Showing posts with label समाचार. Show all posts

Thursday, February 17, 2011

पत्रकार महासंघ चितवनमा प्रेस चौतारीको वर्चस्व ,अध्यक्षमा जनक अर्याल


भरतपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनको बुधबार र बिहीबार दुई दिनसम्म चलेको अधिवेशनले प्रेस चौतारीका उम्मेदवार जनक अर्यालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 
उपाध्यक्ष र सचिवलगायतका महत्वपूर्ण पदहरुमा पनि प्रेस चौतारीकै उम्मेदवारहरु विजयी भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहने छ ।
समितिको उपाध्यक्षमा रमेशकुमार पौडेल, सचिवमा राधेश्याम खतिवडा अत्यधिक मत ल्याई विजयी हुनुभएको छ । अध्यक्ष पदका निकटतम प्रतिद्वन्द्वी प्रेस युनियनका अध्यक्ष पदका उम्मेदवार दिनेशकुमार थपलियाले ५३ मतमात्र प्राप्त गर्नुभएको छ । विजयी हुनुभएका अर्यालले ६४ मत प्राप्त गर्नुभएको थियो ।
अध्यक्ष पदकै अर्का प्रतिद्वन्द्वी क्रान्तिकारी पत्रकार संघका सुरेशचन्द्र अधिकारीले ३८ र स्वतन्त्र उम्मेदवार सूर्यप्रकाश कँडेलले ८ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपाध्यक्ष पदमा ६९ मत ल्याई रमेशकुमार पौडेल विजयी हुनुभएको छ । उपाध्यक्ष पदकै दुई अन्य उम्मेदवारहरु प्रेस युनियनका बसन्त पराजुलीले ४२ र क्रान्तिकारी पत्रकारसंघकी शान्ता अधिकारीले ५० मत ल्याउनुभएको छ ।
सचिव पदमा क्रान्तिकारी र युनियनका उम्मेदवार प्रकाश ज्ञवाली र नारायण अधिकारीले क्रमशः ४२ र ५५ मत प्राप्त गर्नुभयो । सचिवका विजयी उम्मेदवार प्रेस चौतारीका राधेश्याम खतिवडाले ६० मत प्राप्त गर्नुभयो ।
त्यस्तै कोषाध्यक्ष पदमा पनि प्रेस चौतारीका उम्मेदवार कृष्णचन्द्र भट्टराईले ९६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी क्रान्तिकारी पत्रकार संघका विष्णु दवाडीले जम्मा ४५ मत प्राप्त गर्नुभयो ।सहसचिव पदमा ८३ मत ल्याई प्रेस चौतारीकै उम्मेदवार प्रतिमा सिलवाल विजयी हुनुभएको छ । सोही पदका लागि उम्मेदवारी दिएका प्रेस युनियनका अर्जुन अधिकारीले ३५ र क्रान्तिकारी पत्रकार संघका रविलाल भट्टले ४० मत प्राप्त गर्नुभयो ।
खुल्ला ६ जना सदस्यहरुतर्फ होमनाथ सापकोटा ८० विनोदबाबु रिजाल ७८ ईश्वरी अधिकारी ७१ अमृता गुरुङ ७० मोहन बस्याल ६७ र विश्वास पौडेलले ६१ मत ल्याई विजयी हुनुभएको छ ।
खुल्लातर्फकै अन्य पराजित उम्मेदवारहरु बबिलाल तामाङले ५९ आशिष अधिकारी ४५ सन्तोष देवकोटा ५४ गोविन्द घिमिरे ५१ कपिलप्रसाद खनाल ४४ अनिल ढकाल ५७ रमेश वस्ताकोटी ४७ र सुर्दशन शर्माले २२ मत ल्याउनुभएको छ ।
त्यस्तै महिला कोटामा प्रेस चौतारीका सविता श्रेष्ठ ६४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी प्रेस युनियनकी सरिता पौडेलले ६४ मत ल्याउनुभएको छ ।
मधेशी कोटामा पे्रस युनियनका उम्मेदवार प्रविण दत्तले ७७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी प्रेस चौतारीका कोमलचन्द्र भगतले ७० मत ल्याउनुभएको छ ।
त्यस्तै दलित कोटामा पनि प्रेस चौतारीका उम्मेदवार मदन विक ७८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी अजय गोर्खालीले ६६ मत ल्याउनुभएको छ ।
आदिवासी जनजातितर्फ प्रेस चौतारीकै उम्मेदवार सन्तकुमार चौधरी निर्विरोध हुनुभएको छ ।
त्यसैगरी २५ पदका लागि ४७ जनाको उम्मेदवारी परेको केन्द्रीय सभासदको निर्वाचनमा अमर प्रधानले सर्वाधिक १२५ मत ल्याई निर्वाचित हुनुभएको छ । विष्णु छिमेकी र सुरज पौडेलले क्रमशः १०७ मत र कृष्ण गिरीले १०४ मत ल्याई सभासद पदमा विजयी हुनुभएको छ ।
अन्य विजयी सभासदहरुमा क्रमशः शिवजी गायक ८८ शिशिर िसंखडा ९२ कमल पराजुली ८५ रामबाबु सुवेदी ७९ ईश्वर जोशी ७९ शालिग्राम नेपाल ८२ दीपक आचार्य ६९ रोहिणी त्रिपाठी ८३ नारायण ढंुगाना ७३ नारायण सापकोटा ७७ र नवराज ढकाल ७० विजयी हुनुभएको छ ।त्यस्तै गणशेखर शर्मा ८७ द्वारिका नेपाल ७९ तीर्थ नेपाल ७५ चिन्तामणि पौडेल ६८ गोपाल परियार ६७ विष्णु पौडेल ८६ वीरबहादुर िसंजाली ६६ अर्जुन शर्मा ६९ सूर्य पाठक ६९ र सिर्जना अर्याल ८३ सभासद पदमा विजयी हुनुभएको छ ।
पत्रकार सुवेदी र अधिकारी सम्मानित
भरतपुर । चितवन पोष्ट राष्ट्रिय दैनिकका सहायक सम्पादक रामबाबु सुवेदी सम्मानित हुनुभएको छ ।  तिलचन साँखी स्मृति पत्रकारिता पुरस्कार-२०६७ बाट सुवेदी सम्मानित हुनुभएको हो । कदरपत्रसहित सुवेदीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सुवेदी विगत ४ वर्षदेखि चितवन पोष्टको सहसम्पादक पदमा रहेर कार्य गर्दै आउनुभएको छ । सुवेदीसँगै हाम्रो एफएमका स्टेशन म्यानेजर नारायण अधिकारी पनि सम्मानित हुनुभएको छ । 
तिलचन साँखीका छोरा बुद्धिसागर साँखीलाई महासंघले नगद पाँचहजार र लत्ताकपडा प्रदान गरेको थियो ।  यसैगरी मरणोपरान्त सम्मानबाट स्व। पत्रकार रामेश्वर मरहठ्ठालाई सम्मानित गरिएको 
छ । सो सम्मान रामेश्वरकी श्रीमती सीता मरहठ्ठाले ग्रहण गर्नुभयो । त्यसैगरी स्व। पत्रकार मदनमोहन जोशीको सम्मान जोशीकी श्रीमती पूर्णिमाले ग्रहण गर्नुभएको थियो ।
समाचार साभार ः चितवन पोष्ट
फोटो साभार ः पारदर्शी

Sunday, June 6, 2010

भेटिए भक्तमान

केदार ओझा काठमाडौं, जेष्ठ २२ - १८ दिन अघि अपहरित चितवनका डाक्टर भक्तमान श्रेष्ठले आफूलाई नेपाल हिन्दू जनता पार्टीले अपहरण गरेको जानकारी दिएका छन् ।  शनिबार बिहान धादिङबाट उद्धार गरिएका उनले निवास पुगेर संचारकर्मीहरुलाई संक्षिप्त प्रतिकृया दिदै उक्त जानकारी दिएका हुन् । थकित मुद्रामा देखिएका उनले आफूलाई आँखामा पट्टी बाँधेर राखिएको जानकारी दिए । 'मुक्त गर्ने बेलामा उनीहरुले पट्टी बाँधेकै अवस्थामा आधा घण्टा कतै नजान भने', उनले भने, 'आधा घण्टापछि मैले पट्टी खोलेर परिवारलाई सम्पर्क गरे ।' करिब दुई मिनेट मात्रै आफ्ना कुरा राखेका उनले घटनाबारे थप जानकारी दिएनन् ।उनले अपहरणमुक्त गर्न पहल गर्ने सबैलाई धन्यवाद समेत दिए । उनी अहिले निवासमै आराम गरिरहेका छन् ।
 निवासभित्र रहेका श्रेष्ठसँग यतिबेर राजनीतिक दलका नेताहरु, उच्च प्रहरी अधिकृत, प्रमुख जिल्ला अधिकारी लगायत आफन्तहरु रहेका छन् । निवास वाहिर भेला भएका ठूलो संख्याका सर्वसाधारण र शुभचिन्तकलाई उनले निवासको कौसी बाहिर निस्केर अभिवादन गरेका थिए । दाहृी बढेको निन्याउरो अनुहारमा अभिवादन गर्न निस्केका उनी भावुक देखिएका थिए । एक हातले आँसु पुछ्दै उनले शुभचिन्तकलाई अर्को हात हल्लाएर अभिवादन गरेका थिए ।
शनिबार विहान धादिङको मजिमटारबाट अपहरण मुक्त भएका  डा. श्रेष्ठले आफ्ना भाइ प्रहरी उपरीक्षक जगतमान श्रेष्ठलाई बिहान सवा ३ बजे फोन गरी 'तुरुन्त लिन आउनू' भनी खवर गरेपछि प्रहरी टोली उद्धारका लागि पुगेको थियो ।
प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक श्रेष्ठ केहीदिनदेखि परिवारसँगै चितवनमा थिए ।
खवर गरेलगत्तै पुगेको प्रहरी टोलीले डा. श्रेष्ठलाई तत्कालै सकुशल उद्धार गरेको थियो । उद्धारपछि उनलाई बिहान ७ बजे धादिङबाट आफ्नै निवास चितवन लगिएको हो ।
भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. श्रेष्ठ गत जेठ ४ गते अपहरणमा परेका थिए । अपहरणपछि उनको सवारी पोखरामा भेटिएको थियो भने ब्रिफकेस अपहरणको पाँच दिनपछि चितवनको घोप्टेभिरमा फेला परेको थियो ।
अपहरणमा माओवादी संलग्नताको आरोप लगाइएपछि यसबारे खुलेको छैन । माओवादीले शुक्रबारमात्र पत्रकार सम्मेलन गरेर उनी बेपत्ता नभइ अपहरणमा परेको दाबी गरेको थियो । डा. श्रेष्ठलाई छुटाउन सरकार, नागरिक समाज, माओवादी तथा युवा संगठनहरुले छुट्टाछुट्टै आयोग बनाएका थिए । 
'डा श्रेष्ठबारे माओवादीलाई जानकारी थियो' :अमिक शेरचन
माओवादी नेता तथा डा. भक्तमान श्रेष्ठ वेपत्ता प्रकरण छानबिन समितिका अध्यक्ष अमिक शेरचनले श्रेष्ठको अवस्था र उनी रहेको स्थानबारे जानकारी रहेको खुलासा गरेका छन् ।
उनले शनिबार बिहान श्रेष्ठ निवास बाहिर संचारकर्मीलाई प्रतिक्रिया दिंदै हंसिलो मुद्रामा गोपनियताका कारण उनको अवस्था नखुलाएको बताए ।
'नेपाल भित्र हुनुहुन्थ्यो,' उनले भने ,'सकुशल हुनुहुन्थ्यो, अनुसन्धानका क्रममा रहेकाले नबताएको हो ।'
उहांले श्रेष्ठको जीवनसुरक्षाका लागि कुरा बाहिर नल्याएको स्पष्ट पारे । माओवादीले गठन गरेको छानबिन समितिले हिजो सांझ औपचारिकता मात्रको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको आठ घण्टा नबित्दै श्रेष्ठ मुक्त हुनुभएको हो । शेरचनले श्रेष्ठ सित परिवार सम्पर्कमा रहेको पनि खुलाउनुभएको छ । श्रेष्ठ अपहरणमा माओवादी संलग्नताको आरोप लाग्दै आएको छ ।   (http://www.ekantipur.com/np/2067/2/22/full-news/312621/)
भक्तमानको अपहरण माओवादीबाटै : प्रदीप नेपाल
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य प्रदीप नेपालले चितवनका चिकित्सक डा. भक्तमान श्रेष्ठको अपहरण माओवादीले नै गरेको आरोप लगाउँदै उनले जनदबाब बढेपछि नक्कली पार्टीको नाम दिएर अपहरणको आरोप लगाएको  बताए।  

यस्तो छ, भक्तमान भेट्टाउने पहिलो व्यक्तिको वयान

धादिङ (गजुरी), जेष्ठ २२ - उन्नाइस  दिनअधि अपहरणमा परेका डा. भक्तमान श्रेष्ठलाई धादिङको जोगिमारा-९ मझिमटारमा पहिलो पटक सडक कर उठाउन खटिएका सुरेश आचार्यले भेटेका थिए ।
थकित र कमजोर अवस्थामा मझिमटारस्थित सडकमा सहारा खोज्दै हिंडेको अवस्थामा सडक कर लिने स्थानमा खटिएका कर्मचारी भण्डारीले राति २ बजेतिर भेटेपछि उद्धार गरिएको र परिवारसँग मोबाइलबाट फोन गरेर सर्म्पर्क गराइएको आचार्यले बताएका छन् ।
शनिबार बिहान २ बजेतिर हात र आँखामा पट्टी बाँधी गाडीमा ल्याएर छाडेपछि हात खोलिदिएको र अपहरणकारीले आधाघण्टापछिमात्र आँखा खोल्नु भनेपछि राति डा.श्रेष्ठ अलपत्र परेको र घरसम्म सर्म्पर्क गर्न उनीसँग रकमसमेत नभएकाले आफूले घरपरिवारलाई सर्म्पर्क गराएको भण्डारीले बताएका छन् । 
सडक कर कार्यालयमा आएपछि प्रहरी कार्यालय सोधखोज गरी आफूलाई अत्यधिक प्यास लागेको, परिवारलाई फोन सर्म्पर्क गर्न समेत आफूसँग पैसा नभएको र मोबाइल समेत नभएकाले सहयोग मागेपछि सडक बोर्डको कर कार्यालयमा बस्ने कर्मचारीले उनको उद्धार गरेको हो ।
सडककै अर्का कर्मचारी सुरेशचन्द्र भण्डारीको मझिमटारस्थित कोठामा करिब तीन घण्टा आराम गरी बस्दा जुस खाएर डा.श्रेष्ठले परिवारलाई सर्म्पर्क गरेका थिए । विहान सवा ५ बजेतिर उनकी श्रीमती शिलु, भाइ प्रहरी नायव उपरीक्षक जगतमान र शुभमान आएपछि उनलाई चितवन लगिएको थियो ।
डा. श्रेष्ठले लगाएको चस्मा, टोपी र माक्स सोही स्थानमा छाडेर गएको र सो सामान जोगीमारा प्रहरीले राखेको छ ।
हातमा डोरीले बाँधेको घाउ प्रष्ट देखिएको थियो भने उनी अत्यन्तै थाकेका थिए । आचार्यले लामो बाटो हिडेर आएको यात्री जस्तो कपडा मैलो, जुत्तामा माटो लागेको अवस्थामा भेटिएका श्रेष्ठलाई आफूहरूले परिवारको जिम्मा लगाएर पठाउन पाउँदा खुसी लागेको बताए । 
आचार्यलाई डा. श्रेष्ठले दिएको जानकारी अनुसार जेठ ४ गते भरतपुरस्थित अस्पतालबाट निस्केर घर जानलाग्दा हाकिम चोकबाट तीनवटा गाडीमा आएका अपहरणकारीले पेस्तोल कन्चटमा तेर्स्याएर आपहरण गरी आँखामा पट्टी बाँधेर अज्ञात स्थलमा लगेका थिए । त्यहाँ धेरै चिसो थियो । सिरक ओडेर सुत्नुपर्ने स्थान हो । खान बस्न राम्रोसँग व्यवस्था गरेका थिए भने उनीहरूको शिविरमा करिब चार हजारको हाराहारीमा सेना जस्ता लाग्ने मानिस रहेका थिए ।
नेपाल हिन्दु जनता पार्टीले अपहरण गरेको र चर्चामा आउन यसो गरेको भनेर डा. श्रेष्ठलाई अपहरणकारीले भनेको आचार्यले पत्रकारहरूलाई जोगिमारामा जानकारी दिए ।
शुक्रबार बेलुका ८ बजेतिर गाडीमा चढाएको र बिहान २ बजेतिर मझिमटारमा झारेको बताएका श्रेष्ठले आफूलाई कुन दिशाबाट सो स्थानमा ल्याएको बताउन सकेनन् ।
परिवारलाई जानकारी दिएपछि आराम गरेर आफूलाई अपहरणकारीले केही नभन्न धम्की दिएको बताएका थिए । 
चिकित्सककै शब्दमा-
भक्तमान श्रेष्ठ, चितवन, जेठ २२- मङ्गलबार ४ गते राति लगभग सवा दश बजे मलाई कब्जामा लिइयो। म घर जाँदै थिएँ। हाकिमचोकबाट भित्र छिर्ने ठाउँ हिमचुली ब्याङ्कनजिक मेरो अगाडि रहेको गाडीसँग ठोक्कियो।
एक जनाले मेरो गाडीमा किन ठोक्नुभएको भने, अरुले आएर झ्याप्प समाते, अनि आँखामा पट्टी बाँधे।थाहा पाएँ  कि म घेरामा परिसकेको रहेछु। उनीहरुले अगाडि पछाडि पनि गाडी राखेका रहेछन्। त्यसपछि चार पाँच घण्टाको ट्राभल गरेजस्तो लाग्छ। गाडी मैले बुझेअनुसार मोटरसाइकल र पैदल गरेर पहाडी भेगमा लगेजस्तो लाग्यो। किनकि मोटरसाइकल पहाडी हाइटमा लगिएको थियो। तर कताको पहाडी भेग हो, त्यो मैले कल्पना गर्न सकिन।  मलाई उनीहरुले आफ्नो गन्तब्यमा पुर्‍याएर पट्टी बाँधेरै राखे। पहिलो दिन मलाई केही पनि थाहा भएन।
दोस्रो दिन त्यसको भोलिपल्ट उहाँहरुले डिक्लियर गर्नु भो। 'हाम्रो राजनीतिक सङ्गठन हो। हामी नेपाल हिन्दू जनता पार्टीका हौं , नेपाल सरकारले हाम्रा माग एड्रेस गरेन, त्यसैले यो कदम चाल्न बाध्य भयौं, सरकारलाई प्रेसर दिन यसो गरेको हो, तपाई डराउनुपर्दैन'- उनीहरुले भने।

मलाई नै किन टार्गेट गर्नु भको त नि भनेर सोध्दाखेरि उनीहरुले  'काठमाडौंमा हाम्रो सङ्गठन विस्तार भैसकेको छैन् तर नेपालका १५ जिल्लामा हाम्रो सङ्गठन छ। भ्यालीबाहिर चर्चित व्यक्ति को छभन्दा साथीहरुले तपाईंको नाम राखे। पार्टीले निर्णय गरेपछि यसो गरेका हौं भने।' त्यसपछि क्यान्सर अस्पतालको भ्रष्टाचारका कुरा पनि आएका थिए। 'पहिले पनि र तपाईंका पालामा पनि भएको पायौं, त्यसैकै छानबिनका लागि पनि तपाईंलाई ल्यायौं भनेर उनीहरुले मलाई भने। छानबिन गर्दा नै तपाईंलाई छाड्न ढिला भयो, काठमाडौं पनि पुग्यौं, तपाईंको घर पनि पत्ता लगायौं। छानबिनमा टाइम लाग्यो तर जति भनिएको थियो, त्यति पाएनौं भनेर' मलाई भने ।

राम्रो कुरामा उनीहरुले मेरो खानपिन, औषधी उपचारमा पनि राम्रै ध्यान दिए। मैले खाने औषधी पनि दिए। के खानुहुन्छ, कस्तो भयो खाना भनेर टेककेयर गरे।  यहाँसम्म कि नुहाउनेसम्मका काम पनि गरिदिन्थे। मलाई सर, डाक्टरसाब भनेर सम्बोधन गर्थे। फोन गर्नेले कहिले तराई र कहिले पहाडी भाषामा कुराकानी गर्थे। फोन गर्नेले मसँग पनि कुरा गर्थे। डाक्टरसाब हामीबाट तपाईंलाई कुनै प्रकारको दुर्व्यवहार नहोस् भन्ने चाहन्छौं भन्थे। मेरो भने फोन उनीहरुले नै राखेका थिए। मसँग भएका दुई जनालाई फोन आउँथ्यो, उनीहरुले नै मलाई कुरा गराउँथे। कुरा गर्दा हाइलेभलका कमाण्डर जस्ता सम्बोधन उनीहरुको हुन्थ्यो। मलाई चौबीसै घण्टा सुरक्षामा राखेका थिए।
त्यसपछिका दैनिकी सधैं एकैखालका झैं भए। आफूले पढ्न र सुन्न नपाए पनि उनीहरुले दैनिक नै पत्रिका पढेर सुनाउँथे। संसदमा के भयो, प्रधान मन्त्रीले के भने, गृह मन्त्रीले के बोल्नुभो, राजनीतिक पार्टीले के भन्यो, कुन रेडियोले के समाचार भन्यो, सबै भन्थे। कुन पत्रिकाले सकारात्मक लेख्यो, कुनले नेगेटिभ लेख्यो, एकअर्कामा आरोप-प्रत्यारोप के गरे, कुनले के के लेख्यो, डे टु डे इन्फरमेसन दिन्थे। अरु केही आधार नहुँदा त्यो पनि मलाई ठीकै लाग्थ्यो।
राति मसँग भएका दुई जना नै वरपर सँगै सुत्थे। मलाई हात बाँधेर मात्रै उनीहरु सुत्ने गर्थे। सायद आँखा खोल्छु कि, भाग्छु कि वा केही गर्छु भनेर होला। मलाई त्यो अस्वाभाविक पनि लागेन। बन्दी भएपछि गाह्रो हुने कुरा नै रैछ। त्यो स्वाभाविक नै जस्तो लाग्यो। हामीले फिल्म हेर्दा जे/जस्तो हुन्थ्यो, त्यही महसुस गरें। पूरै १९ दिन नै आँखामा पट्टी बाँधेर राखे। भय लाग्थ्यो।
अरु बेला उनीहरु मलाई आफ्ना राजनीतिक कुरामात्र सुनाउँथे। 'सरकारले केही गर्न सकेन, उनीहरुलाई प्रेसर हो, हामी पनि शक्ति छौं भन्ने मात्र जनाएका हौं। अर्को कुरा उनीहरुले भष्टाचार रोक्न अरु शक्तिले पनि सक्छ। भ्रष्टाचारीलाई कारबाही हामी पनि गर्छौ। सरकारले केही पनि गर्न सकेन भन्ने उनीहरुले उल्लेख गरे। एक डेढ वर्षमा हामी खुल्ला हुन्छौं पनि भने।
मेरोबारेमा लेखिएका समाचार पनि उनीहरुले छुटाउँदैन थिए। हामीले सबैलाई खबर गरिदिएका छौं भन्थे। मलाई अस्ति छाड्ने जानकारी दिएका थिए। 'आँखामा पट्टी बाध्यौं, त्यसका लागि क्षमा माग्छौं, उनीहरुले भने, हामी धार्मिक मान्छे पनि हौं, पाप पनि लाग्ला त्यसका लागि क्षमा गर्नुस्' भने। मलाई बिदाइको व्यवस्था पनि गरे। अघिल्लो दिन नै बिदाई गर्ने भन्दै आज लोकल कुखुराको मासु खाने भनेर ख्वाए। ल्याउने बेला पनि उही दश बाह्र मिनेटको पैदल हिँडाए, त्यसपछि मोटरसाइकलमा राखेर ल्याए। पछि गाडीमा सिफ्ट गरे। सडकमा ल्याएर ल रातिको दुई बजेको छ, तपाईंको जिल्ला चितवन ल्याइदिएका छौं भने। आधा घण्टा पट्टी नखोल्न रिक्वेष्ट गरेर फर्के।
म पनि रिक्वेष्ट मानेर आधा घण्टा जति त्यसै बसें, त्यसपछि आँखा खोलें।१९ दिनसम्म बन्द गरेको आँखा पहिलोचोटि खोल्दा अँध्यारोमा केही पनि देखिन। आँखा पुछें। दायाँ-बायाँ हेरें, अकै ठाउँ रहेछ। मैले सुत्ने प्रयत्न पनि गरें तर सुत्ने वातावरण थिएन। माथितिर हिँड्दै गएँ, अलि हिँड्न गाह्रो भयो।  बल्ल लोकेसन थाहा पाएँ। मजिमटार पुगेपछि लोकल फोनबाट घरमा खबर गरें। नजिकै रहेको ढाटमा स्थानीय सुरेशचन्द्र भण्डारीसँग भेट भो। उनले स्थानीय रेडियोलाई खबर गरिदिए। उनैले फ्रुटी किनेर घरमा लगेर खुवाए। उनैकहाँ केहीबेर बसें।  पाँच साढे पाँच बजेतिर दुई जना भाइ र परिवार लिन आएपछि घर आएँ।
यो घटनापछि म स्ट्रेसमा छु, केही सोच्न सकेको छैन्। १८ दिनको स्ट्रेसले कस्तो महसुस भयो त्यो म भन्न सक्तिन। देशमा सरकारले सुरक्षा दिन नसकेको जस्तो लागेको छ। सुरक्षाको अवस्था पनि देखिन। कुनै डाक्टर वा मलाई मात्र होइन, यस्तो कसैलाई नपरोस्। कुनै राजनीतिक दल, सङ्गठन कसैले पनि कुनै नागरिक र कसैलाई पनि यस्तो नगरोस् मेरो अपिल छ।
यो कुराकानी गर्दा डा. श्रेष्ठ पत्नी सँगै थिइन्। डा. श्रेष्ठकी पत्नी शिलुले ढिलै भए पनि आफ्नो श्रीमान् सकुशल फर्केकोमा खुशी जनाइन्। रिहाईका लागि पहल गर्ने सबैलाई उनले धन्यवाद दिइन्। श्रेष्ठका बाबुले भने आजदेखि निकै खुशी लाग्यो भने। ईश्वरको कृपाले मेरो छोरा घर आयो- नागरिकसँग उनले भने।
http://nagariknews.com/society/nation/14226-2010-06-05-00-52-06.html
स्याल कराउनु कुखुरो हराउनु 
http://nifiri.blogspot.com/2010/06/blog-post_04.html
डा.भक्तमान श्रेष्ठ सम्पर्क बिहिन भएको १८ दिनपछि सकुशस आज शनिबार एका बिहानै क्वाटर फर्केकाछन् । यो साह्रै खुसीको कुरा हो । मिलनको त्यो क्षण परिवार मात्रै होइन शुभचिन्तक सवैका लागि निकै भावविभोर हुने खालको थियो । तर स्याल कराउँदा कुखुरा हरायो भने उसैले खायो भन्ने आशंका प्रवल हुन्छ ।भन्न खोजेको केहो भने हिजो माओवादीले डा। श्रेष्ठ अपहरणमा परेको ठोकुवा गर् यो । आज उनी मुक्त भए। घटनामा माओवादी मुछिएका बेला पत्रकारहरुलाई कुनै प्रश्न सोध्ने नपाइने सर्तमा भएको पत्रकारसम्मेलनमा श्रेष्ठले आफुलाई नेपाल हिन्दु जनता पार्टीले अपहरण गरेको बताए ।
अपहरणमा पर्दा पनि निकै आशंाहरु उश्जेका थिए । जुन आशंका आज उनै आएर बोल्दा पनि साम्य भएन। दरवार हत्या काण्डपछि पत्रकारहरुले प्रश्न सोध्न नपाउने गरेर राजिव शाहीले पत्रकार सम्मेलन गरेकाथिए नेपालमा । त्यस्तै भयो आज भरतपुरमा । भक्तमान फेरि कामममा फर्कुन । उनी दक्ष सर्जन हुन् ।उनले पहिलाको जस्तै काम गरुन् । तर के भएको थिया कस्ले पत्ता लगाउने यो प्रश्न अझै कायमै छ ।
 

Thursday, May 20, 2010

डा भक्तमान श्रेष्ठको स्थिति अझै अज्ञात

नारायण शर्मा/दीपेन्द्र बडुवाल 
चितवन, जेष्ठ ६ - दुई दिनअघि  भरतपुर स्थित चितवन अस्पताल बाहिरबाट अपहरणमा परेका बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको स्थिति अझै अज्ञात रहेको छ ।
उनको अपहरण भएको ४० घण्टा बितिसक्दापनि थाहा हुन नसकेका कारण परिवार र शुभचिन्तक पिरोलिएका छन् ।
पोखराका डिआईजि कुबेर रानाले डाक्टरको अबस्थावारे केहि भन्न नसकिने आज बिहान ईकान्तिपुरलाई बताए । उनले चितवन र पोखराका सबै सम्भावित नाका ब्लक गरेर अनुसन्धान भैरहेको जानकारी दिए । उनले डाक्टरले चढ्ने गाडी सुरक्षित अबस्थामा लक गरिएका कारण स्थिति नजिकवाट नियाल्ने प्रयास भैरहेको जनाए ।
डा.श्रेष्ठ बेपत्ता भएको २० घण्टापछि बुधबार साँझ साढे ६ बजे उनी चढेको बा ३ च्ा ९८९ नम्बरको गाडी पोखरा उपमहानगरपालिका  स्थित कुडार चोकको बाँयापट्ट िसडकमा बेवारीसे अबस्थामा फेला परेपछि सुरक्षानिकायले उनको अपरहण भएको निष्कर्ष निकालेको हो  ।
गाडीमा भेटिएका डाक्टरका प्रमाणलाई उनका परिवारलाई देखाएर रुजुगर्ने र त्यसपछि थप अनुसन्धान अघि बढाइने रानाले बताए ।  यसैबीच चितवन र काठमाण्डौंमा रहेका भक्तमानका परिवार जन र ्शुभचिन्तकहरु अहिले केहिबेर अघि पोखरा पुगेका छन् । चितवनमा सबै चिकित्सक र पेशाकर्मी अन्यौलमा छन् ।
डाक्टर श्रेष्ठको परिचयपत्र कच्याक्कुचुक अबस्थामा गाडिमै फेला परेको छ । अनुसन्धानको क्रममै रहेकाले अहिलेनै केहि भन्न गाह्रेा छ डिआइजी रानाले भने- शंकास्पद र सम्भावित नाकामा खोजी कार्य जारी छ ।
भरतपुरको चौबिसकोठी स्थित चितवन अस्पताल प्रालिमा दुइवटा सामान्य शल्यक्रिया सकेर मंगलवार राति सवा दश आफ्नो क्वाटर जान निस्केका श्रेष्ठ त्यसपछि सम्पर्क बिहीन भएका थिए ।  उनी आफैले चलाएको गाडिमा आफ्नो निवास क्यान्सर अस्पताल परिसरमा जान हिडेपनि नपुगेपछि मंगलवार रातिदेखिनै उनको खोजी सुरु भएको छ ।
परिवारका अनुसार श्रेष्ठको मोवाइल राति साढे दशबजे नै अफ थियो । श्रेष्ठको परिवार चिन्तित छ । श्रेष्ठका दाजु गोपिमान श्रेष्ठले भक्तमानको कोही कसैसंग दुस्मनी नभएको बताए । 'कसैसंग झगडा , रिसइवी केही पनि थिएन । कस्ले अपहरण गरेको वा के गरेको हो भनेर चिन्तित छौ ''उनले भने ।
चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले उनको खोजी कार्य जारी रहेको बताए । उनले सबैपक्षवाट खोजिमा सहयोग भैरहेको जनाए । जिल्ला प्रहरीले विभिन्न सीमानाकामा श्रेष्ठ हराएको जानकारी गराएर खोजी तिब्र पारेको जनायो ।
  माओवादी दुःखी र स्तब्ध

यसैबीच  डा.श्रेष्ठको अपहरणले पार्टी दुःखी र स्तब्ध भएको भन्दै माओवादीले उनको  अबिलम्ब खोजी गरी स्थिति सार्वजनिक गर्न र अपहरणकारीलाई अबिलम्ब पत्ता लगाई कडा कारबाही गर्न माग गरेको छ ।
प्रवक्ता दीनानाथ शर्माद्वारा जारी बिज्ञप्तिमा अपहरित सरकार  जनताको जीउधनको रक्षा गर्न पूर्ण असफल र नालायक सिद्ध भएको भन्दै बिज्ञप्तिमा राज्यका महत्वपूर्ण निकायमा कार्यरत उच्चपदस्थ राष्ट्रसेवक कर्मचारीमाथि स्वयम् सरकारका मन्त्रीले हातपात गर्ने र राष्ट्रसेवकहरू अपहरित हुने जस्ता घटनाले पार्टीलाई गम्भीर बनाएको उल्लेख छ ।
माओवादीले राष्ट्रसेवक कर्मचारी समेत सम्पूर्ण जनताको जीउधनको रक्षाप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह समेत गरेको छ ।
http://www.ekantipur.com/np/2067/2/6/full-news/311794/

Wednesday, March 3, 2010

बदनामी कमाउने या ँहिरो’ बन्ने ?

फाल्गुन १८ - 
सञ्चार उद्यमी जमिम शाहको हत्या भएको एक महिना नबित्दै अर्का उद्यमी अरुण सिंहानिया सोमबार जनकपुरमा मारिएका छन् । मंगलबार साँझ राजधानीमा मेडिकल व्यवसायी नागेन्द्र पाम्पटीमाथि गोली हानिएको छ । यसबीच पत्रकार एवं व्यवसायीहरूलाई मार्ने धम्की दैनिकजसो आइरहेको छ । को, कहाँ, कति बेला मारिन्छ भन्ने खालको सन्त्रास समाजमा छाएको छ । लोकतन्त्रमा नागरिकले राज्यबाट खोज्ने न्यूनतम अपेक्षा भनेको सुरक्षाको प्रत्याभूति हो । तर बाँच्न पाउने आधारभूत अधिकारबाट समेत जनता बञ्चित हुन थालेका छन् ।
आम नागरिकको अन्तिम आड भरोसा सरकार हुनुपर्ने हो । आफ्ना जनतालाई सुरक्षित राख्नु सरकार प्रमुखको मुख्य दायित्व हो । तर मंगलबार उद्योगी व्यापारीसँगको छलफलमा प्रधानमन्त्री स्वयंले वर्तमान बेथितिप्रति लाचारी व्यक्त गरेका छन् । सरकारी सुरक्षा व्यवस्थाप्रति भर पर्न नसकेर उद्योगीहरूले आत्मसुरक्षाका लागि निजी सुरक्षाकर्मी वा हतियार माग्नुपर्ने स्थिति आएको छ । राज्य व्यवस्थाप्रति नागरिकको भरोसा उठ्न थाल्नु र सत्ता सञ्चालकहरू लाचार देखिनु गम्भीर दुर्घटनाको सूचक हो । 
पछिल्ला घटनाक्रमको सन्देश हो, कोही कहीं सुरक्षित छैन । जमिम शाह राजधानीको सबभन्दा सुरक्षित मानिएको ठाउँमा मारिए । अरुण सिंहानियाको हत्या त्यसैगरी व्यस्त चोकमा निधारमै गोली हानेर गरियो, त्यो पनि तराईको सबभन्दा ठूलो पर्व होलीका दिन । अनि भोलिपल्ट काठमाडौंमा भारतीय व्यवसायीको हत्याप्रयास भयो । यी घटना एकअर्कासँग जोडिएका छन्/छैनन् प्रस्ट छैन, तर यसले मुलुकमा बढ्दो अपराध शृंखलालाई प्रतिविम्बित गर्छ । यी घटना राष्ट्रको भूगोल छिचोलेर अन्तर्राष्ट्रिय चासोका विषयसमेत बनिसकेका छन् ।
प्रहारको मुख्य निसाना सञ्चार र उद्योग व्यवसाय भएका छन् । संविधानसभा निर्वाचनयता २७ व्यवसायी मारिइसकेका छन् भने ६७ जना अपहरणमा परेका छन् । २०६३ सालयता सञ्चार जगतका छ जना 
-वीरेन्द्र साह, जगत जोशी, उमा सिंह, प्रकाश ठकुरी, शाह र सिंहानिया) को हत्या भइसकेको छ । यी र यस्ता घटनासँग सम्बन्धित समाचार नलेख्न थुप्रै पत्रकारलाई दबाब एवं धम्की आएको छ । पत्रकारहरू नै त्रास मनोविज्ञानबाट गुज्रनु परेपछि आम नागरिकका आवाज दब्दै जाने खतरा हुन्छ । त्यसको सिकार अन्ततोगत्वा नेपाली आवाज र नेपाली लोकतन्त्र हुने प्रस्ट छ । त्यसैले अहिले राजनीतिज्ञहरू रमितेजस्तो भूमिकामा देखिनु उनीहरूकै निम्ति पनि आत्मघाती छ । 
जस्तोसुकै सुरक्षा कवचले पनि सबै अपराधलाई रोक्न सक्दैन । तर 
मुख्य कुरा भइसकेको अपराधको अनुसन्धान कसरी गरिन्छ, अपराधी पक्राउ पर्छन्/पर्दैनन् भन्ने हो । पछिल्ला घटनामा त्यस्तो तदारुकता देखिएन । एकपछि अर्को हत्या हुनु, मुख्य अभियुक्तहरू नसमातिनु र सरकारले यस्ता रहस्यमयी घटना किन भइरहेका छन् भन्ने कारण नबताउनुले जनतामा संशय बढाएको छ । सरकारका प्रवक्ताले जमिम हत्या भारत-पाकिस्तान द्वन्द्वको परिणाम भनेर गरेको टिप्पणीलाई सरकारले ँनिजी धारणा’ मात्र भन्यो, आफ्नो आधिकारिक 
निष्कर्ष सार्वजनिक गरेन, न त खास अभियुक्तहरू समातिए । सायद जमिमका हत्यारा समातिएका भए सिंहानियामाथि हात हाल्ने दुष्प्रयास हुँदैन थियो कि ? अथवा सिंहानिया हत्यामा सरकार तत्काल गहिराइसम्म पुग्न सके हत्या शृंखला रोकिएला कि ? 
मुलुक दण्डहीनताबाट गुजि्ररहेका कारण यस्तो भएको हो । 
ँमान्छे मार्दा पनि केही हुँदैन’ भन्ने मनोविज्ञान बढाउनमा प्रहरी वा कर्मचारीतन्त्रभन्दा राजनीतिक नेतृत्व सम्हालेको सरकारको सुस्तता, निष्त्रिmयता र लाचारी बढी जिम्मेवार छ । खेलाँचीजस्ता लाग्ने 
यस्तै घटनाक्रमबाट विश्वका विभिन्न मुलुक द्वन्द्व, असफलता वा अराजकताको दलदलमा धकेलिएको दृष्टान्तलाई प्रधानमन्त्री माधवकुमार नेपालले राम्रोसँग मनन गर्न सकेको देखिन्न । उनले यो विशेष कालखण्डमा पाएको ऐतिहासिक भूमिकालाई पनि गम्भीरतापूर्वक लिन सकिरहेका छैनन् । प्रस्ट छ, जारी शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सके उनी इतिहासका नायक हुनेछन्, नत्र धेरैले सराप्ने खलनायक । मुलुकलाई बर्बादीको खाडलमा जाकेर बदनामी कमाउने या ँहिरो’ बन्ने, त्यो धेरै हदसम्म उनकै हातमा छ । त्यसैले उनले परिस्थितिसँग सम्झौता गरेर लाचारी व्यक्त गर्न सुहाउँदैन, जनताले सुम्पेका न्यूनतम जिम्मेवारी पूरा गर्न सक्नुपर्छ । त्यो भनेको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिने हो । यदि उनी स्वयंलाई 
यति पनि गर्न सक्दिनँ भन्ने लाग्छ भने प्रधानमन्त्रीको कुर्सीमा बसिरहन सुहाउँदैन । राष्ट्र कसैको अक्षमताको बन्दी बनिरहन सक्दैन ।

Tuesday, January 5, 2010

जनसंख्या राज्यमन्त्रीका ९ छोराछोरी :अर्को जन्माइदिऊँ ?

अर्जुन पौडेल
दुई मात्र सन्तान, ईश्वरका वरदान ! यस्तै विज्ञापनमार्फत जनसंख्या मन्त्रालय रेडियो, टेलिभिजन र पत्रपत्रिकाबाट जनतालाई सन्देश दिइरहेको छ । तर, मुलुककै जनसंख्या राज्यमन्त्रीका नौजना छोराछोरी छन् ।
हुन त, जनसंख्या मन्त्रालयले छोरा होस् या छोरी, दुवै बराबरी भन्ने सन्देश पनि दिन्छ, तर जनसंख्या राज्यमन्त्री खड्गबहादुर बस्यालले छोराको आसमा आठ छोरी र एक छोरा जन्माएका हुन् ।
'पहिले छोरा भएन, छोरी जन्मँदै गए, त्यसैले सन्तान धेरै भए,' जनसंख्या मन्त्रालयको कुर्सीमा बसेर राज्यमन्त्री बस्याल आफैँले नयाँ पत्रिकासित भने, 'सातजना छोराछोरीबाट १२ नाति-नातिना जन्मिएका छन् ।'
छोरा जन्मिएला भन्दा-भन्दै उनले सात छोरी जन्माए । आठौँ सन्तान छोरा जन्मिए । एउटा छोरा जन्मिएपछि बस्यालले अर्को छोरा जन्माउने प्रयत्न गरे । तर, जन्मिइन् फेरि अर्की छोरी । जम्मा नौजना सन्तान जन्मिएपछि उनको 'सन्तान उत्पादन-प्रक्रिया' रोकिएको छ ।
धेरै छोराछोरीको मात्र होइन, अहिले देशको पनि जिम्मेवारी पाएका राज्यमन्त्री बस्यालले आफ्ना छोराछोरीको नाम र कोभन्दा को जेठो हो भन्नेसमेत बिर्सिएका छन् । आठजना छोरीको नाम बताउने क्रममा मन्त्री बस्याल दुईपटक झुक्किए । '६ नम्बरमा छोरी निर्मला जन्मिई,' उनले भने, 'होइन क्यार, त्योभन्दा पहिले त गीता जन्मिएकी हो, त्यसपछि मात्र सातौँ नम्बरमा निर्मला ।'
जेठी छोरी शारदाको बिहे दैलेख घर भई भारत अहमदाबादमा कार्यरत इन्जिनियरसँग भएको थियो । 'ज्वाइँ गत वर्ष मात्र हार्टअट्याक भएर बिते,' उनले सुनाए । अहमदाबादको घर बिक्री नभएकाले छोरी र नाति-नातिना उतै रहेको उनले बताए ।
माइली छोरी विष्णु सुर्खेतकै तातोपानी उत्तरगंगामा घरजम गरी बसेकी छिन् । साँहिली छोरी गाउँमै अनमि छिन् । 'उसको विवाह गर्न बाँकी नै छ,' मन्त्री बस्यालले भने ।
चौथो नम्बरकी छोरी सीताको सुर्खेत नगरपालिका भैरवथानमा बिहे भएको छ । पाँचौँ नम्बरकी तारा र छैटौँ नम्बरकी निर्मलाको पनि बिहे भइसकेको छ ।
सातौँ नम्बरकी छोरी गीता राज्यमन्त्री बस्यालसँगै अहिले मन्त्रीनिवास पुल्चोकमा बस्छिन् । गीताका श्रीमान्लाई मन्त्री बस्यालले नै मलेसिया पठाएका छन् ।
राज्यमन्त्री बस्यालका एक मात्र छोरा अहिले जनस्वास्थ्यमा स्नातक तहमा अध्ययनरत छन् । उनी आठौँ नम्बरमा जन्मिएका थिए । सबैभन्दा कान्छी सन्तान सुशीला जन उच्च मावि, सुर्खेतमा कक्ष्ाा १० मा अध्ययनरत छिन् । कक्षा नौमा पढ्दै 'लभ-म्यारिज' गरेकी सुशीलाले बच्चा पनि जन्माइसकेकी छिन् ।
राज्यमन्त्री बस्याल दलित मात्र होइनन्, गरिब परिवारका पनि हुन् । छोराछोरी हुर्काउँदा लागेको ऋण उनले मन्त्री भएपछि मात्र तिरेका छन् ।
'सम्पत्ति केही छैन, गाउँमा १० धुर जमिन छ,' उनले भने, 'पैसा ल्याऊ, अनि घर बनाएर बसौला भनेर ज्वाइँलाई मलेसिया पठाइदिएको हुँ ।'
बस्यालले जमानामा पनि 'लभ-म्यारिज' गरेका हुन् । सानो परिवार, सुखी परिवार बनाउने सपना थियो उनको पनि । 'तर, छोरीहरू जन्मँदै गए, परिवार बढ्दै गयो,' उनले भने ।
आफैँ एसएलसीसम्म पढेका राज्यमन्त्री बस्यालका सातजना छोरीले पनि एसएलसी मात्र उत्तीर्ण गरेका छन् ।
०४७ सालमा कांग्रेस प्रवेश गरेका बस्याल ०६२/६३ को आन्दोलनमा दुईपटक गिरफ्तार भएका थिए । कांग्रेसले उनलाई समानुपातिक कोटामा संविधानसभा सदस्य बनाएको हो । बस्याल दलित कोटामा सभासद् र मन्त्री भएका हुन् ।
'सबैले सरकारी विद्यालयमै पढेका हुन्, छोरीहरू बेरोजगार छन्,' राज्यमन्त्री आफैँ गुनासो गर्छन्, 'छोरीहरूलाई कतै काममा अल्झाइदिन पाए हुन्थ्यो भन्ने पनि लाग्छ । 'तर, कसलाई भन्नु, आफैँ मन्त्री छु ।'
'बाउ' नै मन्त्री हुँदा पनि जागिर पाइएन भनेर छोरीहरूले गुनासो गर्ने गरेको उनले बताए । 'आफ्नै बाउ मन्त्री हुँदा पनि (जागिर) नभए कहिले पनि हुँदैन भन्छन्,' उनले भने ।
एकताका गि्रल उद्योग खोल्दा लिएको ऋण बढेर एक लाख २५ हजार पुगेको थियो । ऋणले घर-जग्गा नै गुम्ने हो कि भन्ने चिन्ता थियो । 'तर, पार्टीले मन्त्री बनाइदिएपछि ऋण तिरेको छु,' भर्खरै ऋणमुक्त भएकामा उनी सन्तुष्ट छन् ।
'नौ सन्तान भएपछि नियोजन गरेँ'
श्रीमति मनसरा बस्याल म भर्खरै १४ वर्षकी थिएँ, उहाँ -खड्गबहादुर बस्याल) सँग माया बस्यो । उहाँ -सुर्खेतको) गोठीकाडाबाट यहाँ -वीरेन्द्रनगर) पढ्न आउनुहुन्थ्यो, म गाई लिएर गोठालो जान्थेँ । पहिले चिनजान भयो, पछि माया बस्यो ।
उहाँको बानी राम्रो थियो । आउँदा-जाँदा भेट हुन्थ्यो । पछि मलाई उहाँ राम्रो लाग्न थाल्नुभयो । माया बसेको करिब तीन वर्षपछि मलाई भागौँ भनेर उहाँले नै भन्नुभो । मैले त्यही राति सबै कपडाको कुम्लो बनाएर घरमा कसैलाई थाहा नदिई भाग्ने योजना बनाएँ । ०२५ साल असोजको पूणिर्मा मनाएर हामी भाग्यौँ । उहाँका साथीहरू हामीलाई झुप्रासम्म पुर्‍याउन आउनुभयो ।
पछि उहाँले नेटाको खल्टाकुरा प्राथमिक विद्यालयमा पढाउनुहुन्थ्यो, मलाई त्यहीँ राख्नुभयो । चार महिनापछि हामी घर गयौँ ।
म त्यतिवेला १८ वर्षको थिएँ, उहाँ २० को हुनुहुन्थ्यो । जेठी र माइली छोरी जन्मिसकेपछि हामीले बाजा बजाएर माइती मानेका -गएका) हौँ ।
जीवनमा उहाँले धेरै संघर्ष गर्नुभो । पहिला पुलिस हुनुभो । हो नि, मेरा बूढा त असइ पनि हुनुभा हो । तीन वर्ष असइ भइकेपछि त्यो जागिर छाडेर दुई वर्षजति मास्टर हुनुभो । पछि १८ महिनाजति भेटेरिनरीका मुखिया पनि हुनुभो । कपडा-पसल पनि गर्‍यौँ ।
पछि गि्रल उद्योग खोलेर पनि बस्यौँ । उहाँले त्यतिवेलादेखि नै राजनीति गर्न थाल्नुभा हो । तर, छोराछोरी धेरै भए, मलाई धेरै छोराछोरीको टेन्सन हुन्थ्यो । उहाँ राजनीतिमै व्यस्त हुनुभो । घर पनि कहिलेकाहीँ भुल्नुहुन्थ्यो ।
छोरा पाउने भन्दा-भन्दै आठवटी छोरी भए । त्यसपछि पनि नौ महिनाकी छोरी खेर गइसकेपछि छोरो भयो । अर्को पनि छोरा जन्माऊँ न त भनेको फेरि छोरी नै जन्मिई । त्यसपछि मैले परिवार नियोजन गरेँ ।
यति धेरै छोरी हुँदा पनि उहाँले कहिल्यै अर्को बिहे गरौँ भन्नुभएन । तर, समाजले त छिटो बिहे गर्, नत्र तेरो छोरा नै हुँदैन भन्थ्यो । मेरा बूढाले मलाई धेरै माया गर्नुहुन्छ ।
जेठी छोरी शारदा ३८ वर्षकी छे । उसको भारतको गुजरातमा बिहे भको छ । साँहिली विनीता र छोरो भानुभक्तबाहेक सबैको बिहे भइसक्यो । कान्छी छोरी सुशीला १९ वर्षकी छे । उसको यतैका एकजना गुरुङसँग बिहे भको छ ।
दुई बिघा घडेरीसहित चार बिघाजति पुख्र्यौली सम्पत्ति बूढाले जम्मै राजनीतिमै सिध्याउनुभो । हाल (सुर्खेत) उत्तरगंगा बजारमा सानो घडेरीमा घर छ । गाउँमा एक कठ्ठा बारी र ६ कठ्ठा खेत छ ।
म अहिले काठमाडौंको मन्त्रीनिवासमा बस्छु, अहिले जाडोमा घर आएकी हुँ । धेरै त बूढासँगै बस्छु । राजनीति गरेर सम्पत्ति त गयो, तर खेर गएन जस्तो लाग्छ । अहिले मेरा बूढा मन्त्री हुनुहुन्छ । कसला काटे मसला पाइँदो रहेछ ।
(गणेशकञ्चन भारतीसँगको कुराकानीमा आधारित)
तस्बिरः श्रीधर पौडेल/नयाँ पत्रिका

http://www.nayapatrika.com/newsportal/cover_story/9700.html




यिनै रैछन् प्रचण्डलाई वम बनाउन सिकाउने

प्रचण्डले बम बनाउन छिट्टै सिक्नुभयो, उहाँ बम बनाउन कुशल नै हुनुहुन्छः साह
नेत्र पन्थी
imageफागुन ०५२ मा सुरु भएको जनयुद्धको नेतृत्व गरेका माओवादी सुपि्रमो प्रचण्डले जनयुद्धको नेतृत्वमात्र गरेका थिएनन् उनले बम बनाउन पनि सिकेका थिए ।
प्रचण्डले बम बनाउन भने जनयुद्ध सुरु हुनुभन्दा सात वर्षअघि ०४५ सालमै सिकेका थिए । माओवादी अध्यक्ष प्रचण्डलाई उनीभन्दा झन्डै एक दशक कान्छा कमलदेव साहले 'टाइम बम' बनाउन सिकाएका थिए ।
धनुषा सविला गाविसका ४५ वषर्ीय साहले प्रचण्डसहित माओवादी महासचिव रामबहादुर थापा 'बादल', सचिव सिपी गजुरेललगायतका ११ जना नेतालाई बम बनाउन सिकाएका थिए ।
भरुवा बन्दुकबाट सशस्त्र जनयुद्धको सुरुवात गरेको एकीकृत नेकपा माओवादीसँग शान्तिसम्झौता हुने वेलासम्म हजाराँै बन्दुक र बम थिए । तर, जनयुद्धको नेतृत्व गरेका प्रचण्डलाई 'टाइम बम' बनाउन सिकाउने पात्रले भने दुई दशकपछि मात्र टाइम बम बनाउन सिकाएको रहस्य खोलेका छन् ।
प्रचण्डलाई टाइम बम बनाउन सिकाउने गुरु कमलदेव भन्छन्, 'प्रचण्ड टाइम बम बनाउन कुशल छन् ।' कहिले अचानक भावुक बन्ने त कहिले आक्रामक हुने प्रचण्डले निकै रुचि राखेर आफ्नै घर चितवन शिवनगरमा बम बनाउन सिकेका थिए । प्रचण्डका गुरु साह भन्छन्, 'प्रचण्डजीले बम बनाउन ध्यान दिएर सिक्नुभएको थियो ।'
'प्रचण्डले बम बनाउन छिट्टै सिक्नुभयो । उहाँ बम बनाउन कुशल नै हुनुहुन्छ । अरू प्राविधिक कुरा सिक्न पनि उहाँ रुचि राख्नुहुन्थ्यो,' साह भन्छन्, 'त्यतिवेला पार्टीलाई पनि आवश्यक थियो । सशस्त्र क्रान्ति नगरीकन नेपालमा गणतन्त्र आउँदैन भन्ने थियो । त्यस्तो भएपछि बम बनाउन त सिक्नै पर्‍यो ।'
०४२ मा रामराजाप्रसाद सिंहले गरेका बम काण्डमा समेत सहभागी भएका साह माओवादीका नेता रामवृक्ष यादव -जनयुद्धपूर्व नै राज्यद्वारा मारिएका थिए) मार्फत प्रचण्डको सम्पर्कमा आएका थिए । साहले ०४२ मा धनगढीमा सेनाको ब्यारेकअगाडि टाइम बम पड्काएका थिए ।
'म धनगढीमा टाइम बम पड्काएर पटना गएँ, त्यहाँबाट आएर रामवृक्ष यादवसँग कुराकानी गरेँ । उहाँले प्रचण्डसँग भेट गराउनुभयो,' साह सुरुमा प्रचण्डले आफूलाई विश्वास नगरेको सुनाउँछन्, 'मैले बम बनाउन सिकेको छु भन्दा उहाँले पत्याउनु भएन,' साहले भने ।
'भारतको सिमतलामा गएर बम बनाउन सिकेको थिएँ, मैले यो कुरा प्रचण्डलाई भनेँ, उहाँ त पत्याउनुहुन्न, मसँग विवाद पो गर्नुहुन्छ, पछि बम बनाउने प्राविधिक कुरा भनेँ, सीप सिकाएँ अनि बम बनाएर देखाएँ, त्यसपछि मात्रै उहाँले विश्वास गर्नुभयो,' साहले भने ।
प्रचण्डलाई बम बनाउन सिकाउने यिनै गुरुसँग प्रचण्डको भेट भने १८ वर्षपछि आइतबारमात्रै भयो । प्रचण्डलाई बम बनाउन सिकाएका साह ०४७ सालपछि एमाले कार्यकर्ता भएका थिए । 'एमाले भएपछि माओवादी कार्यकर्ता रिसाएछन्, ६ महिना सँगै बसेर बम बनाउन सिकाएका प्रचण्डलाई भेट गर्न माओवादी कार्यकर्ताले रोके, शान्तिप्रक्रियापछि आज बल्ल भेट भयो,' साहले भने । 'प्रचण्डले खोज्नुभएको रहेछ कतिपय साथीले मलाई मरिसक्योसमेत भनिदिएछन्,' उनले दुखेसो पोखे ।
रामराजाप्रसाद सिंहको आत्मवृत्तान्तको विमोचन कार्यक्रममा आइतबार प्रचण्डले बम बनाउन सिकाउने गुरुका बारेमा पहिलोपटक बोलेका थिए । प्रचण्डले 'मलाई बम बनाउन सिकाउने गुरु साह हुनुहुन्छ,' भनेर बताएपछि कार्यक्रमका सहभागीको ध्यान साहतिर मोडिएको थियो ।

भारतीय विद्यालयमा नेपाली अनिवार्य


बेचु गौड
परासी, २०६६ पुस १९ - सीमावर्ती भारतीय विद्यालयहरूमा नेपाली भाषा अनिवार्य गरिने भएको छ । नेपाली विद्यार्थीसमेत पढ्ने त्यहाँका स्कुलमा भारतीय विद्यार्थी पनि यो भाषामा जिज्ञासु भएपछि यो निर्णय गरिएको हो ।
भारतको राष्ट्रिय स्वयंसेवक संघ -आरएसएस) अन्तर्गतका शिशु तथा माध्यमिक विद्यालयमा नेपाली भाषा अनिवार्य गर्ने टुंगो लागेको ठुठीबारीस्थित शिशु विद्यालय तथा हाईस्कुलका प्रबन्धक सन्तप्रसाद गुप्ताले जानकारी दिए । उनका अनुसार महाराजगन्ज जनपदअन्तर्गतका ३६ विद्यालयमा आउँदो जुलाईदेखि यो विषय पढाइ हुनेछ । आरएसएस शिक्षा परिषदले प्राथमिक शिक्षाबाट सुरु गरी पछि हाईस्कुलसम्म पुर्‍याउने नीति लिएको छ ।

नेपाली पढाउन नेपालबाटै शिक्षक झिकाउने गुप्ताले जानकारी दिए । सीमावर्ती बर्गदवा, सुनौली, भगवानपुर लगायतका ती विद्यालयमा हिन्दी, गणित, अंग्रेजी, संस्कृत, विज्ञान, सामाजिक विज्ञान र कलाजस्ता विषय पढाइ हुँदै आएका छन् । आफ्नो मातृभाषा पनि पढ्न पाइने भएपछि नेपाली विद्यार्थी उत्साही भएको विद्यालयका प्रधानाचार्य विनय पाण्डेले बताए ।
'नेपाली विद्यार्थीलाई राम्रो भएको छ,' पाण्डेले भने, 'भारतीय विद्यार्थीले पनि छिमेकी राष्ट्रको भाषा जान्न पाउने भएका छन् ।' जति भाषा जान्यो त्यति नै राम्रो हुने तर्क राख्दै उनले नेपालका सीमवर्ती भागमा पनि हिन्दी विषय पढाउन सुझाव दिए । सांस्कृति, वैवाहिक सम्बन्ध, व्यापार, व्यवसायजस्ता सम्बन्ध मजबुत बनाउन पनि भाषाको जानकारी सहयोगी हुने पाण्डेको धारणा छ ।s

भव्यतासाथ पृथ्वीनारायण शाहको एकता दिवस मनाइने

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई यसपटक भव्य एकता दिवसका रूपमा मनाइने भएको छ ।
एकता दिवसलाई भव्य बनाउने अभियानको संयोजन एमाले नेता मोदनाथ प्रश्रतिले गरेका छन् । राष्ट्रनिर्माता स्व. शाहको जन्मजयन्ती र एकता दिवसको राष्ट्रिय हैसियत खोसिएको चार वर्षछि पहिलो पटक एमाले नेताकै संयोजनमा एकता दिवस मनाउन लागिएको हो । स्व. राजा पृथ्वीको २ सय ८८औं जन्मजयन्ती २७ पुसमा हो । सो अवसरमा उनको योगदानसमेतमा विस्तृत
बहस चलाइने तयारी गरिएको प्रश्रतिले बताए ।
जाताजातिमा विभाजित स-साना राज्यहरू एकीकरण गरी विशाल नेपाल निर्माण गरेका शाहको ऐतिहासिक कार्यलाई अवमूल्यन नगर्न सम्बन्धित निकायलाई सोही दिन आग्रहसमेत गरिने उनले बताए ।
'राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहले खेलेका भूमिकाको स्मरण गर्दै त्यसलाई राष्ट्रिय बहसको रूपमा ल्याउने गरी जन्मजयन्ती मनाउन लागिएको हो,' प्रश्रतिले सोमबार राजधानीसँग भने ।
तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको आदेशमा २०६५ सालबाट राष्ट्रिय एकता दिवस मनाउने प्रचलन खारेज गरिएको थियो । सिटौलाले नै सो दिनलाई र्सार्वजनिक बिदा पनि कटौती गरेका थिए ।
पृथ्वीजयन्तीका अवसरमा आमनागरिक, विद्यार्थी, राजनीतिक व्यक्तित्वलगायतको सहभागितामा सिंहदरबार मूलगेटअघि
स्व. राजाको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम राखिएको प्रश्रतिले बताए । उनका अनुसार त्यस दिनलाई राष्ट्रिय सम्मानका साथ मनाउन सरकार, नागरिक समाज, वकिल, पत्रकार, शिक्षक, विभिन्न पेसाकर्मी तथा र्सवसाधारणलाई अह्वान
गरिएको छ ।
समितिले 'राष्ट्र निर्माणमा पृथ्वीनारायणको भूमिका' विषयक अन्तक्रिर्या पनि आयोजना गर्नेछ । 'क्रान्ति र गणतन्त्रका नाममा राष्ट्रनिर्माताको भूमिकालाई अवमूल्यन गर्दै उनको शालिकसमेत भत्काउने काम भयो,' प्रश्रतिले भने, 'हामी उनको भूमिकालाई फेरि राष्ट्रिय बहसको रूपमा ल्याउन चाहन्छौं ।'
संघीयताको नाममा इतिहासलाई बिर्सर्ेेजातीय राज्यको नाममा नेपाल टुक्रयाउन खोजिएको प्रश्रतिको आरोप थियो । 'दलका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्न र भोट माग्न गलत व्याख्या गरी विभिन्न जातजातिलाई राज्य भाग लगाउने काम गरेका छन्,' प्रश्रतिले थपे, 'राज्य भूगोल र वर्गको हुन्छ, जातीयताको आधारमा हुन्न ।' जातीय आधारमा संघीयतामा जानुअघि पृथ्वीनारायाण शाहको भूमिकालाई सम्झन दलका नेताहरूलाई प्रश्रतिको आग्रह थियो ।
अमेरिका, रुस, भारत, चीनलगायत ठूला राष्ट्र निर्माण गर्ने राष्ट्रनायकहरूको भव्य शालिक प्रमुख सहरमा सम्मानका साथ राखिएको उल्लेख गर्दैर् प्रश्रतिले भने, 'नेपालमा शालिक बनाउन त परै जाओस् भएका पनि भत्काइएका छन् ।'