Sunday, July 31, 2011

मैले बुझेको एनआरएनए जापान

सार्क मुलुकभन्दा बाहिर विभिन्न पेशा, व्यवसाय र अध्ययन गरि बसेका नेपालीलाई एनआरएन अर्थात् गैरआवासीय नेपाली भन्ने गरिन्छ । यसैले जापानमा बसेका नेपाली पनि एनआरएन हुन् । यिनै नेपालीको साझा संस्थालाई एनआरएनए जापान भनेर परिभाषित गरिएको छ । अरु देशमा जस्तै जापानमा पनि लगातार १८२ दिनभन्दा बढि बसिसकेपछि दुई हजार यन सदस्यता शुल्क तिरेर यसको सदस्यता लिन सकिन्छ ।

जापानमा वैध रुपमा बसेका नेपालीको संख्या मात्रै करिब २० हजारको हाराहारीमा छ । गणनामा नआएका नेपालीलाई पनि समेट्ने हो भने यो संख्या अझै बढ्छ । तर एनआरएनए जापानमा आवद्ध नेपालीहरु दुई हजारको हाराहारीमा छन् । संघको वैध सदस्य संख्या धेरै कम छ । जापानमा बसेका नेपालीहरुको संख्यालाई आधार मान्दा एनआरएनए जापानले ज्यादै कम नेपालीलाई मात्रै समेटेको छ । यसरी समेटिएका नेपाली पनि अधिकांश “सुकिलामुकिला” मात्रै छन् । अब प्रश्न उठ्छ, के एनआरएनए जापान आफैमा जापानका नेपालीको अभिभावक हो त ?
आगामी १४ तारिख टोक्योमा हुने अधिवेशनलाई लक्षित गरी यो संघको चर्चालाई उम्मेदवारहरुले चुलीमा पुरयाईदिए । सर्वसम्मत तरिकाले नयाँ नेतृत्व आएको खण्डमा यो संघमा सदस्यहरु बढ्दैनन् । यदि निर्वाचन नै हुने पक्कापक्की भयो भने मात्रै सदस्यहरु ह्वात्तै बढ्ने सम्भावना छ । किनभने यसको नेतृत्व हत्याउने दाउमा लागेकाहरुले आफ्ना नजिकका मान्छे र आसेपासेलाई “भोट ब्याङ्क”को रुपमा सदस्य बनाउन सदस्यता फारम र पैसा खल्तीमा लिएर हिंडेका छन् । निर्वाचनको मुखमा विभिन्न क्षत्रीय अधिवेशनमा बढेको सदस्यको अनुपातले पनि यो कुरालाई पुष्टि गरेको छ ।
विदेशमा रहेका नेपाली संगठित हुनु राम्रो काम थियो । स्वतन्त्र संस्थाका रुपमा “नेपालीका लागि नेपाली” भन्ने मूल नाराका साथ स्थापित भएर अघि बढ्नु आफैमा राम्रो कदम पनि हो । तर समयको क्रमसंगै संघलाई प्रतिष्ठाको विषय बनाउनुभन्दा पनि विदेशमा रहेका नेपालीले यसलाई पद र पैसासंग तुलना गरेर “प्रतिष्ठा”को विषय बनाए । संस्थाप्रतिको लगाव र सम्मानको हिसाब गर्दा जापानका नेपालीले यो संघलाई विश्वास गर्ने आधार भेटिदैन । किनभने संघमा सदस्य बन्ने हैसियत राखेका नेपालीमध्ये दश प्रतिशत नेपालीलाई पनि जापानको एनआरएनएले राम्रोसंग समेट्न सकेको छैन । यो ज्यादै लाजमर्दो कुरा हो । यद्दपि दश जना गैरआवासीय नेपाली मिले भने जापानमा अर्को एनआरएनए जन्मन सक्ने यसको केन्द्रीय विधानमा उल्लेख छ । यसो भयो भने अहिले चिनिएको एनआरएनए कता जाने ? बेलैमा नेतृत्वले सोंच्न जरुरी छ ।
जापानमा रहेका अरु गैरआवासीय नेपालीको त कुरै छाडौ, यसैमा आवद्ध नेपाली को कहाँ कसरी के गरेर बसिरहेका छन् भन्ने बारेमा नेतृत्व मौन छ । उसंग नेपालीका बारेमा प्रष्ट डाटा छैन । जबसम्म जापानमा रहेका नेपालीको स्पष्ट तथ्यांक तयार पारिदैन, तबसम्म नेपाल र नेपालीका लागि केहि गर्न सकिदैन । आफ्नै वरीपरि भएका नेपालीका बारेमा जानकारी नलिइ स्वदेशमा रहेका नेपालीका बारेमा जापानमा चिन्ता लिनु “नजिकको तीर्थ हेलाँ” भनेजस्तै हो ।
विदेश आउनु कसैका लागि रहर हो भने कसैका लागि बाध्यता । विदेश आएकामध्ये धेरै एनआरएनको एउटै उद्देश्य पैसा कमाउनु पनि हो । यसो हुनु हामी र हाम्रो गरिवी नै प्रमुख कारण हो । यसैले विदेश आउने बाटो अर्थात्, भीसालागि लागि जापान आउन नेपालीले अनेक “चोरबाटो” पनि अपनाएका छन् । सफलता पाउनु नपाउनु आफ्नो ठाउँमा छ । तर अनुहार र भीसा स्टाटस हेरेर जापानमा रहेका नेपालीलाई मूल्याँकन गर्ने चलन बढ्दै गएको छ । यहाँ सामान्य तरिकाले आएर सामान्य काम गरिरहेका मान्छेसंग पनि विलक्षण प्रतिभा लुकेको हुन्छ । हाम्रो देश नेपालमा पनि गतिलो तरिकाको शिक्षा, रोजगार र गरिखाने धन्दा भएको भए शायद मान्छेले यसरी जापानलाई आवश्यकता र महत्व दिन्थेनन् होला । यसैले एनआरएनए जापानले आफ्नो क्षेत्रमा रहेका नेपालीको पहिचान गरि जापानबाटै भएपनि देशको लागि गर्न सक्ने योगदानको बहस चलाउनु आवश्यक छ ।
विदेश आएर लामो समय व्यतित गरिसकेपछि आफूले कमाएको केहि अंश खर्च गरेर सामाजिक बन्न चाहनेहरुका लागि एनआरएनए अहिले आएर गतिलो माध्यम भएको छ । नेतृत्वका लागि “सुकिलामुकिला”ले रहर गर्नु यो अर्थमा कुनै नौलो र ठूलो कुरा पनि भएन । यसैले त मान्छेहरु भन्ने गर्छन्, यो गरीवको संस्था होइन, धनी र हुनेखानेहरुको मात्रै संस्था हो । यो नेपालमा बसेका मान्छेले लगाएको आरोप होइन । एनआरएनहरुले एनआरएनएलाई लगाएको यो आरोपको खण्डन व्यवहारमा अझै भएको पाइएको छैन । पैसा नभएकाहरु एनआरएनएमा लाग्न हुँदैन भन्नेहरु नेतृत्वमा छन् । कतिले मिल्दैनसम्म भन्छन् । साथमा पैसा नभइ एकाध तरिकाले छिरेकाहरुको संगठनमा कुनै सुनुवाइ हुँदैन भन्नेहरु पनि छन् । मान्छेको भनाईले मात्रै होइन, व्यवहारले पनि त्यहि देखाउँछ । जापान भनेर के गर्नु ? यहाँ हवाइजहाज किन्ने हैसियत राखेका नेपालीदेखि रेल चढ्ने हैसियत नभएका नेपाली पनि छन् ।
अब एनआरएनए जापानमा छिर्न २००० येन र वार्षिक रुपमा २००० येन नै नविकरण शुल्क तिरेर यसको सदस्यता टिकाइराख्ने सवालमा फरक फरक आर्थिक हैसियत भएका नेपालीलाई एउटै हैसियतमा राख्नु उचित होला त ? ठिकै छ, सदस्य पनि बन्ला , नविकरण पनि गर्ला । तर बेलाबेलामा हुने वैठक भेलामा अझ धेरै खर्च गरेर उपस्थित हुने हैसियत कमै नेपालीको मात्र छ । यसैले पनि पैसा हुनेहरु मात्रै एनआरएनएमा बस्नुपर्छ भन्ने आवाजले ठूलो अर्थ बोकेको छ । यस्ता कुराहरुमाथि एनआरएनए नेतृत्वले छलफल चलाउन जरुरी छ ।
अहिलेको एनआरएनए जापानले चटके निर्णय गरेको रैछ, १४ तारिखको अधिवेशनमा भाग लिन पाँच जना बराबर एक जना मात्रै प्रतिनिधि बन्न पाउने । प्रतिनिधि बन्न कि क्षत्रीय समितिले सिफरिस गर्नुपर्ने, कि त प्रतिनिधि बन्ने व्यक्तिले दुई जना प्रस्तावक र दुइजना समर्थकको हस्ताक्षर सहितको सिफारिस लिएर केन्द्रमा “विन्तीपत्र” चढाउन जाने । यसरी एकपटक प्रतिनिधि, प्रस्तावक र समर्थक बनेको व्यक्ति अर्को व्यक्तिका लागि प्रतिनिधि, प्रस्तावक र समर्थक केहि पनि बन्न नपाउने । यस्तो अव्यवहारिक कदम आफैमा हासउठ्दो त छदैछ, यसले कत्तिको गम्भीर समस्या उत्पन्न गराउँछ भन्ने हेक्का नेतृत्वमा बसेकालाई ज्ञान नभए जस्तो लाग्यो । क्षत्रीय समितिलाई निर्णयको अधिकार दिनु प्रजातान्त्रिक पद्धतिको उपहास त हुँदै हो । किनभने उसले आफूलाई मन परेका मान्छेलाई जिताउनका लागि मात्रै “भोट व्यांक”को सपथ खुवाएर प्रतिनिधि बनाउँछ । प्रस्तावक र समर्थकको सिफारिस लिएर प्रतिनिधिको लागि विन्तीपत्र हाले भने केहि हदसम्म यो प्रजातान्त्रिक हुनसक्ला । तर यसको मापन गर्ने आधार के ? आफ्नै सदस्यहरुको गतिलो तथ्याँक नभएको एनआरएनए जापानसंग अब बन्ने प्रतिनिधि, प्रस्तावक र समर्थकको आधिकारिक हस्ताक्षर कसरी प्रमाणित हुन सक्छ ? यसका लागि बेलैमा क्षेत्रीय भेला बोलाएर सबैका सामु प्रतिनिधि छान्ने व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ ।
हालै जापानबाट वेवकाष्ट भएको एउटा अनलाइन मिडियामा सुनामी पीडितको सन्दर्भमा आर्थिक अनियमितता भएको कुरा बाहिर आयो । तर टोकियोमा रहेका अधिकांश संघसंस्थाले यसलाई खण्डन गरि “होइन” भने । उनीहरुको विचारमा यो “निराधार आरोप” र “तथ्यहिन समाचार” थियो । एनआरएनए जापानले आफ्नो आधिकारिक वेवसाइडमा राखेको जापानका नेपाली सञ्चारमाध्यम मध्येको एक अनलाइन पोर्टलमा त्यो समाचार उल्लेख थियो । “सञ्चारमाध्यम” मा आएको समाचारलाई “निराधार र कपोलकल्पित” बनाउन जति मिहिनेत गरियो, अहिलेसम्म यसको वास्तविकता र हरहिसाबको आधिकारिक फाँटवारी संस्थागत रुपमा एनआरएनए जापानको नेतृत्वले बाहिर ल्याउन आवश्यक ठानेन । अब यसलाई के भन्ने ? “दालमे कुछ काला हे” त भन्नै परयो । एनआरएनए जापानले आधिकारिक मानेको संचारमाध्यममा प्रकाशित समाचार सही नहुन पनि सक्छ । तर विषय उठिसकेपछि मिहिन तरिकाले आम नेपाली जनतालाई जवाफ दिईयो भने संगठन र नेतृत्वमाथि बारम्बार प्रश्न उठाउने ठाउँ रहँदैन । यस्ता कुराहरुको तथ्यपरक जवाफ दिन सकिएन र ढिला गरियो भने पनि समाचारलाई “कपोलकल्पित” बनाउन बसेको भेलालाई जापानमा रहेका नेपालीले “चोरको खुट्टा काट् भन्दा उचालेको रहेछ” भनि बुझ्नेछन् । यसैले आर्थिक पारदर्शीताका लागि नेतृत्व पंक्तिले गम्भीर भएर सोच्दै यथार्थ के हो ? बाहिर ल्याउन आवश्यक छ ।
यतिबेला “मानवतस्कर” हरुले जापानमा आकर्षक तलब र कामको लोभ देखाएर सोझा र गरीव नेपालीसंग लाखौं रुपैया असुल्दै यहाँ ल्याई अलपत्र पारेको घटना बढ्दै गएको छ । गरीव नेपालीको पैसा, समय र मिहिनेतमा खेलवाड गरि रातारात “धनी” भएकाहरुले कमाइको केहि अंश सामाजिक काममा खर्चेको बहाना बनाएर एनआरएनएलाई आश्रयस्थल बनाएका पनि छन् । यसको छानवीन हुनु जरुरी छ । जापानमा रहेका नेपालीका समस्याका पोका धेरै छन् । समाधान गर्ने जिम्मा एनआरएनएको भने होइन । तर यो संस्थाले धेरै पहल गर्नसक्छ । जापानमा रहेका नेपालीहरुले एनआरएनए जापानलाई आफ्नो कर्मघरको अभिभावक सम्झिसकेपछि यसको नेतृत्व पंक्तिमा भएका र अब आउन चाहनेहरुले यहाँ रहेका हरेक नेपालीका समस्यालाई समाधान गर्न नसकेपनि बुझ्न चाहि सक्नुपर्छ । जापान आएको सक्षम नेपालीले नेपाल र नेपालीका लागि गरेको सहयोग तबमात्रै सार्थक हुन्छ, जब सबै नेपालीले कमाइको सानो अंश नेपाल विकासको लागि खर्चिन सक्छन् ।
समस्या हरेकका आ–आफ्ना छन्, जापानमा । सबैले चाहे भने गर्न नसकिने पनि केहि होइन । नेपालको विकास टाढाको कुरा भयो । सुरु यहिं जापान बसेका नेपालीलाई सहयोग गरेर गर्न सकिन्छ । पहिलो कुरो, जापानमा रहेका सम्पूर्ण नेपालीको तथ्यांक संकलन गरेर उनीहरुको अवस्था बुझ्ने । यसपछि आयश्रोतको आधारमा सदस्यता र नविकरण शुल्क निर्धारण गरेर उनीहरुलाई एनआरएनए जापानको सदस्यता दिलाउन सकिन्छ । नेपालीलाई काम लगाएर श्रम अनुसार ज्याला नदिने “मालिक”हरुको विगवीगी बढ्दो छ । यसलाई तह लगाउन अनुगमनको खाँचो छ । त्यस्ता “मालिक” लाई एनआरएनएको अभियानमा सरिक नगराइदिने हो भने मर्कामा परेका धेरै नेपाली खुशी हुनेथिए । भाषा र जापानी अध्यागमन कानुनको अभावमा नेपालीहरु धेरै अप्ठेरोमा परिरहेका छन् । भाषा र जापानी अध्यागमन कानुनबारे राम्रो ज्ञान भएका एनआरएनहरुले समुह बनाई त्यस्ता नेपालीलाई हप्ताको एकपटक भएपनि प्रशिक्षित गरिदिन सक्छ । नेपालीहरु एकै ठाउँमा भेला भएर कार्यक्रम गर्नु त राम्रो कुरा हो ।
तर जापानमा हुने जुनसुकै कार्यक्रमका सहभागि प्रायः एउटै अनुहारका हुन्छन् भन्दा अत्युक्ति नहोला । समय र पायक मिलाएर हरेक वर्ग र क्षेत्रका नेपालीलाई पनि कार्यक्रममा सहभागि गराए एनआरएनएको गरिमा बढ्न सक्छ । हरेक संस्थाको अधिवेशन भनेको विगतको कार्यसमीक्षा र आगामी कार्ययोजना साथै भावी नेतृत्वका लागि हुनेगर्छ । एनआरएनए जापानको आगामी अधिवेशन पनि यसैमा केन्द्रीत छ । तर अहिलेको चहलपहल हेर्दा भावी नेतृत्वको कसरतले बाँकि काम अधुरा र गौण हुने निश्चित छ । यसैले नेतृत्व चयनका बारे बेलैमा बुद्धि पुरयाउन जरुरी छ । हालै विद्यार्थीहरुको संस्था नेसाजले कम्प्युटर सिस्टमबाट चयन गरेको नेतृत्व प्रकृयालाई एनआरएनएले उपयोग गरयो भने धेरै राम्रो हुनेछ । अनि बल्ल नेपालीका साझा मुद्धामा छलफल गर्न पाइनेछ । एक पटकको नेपाली सधैंको नेपाली बन्न सक्छ । यी भनेको विना पैसामा गर्न सकिने कुरा हुन् । अब हामी सबैले जापानमा हुने विभिन्न भेला, वैठक र कार्यक्रममा लाग्ने समय, पैसा र खानपीनलाई कम गरी नेपाल र नेपालीको विकास जापानबाटै सुरु गरे कसो होला ?

2 comments:

  1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

    ReplyDelete
  2. तपाईं एउटा जरुरी ऋण चाहिन्छ? तपाईं आफ्नो व्यवसाय सुरु गर्न जरुरी ऋण को आवश्यकता मा गम्भीर छन्? तपाईं ऋण मा हो? यो तपाईंको इच्छा हासिल गर्न आफ्नो मौका छ, हामी व्यक्तिगत ऋण, व्यापार ऋण, कर्पोरेट ऋण र पाउन्ड मा ऋण को सबै प्रकार र हाम्रो ऋण रकम प्रदान गर्न, यूरो र 1,000 देखि 5,00,000 गर्न लिएर डलर, व्यक्तिहरूलाई र 500.000.000 गर्न 5,00,000 चासो संग कम्पनी गर्न 2% मा। थप जानकारीको लागि कृपया ई-मेल मार्फत हामीलाई सम्पर्क (Nicolehenry700@gmail.com)
    सम्बन्ध।
    श्रीमती: निकोल हेनरी
    एमडी / सीईओ: निकोल हेनरी ऋण दृढ।
    ई-मेल: Nicolehenry700@gmail.com

    (Nicolehenry700@gmail.com): नोट: सबै प्रतिक्रिया पठाइएको गर्नुपर्छ। थप जानकारीको लागि ई-मेल मार्फत हामीलाई सम्पर्क


    एमडी / सीईओ: निकोल हेनरी ऋण दृढ।

    ReplyDelete