Sunday, July 31, 2011

मैले बुझेको एनआरएनए जापान

सार्क मुलुकभन्दा बाहिर विभिन्न पेशा, व्यवसाय र अध्ययन गरि बसेका नेपालीलाई एनआरएन अर्थात् गैरआवासीय नेपाली भन्ने गरिन्छ । यसैले जापानमा बसेका नेपाली पनि एनआरएन हुन् । यिनै नेपालीको साझा संस्थालाई एनआरएनए जापान भनेर परिभाषित गरिएको छ । अरु देशमा जस्तै जापानमा पनि लगातार १८२ दिनभन्दा बढि बसिसकेपछि दुई हजार यन सदस्यता शुल्क तिरेर यसको सदस्यता लिन सकिन्छ ।

जापानमा वैध रुपमा बसेका नेपालीको संख्या मात्रै करिब २० हजारको हाराहारीमा छ । गणनामा नआएका नेपालीलाई पनि समेट्ने हो भने यो संख्या अझै बढ्छ । तर एनआरएनए जापानमा आवद्ध नेपालीहरु दुई हजारको हाराहारीमा छन् । संघको वैध सदस्य संख्या धेरै कम छ । जापानमा बसेका नेपालीहरुको संख्यालाई आधार मान्दा एनआरएनए जापानले ज्यादै कम नेपालीलाई मात्रै समेटेको छ । यसरी समेटिएका नेपाली पनि अधिकांश “सुकिलामुकिला” मात्रै छन् । अब प्रश्न उठ्छ, के एनआरएनए जापान आफैमा जापानका नेपालीको अभिभावक हो त ?
आगामी १४ तारिख टोक्योमा हुने अधिवेशनलाई लक्षित गरी यो संघको चर्चालाई उम्मेदवारहरुले चुलीमा पुरयाईदिए । सर्वसम्मत तरिकाले नयाँ नेतृत्व आएको खण्डमा यो संघमा सदस्यहरु बढ्दैनन् । यदि निर्वाचन नै हुने पक्कापक्की भयो भने मात्रै सदस्यहरु ह्वात्तै बढ्ने सम्भावना छ । किनभने यसको नेतृत्व हत्याउने दाउमा लागेकाहरुले आफ्ना नजिकका मान्छे र आसेपासेलाई “भोट ब्याङ्क”को रुपमा सदस्य बनाउन सदस्यता फारम र पैसा खल्तीमा लिएर हिंडेका छन् । निर्वाचनको मुखमा विभिन्न क्षत्रीय अधिवेशनमा बढेको सदस्यको अनुपातले पनि यो कुरालाई पुष्टि गरेको छ ।
विदेशमा रहेका नेपाली संगठित हुनु राम्रो काम थियो । स्वतन्त्र संस्थाका रुपमा “नेपालीका लागि नेपाली” भन्ने मूल नाराका साथ स्थापित भएर अघि बढ्नु आफैमा राम्रो कदम पनि हो । तर समयको क्रमसंगै संघलाई प्रतिष्ठाको विषय बनाउनुभन्दा पनि विदेशमा रहेका नेपालीले यसलाई पद र पैसासंग तुलना गरेर “प्रतिष्ठा”को विषय बनाए । संस्थाप्रतिको लगाव र सम्मानको हिसाब गर्दा जापानका नेपालीले यो संघलाई विश्वास गर्ने आधार भेटिदैन । किनभने संघमा सदस्य बन्ने हैसियत राखेका नेपालीमध्ये दश प्रतिशत नेपालीलाई पनि जापानको एनआरएनएले राम्रोसंग समेट्न सकेको छैन । यो ज्यादै लाजमर्दो कुरा हो । यद्दपि दश जना गैरआवासीय नेपाली मिले भने जापानमा अर्को एनआरएनए जन्मन सक्ने यसको केन्द्रीय विधानमा उल्लेख छ । यसो भयो भने अहिले चिनिएको एनआरएनए कता जाने ? बेलैमा नेतृत्वले सोंच्न जरुरी छ ।
जापानमा रहेका अरु गैरआवासीय नेपालीको त कुरै छाडौ, यसैमा आवद्ध नेपाली को कहाँ कसरी के गरेर बसिरहेका छन् भन्ने बारेमा नेतृत्व मौन छ । उसंग नेपालीका बारेमा प्रष्ट डाटा छैन । जबसम्म जापानमा रहेका नेपालीको स्पष्ट तथ्यांक तयार पारिदैन, तबसम्म नेपाल र नेपालीका लागि केहि गर्न सकिदैन । आफ्नै वरीपरि भएका नेपालीका बारेमा जानकारी नलिइ स्वदेशमा रहेका नेपालीका बारेमा जापानमा चिन्ता लिनु “नजिकको तीर्थ हेलाँ” भनेजस्तै हो ।
विदेश आउनु कसैका लागि रहर हो भने कसैका लागि बाध्यता । विदेश आएकामध्ये धेरै एनआरएनको एउटै उद्देश्य पैसा कमाउनु पनि हो । यसो हुनु हामी र हाम्रो गरिवी नै प्रमुख कारण हो । यसैले विदेश आउने बाटो अर्थात्, भीसालागि लागि जापान आउन नेपालीले अनेक “चोरबाटो” पनि अपनाएका छन् । सफलता पाउनु नपाउनु आफ्नो ठाउँमा छ । तर अनुहार र भीसा स्टाटस हेरेर जापानमा रहेका नेपालीलाई मूल्याँकन गर्ने चलन बढ्दै गएको छ । यहाँ सामान्य तरिकाले आएर सामान्य काम गरिरहेका मान्छेसंग पनि विलक्षण प्रतिभा लुकेको हुन्छ । हाम्रो देश नेपालमा पनि गतिलो तरिकाको शिक्षा, रोजगार र गरिखाने धन्दा भएको भए शायद मान्छेले यसरी जापानलाई आवश्यकता र महत्व दिन्थेनन् होला । यसैले एनआरएनए जापानले आफ्नो क्षेत्रमा रहेका नेपालीको पहिचान गरि जापानबाटै भएपनि देशको लागि गर्न सक्ने योगदानको बहस चलाउनु आवश्यक छ ।
विदेश आएर लामो समय व्यतित गरिसकेपछि आफूले कमाएको केहि अंश खर्च गरेर सामाजिक बन्न चाहनेहरुका लागि एनआरएनए अहिले आएर गतिलो माध्यम भएको छ । नेतृत्वका लागि “सुकिलामुकिला”ले रहर गर्नु यो अर्थमा कुनै नौलो र ठूलो कुरा पनि भएन । यसैले त मान्छेहरु भन्ने गर्छन्, यो गरीवको संस्था होइन, धनी र हुनेखानेहरुको मात्रै संस्था हो । यो नेपालमा बसेका मान्छेले लगाएको आरोप होइन । एनआरएनहरुले एनआरएनएलाई लगाएको यो आरोपको खण्डन व्यवहारमा अझै भएको पाइएको छैन । पैसा नभएकाहरु एनआरएनएमा लाग्न हुँदैन भन्नेहरु नेतृत्वमा छन् । कतिले मिल्दैनसम्म भन्छन् । साथमा पैसा नभइ एकाध तरिकाले छिरेकाहरुको संगठनमा कुनै सुनुवाइ हुँदैन भन्नेहरु पनि छन् । मान्छेको भनाईले मात्रै होइन, व्यवहारले पनि त्यहि देखाउँछ । जापान भनेर के गर्नु ? यहाँ हवाइजहाज किन्ने हैसियत राखेका नेपालीदेखि रेल चढ्ने हैसियत नभएका नेपाली पनि छन् ।
अब एनआरएनए जापानमा छिर्न २००० येन र वार्षिक रुपमा २००० येन नै नविकरण शुल्क तिरेर यसको सदस्यता टिकाइराख्ने सवालमा फरक फरक आर्थिक हैसियत भएका नेपालीलाई एउटै हैसियतमा राख्नु उचित होला त ? ठिकै छ, सदस्य पनि बन्ला , नविकरण पनि गर्ला । तर बेलाबेलामा हुने वैठक भेलामा अझ धेरै खर्च गरेर उपस्थित हुने हैसियत कमै नेपालीको मात्र छ । यसैले पनि पैसा हुनेहरु मात्रै एनआरएनएमा बस्नुपर्छ भन्ने आवाजले ठूलो अर्थ बोकेको छ । यस्ता कुराहरुमाथि एनआरएनए नेतृत्वले छलफल चलाउन जरुरी छ ।
अहिलेको एनआरएनए जापानले चटके निर्णय गरेको रैछ, १४ तारिखको अधिवेशनमा भाग लिन पाँच जना बराबर एक जना मात्रै प्रतिनिधि बन्न पाउने । प्रतिनिधि बन्न कि क्षत्रीय समितिले सिफरिस गर्नुपर्ने, कि त प्रतिनिधि बन्ने व्यक्तिले दुई जना प्रस्तावक र दुइजना समर्थकको हस्ताक्षर सहितको सिफारिस लिएर केन्द्रमा “विन्तीपत्र” चढाउन जाने । यसरी एकपटक प्रतिनिधि, प्रस्तावक र समर्थक बनेको व्यक्ति अर्को व्यक्तिका लागि प्रतिनिधि, प्रस्तावक र समर्थक केहि पनि बन्न नपाउने । यस्तो अव्यवहारिक कदम आफैमा हासउठ्दो त छदैछ, यसले कत्तिको गम्भीर समस्या उत्पन्न गराउँछ भन्ने हेक्का नेतृत्वमा बसेकालाई ज्ञान नभए जस्तो लाग्यो । क्षत्रीय समितिलाई निर्णयको अधिकार दिनु प्रजातान्त्रिक पद्धतिको उपहास त हुँदै हो । किनभने उसले आफूलाई मन परेका मान्छेलाई जिताउनका लागि मात्रै “भोट व्यांक”को सपथ खुवाएर प्रतिनिधि बनाउँछ । प्रस्तावक र समर्थकको सिफारिस लिएर प्रतिनिधिको लागि विन्तीपत्र हाले भने केहि हदसम्म यो प्रजातान्त्रिक हुनसक्ला । तर यसको मापन गर्ने आधार के ? आफ्नै सदस्यहरुको गतिलो तथ्याँक नभएको एनआरएनए जापानसंग अब बन्ने प्रतिनिधि, प्रस्तावक र समर्थकको आधिकारिक हस्ताक्षर कसरी प्रमाणित हुन सक्छ ? यसका लागि बेलैमा क्षेत्रीय भेला बोलाएर सबैका सामु प्रतिनिधि छान्ने व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ ।
हालै जापानबाट वेवकाष्ट भएको एउटा अनलाइन मिडियामा सुनामी पीडितको सन्दर्भमा आर्थिक अनियमितता भएको कुरा बाहिर आयो । तर टोकियोमा रहेका अधिकांश संघसंस्थाले यसलाई खण्डन गरि “होइन” भने । उनीहरुको विचारमा यो “निराधार आरोप” र “तथ्यहिन समाचार” थियो । एनआरएनए जापानले आफ्नो आधिकारिक वेवसाइडमा राखेको जापानका नेपाली सञ्चारमाध्यम मध्येको एक अनलाइन पोर्टलमा त्यो समाचार उल्लेख थियो । “सञ्चारमाध्यम” मा आएको समाचारलाई “निराधार र कपोलकल्पित” बनाउन जति मिहिनेत गरियो, अहिलेसम्म यसको वास्तविकता र हरहिसाबको आधिकारिक फाँटवारी संस्थागत रुपमा एनआरएनए जापानको नेतृत्वले बाहिर ल्याउन आवश्यक ठानेन । अब यसलाई के भन्ने ? “दालमे कुछ काला हे” त भन्नै परयो । एनआरएनए जापानले आधिकारिक मानेको संचारमाध्यममा प्रकाशित समाचार सही नहुन पनि सक्छ । तर विषय उठिसकेपछि मिहिन तरिकाले आम नेपाली जनतालाई जवाफ दिईयो भने संगठन र नेतृत्वमाथि बारम्बार प्रश्न उठाउने ठाउँ रहँदैन । यस्ता कुराहरुको तथ्यपरक जवाफ दिन सकिएन र ढिला गरियो भने पनि समाचारलाई “कपोलकल्पित” बनाउन बसेको भेलालाई जापानमा रहेका नेपालीले “चोरको खुट्टा काट् भन्दा उचालेको रहेछ” भनि बुझ्नेछन् । यसैले आर्थिक पारदर्शीताका लागि नेतृत्व पंक्तिले गम्भीर भएर सोच्दै यथार्थ के हो ? बाहिर ल्याउन आवश्यक छ ।
यतिबेला “मानवतस्कर” हरुले जापानमा आकर्षक तलब र कामको लोभ देखाएर सोझा र गरीव नेपालीसंग लाखौं रुपैया असुल्दै यहाँ ल्याई अलपत्र पारेको घटना बढ्दै गएको छ । गरीव नेपालीको पैसा, समय र मिहिनेतमा खेलवाड गरि रातारात “धनी” भएकाहरुले कमाइको केहि अंश सामाजिक काममा खर्चेको बहाना बनाएर एनआरएनएलाई आश्रयस्थल बनाएका पनि छन् । यसको छानवीन हुनु जरुरी छ । जापानमा रहेका नेपालीका समस्याका पोका धेरै छन् । समाधान गर्ने जिम्मा एनआरएनएको भने होइन । तर यो संस्थाले धेरै पहल गर्नसक्छ । जापानमा रहेका नेपालीहरुले एनआरएनए जापानलाई आफ्नो कर्मघरको अभिभावक सम्झिसकेपछि यसको नेतृत्व पंक्तिमा भएका र अब आउन चाहनेहरुले यहाँ रहेका हरेक नेपालीका समस्यालाई समाधान गर्न नसकेपनि बुझ्न चाहि सक्नुपर्छ । जापान आएको सक्षम नेपालीले नेपाल र नेपालीका लागि गरेको सहयोग तबमात्रै सार्थक हुन्छ, जब सबै नेपालीले कमाइको सानो अंश नेपाल विकासको लागि खर्चिन सक्छन् ।
समस्या हरेकका आ–आफ्ना छन्, जापानमा । सबैले चाहे भने गर्न नसकिने पनि केहि होइन । नेपालको विकास टाढाको कुरा भयो । सुरु यहिं जापान बसेका नेपालीलाई सहयोग गरेर गर्न सकिन्छ । पहिलो कुरो, जापानमा रहेका सम्पूर्ण नेपालीको तथ्यांक संकलन गरेर उनीहरुको अवस्था बुझ्ने । यसपछि आयश्रोतको आधारमा सदस्यता र नविकरण शुल्क निर्धारण गरेर उनीहरुलाई एनआरएनए जापानको सदस्यता दिलाउन सकिन्छ । नेपालीलाई काम लगाएर श्रम अनुसार ज्याला नदिने “मालिक”हरुको विगवीगी बढ्दो छ । यसलाई तह लगाउन अनुगमनको खाँचो छ । त्यस्ता “मालिक” लाई एनआरएनएको अभियानमा सरिक नगराइदिने हो भने मर्कामा परेका धेरै नेपाली खुशी हुनेथिए । भाषा र जापानी अध्यागमन कानुनको अभावमा नेपालीहरु धेरै अप्ठेरोमा परिरहेका छन् । भाषा र जापानी अध्यागमन कानुनबारे राम्रो ज्ञान भएका एनआरएनहरुले समुह बनाई त्यस्ता नेपालीलाई हप्ताको एकपटक भएपनि प्रशिक्षित गरिदिन सक्छ । नेपालीहरु एकै ठाउँमा भेला भएर कार्यक्रम गर्नु त राम्रो कुरा हो ।
तर जापानमा हुने जुनसुकै कार्यक्रमका सहभागि प्रायः एउटै अनुहारका हुन्छन् भन्दा अत्युक्ति नहोला । समय र पायक मिलाएर हरेक वर्ग र क्षेत्रका नेपालीलाई पनि कार्यक्रममा सहभागि गराए एनआरएनएको गरिमा बढ्न सक्छ । हरेक संस्थाको अधिवेशन भनेको विगतको कार्यसमीक्षा र आगामी कार्ययोजना साथै भावी नेतृत्वका लागि हुनेगर्छ । एनआरएनए जापानको आगामी अधिवेशन पनि यसैमा केन्द्रीत छ । तर अहिलेको चहलपहल हेर्दा भावी नेतृत्वको कसरतले बाँकि काम अधुरा र गौण हुने निश्चित छ । यसैले नेतृत्व चयनका बारे बेलैमा बुद्धि पुरयाउन जरुरी छ । हालै विद्यार्थीहरुको संस्था नेसाजले कम्प्युटर सिस्टमबाट चयन गरेको नेतृत्व प्रकृयालाई एनआरएनएले उपयोग गरयो भने धेरै राम्रो हुनेछ । अनि बल्ल नेपालीका साझा मुद्धामा छलफल गर्न पाइनेछ । एक पटकको नेपाली सधैंको नेपाली बन्न सक्छ । यी भनेको विना पैसामा गर्न सकिने कुरा हुन् । अब हामी सबैले जापानमा हुने विभिन्न भेला, वैठक र कार्यक्रममा लाग्ने समय, पैसा र खानपीनलाई कम गरी नेपाल र नेपालीको विकास जापानबाटै सुरु गरे कसो होला ?

0 comments:

Post a Comment