Saturday, January 30, 2010

परदेशीलाई यो कस्तो विपत्ती :घर फर्कंदा न स्वास्नी, न सम्पत्ति


रवीन्द्र भट्टराई
राजधानीसँग जोडिएको धादिङ जिल्लाको जोगीमारा गाविसमा एक साधारण परिवारमा मेरो जन्म भएको हो। आर्थिक रूपमा कमजोर पारिवारिक पृष्ठभूमिकै कारण मैले पढाइ पनि बीचमै छोड्नुपर्यो । एसएलसी पास गरेपछि प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दागर्दै आर्थिक अभावले सताएपछि जागिरको खोजीमा भौँतारिने क्रममा पढाइ छुटेको पत्तै भएन। अनेक प्रयत्नपछि धादिङ जोगिमाराको गोइराङ प्राथमिक विद्यालयमा पढाउने मौका पाएँ। त्यसै क्रममा ०४५ सालमा मेरो प्रेमविवाह भएको र ५–७ वर्षका दौरानमा दुई छोराको बाबुसमेत बनेँ म।
समय, परिवेश यही हो, हरेक क्षेत्रमा होडबाजी छ– विश्वभर नै। आर्थिक समृद्धिका सवालमा पछिपरे पनि खर्च गर्ने, नयाँ–नयाँ फेसन अपनाउने र देखासिकी गर्ने कुरामा नेपाली समाज निकै अगाडि छ। यस्तै प्रवृत्तिको सिकार त म बनिना तर आफ्ना चाहना दबाएर, खुसी वा सुखलाई कुल्चिएर भए पनि छोराहरूलाई समयानुकूल प्रतिस्पर्धी बन्न सक्षम तुल्याउनुपर्छ भन्ने सोच मलाई त्यसैबेला आयो। छोराहरूलाई राम्रो स्कुलको शिक्षा दिलाउनकै लागि चितवन भरतपुर गएर डेरा लिई बस्न थालियो। घरायसी खर्चमा जतिसुकै कन्ट्रोल गरे पनि महागो बोर्डिङको शुल्क र सहर–बजारको दैनिकी हुनाले सानो कमाइले धान्न सकेन। त्यसपछि श्रीमती र मबीच खर्चको जोहो कसरी गर्ने भन्ने विषयमा छलफल भयो। अन्तमा, आमनेपाली युवाले अपनाएकै बाटो अपनाएर रोजगारीका लागि म विदेश जाने र श्रीमतीले सन्तानका पढाइको हेरविचार गर्ने एवम् घरव्यवहार सम्हाल्ने निधो भयो।
मेरी श्रीमती उर्वशी (नाम परिवर्तन) त्यसबेला अत्यन्त सहृदयी, मेरो दुःख र पारिवारिक अवस्था बुझ्ने, पतिव्रता, कसैले नराम्रो नजरले हेरेको फिटिक्कै मन नपराउने र कसैप्रति नराम्रो दृष्टि नराख्ने सोझो प्रकृतिकी थिइन्। सात जुनीसम्म खोजे पनि फेला पार्न नसकिने सुन्दर र सुशील पत्नी फेला परेकोमा म आफैंलाई भाग्यशाली सम्झन्थेँ, अरू कुरामा दुःख भोगे पनि। आखिर जति नै माया–पे्रम भए पनि, सागै जिउने इच्छा भए पनि परिस्थितिको प्रहार त सहनैपर्ने रहेछ। कामका लागि म कतार जाने भएँ। पारिवारिक वियोग सहनैपर्ने भयो।
०५९ साल माघ महिनामा कतार प्रस्थान गर्ने उद्देश्यले म काठमाडौं लागेँ। तामाका मुनाजस्ता स–साना दुई छोरा र मेरी आँखाकी नानी उर्वशी पनि मलाई बिदा गर्न अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित थिए। मुटु गाँठो पारी भक्कानिएर आँसु खसाल्दै सलले मुख छोपेर उनले मलाई बिदा गरेको क्षण अहिले पनि झल्झली म सम्भि्करहेछु।
कतारको केबीकेएस कन्स्ट्रक्सन कम्पनीमा साइट सुपरभाइजरका रूपमा पसिना बगाउने दिनचर्या सुरु भयो कतारमा मेरो। त्यहाँको हावापानीको कुरा गर्ने हो भने वैशाख–जेठ महिनाबाट खप्नै नसकिनेगरी एकैपटक सातवटा सूर्य लागेकोजस्तो ४० देखि ६० डिग्रीसम्म तापक्रम हुने र त्यो क्रम असोजसम्म कायम रहने रहेछ। उराठलाग्ने मरुभूमि, त्यसमाथि पनि सडकको काम बिहानदेखि बेलुकी ६–७ बजेसम्म साइटमा एकछत्र खट्नुपर्ने। बिहानदेखि दिउँसोसम्म आवश्यक अक्सिजन नपाएर मानिसहरू रोडमै बेहोस भएर ढल्थे भने सो क्रममा कतिले ज्यानै गुमाउँथे। म पनि कामको दौरानमा पटक–पटक त्यसरी बेहोस भएर ढलेँ, तर ‘कठै’ भनेर दया देखाउनेसम्म पनि कोही नहुँदा साह्रै नरमाइलो लाग्थ्यो। काल नआइपुगेकोले पटक–पटक मर्ने र बाँच्ने क्रम चलिरह्यो मेरो। जब असैह्य हुन्थ्यो आफ्ना लालाबाला र प्राणप्रिय पत्नीलाई सम्झेर, उनीहरूको भावी सुख–सुविधाको मीठो कल्पना गरेर चित्त बुझाउने कोसिस गर्थें म। कुलरमा राखिएको चिसो पानी बिहानदेखि दिउँसोसम्ममा करिब चालीस लिटरजति पिउँथेँ तर त्यति गर्दा पनि १२ घन्टामा एकपटक पिसाब हुन मुस्किल पर्थ्यो। पिसाब लागिहाले पनि केही थोपा तिरिक्क, त्यो पनि रगतजस्तो रातो हुन्थ्यो। यसप्रकारले वर्षा मौसम गुजारेपछि फेरि मङ्सिरदेखि समुद्री हावा २४ सै घन्टा चिसो बहने भित्र चार–पाँच पत्र टि–सर्ट लगाएर बाहिर बाक्लो ज्याकेट लगाउँदा पनि दिनभर थरथरी काँप्नुपर्ने हुन्थ्यो। हावाले मरुभूमिको धुलो उडाएर आँखा जोगाउनै गाह्रो पर्ने। यसरी ६० डिग्रीको तापमान भएको बेला होस् या रोडा उडाउने हावा चल्ने मौसम, हामी दुःखीया विदेशी कामदारले तोकिएको समय पूरै एकनास खट्नैपर्ने ड्राइभर, अपरेटर, लेबर आदिले सानो मिस्टेक गरे पनि दोष र समस्याजति सुपरभाइजरको नाताले मेरै टाउकोमा आउँथ्यो। आफूमाथिका ठूला भनाउँदाहरूको तथानाम गाली सहनुपर्थ्यो। दिनभर यस्तो कष्ट झेलिसकेपछि पनि आराम गर्ने फुर्सद मिल्दैनथ्यो। साँझ ७ बजे क्याम्प फर्केपछि दिनभर पसिनाले भिजेको कपडा धुने, खानपिनको व्यवस्थालगायतका काम गर्नुपर्थ्यो। यसो गर्दा आरामले सुत्ने त २ घन्टा मात्र फेरि बिहान ४ बजे नै साइड जाने गाडी पक्रिहाल्नुपर्ने यसरी घडीको सुईजस्तै रुटिन थियो, कुनै अवस्थामा पनि छुट नपाइने– काममा जोतिनैपर्ने यस्तो अकल्पनीय दुःखको जिन्दगीबाट गुज्रनुपर्दा पनि म एउटै कुरा सोचेर आफैंलाई ढाडस दिन्थेँ– ‘मैले यसरी केही वर्ष दुःख गरेपछि त सुखका दिन आइहाल्छ, छोराहरूको भविष्य बन्छ, श्रीमतीले सुखमा दिन बिताउन पाउने छिन् केही पैसा जम्मा गरेर स्वदेश फर्कन्छु र आफ्नै मुलुकमा केही काम गरेर भविष्य गुजार्छु।’
मस्एक–दुईपटक बीचमा छुट्टी मिल्दा म घर नआएको पनि होइन, आउँदा सबै ठीकै चलिरहेकोजस्तो लाग्दथ्यो। ०५९ माघदेखि ०६६ कात्तिमसम्मको सातवर्षे लगातारको ‘जोताइ’बाट मैले छोराहरूको पढाइ स्कुल तहबाट ‘प्लस टु’मा पुर्या६एँ भने रत्ननगर–१३ (चितवन) मा घर–घडेरीसमेत जोड्न सफल भएँ। मेरो तलब २५०० रियाल थियो। आफू सुखद् भविष्यका लागि हरदम काम गर्ने र पैसा जम्मा गर्ने सोचाइमा हुन्थेँ। नेपालमा घरजग्गा किन्नेदेखि छोराहरूको देखभाल गर्ने आदि काम उर्वशीले गरिरहेकै छिन् भन्नेमा ढुक्क भएर मैले सबै पैसा र अचल जायजेथा पनि उनकै नाममा गरिदिएको थिएँ। यतिसम्म सबै ठीकै महसुस गरिरहेको म अभागीमाथि अचानक नसोचेको बज्रपात आइपर्योि।
गत कात्तिकमा सात वर्ष दुःखले विदेशमा बिताएर अब विदेश नजाने निर्णयका साथ म नेपाल आएँ। मलाई रिसिभ गर्न काठमाडौं आएकी श्रीमतीले अनौठो कुरा गरिन्। उनी मलाई चितवन घर लिएर नजाने कोसिस गर्दै थिइन्। भनिन्, ‘हाम्रो खर्च पनि ठूलो छ, आश गर्नेहरू धेरै छन् त्यहाँ, यसो हुनाले घर जानुभन्दा काठमाडौंमै केही दिन बसेर फेरि कुनै अर्को देशमा ट्राई गरेर विदेश नै जाँदा राम्रो हुन्छ। यतिका वर्ष बितिहाल्यो अब अरू २/४ वर्ष विदेश बसेर के बिगे्रला र?’ उनको यो कुरा सुनेर नरमाइलो त लाग्यो तर म हुस्सुले उनको त्यो प्रस्तावको आशय या चलाखीचाहिँ त्यतिखेर पटक्कै बुझ्न सकिना या बुझ्ने कोसिस नै गरिना। विदेशबाट ल्याएका केही सामान, नगदहरू हात पारेर ‘लौ, काम मिलेपछि खबर गरेर विदेश उड्नुअघि २–३ दिनका लागि घर आउनू’ भन्ने आदेश फर्माएर श्रीमती फर्किइन्। मैले यति मात्र भनेँ, ‘ठीकै छ, फेरि उड्नुपर्ने भयो भने आवश्यक पर्छ, रकम जतन गरेर राख है।’ सुनेको नसुन्यै गर्दै उनी ट्याक्सी चढेर हुइँकिइन्।
राति लजमा मलाई निद्रा परेन। मलाई त्यसरी माया गर्ने श्रीमतीले कस्तो रुखो व्यवहार गरेकी भन्ने लागेर मनमा छटपटी चलिरह्यो। त्यत्तिका समयपछि विदेशबाट आएको लोग्नेलाई काठमाडौंमा छोडेर पैस्ँँ र सरसामान मात्रै लिएर कसरी घर फर्कन सकेको? अनि २/४ दिनका लागि पनि घर जान नदिएर फेरि विदेश जानु भनी कसरी भन्न सकेको? होइन यसमा कुनै रहस्य त पक्कै होला यस्ता तर्कना रातभर चल्यो। भोलिपल्ट उज्यालो भएपछिचाहिँ ‘मिल्छ भने फेरि बाहिरका लागि किन ट्राई नगर्ने त?’ भन्ने आफैंलाई पनि लाग्यो। एक अफ्रिकी मुलुकका लागि प्रोसेस सुरु पनि गरेँ मैले, चिनजानको साथीमार्फत। सोही क्रममा झन्डै एक महिना काठमाडौंमै बित्यो।
एकैचोटि मङ्सिर २८ गते म चितवन पुगेँ। घर गएपछि पापको घैंटो फुट्न बेर लागेन। यताउताबाट कुरा पनि सुनिन थाले। मैले जसलाई एकलौटी विश्वास र माया गरेँ, जसको सुख या खुसीका लागि ज्यान बाजीमा हालेर रगत–पसिना बगाएँ, उनै श्रीमती त दुई वर्ष अघिदेखि नै परपुरुष चाखेर हिँड्ने भइसकेकी रहिछिन्। छरछिमेकले नै देख्नेगरी घरमा पुरुष–साथी भित्याएर रासलीला मच्चाउनसमेत उनी पछि परेकी रहिनछिन्। छोराहरू स्कुल–कलेज गएपछि दिनभर उनको चर्तिकला चल्दोरहेछ। पछिल्लो चरणमा आफू उनान्चालीस वर्ष पुगेकोसमेत बिर्सिएर उनले आफूभन्दा १० वर्ष कान्छो रत्ननगरमै कार्यरत एक प्रहरी जवानसँग हिमचिम बढाएकी रहिछिन्। उक्त प्रहरीकी श्रीमतीले दुःखेसो पोखेपछि त म छर्लङ्ग भएँ। उनैको नाममा किनिदिएको घर पनि बैंकमा बन्धकी राखेर ऋण लिएको र त्यो सबै सिध्याएको, उताबाट मासिक रूपमा पठाएको रकमले पनि नपुगेर ऋणैऋण थोपरेको, छोराहरूको ख्याल नगरिदिँदा उनीहरूको पनि पढाइ र आनीबानी बिग्रिएकोलगायतका यथार्थ बुझेपछि म छाँगाबाट खसेझैं भएँ। यस्तो के गरेको? मेरो विश्वासमा किन घात गरेको? छोराहरूमाथि किन यसरी अन्याय गरेको? भनी मैले प्रश्न गर्दा उल्टै मलाई तथानाम गाली गरेर हातै हाल्नसमेत तम्सिएपछि पहिलेकी उर्वशी र अहिलेकी पतित श्रीमतीबीचको भिन्नता छुट्याउन नसकेर म बेहोसतुल्य भएँ। त्यसको भोलिपल्ट त उही प्रहरी जवानसँग उनी घरबार, छोराहरू र मसमेतलाई छोडेर भागिहालिन्।
मेरै धेरै साथीहरूको पनि यस्तै कहानी सुनेको थिएँ। विदेशमा काम गर्न जाने पुरुषहरूमध्ये करिब ९० प्रतिशतको कहानी यस्तै हो भन्ने सुने–बुझेको थिएँ। त्यति हुँदा पनि आफ्नी पत्नीमाथिचाहिँ मैले कहिल्यै अविश्वास र शङ्का गर्न सकिना। केवल अलिअलि कमाएको पैसाले अब यहीँ कुनै राम्रो व्यवसाय गरेर बाँकी जीवन सुखसाथ कटाउने सोचमै म मग्न रहेँ। तर, मेरो विश्वास र सपनामाथि आज क्रूर प्रहार भएको छ, निष्ठुरी ईश्वरले आफ्नी अर्धाङ्गिनी भनाउँदीलाई नै हतियार बनाएर ममाथि प्रहार गरेका छन्। आज न मसँग श्रीमती रहिन् न त धन–सम्पत्ति नै रहे फगत ऋणको बोझ, पढ्दै गरेका छोराहरूको बेडा पार गर्नुपर्ने दायित्व र रित्तो जीवनबाहेक बाँकी केही रहेन मसँग बुझ्दै जाँदा मलाई जस्तो अरू थुपै्र युवाहरूलाई पनि परेको रहेछ। के आफ्नो देशमा रोजगारी नपाएर विदेशी भूमिमा रगत–पसिना बगाउनुपर्ने नियति लिएर आएका मजस्ता वैदेशिक रोजगारका लालसी नेपाली पुरुष सबैको दुर्दशा यस्तै नै हो त? यो सम्झेर म हिजोआज कहालिने गरेको छु।
( कुराकानीमा आधारित साभारः घटना र विचार)

No comments:

Post a Comment