भवनमा तीन हजार विद्यार्थी पढ्न सक्ने र पाँच सय विद्यार्थीका निम्ति छात्रवासको समेत सुविधा छ ।१९ वर्षअघि एमबिए पढ्नका निम्ति अष्ट्रेलिया गएका घलेको मूलघर लमजुङ हो । उनी त्यतिबेला श्रीमति जमुना गुरुङका साथ त्यसतर्फ गएका थिए । गएको छ वर्षमै उनले मेलबर्नमा कलेज स्थापना गरिसकेका थिए ।
    अष्ट्रेलियन फाइनान्सियल रिभ्यूको गएको जुलाई 7 को अंकमा एउटा रिपोर्ट छापिएको थियो। शेष घलेले किनेको मेल्बर्नको मुटुमा अवस्थित जग्गामा निर्माणाधीन कम्प्लेक्सको बारेमा लेखिएको त्यो लेखको सुरुमै उनलाई शिक्षा क्षेत्रका अत्यन्त ठूला हस्ती(Education mogul) को रूपमा परिचय गराइएको थियो। उनले त्यस आयोजनामा १५ देखि २० करोड डलर (करीब नौ देखि १२ अरब रुपैया) लगानी गर्न लागेका रहेछन्। एउटा विद्यार्थीको रूपमा लगभग रित्तोहात आएका घलेले दुई दशकभन्दा कम समयमै आफूलाई अष्ट्रेलियाका एक नामी व्यवसायीको रूपमा उभ्याएका छन्। यो सबै नेपालीको लागि गौरवको कुरा हो। म उनलाई व्यक्तिगत रूपमा चिन्दिनँ। उनी बस्ने शहर नै अर्कै हो। उनलाई जान्नेहरूले सुनाएअनुसार यत्रो प्रगतिका बाबजुद यी 'लो प्रोफाइल'मा बस्न रुचाउँछन्। कुनै तडकभडक छैन, न त कुनै घमण्ड। कुनै चिनजान नभएपनि यहाँका प्रतिष्ठित पत्रपत्रिकाहरूले महत्त्व दिएर कुनै एउटा नेपालीको बखान गरेको सुन्दा गौरव लाग्दो रहेछ। साथमा पैसा र भिजन भएका यस्ता गैरआवासीय नेपालीहरूको लगानी नेपालमा पनि भित्र्याउन सके कति जाती हुन्थ्यो! आपसी खिचातानी र कुर्सीमोह छोडेर समुन्नत नेपालका लागि सबै राजनीतिक दलहरू भित्री हृदयबाटै प्रतिबद्ध भइदिए संसारभर रहेका शेष घलेहरूले नेपालमा लगानी भित्र्याउँथे होलान्। यस्ता पूँजीपति र कर्मजीवी धर्तीपुत्रहरूलाई नेपाल निम्त्याउने बाटोको बारेमा मात्र सोचिदिए पनि नेताहरूले नेपालको लागि ठूलो योगदान गरेको ठहरिने थियो। देशका लागि केही गरौं भन्ने नेपालीहरू संसारभर छन्। खालि, फर्कने बाटोका काँडाहरू मात्र हटाइदिनुपर्‍यो। होइन, त्यति पनि गर्न सकिन्न भने अरु ठूला ठूला कुराहरू गरेर नहिँडे हुन्छ।
    संजीव पाण्डे,सिड्नी, अष्ट्रेलिया।

    No comments:

    Post a Comment