• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, February 19, 2010

    यसरी सम्पन्न भयो रामकुमारी झाक्रीको विवाह


    काठमाडौं। परम्पराको साङ्लोबाट मुक्त भएर प्रगतिशील तथा जनवादी संस्कृतिको पक्षमा राजनीति गर्ने अखिल अध्यक्ष रामकुमारी झाँक्रीले आफ्नै बिहेमा परम्पराका कतिपय साङ्ला तोड्न खोज्दाखोज्दै पनि असमर्थ भइन्।  

    उनको बिहेलाई बाहिरफेर जति खुसी र उमंगको विषयका रूपमा चित्रित गरियो, स्वयं उनका लागि भने बिहे तनाबै तनाबबीच गुजि्रयो। कमलादीस्थित प्रज्ञा भवनमा रामकुमारीको विवाहको औपचारिक कार्यक्रम भनी बाहिर प्रचार गरिए पनि शिवरात्रिका दिन अन्तै विवाह गरी भ्याएर उनीहरू त्यहाँ पुगेका थिए। केटी र केटापक्षका आफन्त मात्रै बोलाएर उक्त दिन बिहान नयाँबानेश्वरस्थित इन्द्रेणी पार्टी प्यालेसमा दिवाभोजसहित रामकुमारीको औपचारिक विवाह सम्पन्न भएको हो। तर, विवाह कार्यक्रमका लागि कार्यक्रमस्थलमा पुगेकी रामकुमारीमा 'बेहुली हुँ' भन्ने कुराको कत्ति पनि महसुस नहुँदा सहभागीहरू छक्क परिरहेका थिए। उनी सो दिन बिहान नयाँबानेश्वरको विवाहस्थलमा पुग्नासाथ आफ्ना सहयोगीहरूसँग रिसाइन्। र, रिसको झोँकमा त्यहाँ टाँगिएको ब्यानर पनि थुतेर फ्याँकिदिइन्। ब्यानर टाँग्ने, स्टेज बनाउनेजस्ता सानातिना काममा रामकुमारी आफैँले समय दिन नसक्दा उनले त्यस्तो तनाब झेलेकी हुन्। जब विवाहस्थल इन्द्रेणी पार्टी प्यालेसको मूलद्वारमै एउटा ब्यानर टाँगिएको थियो, रामकुमारीले पुग्नासाथ सहयोगीहरूलाई सोधिन्– 'यो के गरेको?' जुन ब्यानर मूलसडकबाट पार्टी प्यालेस प्रवेश गर्ने ठाउँमा टाँगिएको थियो, त्यो विवाहका लागि तयार पारिएको मञ्चमा टाँग्नुपर्ने थियो। बेहुली त हाँसीखुसी हुनुपर्ने, तर कुनै आमसभामा कार्यकर्ताले काम बिगारेर रिसाएको नेताजस्तो देखिइन् उनी। यही तनाबबीच विवाहस्थलमा नवपति पशुपतिबाबु पुरी प्रवेश गरे। तर, रामकुमारी लामो समयसम्म मञ्चमा उक्लिनन्। 
    जतिवेला बेहुला विवाहस्थलमा आइरहेका थिए, त्यसवेला उनी आफ्ना राजनीतिक सहकर्मीहरूसँग अँगालो मारेर बधाई खाइरहेकी थिइन्। पशुपतिले उनलाई ठाडै बोलाइहाल्न पनि सकेनन्। रामकुमारीले त्यतिवेला मात्र आफूलाई बेहुली महसुस गर्न थालिन्, जब बेहुला पक्षबाट आएका महिलाले उनलाई नियाली–नियालीकन हेर्न थाले। यसपछि उनी मञ्चमा चढिन् र सरासर दायाँतर्फको कुर्सीमा बसिन्। हिन्दु परम्परामा वैवाहिक विधिमा वर दाहिने र वधू देब्रे बसिन्छ। रामकुमारीका केही आफन्तले देब्रेमा बस्न भने, तर उनले मानिनन्। उद्घोषकले वैवाहिक कार्यक्रम सुरु भएको घोषणा गरे। परम्पराअनुसार वरले वधूलाई टीका लगाएर विवाह गरिन्छ, तर रामकुमारीले बेहुलोलाई पहिला आफैँले टीका लगाइदिइन्। बेहुलाले बेहुलीलाई टीका लगाएपछि बेहुलीले बेहुलालाई माला लगाइदिने चलन टीका लगाउँदैमा भत्किएपछि बेहुला पशुपतिले बेहुली रामकुमारीलाई माला लगाइदिन खोजेका थिए। तर, हत्तपत्त ट्रेबाट माला झिकेर फेरि रामकुमारीले नै पुरीलाई लगाइदिइन्। बेहुलाले बेहुलीलाई पहिला औँठी लगाइन्छ, तर रामकुमारीले पहिला आफैँले बेहुलालाई औँठी लगाइदिइन् र पछि बेहुलाको औँठी लगाउन औँला थापिन्। यसपछि बेहुलापक्षका केही महिला रामकुमारीका लागि तिलहरी लिएर मञ्चमा चढे। त्यो तिलहरी रामकुमारीले लगाउनु थियो, तर धेरैबेर ती महिला मञ्चमा उभिँदा पनि रामकुमारीले मुन्टो निहुराएर तिलहरी लगाउने अनुमति दिइनन्। जसोतसो बेहुलापक्षका महिलाले रामकुमारीलाई ठाडै अवस्थामा भए पनि तिलहरी लगाइदिए। तर, त्यो तिलहरी रामकुमारीको घाँटीमा परेको मात्र के थियो, उनले पहिल्यै लगाएको दुबोको मालाले तिलहरी छोपिन्। यति भइसकेपछि बल्ल दिउँसो तीन बजे प्रज्ञा भवन कमलादीमा रामकुमारी–पशुपतिबाबुको सार्वजनिक विवाह समारोह भएको हो। प्रज्ञा भवनको अर्काे वैवाहिक समारोहका प्रमुख अतिथि पार्टी अध्यक्ष झलनाथ खनाल थिए। उद्घोषकचाहिँ पूर्व विद्यार्थी नेता तथा पार्टी केन्द्रीय सदस्य योगेश भट्टराई। कार्यक्रम थियो, पहिला पार्टी अध्यक्षले माला लगाइदिने र अन्यको पालो त्यसपछि आउने। तर, काठमाडौंका एसपी गणेश केसी हतारमा थिए। त्यसैले झलनाथले माला लगाइदिनुअघि नै उनी मञ्चको पछाडिबाट रामकुमारीनजिक गए, माला लगाए र फर्किए। प्रज्ञा भवनको हलभित्रको उक्त कार्यक्रममा रामकुमारीलाई शुभकामनास्वरूप जे–जे भन्नुपर्ने हो, सबै योगेशले भनी भ्याए। 
    अध्यक्ष खनाल आफ्नो बोल्ने पालो पर्खेर बसिरहेका थिए। कतिवेला पालो आउने भनेर धेरैचोटि उनले उद्घोषक योगेशको मुख ताकिरहेका थिए। 'अबचाहिँ बोलाएको हो कि' भन्ठानेर झलनाथ उठ्न लागेको पोजिसनमा थिए। तर, मञ्चबाट ठूलो आवाजमा कुन्ती मोक्तानको गीत घन्कियो, 'सुनकै भाऊ छ सुन्तला भारीको, चाखी जानू भन्ने मनकारीको, खै त बुटजुत्ता, कतिन्जेल धाउने दाइ, धरान–धनकुटा...।' 
    अभिभावक वामदेव 
    कमलादीमा रामकुमारीलाई बधाई दिन अनेकौँ मानिस पुगेका थिए। लगभग सबै क्षेत्रका मानिस कमलादी पुग्दा रामकुमारी बसेको मञ्चमा सँगै थिए, एमाले उपाध्यक्ष वामदेव गौतम। केही छिनपछि वामदेवपत्नी तथा अनेमसंघ केन्द्रीय सदस्य तुलसी थापा पनि पुगिन् र त्यही ठाउँमा बसिन्। धेरै झुक्किए, रामकुमारीका बाबुआमा नै उनै रहेछन् भनेर। वामदेव केही व्यक्तिसँग भन्दै थिए, 'रामकुमारी हामी सबैकी छोरी हुन्।'  
    पुरानो परिचय, नयाँ प्रेम रामकुमारीले जीवनसाथी रोजेका पशुपतिबाबु पुरीसँग रामकुमारीको कति वर्ष पुरानो अफेयर होला? धेरैको मनमा यो प्रश्न अझै अनुत्तरित छ। जतिवेला पशुपति काठमाडौंमा घरविहीन थिए, त्यसवेला उनी रामकुमारी बसेकै शंखमूलस्थित घरमा डेरा गरेर बस्थे। पाँच वर्षपहिला त्यहीँ हो, उनीहरूको चिनजान भएको। एउटै घरमा डेरा बस्ने नाताले बोलचाल हुनु र गाह्रो–साह्रोमा सहयोग लिनु/दिनुबाहेक उनीहरूबीच कुनै सम्बन्ध थिएन। उनीहरूको बिहेको टुंगो माघ १३ गते लागेको हो। त्यसको केही दिनअघिबाटै रामकुमारीको घरमा उनको विवाहबारे छलफल सुरु भइसकेको थियो। उपयुक्त वर को होला भनेर चलेको छलफलमा केही पार्टीसम्बद्ध युवा, केही सुरक्षा निकायका व्यक्ति, केही व्यापारीका नाम पनि सोचिए। तर, रामकुमारीले ललितपुर जिविसका योजना अधिकृत पशुपतिबाबु पुरीकै नामलाई सदर गरिन्। जब कि प्रेम र विवाह भन्ने कुरा त्यस अगाडिसम्म दुईका बीचमा सामान्य सोच्ने विषयका रूपमा पनि प्रवेश भएको थिएन। रामकुमारीतर्फको प्रस्तावलाई पशुपतिबाबुले एकै वचनमा स्वीकार गरेका थिए। --जनआस्था

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete