Wednesday, March 3, 2010

सीके लाल-
संचार उद्यमी एवं व्यवसायी अरुण सिंहानिया जनकपुरका चिरपरिचित व्यक्ति थिए। उनि मारवाडी मूलका थिए, तर थाहा भएसम्म उनको जनकपुर बाहेक अन्त कतै अर्को ठेगाना थिएन। त्ष्यस अर्थमा उनको परिचय मारवाडी-मैथिल वा मारवाडी-मधेशीको थियो। नेपालको राष्ट्रिय जीवनमा उनको भूमिकाको आधारमा उनलाई मारवाडी-नेपाली, मैथिली-नेपाली, हिन्दू नेपाली, वा मात्र एक औसत नेपाली भने पनि हुन्थ्यो। तर, त्यस्तो सबै परिचयहरूभन्दा पहिले उनि एउटा असफलोन्मुख राष्ट्रको निरीह नागरिक थिए। त्यसैले सम्साझैं होली पर्वका दिन व्यस्त शहरको मुटुमा उनको हत्या भयो। र, सरकार, प्रहरी एवं प्रशासन टुलुटुलु हेर्ने बाहेक केही गर्न सकेन। जनकपुरमा मंगलबार भएको लगभग स्वस्फूर्त व्यापार एवं शैक्षिक संस्था बन्दको सन्देश स्पष्ट थियो : सरकार प्रति जनताको विश्वास छैन, तर त्यही निकम्मा निकायलाई गुहार्नुको विकल्प पनि छैन। 
ज्ञानेन्द्र खड्का, वीरेन्द्र साह, उमा सिंह एवं जमिम शाह जस्ता समाचारकर्मी एवं संचार उद्यमीहरूको हत्याको शृङ्खलाकै कडीका रुपमा अरुण सि.हानियाको दुःखद् अन्तलाई पनि लिन सकिन्छ। साथसाथै, सिंहानियाको हत्याका सन्देशहरू भने झनै डरलाग्दा छन्। मानौं हत्यारा सारा जनकपुरवासीलाई भनिरहेछ, 'टाउको निहुराएर हिड्न सिक, यस शहरमा अब कोही पनि सुरक्षित छैन।'
सक्रिय नागरिक : 
अरुण सिंहानिया जनकपुरमा मिजासिलो व्यक्तिका रुपमा चिनिन्थे। शहरको आर्थिक गतिविधि मन्द भएपछि धेरै मारवाडी व्यवसायीहरू लहान-विराटनगर वा विरगंज-काठमाडौंतिर पलायन भए। उर्जावान युवा सिंहानियाका लागि पनि विकल्पहरू प्रसस्त थिए, तर राजनीतिको अपराधिकरण एवं अपराधको राजनीतिकरणले गर्दा फोहरको डुङुगर बन्न पुगेको शहरमा उनि डटी रहे। उनि फरासिलो र स्पष्टवक्ता थिए, एवं कसैलाई अप्ठ्यारो परेको वखत स्वस्फुर्त रुपमा सहयोग गर्न अगाडी सथें। उनको उदारताकाबारेमा जनकपुरमा चर्चा हुनेगर्थ्यो, 'अरुणजी भएनन् भने स्थानिय राजनीतिकर्मी, प्रशासक वा प्रहरी अधिकारीलाई गार्‍होसार्‍हो परेको बेला कस्ले मद्दत गर्नेछ?' लाग्दछ अब तिनले नयाँ चन्दादाता खोज्नु पर्नेछ।

काठमाडौं, विराटनगर वा विरगंजको तुलनामा जनकपुरको मारवाडी सेवा समिति कहिल्यै उलेख्य रुपमा सक्रिय रहेन। सिंहानिया अध्यक्ष भएदेखि त्यस सुस्त समितिमा नयाँ उर्जा थपिएको थियो। जनकपुरको मारवाडी समुदाय उनको सक्रियताले गर्दा सुस्तरी आफ्नो पुरानो प्रतिष्ठा हासिल गर्ने क्रममा थियो। वैधानिक संघसंस्था एवं राजनीतिक दलहरूको त के कुरा, भनिन्छ उनिसँग हात नथाप्ने भूमिगत सशस्त्र समुहहरू मध्ये पनि थोरै मात्रै थिए।
व्यवसायिक रुपमा सिंहानियाद्वारा संचालित प्रत्यक्ष उपक्रमहरूमध्ये केयर मेडिकल नर्सिङ होम, 'क' वर्गको दैनिक अखबार जनकपुर टुडे, लोकप्रिय एफएम रेडियो स्टेशन रेडियो टुडे तथा एउटा स्वास्थ्य शिक्षा तालिम प्रतिष्ठान प्रमुख रहेको थियो। उनिद्वारा संचालित उपक्रमहरूमा कम्तिमा ३०० स्थानिय व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका थिए। कुनै पनि व्यापारिक उपक्रमको आयु प्रमुख उद्यमीको हत्यासँग सकिने त होइन। तर नयाँ लगानीकर्ता वा पुराना व्यवसायीहरूले पक्कै सोध्ने छन्, 'जुन सहरमा सिंहानिया जस्तो सक्रिय नागरिकको जीवन सुरक्षित छैन, त्यहाँ व्यक्तिगत सुरक्षा ज ोखिममा राखेर को कारोवार गर्न सक्छ? उसै पनि अपराध, भ्रष्टाचार एवं विप्रेषण बाहेक वैधानिक आर्थिक गतिविधि ठप्प प्रायः रहेको शहरलाई सिंहानियाको हत्याले भविष्यप्रति अत्यन्त चिन्तित बनाएको कुरा उनको शवयात्रामा सहभागी भएका नागरिकहरूको मुखाकृतिमा स्पष्ट रुपले देख्न सकिन्थ्यो।
सिंहानिया पुत्रलाई सान्त्वना दिँदै। तस्बिरः भास्वर ओझा
आँटिलो संचारउद्यमी 
झन्डै सवैले सवैलाई चिन्ने र कुनैपनि कुरा कसैसित लुकाएर राख्न नसकिने सानो शहरमा समाचारकर्म उसैपनि सजिलो हुँदैन। प्रत्येक समाचारले कसै न कसैलाई उत्तेजित बनाएकै हुन्छ, हरेक हरफलाई कोही न कोहीले नकारात्मक रुपमा अर्थ्याएकै हुन्छन्। त्यस्तो परिवेशमा जनकपुर टुडे दैनिकलाई 'क' वर्गको राष्ट्रिय अखबारको श्रेणीमा पुर्‍याउनु सम्पादक वृजकुमार यादवको सफलता त िथयो नै, साथै त्यसमा प्रकाशक सि.हानियाको दह्रो समर्थनको भूमिका पनि उल्लेख्य थियो। रेडियो टुडेको सफलताको मोल त त्यसक ापत्रकार उमा सिंहले आफ्नो ज्यान गुमाएर चुकाउनु पर्‍यो, उनको बोली र कलमले अत्तालिएकाहरू नारी हत्या जस्तो जघन्य अपराध गर्न पनि बाक्ी राखेनन्। नाफाका लागि मात्र भए सिंहानियाले अखबार वा रेडियोब ाहेक अरू नै कुनै उद्यम पनि रोज्न सक्दथे। स्पष्टतः स.चारको भूमिकाले उनलाई आकर्षित गरेको थियो। आँट दिएको थियो। अन्ततः त्यो दुखान्तमा परिणत भयो।

समाचारकर्मी यादवलाई थर्काइएको छ। प्रकाशकको हत्यापछि उनी संलग्न प्रतिष्ठित दैनिकको भविष्य पनि अनिशिच्त बन्न सक्दछ। स.चार उद्यमीहरू मारिने र समाचारकर्मी निरन्तर असुरक्षा एवं अनिश्चिततामा बाँच्नुपर्ने अवस्था विद्यमान रहेसम्म स्वतन्त्र पत्रकारिताको कुरा गर्न समेन निरर्थक हुन्छ। भन्नलाई राज्यको चौथो अंग मानिएको पत्रकारिताको सुरक्षाका लागि सरकार छ। ऐक्यवद्धता जनाउने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पेशाकर्मी संजथालहरू छन्। मानवअधिकारकर्मीको सक्रिय जमात छ। तर समाचारकर्मीको भौति सुरक्षा जोखिममा पर्दा कोही कतै हुँदैनन्। आँसु चुहाउनेहरू दुर्घटना पछिमात्र लाम लाग्न सुरु गर्दछ। त्यस्तौ विषम परिस्थितिमा स्वतन्त्र समाचारकर्ममा लाग्ने अब को हुन्छन्? यस प्रश्नको सन्तोषजनक जवाफ नखोजिएसम्म पत्रकारिता मात्र नभएर लोकतन्त्रकै भविष्यको बारेमा चिन्ता गर्नु पर्ने अवस्था कायम रहनेछ।
मृत्यु व्यक्तिको चरित्र, व्यवहार वा व्यवसायमा मिनमेख निकाल्ने चलन पतनोन्मुख समाजको परिचायक हो। सशस्त्र विद्रोहका क्रममा माओवादीहरू कुनै समाचारकर्मीलाई भौतिक कारवाही गर्नु अगाडी उसलाई सुराकी भएको आरोप लगाउँथे। उमा सिंहमाथि सम्पत्ति विवादको दोष थोपारियो। जमिम शाहलाई त अझ के के मात्रै मनिएन। समाचारकर्मी एवं संचारउद्यमी पनि त्यहि संसारका व्यक्तिहरू हुन्, जहाँ पूर्ण दोषमुक्त प्राणी कोहि पनि छैन। सबैका कमिकमजोरीहरू हुन्छन्। असल पक्ष हुन्छ। समग्रतामा विनाप्रमाण कसैलाई पनि कसुरवार भन्न मिल्दैन। र, आधारहिन आरोपलाई कारणको रूपमा तेर्स्याएर हत्या जस्तो जघन्य अपराधको औचित्य दर्शाउन खोज्नु त सरकार मात्र होइन, समाजकै उपहास हो।

सिंहानियाको हत्याको स्थान, समय एवं प्रकृति हेर्दा शायद उनले शंका समेत गर्न नसकेको व्यक्तिद्वारा उनि माथि अत्यन्त नजिकबाट गोली आनिएको हुनु पर्दछ। यदि त्यस हो भने एउटा नागरिकले अर्कोलाई शंकाको दृष्टिकोणले हेर्नु पर्ने डरलाग्दो समाजिक अवस्था उत्पन्न भएको छ। अझ त्यसभन्दा पनि खतरनाक कुरात के हो भने हत्याको जिम्मेवारी लिन नाम चलेका एवं नमै नसुनेका सशस्त्र समुहहरू तँछाडमछाड गर्दै छन्। अर्थात हत्यालाई 'उपलब्धी' मान्ने संस्कार व्यापक बन्दै गइरहेको छ। त्यस्तो विकराल सामाजिक परिस्थितिमा सरकारले कुनै पनि व्यक्तिको सुरक्षाको प्रत्याभूति दिन असम्भव प्रायः हुनेछ।

अपराधिक घटनाहरू काठमाडौं वा जनकपुर जहाँ घटिएपनि तिनको जरा खोतल्दै जाने हो भने सोझै सिंहदरवार पुगिन्छ। राजनीतिक अन्यौलले गर्दा प्शासन दिशाविहिन छ। प्रहरी दमनको संयन्त्रमा रुपान्तरण भएको छ। सामाजिकता पत्याउनै नसकिने गरी स्खलन हुने क्रममा छ। त्यसैले रोग जहाँ छ, उपचार पनि त्यहिंबाट सुरु हुनुपर्दछ। के अनियनित्तत गतिमा फैलिंदै गएको अपराधको राजनीतिकरण रोक्ने इच्छाशक्ति राजनीतिकर्मीहरूमा छ? यदि त्यो छैन भने सरकार परिवर्तन वा संविधान लेखन सम्पन्न गरेर पनि केहि हुनेवाला छैन।

जमिम शाहको हत्यापछि उनका बुबाले बडो मार्मिक अभिव्यक्ति दिएका थिए। सहिद घोषणा वा क्षतिपूर्ति दिएर मारिएको व्यक्ति फर्केर आउन सक्दैन। सरकार, र त्यसका सम्पूर्ण संयन्त्रहरू बरु त्यस्तौ पुत्र हत्याको हृदयविदारक पिडा अरू कुनै पिताले भोग्न नपरोस् भन्ने कुरा सुनश्चित गर्ने तर्फ आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गर्नु पर्द छ। मोइन शाहका घाउ अझै आलै छन्। उनीसँगै अब जनकपुरका बद्रीप्रसाद सिंहानिया पनि सोध्दैछन्, 'के यो मुलुकमा हत्यारालाई कठघरामा उभ्याउन सक्ने कुनै शक्ति बाँकी छ? त्यस्तो प्रश्न पटक पटक सोधिन थालियो भने 'तिमी हामीलाई विश्वास गर, हामी तिमीलाई सुरक्षा दिन्छौ' भन्ने आश्वासनका साथ उदय हुने अधिनायकवादी शक्तिलाई राजनीतिकर्मीहरूले रोक्न सक्ने छैनन्। अरुका लागि नभएर आफ्नै सुरक्षा सुनिश्चित गर्न समेत अपराधको राजनीतिकरणका विरुद्ध सम्पूर्ण राजनीतिक समुदाय एकजुट हुनुपर्ने वाध्यताको सुचक हो संचारउद्यमी सिंहानियाको सार्वजनिक हत्या।

1 comment:

  1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

    ReplyDelete