• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, February 19, 2010

    पारसलाई पनि जमिमपछि हत्या गर्ने पालो

    सईद्वारा जमिम हत्यामा ठूलै हाकिममाथि संकेत 
    काठमाडौं। जो नेपाली भारतको दलाल हुन मान्दैनन्, उनीहरूलाई आइएसआइद्वारा संरक्षित दाउद इब्राहिमको मान्छेका रूपमा भारतीय मिडियाबाट बद्नाम गराइदिने र दाउदको काउन्टरमा आफ्ना खुफिया एजेन्सीद्वारा संरक्षित छोटे राजनका मानिसद्वारा हत्या गराइदिने क्रम बढ्दै गएको छ। नेपाली सुरक्षा निकायले यसरी बद्नाम गराइएका व्यक्तिको सुरक्षामा ध्यान दिन सकेनन् भने जमिम शाहको जस्तै नियति अन्य नेपाली नागरिकले पनि भोग्नुपर्ने देखिएको छ। खतराको सूचीमा पूर्वयुवराज पारस पनि छन्।  
    नयाँदिल्लीबाट प्रकाशित हुने द टाइम्स अफ इन्डियाले गत भदौ १५ (अगस्ट ३१) को अनलाइन संस्करणमा समाचार दियो, 'नेपालका पूर्वयुवराज पारस पनि दाउद इब्राहिमसँग मिलेर नक्कली नोटको कारोबारमा संलग्न छन्।' मध्यप्रदेश प्रहरीले पक्राउ गरेका दुई नेपालीको हवाला दिँदै सो अनलाइनले यस्तो समाचार प्रकाशित गरेको हो, जसमा दाउदले नक्कली भारतीय नोट छाप्ने र ती नोट सिंगापुरमा बसोवास गर्ने पारसले नेपाल हुँदै अन्य देशमा पुर्यादउने समाचार थियो। पारस सिंगापुरबाट नेपाल आएकै दिन सो अनलाइनले त्यस्तो समाचार प्रकाशन गरेको थियो।  
    समाचारमा पूर्वमन्त्री सलिम मिया अन्सारीका छोरा युनुस पनि नक्कली नोटको ओसार–पसारमा सक्रिय रहेको सो अनलाइनको दाबी थियो। जमिमको हत्यामा खटिएकाहरूले जमिमअघि युनुसको हत्या गर्ने योजना बनाएको, तर यसैबीच युनुस पक्राउ परेकाले जमिमको हत्या गरेको तथ्य सार्वजनिक भइसकेको छ। भारतीय सञ्चारमाध्यमले नेपालगञ्जका मजिद मनिहारको बारेमा पनि यस्तै समाचार प्रकाशित गरेका थिए। मनिहारको पनि गत असोज १९ गते नेपालगञ्जमा हत्या भइसकेको छ।  
    राजा वीरेन्द्रलाई भारतीय खुफिया संस्था र सञ्चारमाध्यमले भारतविरोधीका रूपमा प्रचार गरे। राजीव गान्धीको हत्यामा श्रीलंकाको पृथकतावादी तालिम संगठन 'लिट्टे' को हात रहेको घामजत्तिकै छर्लंग थियो। तर, सो हत्यामा रानी ऐश्वर्यको हात रहेको समाचार प्रकाशित गरियो। नेपाली सेनाका लागि विमानभेदक तोप 'एन्टी एयरक्र्याफ्ट' चीनबाट ल्याएपछि राजा वीरेन्द्रसँग भारत टेढिएको थियो। दरबार हत्याकाण्डमा वीरेन्द्रको वंशनास भयो। वीरेन्द्रको वंशनास हुनुमा युवराज दीपेन्द्रले देवयानीलाई बिहे गर्न नपाउनु कारकका रूपमा देखियो।  
    तर, देवयानीसँग दीपेन्द्रको गहिरो प्रेम भएको सत्य हो। र, उनले गोली चलाएको पनि सत्य हो। आफ्ना लागि दरबार हत्याकाण्ड गराउने दीपेन्द्रको मृत्यु भएको सात वर्ष पुग्दा नपुग्दै देवयानीले विवाहका लागि भारतीय युवक नै रोजेपछि भने विभिन्न प्रश्न उठेका छन्। दीपेन्द्रमाथि देवयानीको पनि साँच्चिकै मोह थियो भने प्रेमी मारिएको केही वर्षमै देवयानी अर्काे विहेका लागि किन राजी भइन्? दीपेन्द्र–देवयानीले प्रेमालाप स्थलका रूपमा प्रयोग गर्ने घरका धनी रुक्मशमशेर राणा अचम्मैसँग यतिवेला भातरका लागि नेपाली राजदूत बनाइएका छन्।  
    एकातिर भारतीय सञ्चारमाध्यम दाउदसँग पारसको सम्बन्ध रहेको प्रचार गराउन तल्लीन छन् भने अर्कातिर गणतन्त्र आएलगत्तै सिंगापुरतर्फ लागेका पारस यसबीचमा पटक–पटक नेपाल–सिंगापुर गरिरहे पनि भारतचाहिँ गएका छैनन्। गत भदौमा भारतीय द टाइम्स अफ इन्डियाले आफूलाई दाउदसँग जोडेर समाचार प्रकाशित गरेपछि उनले जारी गरेको विज्ञप्तिमा भारतप्रति आक्रोश व्यक्त गरिएको थियो। जे होस्, भारतीय सञ्चारमाध्यमद्वारा दाउदसँग जोडेर प्रचार गरिएका व्यक्तिको धमाधम हत्या हुन थालेकाले पारस पनि खतराको सूचीमा परेको देखिन्छ। तर, सुरक्षाप्रति उनी बेपर्वाह देखिएका छन्। स्रोतका अनुसार, गत माघ १८ गते बैंकक हुँदै नेपाल आएका पारसको आज सिंगापुर जाने कार्यक्रम छ।  
    आफ्ना राष्ट्रिय सञ्चारमाध्यम भारतको स्वार्थका लागि भारतीय खुफिया एजेन्सीबाट कसरी प्रयोग गरिन्छन् भन्ने कुरा भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ (रअ) का पूर्वनिर्देशक बी रमनले आफ्नो पुस्तक 'रअ को नालीबेली' मा गरेका छन्। सन् १९६१ मा प्रहरी सेवामा प्रवेश गर्नुअघि करिब चार वर्ष पत्रकारिता गरेका रमनलाई भारतीय रअ' का संस्थापक रामेश्वरनाथ (आरएन) काओले पत्रकारको भेषमा पेरिस (फ्रान्स) पठाउन खोजेका थिए।  
    'म त्यहाँ एउटा इन्डियन पत्रिकाको पत्रकारका रूपमा गोप्य तवरबाट बस्नुपर्ने काओले निर्णय गरे।........चेन्नईको प्रसिद्ध दैनिक पत्रिका 'दी हिन्दु' (यो पत्रिका वामपन्थी निकट मानिन्छ) को पेरिस संवाददाता बनाई मलाई नियुक्त गर्न काओले कुरा राखे' उनले पुस्तकमा लेखेका छन्– 'पेरिस बस्दा मलाई लाग्ने यातायातखर्च, अफिसलगायत सम्पूर्ण खर्च 'द हिन्दु' पत्रिकाले नै दिने भयो, त्यसपछि लागेको खर्च रअले दी हिन्दु पत्रिकालाई दिएर सोधभर्ना गर्ने उपाय गरियो। यस उपायमा त्यस पत्रिकासँग सम्बन्धित सबैले सहमति जनाएका थिए।' तर, रमनलाई पत्रकारको भेषमा पेरिस पठाउने कुरामा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको चित्त नबुझेपछि आफू कूटनीतिज्ञको भेषमा पेरिस गएको रमनले सो पुस्तकमा बताएका छन्।  
    यसले देखाउँछ, नेपालभन्दा व्यावसायिक पत्रकारिताको धेरै विकास भएको मानिने छिमेकी भारतका 'व्यावसायिक' मिडियाहरू 'भारतीय निहित स्वार्थ' का लागि प्रयोग हुन कसरी सहजै स्वीकार गर्छन्? भारतीय सञ्चारमाध्यमले जसरी छानी–छानी नेपालीलाई पहिले भारतविरोधी वा दाउद इब्राहिमको मान्छे भनेर प्रचार गर्ने र त्यसपछि उनीहरूको हत्या हुने क्रम बढेको छ, यसप्रति नेपाल सरकार र नेपाली जनता सचेत हुनुपर्ने अवस्था सिर्जना भएको छ।  
    सईद्वारा जमिम हत्यामा ठूलै हाकिममाथि संकेत 
    काठमाडौं। जमिम हत्यामा संलग्नताको अभियोग लागेका नेपाल प्रहरीका सई प्रकाश क्षेत्री पक्राउ परे पनि उनीभन्दा ठूला प्रहरीसमेत घटनामा तानिने संकेत देखापरेको छ। क्षेत्रीले आफू र आफूभन्दा माथिल्लो ओहोदाका केही अधिकृत पनि यसमा संलग्न रहेको बताएपछि जमिम हत्यामा ठूलै ओहोदाका बर्दीवालको पनि संलग्नताको संकेत मिलेको हो। गिरफ्तार क्षेत्रीको बयान उद्धृत गर्दै प्रहरीका एक उच्च अधिकृतले भने, 'मलाई मात्र समातेर हुँदैन, म त एउटा सानो अंग हो, समात्नुपर्ने मान्छे अरू नै छन्।' 
    'भारतविरोधी' को आरोप लागेका मुस्लिम समुदायका केही नेपालीलाई टार्गेट गरी नेपाल भित्रिएको भारतीय आपराधिक गिरोहका व्यक्तिसँग अन्ततः प्रहरी कर्मचारीकै बढी हिमचिम रहेको निष्कर्ष स्वयं प्रहरीको अनुसन्धानले निकाल्न थालेको छ। तर, घटनामा संलग्न मूल अभियुक्त बब्बु र जमिममाथि गोली प्रहार गर्ने दुई व्यक्ति यतिवेला कहाँ छन् भन्नेबारे प्रहरीको अनुसन्धान टोली अझै अनभिज्ञ छ। भारतीय आपराधिक गिरोहका बब्लु श्रीवास्तवद्वारा खटाइएका बब्बु भनिने दीपक शाहीले काठमाडौं रहँदा प्रयोग गरेको मोबाइलको कल डिटेल्स अध्ययन गर्दा प्रहरीले सई क्षेत्रीको भन्दा बढी सम्पर्क पूर्वडिएसपी जगदीश चन्दको फेलापारेको थियो। सर्टिफिकेट काण्ड लागेर जागिरबाट निकालिएका चन्दको संलग्नतालाई सई क्षेत्रीले पनि स्वीकार गरेको प्रहरी उच्चस्रोतले जनाएको छ। तर, जमिम किन भारतीय आपराधिक गिरोहको निशाना बने? यसबारे भने पक्राउ परेका सईले ठोस केही नबताएको स्रोतको कथन छ। सई क्षेत्रीले एसपी शरद चन्द र सञ्जयसिंह बस्नेतसहित काठमाडौंका एक डिएसपी र कपिलवस्तुका केही प्रहरी अधिकारीलाई समेत पोलेको बुझिएको छ। 
    क्षेत्री लामो समय भारतीय अपराधीहरूको व्यापक आवत–जावत हुने भनेर चिनिएको कृष्णनगर नाकामा बसेका व्यक्ति हुन्। प्रहरीस्रोत दाबी गर्छ, 'यो घटनामा संलग्न जोसुकै उच्च अधिकृत भए पनि तिनलाई अपराधीसित सम्पर्क गराउने काम उसैले गरेको हो।' क्षेत्री ओमविक्रम राणा प्रहरी महानिरीक्षक छँदादेखि नै अमेरिकी दूतावासमा खटिएका हुन्। त्यसो त केही व्यक्तिले अमेरिकी दूतावासभित्रैबाट आपराधिक क्रियाकलाप सञ्चालन गर्ने गरेको चर्चा यसअघि पनि चल्दै आएको थियो। तर, त्यहाँ काम गर्ने सई पक्राउ परेपछि नेपालस्थित अमेरिकी दूतावासलाई अपराधीहरूले आफ्नो सुरक्षित आश्रयस्थल बनाएको स्पष्ट भएको छ। 
    प्रहरीको अपराध महाशाखाले बब्बुद्वारा प्रयोग गरिएको फोनको रेकर्डका आधारमा अनुसन्धान गर्दा उनको सम्पर्क प्रहरीबाहेक केही साना उद्यमी र धेरैजसो होटल, रेस्टुरेन्टसम्बद्ध व्यक्तिसँग थियो। तीमध्ये कतिपय नम्बर केही दिन मात्र प्रयोग गरी बन्द गरिएका छन्। जसरी, ११ वर्षअघि सांसद मिर्जा दिलसाद बेग मारिनुका पछाडि मिर्जाको भारतीय अपराधीसँगको टकराव पुष्टि भएको थियो, त्यसैगरी जमिम हत्यामा भने जमिमको कुनसित टकराव वा संलग्नता हो भन्नेबारे प्रहरीले केही पनि पुष्टि गर्न सकेको छैन। जमिम एकजना सञ्चार उद्यमी थिए, केही वर्षअगाडि सुनलगायत विभिन्न कारोबार गर्ने व्यापारी थिए, तर 'भारतविरोधी' भनिनका लागि र त्यो आरोपमा मारिनुपर्ने कसुर उनले के गरेका थिए? प्रहरी अनुसन्धान यसतर्फ लागेको छैन। मुसलमानको छोरो भएर जन्मनु नै उनी 'भारतविरोधी' हुनुहुन्थ्यो भने त्यस्ता थुप्रै मुसलमान नेपालमा छन्, जो कुनै न कुनै व्यापार, जागिर र यस्तै कुनै पेसामा छन्, के तिनीहरू पनि भोलि यसरी नै मारिनुपर्छ?  
    घुमन्तु गृहमन्त्रीको आदेश 
    राजधानी छाडेर प्रायः बाहिरै डुलिराख्ने गृहमन्त्री हिजो बिहान विराटनगर गएका थिए। मन्त्री रावलले उढ्नुअघि दिउँसो प्रहरी प्रधान कार्यालयमा एसएसपीदेखि माथिका अधिकृतलाई बिफ्रिङ गर्न आउने जानकारी दिएका थिए। तर, अपराह्न पाँच बजे मात्रै उनी काठमाडौं आइपुगे। उनले सो बिफ्रिङ आजका लागि सारेका छन्। 
    स्रोतअनुसार गृहमन्त्री आउने कुरा सुन्नासाथ महानिरीक्षक रमेश चन्दले अपराध अनुसन्धान विभागका एआइजी प्रकाश कुँवरलाई भनेका थिए, 'गृहमन्त्रीले आएर गाली नै गर्ने हो, त्यो सुनिरहनुभन्दा हामीले पनि हाम्रो बिफ्रिङ गर्नुपर्छ।' गृहमन्त्रीको हवालापछि अपराध अनुसन्धान विभागले मन्त्रीलाई गर्ने बिफ्रिङ तयार पार्योग र त्यसको केही प्रति प्रिन्ट गरेर ठिक्क पनि पार्योन। तर, विराटनगरबाट गृहमन्त्री उड्ने जहाज ढिला भएपछि र सो ब्रिफिङ आजका लागि सारिएको खबर आएपछि साँझ त्यसमा केही बुँदा थपिएका छन्। त्यसमा जमिम हत्याका बारेमा अस्ति सोमबार गरिएको पत्रकार सम्मेलनमा वितरित सामग्रीसहित नेपाल डिफेन्स आर्मीका कमान्डर समातिएको, मिस्टर जोन मारिएको, लागूऔषध बरामद गरिएका जस्ता विवरण थपिएको प्रहरीस्रोतले जनाएको छ।  
    गृहमन्त्री रावलले प्रहरी हेडक्वार्टर जानुपर्ने निर्देशन राज्यमन्त्री रिजमान अन्सारीलाई पनि दिएका हुन्। तर, त्यहाँ गएर के भन्ने? के सोध्ने? यसबारे अन्सारी अनभिज्ञ छन्। 'फुलमन्त्री आएपछि उहाँले जे भन्नुहुन्छ, मेरो कुरा पनि त्यही हुन्छ,' अन्सारीले जनआस्थालाई बताए। जमिम हत्यामा प्रहरी अनुसन्धानको स्थिति र मूल अपराधीहरू पक्राउ पर्ने सम्भावनाबारे मन्त्री रावलले बुझ्न चाहेको स्रोतले जनाएको छ। घटनास्थल महानगरीय प्रहरीको कार्यक्षेत्रमा पर्ने कारण ब्रिफिङमा आयुक्त मदन खड्का पनि बोलाइएका छन्। स्मरणीय छ, लाजिम्पाट बिटले घटनाबारे जानकारी दिएको १५ मिनेटसम्म पनि खड्काले सञ्चारसेटमा केही बोलेका थिएनन्। 
    धेरैवटा समितिले गर्दा गञ्जागोल 
    यसैबीच, जमिम हत्याको घटनाबारे छानबिन गर्न सरकार र प्रहरीको छुट्टाछुट्टै अनुसन्धान संयन्त्र बनाउँदा छानबिन प्रक्रिया झनै जटिलतातर्फ धकेलेको विज्ञहरूको गुनासो छ। मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ भने प्रहरी प्रधान कार्यालयले डिआइजी राजेन्द्रसिंह बस्नेतको अध्यक्षतामा पाँच सदस्यीय समिति बनाएको छ। महानगरीय प्रहरी आयुक्त कार्यालयले पनि एसएसपी माधव नेपालको संयोजकत्वमा समिति बनाएको छ भने काठमाडांै परिसरले डिएसपी केदार ढकालको संयोजकत्वमा अर्काे समिति बनाएको छ। यसरी च्याउजस्तै गरी समिति बनाउँदा अनावश्यक प्रतिस्पर्धा हुने, एउटाले पाएको सूचना अर्काेले नपाउने र छानबिनमा अनुसन्धानमा नकारात्मक प्रभाव पर्न गई अपराधीले लाभ उठाउन सक्ने एक पूर्व सरक्षा अधिकारीले जनआस्थासित भने। उनको थप तर्क के छ भने सरकारले न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाउनुभन्दा यो त प्रहरीले अनुसन्धान तहकिकात गर्ने विषय हो। विवादका विषयमा मात्रै न्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाइन्छ, हत्याका घटनामा प्रहरीले अनुसन्धान गर्छ र मुद्दा चलाउँछ। सरकारले बनाएको समितिले प्रहरीलाई अल्मल्याउन सक्ने उनले बताए।---जनआस्था

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete