• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, March 12, 2010

    धर्मको आवरणमा झिँगा


    खगेन्द्र संग्रौला 
    शाही हिन्दू अधिराज्यको मनपरीबाट आहत र आजित नेपालीले समवेत स्वरमा घोषणा गरेको धर्मनिरपेक्षता राज्यलाई कुनै जटाधारी चटके 'भगवान्'को निर्देशनमा ज्ञानेन्द्र शाह र खुमबहादुर खड्काले उल्ट्याउने?
    पानी र राजनीतिको चरित्र लगभग उस्तै हुन्छ। बगेको पानी र गतिवान् राजनीति सङ्लो र स्वस्थकर हुन्छ, जमेको पानी र स्थिर राजनीति हुन्छ धमिलो र अस्वस्थकर। विद्वान् प्रदीप गिरी भाँती पारेर घरिघरि भन्छन् - घर वरिपरि फोहोर पार्‍यो भने त्यसमा फोहोरी कीट-पतंगको जायजन्म हुन्छ। र, घर प्रदूषणकारी भुसुना, झिँगा र लाम्खुट्टेबाट आक्रान्त हुन्छ। यी पिराहा जीवको उद्गम स्रोत मूलतः स्थिर एवं फोहोर पानी हो। अहिले नेपाली राजनीति गतिशून्य बनेको छ। र, गतिहीनताको धमिलो आहालबाट थरीथरीका पिराहा दोपाया भन्किन थालेका छन्। यी हिन्दू धर्मको आवरण भिरेर प्रकट हुँदै छन्। र, यी धर्मनिरपेक्ष घोषित भएको नेपाललाई हिन्दू अधिराज्यमा फर्काउन कन्दनी कसेर कनिरहेका छन्। हिन्दू धर्म यिनको मायावी आवरण हो, यिनको कुत्सित अभिप्राय आफ्नो गुमेको यथास्थिति एवं देशदुनियाँको शोषण र दोहनमाथि खडा भएको हिजोको भूस्वर्ग फर्काउनु हो।
    भारतमा खरानी घसेका जटाधारी हिन्दू 'भगवान्'हरूको त जंगलै छ। तिनका मुद्रा अनेक छन्, तिनका औतार अनेक छन्, तिनका छलकारी कथन अनेक छन्। सदाचारका बेपारी कहलिने तिनका निधारमा लागेका दुराचारका कलंक पनि अनेक छन्। भारत समृद्धिको छेवैमा नारिकीय दरिद्रताको चाङ लागेको देश हो। यी 'भगवान्' हुन्, अगणित दरिद्रहरूको दुर्दशा, क्लेश र आहबाट लाभ उठाएर कीर्ति र वैभव आर्जन गर्ने औतारी बनियाँ। मत्स्य न्यायको ध्वजा बोकेर राजनीतिको धमिलो पानीमा मछली मार्न छिमलछिमल गरी यी छद्म बनियाँ नेपाल धाउन थालेका छन्। केहीअघि चन्द्रस्वामी नामक 'भगवान्' आएका थिए। तिनलाई मानौँ कुनै अविदित वैकुण्ठबाट धरतीमा सोझै अवतरण भएका परमात्मा ठानेर कतिपय उग्र हिन्दूवादीले तिनका चरण स्पर्श गर्न तँछाडमछाड गरे।
    तँछाडमछाडकारी प्रथम पुरुष हुन गए अतिशय धर्मभीरु हिन्दू महामहिम राष्ट्रपति रामवरण यादव। ठूलाठालु भनिनेहरू अघि लागेपछि झिनाझाँक्राले तिनका पाइला त यसै पनि पछ्याउने नै भए। पिछलग्गु जमातमा प्रकट हुन गए नेता भनिने अन्य धर्मभीरुहरू। र, बोफोर्स काण्डमा निधारमा कालो पोतिएका 'भगवान्' चन्द्रस्वामीले आफ्ना चरणस्पर्शी अनाथहरूलाई पद, प्रतिष्ठा र ऐश्वर्यको विपुल आशीर्वाद दिए।
    'भगवान्' चन्द्रस्वामी पछि सवारी भयो अर्का झनै जण्डप्रचण्ड 'भगवान्' कालीदास बाबाको। यी बाबाजी कथित हिन्दू धर्मको आवरण उतारेर सर्वांग नग्नरूपमा प्रस्तुत भए। यिनले धृष्टता साथ धर्मको मर्यादाको लछुमनरेखा नाघे। र, यिनले हाक्काहाक्की कट्टर गोर्खे हिन्दू मण्डले राजावादीको चरित्र प्रदर्शन गरे। यिनलाई नेपालमा राजासहितको हिन्दू अधिराज्य चाहिएछ। त्यो नभए यिनले आत्मदाह गर्ने धक्कु लाएछन्। बाफ रे बाफ, 'भगवान्'को आत्मदाह! त्यो पनि जागरुक र जुझारु नेपालीले सिंहासनबाट झारेका राजालाई पुनः राज्यारोहण गराउन। सुनेर मलाई तुरुक्क रुँदै यी फुस्रा 'भगवान्'का नाउँमा 'हे हरि' भन्न मन लाग्यो।
    'भगवान्' कालिदास बाबाको धार्मिक ताण्डवको उत्कर्ष तब देखियो जब दुई हरुवा महान् मनीषी शासनको आसन दिलाइ पाऊँ प्रभु भनी रोइकराइ गर्न तिनका चरणसामु हाजिर भए। ती थिए, हरुवा राजा ज्ञानेन्द्र शाह र हरुवा काङ्ग्रेसी खुमबहादुर खड्का। शाहलाई सिंहासन चाहिएको थियो, खड्कालाई सिंहासनमा आफ्नो भाग्य निर्माता ख्वामित् चाहिएको थियो। आफ्ना परम् पूज्य 'भगवान्'ले बडो नाटकीय वातारणमा तिनको पुनःमिलन गराए। तिनले आलोपालो गरी भक्त द्वयका कानमा गोप्य मन्त्रणा गरे। र, ती दुई अति दुःखी हरुवाले भावविभोर भई हस्तमिलन गरे, मुस्कान आदानप्रदान गरे र सके 'भगवान्'को दिव्य सल्लाह सभक्ति शिरोपर गरी कुनै षड्यन्त्रकारी व्यूहरचना पनि गरे।
    लाग्छ, ज्ञानेन्द्र शाह र खुमबहादुर खड्का लोकतान्त्रिक गणतन्त्र नेपालका सबैभन्दा दुःखी मनुवा हुन्। यिनलाई थाहा छ, सुस्वादु सत्तामा तर हुन्छ। ढाडे बिरालाले झैँ तर मार्न मजा हुन्छ। सत्तामा वैभव हुन्छ। वैभवबाट सुख प्राप्त हुन्छ। सत्तामा शक्ति हुन्छ। शक्तिबाट अहंको तुष्टि हुन्छ। सत्तामा दम्भ हुन्छ। दम्भको अस्त्र भिरेर ठालु हुन पाइन्छ। तर, यी अनाथसँग सत्ता प्राप्त गर्ने कुनै पनि साधन छैन। मिस्टर ज्ञानेन्द्र शाह आफ्नो वंशको हैकमभरिका सबैभन्दा अनुदार, लुब्ध र त्रू्कर राजाका रूपमा नेपालीका नजरमा परिचित छन्। अख्तियारले डामेका श्रीमान् खुमबहादुरलाई भुक्तभोगी नेपालीले भ्रष्टशिरोमणिको अलंकार प्रदान गरेका छन्। हिन्दू अधिराज्यपथका यी दुई सहयात्रीसँग जनमतको शक्ति छैन। स्वच्छ छविको शक्ति छैन। परिवर्तनकारी एजेन्डाको शक्ति छैन। त्यागमुखी भावनाको शक्ति छैन। परोपकारी कामनाको शक्ति छैन। हर दृष्टिले यी शक्तिहीन छन्। र नै त यी जुम्लाहात गरेर सत्ताको याचना गर्दै जटाधारी फुस्रा 'भगवान्'का पाउ पर्न सर्वथा विवश छन्।
    राज्यविस्तारसँगै पृथ्वीनारयाण शाहले बन्दुकबाहेक हिन्दू धर्मलाई अफ्नो राज्यको रक्षा गर्ने दमनकारी एवं भ्रान्तिकारी साधन बनाए। हिन्दू वर्णाश्रम व्यवस्थाको विभेदकारी र अमानवीय नीतिबाट नेपाली समाज झनै आक्रान्त भयो। नेपालीहरू चोखा र बिटुला, श्रेष्ठ र तुच्छ, नागरिक र अनागरिक, कलमबाहक र बन्दुकबाहक दुई कोटिमा विभक्त भए। बिष्ट चोखा, दलित बिटुला। पुरुष श्रेष्ठ, महिला तुच्छ। पहाडी नागरिक, मधेशी अनागरिक। ब्राह्मण कलमबाहक, जनजाति बन्दुकबाहक। त्यसो त धर्म पनि उत्तम र अधम मानिए। राज्यधर्म मानिएको हिन्दू धर्म उत्तम, राज्यद्वारा उपेक्षा गरिएका अन्य धर्महरू अधम। यो सब अनर्थको हैकमकारी कर्ता सिंहासनवासी राजा थियो। आखिर धर्मको नाउँमा भइआएको यही विभेद र दमन, तिरस्कार र अपमानको उपचार गर्न त हो नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरिएको। यो घोषणा कुनै अलौकिक शक्ति, कुनै अद्वितीय मानव, कुनै दुर्घटना वा कुनै काकतालीबाट भएको होइन। यो शाही हिन्दू अधिराज्यको मनपरीबाट आहत र आजित नेपालीले समवेत स्वरमा गरेको घोषणा हो। यो घोषणालाई कुनै जटाधारी छटेल 'भगवान्'को आशीर्वाद र निर्देशनमा ज्ञानेन्द्र शाह र खुमबहादुर खड्काले उल्ट्याउने? हे हरि!
    राज्य नामक घर वरिपरि फोहोरको डंगुर छ। डंगुरबाट धर्मनिरपेक्षतालाई उल्ट्याउन खोज्ने कीट-पतंगको उदय भएको छ। 'भगवान्'हरूका पाउवरिपरि देखियो। यो फोहोर थुपार्ने अरू होइन, हाम्रै भनिएका हुन्। राजा ज्ञानेन्द्र मिल्किए र राष्ट्रपति रामवरण यादवले राष्ट्रप्रमुखको ठाउँ पाए। तर, तिनले धर्मनिरपेक्षता अनुकूल आचरण गरेनन्। तिनले राजाकै पाइला पछ्याए। हिन्दू धर्मका उत्सव र पर्वमा राजसी ठाँटबाँटका साथ तिनको सबारी भयो। आफूलाई नास्तिक कम्निस्ट भन्ने प्रधानमन्त्री माधवकुमार नेपाल यादवको छायाँतुल्य भएर तिनैको पछि लागे। यसरी मुलुक कागजमा धर्मनिरपेक्ष भयो, शासकीय व्यवहारमा भएन। यादव र माधवले हिन्दू धर्मको लाचार छायाँ भएर राज्य नामक घर वरिपरि फोहोरको थुप्रो लगाउन गर्नुसम्म योगदान गरे। हिन्दू धर्मको आडमा राजनीति गर्न पल्केकाहरू यसबाट उत्साहित भए। लाग्छ, ज्ञानेन्द्र र खुमबहादुरका गर्जन यही फोहोरबाट उठेका भन्काइ हुन्।
    हिन्दु धर्मको दुरुपयोग गर्दै फुस्रा 'भगवान्'हरू धार्मिक विग्रह, कलह र दंगाको बीजारोपण गर्न तल्लीन छन्। र, हिन्दु धर्मको आडमा उपध्रो मच्चाउन अनेक रंगका पश्चगामीहरू हाकाहाकी जुर्मुराउँदै एकमुष्ट भइरहेका छन्। धर्मनिरपेक्ष राज्यका सबै नेपालीका अभिभावक भनिने महामहिम राष्ट्रपति रामवरण यादव के गर्दैछन्? अनि के हेरी बसेका छन् धर्मनिरपेक्षताका कार्यकारी रक्षक भनिने प्रधानमन्त्री पराजय शिरोमणि श्रीमान् माधवकुमार नेपाल?
    http://nagariknews.com/opinions/98-opinion/11282-2010-03-12-04-56-15.html

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete