• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, July 15, 2009

    गए भ्रष्ट, आए सर्वश्रेष्ठ ?

    विश्वप्रकाश शर्मा
    बल्खु र पेरिस डाँडा । एकै झन्डा, दुई कम्युनिस्ट पार्टी । यी बहुदलीय जनवादी, ती प्रचण्डमार्गी । फूल-माला-खादा र गाली दुवैतिर तम्तयार । पल्लो पार्टी छाडेर आउँदै छन् कोही, फूल-खादा तिनलाई । जाँदै छन् कोही, गाली तिनलाई । जो आउँदै छन् ती देशभक्त, जो जाँदै छन् ती गद्धार । आउँदै छन् जो ती इमानदार, जाँदै छन् जो ती अवसरवादी ।
    मित्रहरूको माक्र्सवादमा मान्छेलाई बदलिने स्वतन्त्रता 'हुन्छ र हुन्न' एकसाथ हुन्छ । अनुकूल बदलिनुस् सर्वश्रेष्ठ, प्रतिकूल बदलिनुस् भ्रष्ट । कांग्रेसजस्तो अक्रान्तिकारी होइनन्, कमरेडहरू । महन्थ ठाकुर र विजय गच्छदारहरूले छाडेर जाँदा दुःख मात्र व्यक्त गर्ने, तथानाम 'प्रशंसा' पेस नगर्ने ।
    शरीर एमाले, मन माओवादी, अर्थात् वामदेव गौतम । यस्ता आरोपलाई जवाफ दिइरहँदा उहाँ अघि सार्नुहुन्छ केपी शर्मा ओलीलाई- ओलीजी कांग्रेसमा जानै लाग्नुभा'छ भन्ठान्ने जस्तै पूर्वाग्रही सोच हो मेराप्रति यो । कमरेड वामदेवको यो स्पष्टीकरण शालीन छ । तर, साथ छाडेर जाने कमरेडहरूप्रति दुवैथरी पार्टी कमरेडहरूको प्रतिक्रिया शालीन छैन । 'नजानुपथ्र्यो, तर जानु तिनको स्वतन्त्रता' भनिदिए पुग्थ्यो । 'यात्रामा थाके ती गए' बस यति थपिदिए पुग्थ्यो ।
    तर, दृश्यमा देखिन्छ- पार्टीप्रमुखहरू स्वयं नै धारेहात लगाएर गालीपछि गालीले खेदिरहेका छन् पार्टी छाडी जानेहरूलाई । दुई-चार-पचास सदस्यले छाडेर जाँदैमा पार्टी नै त सिद्धिन्न, आखिर त्यसमा पनि जाने जता जाँदै छन्, त्यतैबाट करिब त्यति नै कमरेडहरू आइरहेकै पनि छन् । राजनीतिमा यो आन्तरिक पर्यटनको स्थिति हो । पार्टीहरू जेल होइनन् भनेर दुवैथरी नायकले बुझििदने हो भने कुरा सकिन्छ । जाने या आउने व्यक्तिगत स्वतन्त्रता तिनलाई लोकतन्त्रले दिएको हो । त्यसलाई सम्मान गर्न नसक्ने दललाई जो- कसैले जेल ठान्न सक्छन्, जेलरको मनोविज्ञान भन्दामाथि रहनैपर्ने हो राजनेताहरू ।
    कुनै व्यक्ति कुनै पार्टीमा किन संगठित हुन्छ ? कुनै कार्यकर्ता लामो समय कार्य गरेको पर्टी छाडेर अन्यत्र किन लाग्छन् ? कारणहरू एकै हुन्नन् । कोही समाज बदल्न पार्टीमा लाग्छन्, कोही आफैँलाई बदल्न । कोही व्यवहार चित्त नबुझेर पार्टी परित्याग गर्दा हुन्, कोही विचार मिल्ने छहारीको खोजीमा थातथलो छाड्दा हुन् । निश्चय नै नरमाइलो हुन्छ, दुःखका दिनमा सँगै काम गरेको साथीले साथ छाडेर गइदिँदा, तर राजनेताहरूले त्यो दुःखको घडीमा गालीथेरापीबाट आराम खोज्नुभन्दा जरुरी छ यो केलाउन कि, किन विस्तारै विस्तारै पहिरो गइरहेको छ ? विश्वासमा नबाँधिएर कार्यकर्ता किन निराशामा भट्किइरहेका छन् अन्यत्र ?
    त्यस्तो गम्भीर विश्लेषण कांग्रेस परिवारमा पनि देखिन्न । यद्यपि, गाली संस्कृतिमा भने छाडी जानेलाई उतिसाह्रो पछ्याइरहँदैन कांग्रेस । तर, माओवादी अध्यक्ष भर्खरै बोल्नुभो- 'केही माओवादी एमालेमा जाँदै छन् भन्ने सुनेको छु, को-को गद्धार जान लागेका हुन् उनीहरूको अनुहार हेर्न मन लागेको छ ।' तर, यसो भनिरहँदा जेवी टुहुरेको अनुहारमा अबिर दल्दै हुनुहुन्थ्यो उहाँ । जो ४० वर्षको पार्टी बफादारी छाडेर आउनुभएको थियो । उता एमाले अध्यक्षले उद्घोष गर्नुभो- 'अवसरवादीहरू माओवादीमा जाँदैमा केही फरक पर्दैन ।' तर, त्यसो भनिरहेको 'अवसर' थियो कतिपय माओवादी एमालेकृत हुँदै गरेको मौसम । दुवै पार्टीका अध्यक्ष आन्तरिक पार्टी शासनमा नवीन हार्दिकता र विश्वासको जगेर्ना गर्न उत्सुक देखिनुभएन ताकि कार्यकर्तालाई प्रेममा बाँध्न सकियोस् । बरु दुवैले उर्दी बोल्नुभो, आरोप पोख्नुभो र कर्तव्य पूरा गर्नुभो ।
    जो आज आए ती भोलि जान सक्छन्, जो गए ती र्फकन सक्छन् । यति हेक्का त कमरेडहरूलाई हुनैपर्ने हो । जहाँ गए जसोतसोको कम्युनिस्ट पार्टीमै गए, थोरै चित्त बुझाए पनि हुन्थ्यो । नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने सपना कथं पूरा भइहालेका खण्डमा आज गद्धार ठहर गरिएकाहरूसँग गला कसरी मिलाउने होला भोलि ? यति त सोचिराख्नुपर्ने हो । खैर त्यो होस्, नहोस् तर नेपालको कम्युनिस्ट आन्दोलन गाली उत्पादनको आर्गेनिक खेती अब होइन भनी बुझाउने चाहना हो भने 'नयाँ स्कुलिङ' को शुभारम्भ अध्यक्ष कमरेडहरूबाटै हुनुपर्ने हो ।
    नेतृत्वले आक्रोश, उत्तेजना र गाली पस्किएपछि कार्यकर्ताले हिंसामा 'डिस्टिङ्सन' हासिल गर्छन् । नेतृत्वले विनम्रताको लहर सुरु गरे कार्यकर्ता विनयी बन्छ, समाजमा त्यसको प्रभाव पर्छ । तर, हामीले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबाटै संसद्मा समेत त्यो संस्कृति पाएनौँ । दुई व्यक्तित्वको दुईघन्टे सम्बोधन आक्रोश, आरोप, गाली र प्रत्यारोपमा टुंगियो । नयाँ विश्वासमा राष्ट्र बाँधिएन, बरु चिन्ताको लहर फैलिएको छ- यो अस्थायी युद्धविरामजस्तै मात्र हो । यो घ्यू बेचुवा र तरबार बेचुवाको व्यवसायजति मात्रै हो । अर्थात् अविश्वास र प्रतिशोधको मनोविज्ञान ननिमोठिएकाले सहमति र आशाहरूउपरसमेत आकर्षण पैदा भएन । परिणाममा संविधान लेखन कुहिरोको काग बन्दो छ । परिणाममा सबै पार्टीका कार्यकर्तापंक्तिमा निराशा बढ्दो छ, पहिरो जाँदो छ ।
    सरकार र प्रतिपक्षको नेतृत्व गरिरहेका दुई कम्युनिस्ट पार्टी संविधान निर्माणमा भन्दा संगठन विस्तारमा बढी व्यग्रतापूर्वक लागेका देखिन्छन् । संविधान लेखीभ्याउन तीन सय दिन मात्र बाँकी छ । तर, प्रधानमन्त्रीजीलाई अभिनन्दन, कार्यकर्ता भेला, पास्नी र उद्घाटन भ्याइ-नभ्याइ छ । जिम्मेवारीको भारी कसरी एक भएर पुर्‍याउने डाँडापारि होइन कि दुवै पार्टीका अध्यक्ष एक-एक भारी अबिर-माला बोकेर पल्लो कम्युनिस्ट पार्टीका कार्यकर्ता भित्र्याउन 'ढोक्सा' थापेर बस्नुभा'छ । एमालेको दाबी छ, बितेको सवा महिनामा सात सय उन्नाईस माओवादी यता आए, माओवादीको दाबी छ, बितेको तीन महिनामा दुई हजार नब्बे कमरेडहरू उताबाट यता भित्रिए ।
    एकथरीको सोच छ- उग्रवामपन्थका विरुद्ध लहर सुरु भयो । अर्काथरीको ठम्याइ छ-संशोधनवादका विरुद्ध नयाँ अभियान सुरु भयो । धारेहातहरू जारी छन् । यस्तो लहर, यस्तो अभियान साझा भइदिए, त्यो एक-आपसको विरुद्ध होइन, नवीन राष्ट्रिय सहमतिका पक्षमा प्रारम्भ भइदिए, विरुद्धमा उठेका हातहरू सहकार्यमा जुटिदिए, गालीका लागि व्यस्त गलाहरू राष्ट्रिय एकताका संगीतमा स्वरबद्ध भइदिए ... अनि यस्तो माहोलमा सिंगो राष्ट्रलाई दलहरूले साझा नायकत्व प्रदान गरे- एउटा सबल राष्ट्रको जन्म हुनेछ । नयाँ संविधान कसैलै रोक्न सक्नेछैन तब, हाम्रा सीमारेखाहरू
    कसैले मिच्न सक्नेछैन तब । तब पो अर्थ छ, राजनीतिक दलविशेषको सदस्य बढ्नु, बढाउनुको । अन्यथा सानेपा, बल्खु र पेरिस डाँडामा पार्टीको मुख्यालय मात्र ठड्याएर सबै नेपालीलाई पार्टी सदस्यता बाँडेर मात्र कहाँ पुगिन्छ कमरेड ? संविधान लेखन अलपत्र छाडेर, लडाकु समायोजन क्यान्टोनमेन्टमा बिर्सिएर, राज्यपुनर्संरचना बेपत्ता बनाएर, संगठन, विद्रोह र क्रान्तिका लप
    फाजीहरूको के अर्थ छ ?

    साँच्चै, संगठनको सदस्यता विस्तारका लागि पौंठेजोरी खेल्ने घडी होइन यो । यो त संविधान निर्माणका लागि एकताबद्ध हुने समय हो । एजेन्ट, दलाल, उग्र, अवसरवादी, गद्धार, हिंस्रक, आदि-आदि गाली बौछारको घडी होइन यो । यो त प्रहार गरिएका ढुंगाहरूसमेत भेला गरेर नयाँ घर उत्साहका साथ बनाउने कालखण्ड हो । समाज परिवर्तन आह्वान गरिरहँदा आत्मपरिवर्तन गर्ने
    समय हो ।
    लौ न कमरेड, सरल नेपाली भाषामा यो बुझ्न बुझाउन निवेदन कहाँ पेस गरौँ ? 'थाहा' चाहियो ।

    No comments:

    Post a Comment