• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, December 31, 2009

    ब्राह्मणका लागि राज्य माग्दै उपवास


    'हामी ४० लाख छौँ, हामीलाई पनि राज्य चाहिन्छ'-
    रमेशकुमार पौडेल, चितवन, पुस १३- बाहुनहरुको छुट्टै राज्य हुनुपर्ने माग गर्दै चितवनका ब्राहमणहरु सोमबार नारायणगढको सहिद चोकमा दिनभर उपवास बसिरहेका छन्। उनीहरु चितवनलाई ब्राहमणहरुको अग्राधिकार रहने गरेर नारायणी प्रान्त घोषणा गर्नु पर्ने अडानमा छन्। 

    संविधानमा जातीयताको आधारमा आरक्षणको व्यवस्था हुन नहुने पनि उनीहरुको अर्को माग रहेको छ।
    ‘आज पुत्रदा एकादशी हो। यो ब्रत बस्नेले क्षमतावान पुत्र पाउँछ भनिन्छ। हामी पनि यसै दिन उपवास बसेर आफ्ना लागि राज्य मागेका छौं' ब्राह्मण समाज नेपालका अध्यक्ष काशीराम शर्मा पौडेलले बताए।
    यो संस्था गएको कात्तिकमा गठन भएको हो। जातीय आधारमा राज्य र अधिकारका कुरा भएकाले आफूहरु पनि संगठित भएको उनले बताए।
    ‘हाम्रो विचारमा जातीय आधारमा यो देशलाई विखण्डन गर्नै हुँदैन। यदि गर्नै नै हो भने पनि बाहुनहरुलाई बेवास्ता गर्न पाइँदैन। बाहुनहरु यो देशमा ४० लाख छन्। उनीहरुलाई पनि राज्य चाहियो' पौडेलको भनाइ छ। उनले अन्धा, अपांग तथा आर्थिकरुपले विपन्न बाहेकहरुलाई राज्यको कुनै पनि क्षेत्रमा आरक्षणको व्यवस्था गर्न नहुने बताए।
    ‘जातजाति हेरेर कोटाको व्यवस्था गर्नु अनुचित हुन्छ। बाहुनका छोराछोरी विपन्न छैनन् र उनीहरुलाई राज्यले नहेर्ने?' पौडेलले प्रश्न गरे। बिस्तारै अन्य कार्यक्रमहरु पनि आयोजना गर्दै जाने जानकारी समाजले दिएको छ।
    ‘हामी विरोधको रचानात्मक शैली अपनाउँछौं। उपवास बस्यौं, दियो बाल्नेछौं। लाख बत्ती बाल्ने छौं तर ध्वंश पटक्कै गर्ने छैनौ। हामीले सुतेका बाहुनहरुलाई पनि जगाउने छौं। राज्यलाई पनि जगाउने छौं' समाजका अध्यक्ष पौडेलले बताए।
    समाजले चितवनको सबै भागसँगै मकवानपुर गढीबाट पश्चिम, दाउन्ने पूर्व र पर्साको ठोरीदेखि उत्तरको क्षेत्रलाई नारायणी प्रदेश बनाउन माग गरेको छ। 


    बाहुनलाई ब्राम्सालिङ कि टुप्पीवान?
    रामकुमार शर्मा पौडेल
    भित्तामा रातो ब्यानर टाँगिएको छ। रातो ब्यानरमा सेता अक्षर छन्। माथिपट्टी ऊँ लेखिएको छ, मुनि ब्राह्मण समाज, नेपाल लेखिएको छ। यो भर्खरै खुलेका बाहुनहरुको संस्था रे। ब्यानरमुन्तिर बसेका छन् नाकचुच्चे टिपिकल बाहुनहरु। उनीहरु सोमबार नारायणगढको सहिद चोकमा दिनभर भोकै बसे। भन्नलाई उपवास बसेका रे। यत्तिकै हैन, आफ्ना माग पूरा गर्न दबाब दिनलाई बसेका रे।
    माग चाहिँ के हो नि? बाहुनका लागि छुट्टै राज्य। लौ अब ब्राम्सालिङ वा टुप्पीवानका लागि पनि बाहुनहरु आन्दोलनमा बस्न थालेछन्। तर मेरो यसमा घोर विरोध छ।

    अरु जातिहरु धमाधम आफ्नो राज्य आफै घोषणा गर्दैछन्, बाहुन भने उपवास बसेर आन्दोलन गर्ने? माग्ने जमाना हो र यो? यी बाहुनहरुले पनि सीधै घोषणा गरे के बिग्रन्थ्यो भन्या?
    फेरि कोसँग माग्ने ? राज्यसत्तामा वर्षौँदेखि बाहुन कै हालिमुहाली चलेको छ। पार्टीहरुमा हेर्नुस्, क्रान्तिकारी भनाउँदो एनेकपा मांओवादी होस् कि एमाले होस् वा कांग्रेस होस्- नेतृत्वपंक्तिमा बाहुनै छन्। अरु जाति त सदियौँदेखि आफूलाई पिल्सेको भन्दै संघर्ष गर्दै बाहुनहरुसँग राज्य मागिरहेका छन् भने हामी चाहिँ बाहुन भएर बाहुनसँगै माग्ने ? बाहुन आफैले बुझेर दिनुपर्ने हैन त्यो ?
    बाहुनले राज्य माग्दै गरेको आन्दोलन हेर्नुस् त भिडियोमा-
     

    नबुझेरै त होला, बाहुनको संस्था नै गत कात्तिकमा मात्र गठन भयो। ब्राह्मण समाज नेपालका अध्यक्ष काशीराम शर्मा पौडेल रे। यिनको त कुरा सुन्दै दिक्क लाग्यो। यिनी भन्छन्- हामी विरोधको रचनात्मक शैली अपनाउँछौं। उपवास बस्यौं, दियो बाल्नेछौं। लाख बत्ती बाल्ने छौं। हामी सुतेका बाहुनहरुलाई पनि जगाउने छौं। राज्यलाई पनि जगाउने छौं’
    धेइत्, लाखबत्ती बालेर नि आन्दोलन हुन्छ ? कुन दिन यिनले सडकमा रुद्री लगाएर आन्दोलन गर्छु पनि भन्लान्। सप्ताह लाउँछु पनि भन्लान्। म लगायत तपाईँ सब राज्यविहीन हुन लागेकोले डराएका बाहुन एक भएर यी अध्यक्षलाई हटा‌‌औँ र हालका एमाले, माओवादी र काँग्रेसका नेताहरुलाई पालैपालो रोटेसनमा अध्यक्ष हुने व्यवस्था मिलाएर ब्राह्मण समाजको पुनर्गठन गरौँ।
    यी अध्यक्षले चितवनलाई ब्राहमणहरुको अग्राधिकार रहने गरेर नारायणी प्रान्त घोषणा गर्नु पर्ने माग गरेछन्। चितवन भावी राजधानी ठानेर त्यसो गरेका रहेछन् भने ठीकै छ। नत्र कहाँ त्यसरी हुन्छ। हामीलाई त सिं‍हदरबार इलाकालाई ब्राह्मणहरुको अग्राधिकार रहने घोषणा गर्नुपर्छ। अधिकार मागेर हैन खोसेर पाउनु पर्छ। हामीले वर्षौँदेखि आदिवासीजनजातिहरुबाट खोसेरै त अधिकार लिइराखेका थियौँ। अब पनि त्यसै गर्नुपर्छ।
    लौ बाहुन दाजुभाइ दिदीबहिनी हो, हातमा हात मिलाऔँ। बाहुनहरुका लागि ब्राम्सालिङ वा टुप्पीवानको माग गरौँ। सिं‍हदरबार इलाकालाई बाहुनको अग्राधिकार रहने गरी बाहुन राज्य घोषणा गरौँ। बाहुनको माग बाहुनले पूरा गर्न बाध्य हुनै पर्नेछ। ksharmaram5@gmail.com

    1 comment:

    1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
      adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

      ReplyDelete