Sunday, June 6, 2010

भेटिए भक्तमान

केदार ओझा काठमाडौं, जेष्ठ २२ - १८ दिन अघि अपहरित चितवनका डाक्टर भक्तमान श्रेष्ठले आफूलाई नेपाल हिन्दू जनता पार्टीले अपहरण गरेको जानकारी दिएका छन् ।  शनिबार बिहान धादिङबाट उद्धार गरिएका उनले निवास पुगेर संचारकर्मीहरुलाई संक्षिप्त प्रतिकृया दिदै उक्त जानकारी दिएका हुन् । थकित मुद्रामा देखिएका उनले आफूलाई आँखामा पट्टी बाँधेर राखिएको जानकारी दिए । 'मुक्त गर्ने बेलामा उनीहरुले पट्टी बाँधेकै अवस्थामा आधा घण्टा कतै नजान भने', उनले भने, 'आधा घण्टापछि मैले पट्टी खोलेर परिवारलाई सम्पर्क गरे ।' करिब दुई मिनेट मात्रै आफ्ना कुरा राखेका उनले घटनाबारे थप जानकारी दिएनन् ।उनले अपहरणमुक्त गर्न पहल गर्ने सबैलाई धन्यवाद समेत दिए । उनी अहिले निवासमै आराम गरिरहेका छन् ।
 निवासभित्र रहेका श्रेष्ठसँग यतिबेर राजनीतिक दलका नेताहरु, उच्च प्रहरी अधिकृत, प्रमुख जिल्ला अधिकारी लगायत आफन्तहरु रहेका छन् । निवास वाहिर भेला भएका ठूलो संख्याका सर्वसाधारण र शुभचिन्तकलाई उनले निवासको कौसी बाहिर निस्केर अभिवादन गरेका थिए । दाहृी बढेको निन्याउरो अनुहारमा अभिवादन गर्न निस्केका उनी भावुक देखिएका थिए । एक हातले आँसु पुछ्दै उनले शुभचिन्तकलाई अर्को हात हल्लाएर अभिवादन गरेका थिए ।
शनिबार विहान धादिङको मजिमटारबाट अपहरण मुक्त भएका  डा. श्रेष्ठले आफ्ना भाइ प्रहरी उपरीक्षक जगतमान श्रेष्ठलाई बिहान सवा ३ बजे फोन गरी 'तुरुन्त लिन आउनू' भनी खवर गरेपछि प्रहरी टोली उद्धारका लागि पुगेको थियो ।
प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक श्रेष्ठ केहीदिनदेखि परिवारसँगै चितवनमा थिए ।
खवर गरेलगत्तै पुगेको प्रहरी टोलीले डा. श्रेष्ठलाई तत्कालै सकुशल उद्धार गरेको थियो । उद्धारपछि उनलाई बिहान ७ बजे धादिङबाट आफ्नै निवास चितवन लगिएको हो ।
भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. श्रेष्ठ गत जेठ ४ गते अपहरणमा परेका थिए । अपहरणपछि उनको सवारी पोखरामा भेटिएको थियो भने ब्रिफकेस अपहरणको पाँच दिनपछि चितवनको घोप्टेभिरमा फेला परेको थियो ।
अपहरणमा माओवादी संलग्नताको आरोप लगाइएपछि यसबारे खुलेको छैन । माओवादीले शुक्रबारमात्र पत्रकार सम्मेलन गरेर उनी बेपत्ता नभइ अपहरणमा परेको दाबी गरेको थियो । डा. श्रेष्ठलाई छुटाउन सरकार, नागरिक समाज, माओवादी तथा युवा संगठनहरुले छुट्टाछुट्टै आयोग बनाएका थिए । 
'डा श्रेष्ठबारे माओवादीलाई जानकारी थियो' :अमिक शेरचन
माओवादी नेता तथा डा. भक्तमान श्रेष्ठ वेपत्ता प्रकरण छानबिन समितिका अध्यक्ष अमिक शेरचनले श्रेष्ठको अवस्था र उनी रहेको स्थानबारे जानकारी रहेको खुलासा गरेका छन् ।
उनले शनिबार बिहान श्रेष्ठ निवास बाहिर संचारकर्मीलाई प्रतिक्रिया दिंदै हंसिलो मुद्रामा गोपनियताका कारण उनको अवस्था नखुलाएको बताए ।
'नेपाल भित्र हुनुहुन्थ्यो,' उनले भने ,'सकुशल हुनुहुन्थ्यो, अनुसन्धानका क्रममा रहेकाले नबताएको हो ।'
उहांले श्रेष्ठको जीवनसुरक्षाका लागि कुरा बाहिर नल्याएको स्पष्ट पारे । माओवादीले गठन गरेको छानबिन समितिले हिजो सांझ औपचारिकता मात्रको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको आठ घण्टा नबित्दै श्रेष्ठ मुक्त हुनुभएको हो । शेरचनले श्रेष्ठ सित परिवार सम्पर्कमा रहेको पनि खुलाउनुभएको छ । श्रेष्ठ अपहरणमा माओवादी संलग्नताको आरोप लाग्दै आएको छ ।   (http://www.ekantipur.com/np/2067/2/22/full-news/312621/)
भक्तमानको अपहरण माओवादीबाटै : प्रदीप नेपाल
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य प्रदीप नेपालले चितवनका चिकित्सक डा. भक्तमान श्रेष्ठको अपहरण माओवादीले नै गरेको आरोप लगाउँदै उनले जनदबाब बढेपछि नक्कली पार्टीको नाम दिएर अपहरणको आरोप लगाएको  बताए।  

यस्तो छ, भक्तमान भेट्टाउने पहिलो व्यक्तिको वयान

धादिङ (गजुरी), जेष्ठ २२ - उन्नाइस  दिनअधि अपहरणमा परेका डा. भक्तमान श्रेष्ठलाई धादिङको जोगिमारा-९ मझिमटारमा पहिलो पटक सडक कर उठाउन खटिएका सुरेश आचार्यले भेटेका थिए ।
थकित र कमजोर अवस्थामा मझिमटारस्थित सडकमा सहारा खोज्दै हिंडेको अवस्थामा सडक कर लिने स्थानमा खटिएका कर्मचारी भण्डारीले राति २ बजेतिर भेटेपछि उद्धार गरिएको र परिवारसँग मोबाइलबाट फोन गरेर सर्म्पर्क गराइएको आचार्यले बताएका छन् ।
शनिबार बिहान २ बजेतिर हात र आँखामा पट्टी बाँधी गाडीमा ल्याएर छाडेपछि हात खोलिदिएको र अपहरणकारीले आधाघण्टापछिमात्र आँखा खोल्नु भनेपछि राति डा.श्रेष्ठ अलपत्र परेको र घरसम्म सर्म्पर्क गर्न उनीसँग रकमसमेत नभएकाले आफूले घरपरिवारलाई सर्म्पर्क गराएको भण्डारीले बताएका छन् । 
सडक कर कार्यालयमा आएपछि प्रहरी कार्यालय सोधखोज गरी आफूलाई अत्यधिक प्यास लागेको, परिवारलाई फोन सर्म्पर्क गर्न समेत आफूसँग पैसा नभएको र मोबाइल समेत नभएकाले सहयोग मागेपछि सडक बोर्डको कर कार्यालयमा बस्ने कर्मचारीले उनको उद्धार गरेको हो ।
सडककै अर्का कर्मचारी सुरेशचन्द्र भण्डारीको मझिमटारस्थित कोठामा करिब तीन घण्टा आराम गरी बस्दा जुस खाएर डा.श्रेष्ठले परिवारलाई सर्म्पर्क गरेका थिए । विहान सवा ५ बजेतिर उनकी श्रीमती शिलु, भाइ प्रहरी नायव उपरीक्षक जगतमान र शुभमान आएपछि उनलाई चितवन लगिएको थियो ।
डा. श्रेष्ठले लगाएको चस्मा, टोपी र माक्स सोही स्थानमा छाडेर गएको र सो सामान जोगीमारा प्रहरीले राखेको छ ।
हातमा डोरीले बाँधेको घाउ प्रष्ट देखिएको थियो भने उनी अत्यन्तै थाकेका थिए । आचार्यले लामो बाटो हिडेर आएको यात्री जस्तो कपडा मैलो, जुत्तामा माटो लागेको अवस्थामा भेटिएका श्रेष्ठलाई आफूहरूले परिवारको जिम्मा लगाएर पठाउन पाउँदा खुसी लागेको बताए । 
आचार्यलाई डा. श्रेष्ठले दिएको जानकारी अनुसार जेठ ४ गते भरतपुरस्थित अस्पतालबाट निस्केर घर जानलाग्दा हाकिम चोकबाट तीनवटा गाडीमा आएका अपहरणकारीले पेस्तोल कन्चटमा तेर्स्याएर आपहरण गरी आँखामा पट्टी बाँधेर अज्ञात स्थलमा लगेका थिए । त्यहाँ धेरै चिसो थियो । सिरक ओडेर सुत्नुपर्ने स्थान हो । खान बस्न राम्रोसँग व्यवस्था गरेका थिए भने उनीहरूको शिविरमा करिब चार हजारको हाराहारीमा सेना जस्ता लाग्ने मानिस रहेका थिए ।
नेपाल हिन्दु जनता पार्टीले अपहरण गरेको र चर्चामा आउन यसो गरेको भनेर डा. श्रेष्ठलाई अपहरणकारीले भनेको आचार्यले पत्रकारहरूलाई जोगिमारामा जानकारी दिए ।
शुक्रबार बेलुका ८ बजेतिर गाडीमा चढाएको र बिहान २ बजेतिर मझिमटारमा झारेको बताएका श्रेष्ठले आफूलाई कुन दिशाबाट सो स्थानमा ल्याएको बताउन सकेनन् ।
परिवारलाई जानकारी दिएपछि आराम गरेर आफूलाई अपहरणकारीले केही नभन्न धम्की दिएको बताएका थिए । 
चिकित्सककै शब्दमा-
भक्तमान श्रेष्ठ, चितवन, जेठ २२- मङ्गलबार ४ गते राति लगभग सवा दश बजे मलाई कब्जामा लिइयो। म घर जाँदै थिएँ। हाकिमचोकबाट भित्र छिर्ने ठाउँ हिमचुली ब्याङ्कनजिक मेरो अगाडि रहेको गाडीसँग ठोक्कियो।
एक जनाले मेरो गाडीमा किन ठोक्नुभएको भने, अरुले आएर झ्याप्प समाते, अनि आँखामा पट्टी बाँधे।थाहा पाएँ  कि म घेरामा परिसकेको रहेछु। उनीहरुले अगाडि पछाडि पनि गाडी राखेका रहेछन्। त्यसपछि चार पाँच घण्टाको ट्राभल गरेजस्तो लाग्छ। गाडी मैले बुझेअनुसार मोटरसाइकल र पैदल गरेर पहाडी भेगमा लगेजस्तो लाग्यो। किनकि मोटरसाइकल पहाडी हाइटमा लगिएको थियो। तर कताको पहाडी भेग हो, त्यो मैले कल्पना गर्न सकिन।  मलाई उनीहरुले आफ्नो गन्तब्यमा पुर्‍याएर पट्टी बाँधेरै राखे। पहिलो दिन मलाई केही पनि थाहा भएन।
दोस्रो दिन त्यसको भोलिपल्ट उहाँहरुले डिक्लियर गर्नु भो। 'हाम्रो राजनीतिक सङ्गठन हो। हामी नेपाल हिन्दू जनता पार्टीका हौं , नेपाल सरकारले हाम्रा माग एड्रेस गरेन, त्यसैले यो कदम चाल्न बाध्य भयौं, सरकारलाई प्रेसर दिन यसो गरेको हो, तपाई डराउनुपर्दैन'- उनीहरुले भने।

मलाई नै किन टार्गेट गर्नु भको त नि भनेर सोध्दाखेरि उनीहरुले  'काठमाडौंमा हाम्रो सङ्गठन विस्तार भैसकेको छैन् तर नेपालका १५ जिल्लामा हाम्रो सङ्गठन छ। भ्यालीबाहिर चर्चित व्यक्ति को छभन्दा साथीहरुले तपाईंको नाम राखे। पार्टीले निर्णय गरेपछि यसो गरेका हौं भने।' त्यसपछि क्यान्सर अस्पतालको भ्रष्टाचारका कुरा पनि आएका थिए। 'पहिले पनि र तपाईंका पालामा पनि भएको पायौं, त्यसैकै छानबिनका लागि पनि तपाईंलाई ल्यायौं भनेर उनीहरुले मलाई भने। छानबिन गर्दा नै तपाईंलाई छाड्न ढिला भयो, काठमाडौं पनि पुग्यौं, तपाईंको घर पनि पत्ता लगायौं। छानबिनमा टाइम लाग्यो तर जति भनिएको थियो, त्यति पाएनौं भनेर' मलाई भने ।

राम्रो कुरामा उनीहरुले मेरो खानपिन, औषधी उपचारमा पनि राम्रै ध्यान दिए। मैले खाने औषधी पनि दिए। के खानुहुन्छ, कस्तो भयो खाना भनेर टेककेयर गरे।  यहाँसम्म कि नुहाउनेसम्मका काम पनि गरिदिन्थे। मलाई सर, डाक्टरसाब भनेर सम्बोधन गर्थे। फोन गर्नेले कहिले तराई र कहिले पहाडी भाषामा कुराकानी गर्थे। फोन गर्नेले मसँग पनि कुरा गर्थे। डाक्टरसाब हामीबाट तपाईंलाई कुनै प्रकारको दुर्व्यवहार नहोस् भन्ने चाहन्छौं भन्थे। मेरो भने फोन उनीहरुले नै राखेका थिए। मसँग भएका दुई जनालाई फोन आउँथ्यो, उनीहरुले नै मलाई कुरा गराउँथे। कुरा गर्दा हाइलेभलका कमाण्डर जस्ता सम्बोधन उनीहरुको हुन्थ्यो। मलाई चौबीसै घण्टा सुरक्षामा राखेका थिए।
त्यसपछिका दैनिकी सधैं एकैखालका झैं भए। आफूले पढ्न र सुन्न नपाए पनि उनीहरुले दैनिक नै पत्रिका पढेर सुनाउँथे। संसदमा के भयो, प्रधान मन्त्रीले के भने, गृह मन्त्रीले के बोल्नुभो, राजनीतिक पार्टीले के भन्यो, कुन रेडियोले के समाचार भन्यो, सबै भन्थे। कुन पत्रिकाले सकारात्मक लेख्यो, कुनले नेगेटिभ लेख्यो, एकअर्कामा आरोप-प्रत्यारोप के गरे, कुनले के के लेख्यो, डे टु डे इन्फरमेसन दिन्थे। अरु केही आधार नहुँदा त्यो पनि मलाई ठीकै लाग्थ्यो।
राति मसँग भएका दुई जना नै वरपर सँगै सुत्थे। मलाई हात बाँधेर मात्रै उनीहरु सुत्ने गर्थे। सायद आँखा खोल्छु कि, भाग्छु कि वा केही गर्छु भनेर होला। मलाई त्यो अस्वाभाविक पनि लागेन। बन्दी भएपछि गाह्रो हुने कुरा नै रैछ। त्यो स्वाभाविक नै जस्तो लाग्यो। हामीले फिल्म हेर्दा जे/जस्तो हुन्थ्यो, त्यही महसुस गरें। पूरै १९ दिन नै आँखामा पट्टी बाँधेर राखे। भय लाग्थ्यो।
अरु बेला उनीहरु मलाई आफ्ना राजनीतिक कुरामात्र सुनाउँथे। 'सरकारले केही गर्न सकेन, उनीहरुलाई प्रेसर हो, हामी पनि शक्ति छौं भन्ने मात्र जनाएका हौं। अर्को कुरा उनीहरुले भष्टाचार रोक्न अरु शक्तिले पनि सक्छ। भ्रष्टाचारीलाई कारबाही हामी पनि गर्छौ। सरकारले केही पनि गर्न सकेन भन्ने उनीहरुले उल्लेख गरे। एक डेढ वर्षमा हामी खुल्ला हुन्छौं पनि भने।
मेरोबारेमा लेखिएका समाचार पनि उनीहरुले छुटाउँदैन थिए। हामीले सबैलाई खबर गरिदिएका छौं भन्थे। मलाई अस्ति छाड्ने जानकारी दिएका थिए। 'आँखामा पट्टी बाध्यौं, त्यसका लागि क्षमा माग्छौं, उनीहरुले भने, हामी धार्मिक मान्छे पनि हौं, पाप पनि लाग्ला त्यसका लागि क्षमा गर्नुस्' भने। मलाई बिदाइको व्यवस्था पनि गरे। अघिल्लो दिन नै बिदाई गर्ने भन्दै आज लोकल कुखुराको मासु खाने भनेर ख्वाए। ल्याउने बेला पनि उही दश बाह्र मिनेटको पैदल हिँडाए, त्यसपछि मोटरसाइकलमा राखेर ल्याए। पछि गाडीमा सिफ्ट गरे। सडकमा ल्याएर ल रातिको दुई बजेको छ, तपाईंको जिल्ला चितवन ल्याइदिएका छौं भने। आधा घण्टा पट्टी नखोल्न रिक्वेष्ट गरेर फर्के।
म पनि रिक्वेष्ट मानेर आधा घण्टा जति त्यसै बसें, त्यसपछि आँखा खोलें।१९ दिनसम्म बन्द गरेको आँखा पहिलोचोटि खोल्दा अँध्यारोमा केही पनि देखिन। आँखा पुछें। दायाँ-बायाँ हेरें, अकै ठाउँ रहेछ। मैले सुत्ने प्रयत्न पनि गरें तर सुत्ने वातावरण थिएन। माथितिर हिँड्दै गएँ, अलि हिँड्न गाह्रो भयो।  बल्ल लोकेसन थाहा पाएँ। मजिमटार पुगेपछि लोकल फोनबाट घरमा खबर गरें। नजिकै रहेको ढाटमा स्थानीय सुरेशचन्द्र भण्डारीसँग भेट भो। उनले स्थानीय रेडियोलाई खबर गरिदिए। उनैले फ्रुटी किनेर घरमा लगेर खुवाए। उनैकहाँ केहीबेर बसें।  पाँच साढे पाँच बजेतिर दुई जना भाइ र परिवार लिन आएपछि घर आएँ।
यो घटनापछि म स्ट्रेसमा छु, केही सोच्न सकेको छैन्। १८ दिनको स्ट्रेसले कस्तो महसुस भयो त्यो म भन्न सक्तिन। देशमा सरकारले सुरक्षा दिन नसकेको जस्तो लागेको छ। सुरक्षाको अवस्था पनि देखिन। कुनै डाक्टर वा मलाई मात्र होइन, यस्तो कसैलाई नपरोस्। कुनै राजनीतिक दल, सङ्गठन कसैले पनि कुनै नागरिक र कसैलाई पनि यस्तो नगरोस् मेरो अपिल छ।
यो कुराकानी गर्दा डा. श्रेष्ठ पत्नी सँगै थिइन्। डा. श्रेष्ठकी पत्नी शिलुले ढिलै भए पनि आफ्नो श्रीमान् सकुशल फर्केकोमा खुशी जनाइन्। रिहाईका लागि पहल गर्ने सबैलाई उनले धन्यवाद दिइन्। श्रेष्ठका बाबुले भने आजदेखि निकै खुशी लाग्यो भने। ईश्वरको कृपाले मेरो छोरा घर आयो- नागरिकसँग उनले भने।
http://nagariknews.com/society/nation/14226-2010-06-05-00-52-06.html
स्याल कराउनु कुखुरो हराउनु 
http://nifiri.blogspot.com/2010/06/blog-post_04.html
डा.भक्तमान श्रेष्ठ सम्पर्क बिहिन भएको १८ दिनपछि सकुशस आज शनिबार एका बिहानै क्वाटर फर्केकाछन् यो साह्रै खुसीको कुरा हो मिलनको त्यो क्षण परिवार मात्रै होइन शुभचिन्तक सवैका लागि निकै भावविभोर हुने खालको थियो तर स्याल कराउँदा कुखुरा हरायो भने उसैले खायो भन्ने आशंका प्रवल हुन्छ भन्न खोजेको केहो भने हिजो माओवादीले डा। श्रेष्ठ अपहरणमा परेको ठोकुवा गर्यो आज उनी मुक्त भए घटनामा माओवादी मुछिएका बेला पत्रकारहरुलाई कुनै प्रश्न सोध्ने नपाइने सर्तमा भएको पत्रकारसम्मेलनमा श्रेष्ठले आफुलाई नेपाल हिन्दु जनता पार्टीले अपहरण गरेको बताए
अपहरणमा पर्दा पनि निकै आशंाहरु उश्जेका थिए जुन आशंका आज उनै आएर बोल्दा पनि साम्य भएन दरवार हत्या काण्डपछि पत्रकारहरुले प्रश्न सोध्न नपाउने गरेर राजिव शाहीले पत्रकार सम्मेलन गरेकाथिए नेपालमा त्यस्तै भयो आज भरतपुरमा भक्तमान फेरि कामममा फर्कुन उनी दक्ष सर्जन हुन् उनले पहिलाको जस्तै काम गरुन् तर के भएको थिया कस्ले पत्ता लगाउने यो प्रश्न अझै कायमै
 

No comments:

Post a Comment