• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, December 7, 2009

    वैठक नेपालमा, चिनारी विश्वमा

    शिला पाण्डे

    काठमाडौ, २०६६ मंसिर २२ - यो साता नेपाल विश्वमै चर्चामा आयो । माओवादी जनयुद्ध, आन्दोलनलगायत द्वन्द्वका कारण समाचार बन्ने गरेको यो मुलुक अहिले चर्चामा आउनुको कारण थियो सगरमाथाको फेदमा बसेको मन्त्रिपरिषद बैठक । यसलाई एकैचोटि एक सयभन्दा बढी श्रव्यदृश्य सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारणमार्फत विश्वमाझ पुर्‍याएका थिए । बैठकको विश्वभरिका साना ठूला गरी १ लाख ७ हजार सञ्चारमाध्यमले स्थान दिएको व्यवसायीको दाबी छ ।
    कोपनहेगनमा हुने अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्मेलनको एक साताअघि विश्वव्यापी तापमानका कारण हिमाल फुट्ने खतरा बढेको भन्दै विश्वको धानाकर्षण गराउन सरकारले सोलुखुम्बुको कालापत्थरमा मन्त्रिपरिषद बैठक गरेको हो । यसले नेपाल र सगरमाथालाई फेरि एकपटक विश्वभरका मानिसको मस्तिष्कमा ताजा बनाएको पर्यटनसम्बद्ध व्यक्तिहरूको भनाइ छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले भने, 'यसले नेपाली पर्यटनमा पनि ठूलो सघाउ पुगेको छ । आगामी दिनमा यसको असर देख्न पाइन्छ ।' जलवायु परिवर्तन सम्मेलनले पनि यसमा थप प्रभाव पार्ने उनले बताए ।
    करिब ११ वर्षपछि नेपाललाई एकैचोटि ठूलो संख्याका सञ्चारमाध्यमले प्रसारण गरेका हुन् । 'नेपाल र चीन दुवैतर्फबाट एकैचोटि सगरमाथा चुचुरोमा पुग्ने अभियानको त्यतिबेला धेरै प्रचारप्रसार भएको थियो,' नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाटा) का अध्यक्ष रामकाजी कोनेले भने, 'त्यो प्रचारसमेत अहिलेको जति थिएन ।'
    नेपाल टेलिभिजनको नेटवर्किङमा रहेका ८४ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । बिबिसी, सिएनएन, रोयर्टस, एएफपीलगायत सञ्चारमाध्यमले आफ्नै क्यामेराम्यानमार्फत प्रत्यक्ष प्रसारण गरेका थिए । त्यस्तै राष्ट्रिय टेलिभिजन र पत्रपत्रिकाका प्रतिनिधिले बैठकस्थल पुगेर समाचार संकलन गरेका थिए । 'नेपाल त्यसै पनि चर्चित थियो,' कोनेले भने, 'यसले सुनमा सुगन्ध थपेको छ ।'
    नामै नसुनेकाले पनि नेपालबारे प्रत्यक्ष प्रसारणका कारण थाहा पाएको एसियन पर्वतारोहण महासंघका अध्यक्ष आङछिरिङ शेर्पाले बताए । 'यसले पर्यटन वर्षलाई पनि सकारात्मक प्रभाव पारेको छ,' उनले भने । मुलुकको पर्यटन प्रकृतिमै भर परेकाले जलवायु परिवर्तनको विषयमा सरकारले गरेको प्रयास अर्थपूर्ण बनेको उनले बताए ।
    ट्रेकिङ एजेन्टस एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष ज्योति अधिकारीले पर्वतारोहणका कारण नेपाल र यहाँको हिमालयको नियमित प्रचारप्रसार भइरेहकाले बैठक प्रसंगले पर्यटक आगमनमा खासै प्रभाव नपार्ने बताए । 'जलवायु परिवर्तनबारे सरकारको चासोलाई विश्वले बुझेको छ । यो राम्रो पक्ष हो,' अधिकारीले भने, 'तर पर्यटन वर्ष र पर्यटक संख्यामा यसले प्रभाव पर्दैन ।' मन्त्रिपरिषद सदस्यले हाइकिङ गरेर पर्यटन प्रवर्द्धन गनुपर्ने उनको भनाइ छ । आगामी दिनमा साहसिक पर्यटन र पदयात्रामा नेपालको प्रचारको राम्रो प्रभाव देखिनेमा टानका अध्यक्ष सीताराम सापकोटा विश्वस्त छन् ।
    'बन्द हडताल नहुने हो भने यसले आउँदो मौसममा पदयात्रा र साहसिक पर्यटक संख्या बढाउने छ,' उनले भने, 'तत्काल उपलब्धि नदेखिए पनि यसले फेरि एकपटक नेपाललाई विश्वसामु परिचित गराउन सफल भएको छ ।'

    http://www.ekantipur.com/np/news/news-detail.php?news_id=303102

    No comments:

    Post a Comment