• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, July 16, 2012

    असुरक्षित बन्दै गएको वैदेशिक रोजगार

    कोही आफन्त र साथीभाई विदेश गइहाले भने नेपालमा बस्नेको हार्दिक अनुरोध सधैं हुनेगर्छ, मलाई पनि उतै तान् । विदेश बसेकाले त्यहाँ पाएको हण्डर, ठक्कर र हैरानी नेपालबाट जान चाहनेमध्ये कमैले विश्वास गर्छन् । जसोतसो र जेजसरी हुन्छ, हरेकको चाहना विदेश जाने नै छ । अझ राम्रा भनिएका मुलुकमा जान पाइएको खण्डमा जति पैसा पनि खर्च गर्न तयार हुन्छन्, नेपालीहरु । तर विदेश जाँदा लाग्ने पैसाले नेपालमै केहि गर्ने योजना कमैले मात्र बुन्ने गरेको पाइन्छ । नेपालमा केहि इलम गर्नपरयो भनि सहयोग माग्दा मुण्टो बटार्ने, तर विदेश जानका लागि भने जति नै सहयोग गर्न तयार हुने नेपाली समाजका कारण वैदेशिक रोजगारले प्रश्रय पाइरहेको छ । विदेशको समस्याबारे बेखबर र जानीजानी बुझ पचाउने नेपाली समाज अप्ठ्यारो परेपछि मात्रै चासो राख्ने गरेको छ । यसैले वैदेशिक रोजगारीलाई जिन्दगीकै गन्तव्य बनाउनेहरुले सुरक्षित वैदेशिक रोजगारीको अभियानलाई पनि गन्तव्य बनाउन सकेका श्रम र सुरक्षाको ग्यारेण्टी हुनसक्छ भन्ने कुरामा विचार गर्न जरुरी भइसकेको छ ।
    अब त नेपालमै केहि गर्ने भन्दा पनि धेरैको रोजाइ विदेश जाने बन्न थालिसक्यो । तर किन र के काम गर्न जाने विदेश ? भन्दा कसैले गतिलो उत्तर दिन सक्दैनन् । दैनिक पत्रपत्रिकामा वैदेशिक रोजगारीका लागि निस्किएका सूचनाहरु हेर्दा विदेशमा मान्छे कस्ता काममा संलग्न छन् र उनीहरुको अवस्था कस्तो छ भन्ने झल्कन्छ । खाडी देशहरुमा जानका लागि खुलेका सूचनाहरु पत्रपत्रिकामा बढि देखिन्छन् । तर अन्य थप विकसित देश र युरोपेली मुलुकमा काम गर्न जानेका लागि पत्रपत्रिकामा सूचना कमै आउँछन् । यस्ता देशमा जानका लागि सीमित व्यक्ति र दलालमार्फत नै जानपर्ने हुन्छ ।
    यो लेख पढिरहनुभएका पाठकमध्ये पक्कै केहिको चाहना विदेश जाने पनि भएको हुनसक्छ । एकैछिन तपाई पाठककै विषयमा कुरा गरौं । आर्थिक हैसियत ठूलो भएका र विदेश जान दश लाख भन्दा बढि खर्च गर्नं कस्सिएकाहरु ठूला भनिएका देश जाने उपाय सोंच्छन् । अनि आर्थिक हैसियत कम भएका मान्छेको सोंचाई साना देशको हुन्छ । आफूसंग भएको पैसाको आधारमा मात्रै मान्छेले कुन देश जाने निर्णय गरेको पाइन्छ । यसका साथै विदेशमा रहेका आफन्त भएका आधारमा ती देशमा जाने निर्णय पनि उनीहरुले गरेका छन् । तर सबैभन्दा ठूलो कुरो योग्यता र क्षमताका आधारमा कसैले पनि रोजगारीका लागि कुन देश जाने भन्ने तयारी गर्दैनन् । यो अहिलेको साझा समस्या हो ।
    दैनिक श्रम गर्न विदेश जानेहरुमध्ये अधिकांश सम्बन्धित काममा दक्ष हुँदैनन् । सबैको कागजी प्रकृया मात्र पुरा भएको हुन्छ । दलाललाई ठूलो धनराशी चढाई नेपालमा पनि वैदेशिक श्रमका लागि कुद्नपर्ने ढोकाभित्रका कर्मचारीलाई भेटी चढाएर कागजमा मात्रै दक्ष कामदारको छाप लगाउँदैमा उसका लागि वैदेशिक रोजगारी सफल हुन नसकेका उदाहरण धेरै छन् । कागजमा दक्षताको प्रमाण पनि हुन्छ । यसैका आधारमा सम्बन्धित देशको दुतावासले प्रवेशाज्ञा पनि दिन्छ । तर यतिसारो कागजी प्रमाण पेश गर्न हतारिने मान्छेले आफू प्राविधिक रुपमा दक्ष हुन कहिल्यै केहि सिक्ने चासो राख्दैन । कमसेकम विदेशमा जब त्यही काम गर्न जान लागिएको छ भने त्यही कामका बारे राम्रो तालिम गरेर गए दक्ष कामदार बन्न सकिन्छ भन्नेबारेमा आम नेपालीलाई बुझाउन सकिएको छैन ।
    विदेश जाने भीसा पाइयो भन्दैमा अब सबैथोक सकियो र जानेवित्तिकै महिनावारी तलब थाप्न पाइन्छ भनेर सोंच्नु पनि बेकार हो । सबै कागजी प्रकृया पुरा गरेर भीसा लागेको पासपोर्टका साथ जहाजबाट आफू पुग्ने देशको एअरपोर्टबाट बाहिर निस्कने क्रममा त्यहाँका अध्यागमन अधिकारीले फर्काइदिएका उदाहरण पनि धेरै छन् । सक्कली र नक्कली कामदार कस्ता हुन्छन् भन्ने कुरा ती अधिकारीले उनीहरुको हाउभाउ हेरेरै पत्ता लगाउँछन् । ठूला भनिएका देशमा नेपालीहरुलाई यस्तो समस्या अझ बढि छ ।
    खाडी देशहरुमा त झन् समस्या अर्को पनि छ । त्यहाँ निर्माण कामका लागि जाने नेपालीहरुमध्ये धेरै कहिल्यै सवारी साधनमा बस पनि नदेखेकाहरु एकैपटक त्रिभुवन विमानस्थल जहाजभित्र छिर्छन् । दलाललाई वर्र्षौअघि पासपोर्ट बुझएर विदेश जाने पालो कुरेर बसेका तराइका मधेशी मुलका दाजुभाईका नाममा अर्कै मान्छे विदेश गएर आइसकेको हुन्छ । तर उसलाई पत्तो हुँदैन । एकपटक अर्कैको नाममा विदेश गएर नेपाल आइसकेपछि फेरि अर्कोपटक नयाँ पासपोर्ट बनाएर ऊ जान्छ । तर एअरपोर्टबाटै त्यो देशको अध्यागमनले उसलाई फर्काइदिन्छ । नयाँ पासपोर्ट लिएर जाँदा केहि नहोला भन्ने उसको सोचाई भएपनि पहिलोपटक जाँदा विदेशको एअरपोर्टमा जाँदा लिइएको उसको औंठाछापबाट ऊ नक्कली भएको प्रमाणित हुन्छ । अनि उसका लागि एअरपोर्टको ढोका बन्द हुन्छ । काठमाडौं कालिकास्थानको अध्यागमन विभागमा गएर एक दिन विताईयो भने यस्ता समस्या खेपेर बसेका नेपालीहरु धेरै भेटिन्छन् । त्यसमाथि महिलाहरुको समस्या झन् अनौठो र बढि पनि देखिएको छ ।विदेश उडाइदिन पाए तत्काल खल्ती भरिन्छ भने दलालहरुको सोंच र विदेश गइहाल्न पाए यस्ता पैसा जति पनि कमाइन्छ भन्ने हतारिदो सोंचका कारण वैदेशिक रोजगार सुरक्षित बन्न सकिरहेको छैन । यसमा सबैले विचार पुरयाउन जरुरी छ । यसैले भीसा पाएर जहाज चढ्नुमात्रै वैदेशिक रोजगारको शुरुवात होइन भन्ने बुझन जरुरी छ ।नेपालबाट सबै कागजात पुरा गरेर इपीएस प्रणालीमार्फत् एकैपटक कोरियाको विमानस्थलसम्म पुगेका तीनजना नेपालीहरु कोरियाको धर्ती टेक्न नपाउँदै एअरपोर्टबाटै अघिल्लो महिना फिर्ता भए । कोरिया जानका लागि सबै कागजी तयारी गरिरहेका उनीहरुलाई कोरियाले फिर्ता गर्नुको कारण उनीहरु सम्बन्धित काम र जान लागेको कम्पनीका बारे जानकार नहुनु हो । कोरिया जानकै लागि करिब पाँच वर्ष नेपालमै भौतारिएका उनीहरुको सानो कमजोरीले वर्षौको मेहनत खेर गयो । उत्तिकै धनराशी खर्च भयो । यस्ता समस्याले पनि विदेश जानेहरुलाई आफ्नो पेशा सुरक्षित बन्न नसकेको यथार्थ छ । कामप्रति दक्ष नहुँदा थ्री डी अर्थात् डिफिकल्ट, डर्टी र डेन्जर काम गर्नबाहेक अर्को विकल्प हुँदैन ।
    कालिकास्थानको अध्यागमन विभागमा जाने हो भने विभिन्न समस्याका कारण विदेशबाट फिर्ता भएका महिलाहरु पनि छन् । महिनाको दश हजार रुपैयाँ पारिश्रमिकमा घरेलु कामदारका रुपमा गएका महिलाहरुको संख्या अझ बढि छ । विदेश जाने बेलामा जस्तोसुकै विधि अपनाएर अर्थात् दलालहरुको लहैलहैमा लागेर नेपाली धर्तीबाट उड्नका सट्टा भारत हुँदै उडेका उनीहरु पनि सम्बन्धित ठाउँमा त जसोतसो पुग्छन् । नेपालबाट पठाउने दलाल त्यहाँ पुगेपछि भेटिदैन । अनि पौडी खेल्न नजान्ने मान्छेलाई समुद्रमा हुत्याइदिंदा उसले बाहिर निस्कने प्रयास गरिरहने यथार्थ जस्तै बन्छ, ती महिलाहरुको अवस्था ।समुद्रबाट बाहिर निस्कन जे उपाय पनि अपनाउनैपर्यो । जसको जस्तो सहारा पनि लिन परिहाल्यो । अनि केहि सीप नलागेपछि आफ्नै माइती नेपाल फर्कनैपरयो । यो बीचमा ती महिलाहरुले पाएको हैरानी कति होला ? सामाजिक डरले न उनीहरुले भन्छन्, न कसैले भनेर थाहा पाइन्छ । यो सबै अनुमानका आधारमा मूल्यांकन गर्न सकिन्छ । यद्दपि धेरै यथार्थ बाहिर पनि आएका छन् । यस्तो अवस्थाका बीच नेपाल फिर्ता भएका महिलाहरुलाई नेपालको अध्यागमनले पनि नानाथरी दुःख दिने गरेको छ । सामान्य गल्तीका कारण थोरै धरौटी राखेर तारेख धाउन नसकि त्यहींको जेलमा लामो समय व्यतित गरेका महिलाहरु भेटिन्छन् त्यहाँ । समस्या परिवार र समाजलाई भन्दा लाज लाग्ने, नभनौं यस्तो समस्याका बीच पनि जेलमै बसिरहन पर्ने । यसैले जसोतसो अध्यागमनले तोकेको कारवाही सहेरै बस्न बाध्य भएका छन्, नेपाली महिलाहरु । उनीहरुसंग आवश्यक परामर्श लिनसके भविष्यमा अरु महिलाहरुले यस्तो गल्ती गर्दैनन् र उनीहरुबाटै आफ्नै अवस्था खुलाउन सके सबैलाई ती महिलाहरुले सम्झाउन पनि सक्छन् । वैदेशिक रोजगारीका क्षेत्रमा काम गरिरहेका संघसस्था र म्यानपावर कम्पनीहरुले यस्ता कुराहरुमा ध्यान दिन सके वाध्यताका कारण विदेश जार्नैपर्ने अवस्था भएका नेपालीहरुलाई समेत सहयोग पुग्नेछ र यो पेशा सुरक्षित पनि बन्नसक्छ ।

    2 comments:

    1. http://nbihani.blogspot.com/2012/11/blog-post_8665.html read this article ट्याक्टर ड्राइभर देखि पत्रकारसम्म

      ReplyDelete
    2. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

      DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

      ReplyDelete