• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, July 15, 2009

    यसरी बन्छ चलचित्र

    फूलमान वल
    काठमाडौं, निर्माता केशव भट्टराईले चलचित्र 'पाहुना' को किचनमा मात्रै ९ लाख खर्च गरे । चलचित्रको कुल लगानी थियो ६० लाख । किचनदेखि सुटिङ तयारीका अनेक पाटोमा औसतभन्दा बढी नै खर्च गरे पनि 'पाहुना' ले उनलाई धोका दियो । अर्थात् चलचित्रको लगानी उठेन ।
    निकै सस्तोमा व्यावसायिक चलचित्र बनाउन सफल निर्मातामा कहलिएका चिरञ्जीवी बस्नेतको काम गर्ने आफ्नै सूत्र र शैली छ । सीबी फिल्मस्को ब्यानरबाट दुई दर्जन चलचित्र बनाइसकेका उनी एउटा चलचित्र ३५ देखि ४० लाखमा तयार पार्छन्, जबकि उस्तै चलचित्रका लागि अरूले ६० लाख खर्चिन्छन् ।
    दुई वर्षअघि 'घातक' बाट चलचित्र निर्माणमा पाइला हालेका प्रभु शमशेर यतिबेला चर्चामा छन्, सबैभन्दा महँगो लगानीकर्ताको रूपमा । ३० लाख लगानीमा बनेको 'घातक' ले घात गरे पनि पछिल्लो चलचित्र 'मेरो एउटा साथी छ' मा एक करोड २० लाख लगानी गरेका छन् ।
    नेपाली चलचित्रको विषय, शैली र स्तर एकै प्रकृतिका भए पनि लगानीमा किन बेमेल ? कहाँ र कुन शीर्षकमा खर्च हुन्छ ? नेपाली चलचित्र हलिउड र बलिउडसँग तुलना नै नहुने अति कम मूल्यमा बन्ने गर्छन् । यही कारणले गुणस्तरमा आँच आएको हो ? कि अर्कै कारण ? आउनुस्, निर्माताहरूको अनुभव बुझौं ।
    'आफ्नो मान्छे', 'देवरबाबु', 'कर्मयोद्धा' 'छोडी गए पाप लाग्ला' लगायत आधा दर्जन चलचित्र निर्माण गरिसकेका केशवको औसत खर्च प्रतिचलचित्र ६० लाखभन्दा तल हुँदैन । 'किनभने म चलचित्रका लागि चलचित्र बनाउँदिन,' उनको दाबी छ, 'सबै काम स्तरीय हुनुपर्छ भन्ने लाग्छ ।' उनको 'स्तरीयता' को परिभाषाभित्र खानपान, प्रविधि, कलाकारलाई गर्ने व्यवहारदेखि सुटिङ व्यवस्थापनसम्म पर्छन् ।
    सञ्चारकर्मीबाट चलचित्रकर्मीको छविमा रूपान्तरित जयप्रकाश रिजालको लगानी पनि ६० देखि ७५ लाख रुपैयाँ हो । पछिल्ल्ाो चलचित्र 'अर्जुनदेव' रिलिज गर्ने धुनमा जुटिरहेका उनीसँग सबैभन्दा बढी 'डे टु डे' खर्च हुने अनुभव छ । 'पर्दामा नदेखिने खर्च धेरै हुन्छ,' उनले भने, 'गाडी, लोकेसन, ड्रेस, खाना..। राम्रो फिल्ममा कम्तीमा पनि १२ देखि १५ लाख त नदेखिने खर्च नै हुन्छ ।'
    कलाकार, निर्देशक लगायत अन्य कामदारको पारिश्रमिक, क्यामेरा, क्यान नेगेटिभ, गीत रेर्कडिङ खर्चका महत्त्वपूर्ण शीर्षक हुन् । रिजालका अनुसार 'लो प्रोफाइल' मा खर्च गर्दा एउटा चलचित्रका लागि कम्तीमा पनि '५० लाख रुपैयाँ' त खर्च भइहाल्छ । उसोभए सबैभन्दा सस्तोमा 'रामै्र' चलचित्र बनाउने चिरञ्जीवी बस्नेत के भन्छन् ? '४० लाखमा राम्रो सेल्युल्वाइड सिनेमा बन्छ,' उनको अनुभव छ, 'खर्च सही काममा गर्नुपर्‍यो नि ।'
    सही कामको मतलव ?
    'राम-रमाइलो गरी सिध्याएको पैसा चलचित्रतिर जोड्नु भएन,' उनले भने, 'अनि मोजमस्तीतिर लाग्नु भएन । कसैले व्यक्तिगत खर्च पनि चलचित्रसँगै जोडिरहेका हुन्छन् ।' दुई दर्जन चलचित्र अनुभव बोकेका चिरञ्जीवीको भनाइमा केही तुक पक्कै होलान् । लगानी र यससँग जोडिएका प्रचारबाजीबारे उनले अर्को 'चल्ती' को रहस्य पनि खुलाए । 'धेरैले लगानी बढी देखाउन चाहन्छन्,' उनले भने, 'यो पब्लिसिटीको गजब तरिका हो, बढी लगानी हल्ला पिटेर ध्यान तान्ने ।'
    प्रभु शमशेरको कथा बेग्लै छ । 'घातक' मा लगानी नउठे पनि उनले अर्को चलचित्र 'राज्य' बनाए । तेस्रो चलचित्र 'मेरो ए्उटा साथी छ' रिलिज गर्ने धुनमा लागेका उनी यसमा एक करोड २० लाख रुपैयाँ लगानी भएको दाबी गर्छन् । 'दुइटा गीतको सेट तयार गर्नै २५ लाख खर्च गरें,' डिजिटल टुके फम्र्याटको चलचित्रबारे उनले भने, '१ सय २१ दिन त क्यामेरा अन भयो ।'
    भेराइटी लोकेसन राखेर 'रिच क्वालिटी' चाहेकाले धेरै लागेको उनको दाबी छ । 'इलामदेखि घान्दु्रकसम्मको दृश्य छ । झन्डै अलनेपाल टुर । खर्च बढ्ने नै भयो ।' प्रेम कथात्मक चलचित्रबारे उनले भने, 'छिट्टै रिलिज हुँदै छ, काम देखिहाल्नुहुन्छ नि ।' राम्रो चलचित्रका लागि लगानीमा डराउनु नहुने उनको तर्क छ ।
    त्यसो भए कम लगानीकै कारण नेपाली चलचित्रको ढर्रा परिवर्तन हुन नसकेको हो ?
    'त्योचाहिँ होइन,' जयप्रकाश भन्छन्, 'निर्माताहरू लगानी उठाउन चाहन्छन् । त्यसका लागि मसला -गीत र फाइट) को माग भइहाल्छ ।' उनका अनुसार नेपाली चलचित्रको शैली र स्तर बदल्न दर्शककै चलचित्र हेर्ने शैली बदल्नुपर्छ । 'यसका लागि समय लाग्छ,' उनले भने, 'त्यतिन्जेल धेरै निर्माताले घाटा बेहोर्नुपर्ने हुन्छ, जसका लागि कोही तयार छैनन् ।'
    चिरञ्जीवीले गज्जबको तर्क गरे । 'लगानीकर्तालाई त फिल्मको गुणस्तरभन्दा पनि नाफाको कुरा हो,' उनले भने, 'घाटा बेहोर्नेगरी को लगानी गर्न चाहन्छ र ? जस्तोमा लगानी उठ्छ त्यस्तै बनाउने त हो
    नि ।' नेपाली चलचित्रको शैली र गुणस्तर सुधार्न राज्यको पनि दायित्व हुने उनले बताए । 'राज्यले लगानी गरोस् न,' बलिउडमा राष्ट्रवादी फिल्मलाई राजस्व छुट रहेको औँल्याउँदै उनले भने, 'म सबैभन्दा अब्बल फिल्म बनाएर देखाइदिन्छु ।'चलचित्रको औसत खर्च
    दैनिक सुटिङ खर्च- १२ देखि १५ लाख रुपैयाँ
    कलाकार पारिश्रमिक- १० देखि १२ लाख रुपैयाँ
    निर्देशक पारिश्रमिक- ६ देखि ७ लाख रुपैयाँ
    क्यामेरा- ३ लाख रुपैयाँ
    क्यामेराम्यान- १ लाख रुपैयाँ
    क्यान नेगेटिभ- ४ लाख रुपैयाँ
    मेकअप, ड्रेसम्यान, स्पटम्यान- २ लाख ५० हजार रुपैयाँ
    फाइट- २ लाख रुपैयाँ
    गीत रेकर्डिङ- २ देखि ३ लाख
    पब्लिसिटी- ५ लाख रुपैयाँ
    ल्याब खर्च- १० लाख रुपैयाँ
    विविध- ४ लाख रुपैयाँ
    kantipur

    No comments:

    Post a Comment