• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, December 31, 2009

    लन्डनमा नक्कली बिहेले बढ्यो झमेला

    नवीन पोखरेल


    लन्डन, २०६६ पुस १६ - उनीहरू श्रीमान/श्रीमती हुन्, किनकि बिहे दर्ता प्रमाणपत्र बकाइदा छ । लगनगाँठो कस्दा खिचिएका तस्बिर कुनै 'सेलिबे्रटी' भन्दा कम छैनन् । हेर्दा लाग्छ, भगवानले बेलैमा यो गतिलो जोडी जुराइदिए । व्यवहारमा उनीहरू एकअर्कालाई राम्ररी चिन्दैनन् । मुस्किलले फोनमा कुरा भए पनि भेटघाट हुन असम्भव छ, किनकि यी दुईको बसाइ वल्लो छेउ र पल्लो छेउ छ ।
    '१७ अक्टोबरमा बेलायत आएपछि छुट्टिऔं, उनी कता छिन् के गर्छिन् पत्तो छैन,' नक्कली बिहे गरेर 'डिपेन्डेन्ट' मा यूके उत्रेका अविनाश थापा (नाम परिवर्तन) ले भने, 'उन (कागजमा सीमित श्रीमती) को कलेज शुल्क एजेन्सीमार्फत नेपालमै सबै तिरिदिएपछि मलाई अहिले हाइसञ्चो छ । मैले पूरा समय काम गर्न पाएको छु, उनी आफ्नै सुरमा रमाइरहेकी छन् ।'
    कागजी श्रीमती अस्मिता राई (नाम परिवर्तन) को कलेज शुल्क ४५ सय पाउन्ड तिरिदिएपछि श्रीमान बन्न पाएका हीरालाल महर्जन -काल्पनिक नाम) का दिन पनि अहिले फिरेका छन् । नेपालमा अवसर कम र पढाइ पनि नहुँदा विरक्तिएका महर्जनलाई पैसा जुटाइदिएकै भरमा राईले अस्थायी श्रीमान स्वीकारेपछि जिन्दगीमा पहिलोपटक यूके घुसे महर्जन । 'बस्न पाइन्जेल काम गरौं, पछि नेपाल फर्केपछि कागजी बिहेलाई वास्तविकतामा बदल्ने त छँदैछ,' उनको योजना छ ।
    'टिएर फोर' अन्तर्गत बेलायतले सहजै भिसा दिन थालेपछि धमाधम नक्कली बिहे गरेर 'डिपेन्डेन्ट' मा यूके उत्रेका झन्डै ७० प्रतिशत नेपालीको अवस्था यस्तै छ । बेलायत उत्रनैका लागि विद्यार्थीको कलेज फी तिरिदिएर 'डिपेन्डेन्ट' मा कमाउन सँगै आएका श्रीमानश्रीमती एकअर्कालाई चिन्दैनन्, सँगै बस्दैनन् भने उनीहरूबीच भावनात्मक सम्बन्ध पनि धूमिल छ ।
    तर चोर बाटो अपनाएर बेलायत आइपुगेका उनीहरूलाई झमेला सुरु भइसकेको छ । विशेषगरी भिसा अवधि थप्ने बेलामा दुई पक्षबीच आपसी समझदारी बन्न नसक्दा समस्या आइलागेको हो । अध्यागमन नियममा भिसा अवधि थप्न श्रीमानश्रीमती दुवै सँगै भएको प्रमाण पेस गर्नुपर्ने, आवेदन फारममा दुवैको विवरण र हस्ताक्षर हुनुपर्ने, विद्यार्थी र डिपेन्डेन्टका लागि लाग्ने खर्च बैंक खातामा देखाउनुपर्ने आदि प्रावधान छ ।
    तर एक-अर्काबीच मनोमालिन्य बढेपछि विद्यार्थीले 'डिपेन्डेन्ट' का कागजात नपठाइदिने वा 'इमोसनल बार्गेनिङ' गरेर अड्को थापेपछि ती समस्या वकिलसम्म आउन थालेको असगर सोलिसिटर्स, यूकेसँग आबद्ध बि्र्रटेन नेपाल लयन्स एसोसिएसनका अध्यक्ष एवं बेलायतका पहिलो नेपाली क्वालिफाइड सोलिसिटर राजु थापाले बताए ।
    डिपेन्डेन्ट भिसामा आएका व्यक्तिहरूको भिसा मुख्य निवेदक (विद्यार्थी) ले समर्थन नगरे निजको 'डिपेन्डेन्ट भिसा' समाप्त भएको मानिने छ । खासमा डिपेन्डेन्टले पूरा समय काम गरेर मज्जाले कमाउन थालेपछि साताको बीस घन्टा काममा सीमित हुनुपर्ने विद्यार्थीलाई 'डाहा' हुन थाल्छ र उसले भिसा बढाउने बेलामा विभिन्न प्रस्ताव गर्न थाल्छ ।
    अपवादबाहेक भिसा आवेदन प्रक्रिया अघि बढाउने क्रममा अधिकांश विद्यार्थीसँग कन्सल्टेन्सीले मोटो रकम लिई बिहे दर्ता गराउने र नेपालमा बिहे दर्ता गर्ने अधिकारीले समेत बिहे गरेको सबुद प्रमाणबिना नै दर्ता गराइदिने क्रम बढेपछि अहिले नक्कली बिहे गरी बेलायत ओइरिने परिपाटीले प्रश्रय पाएको विश्लेषकहरूको ठम्याइ छ ।
    बीएलजे सोलिसिटर्सका लिगल कन्सल्टेन्ट महेश दाहालले पनि नक्कली बिहे गरेर डिपेन्डेन्टमा आएका बीच समस्या बढेको बताए । 'नेपालबाट आउने बेलामा कन्सल्टेन्सीले नै नक्कली बिहे गर्न प्रेरित गरेको पाइएको छ, वास्तवमा यसले भविष्यमा ठूलो समस्या ल्याउने देखिन्छ,' दाहालले भने ।
    नक्कली बिहे गरेर यहाँ आइसकेपछि एकअर्कालाई त्याग्न पनि धेरै कानुनी झमेला छन् । विद्यार्थीले 'डिपेन्डेन्ट' लाई छाडेर अर्कोसँग बिहे गर्न चाहे उसले पहिला डिभोर्स गर्नुपर्छ । तर लाखौं तिरेको 'डिपेन्डेन्ट' ले राजीखुसी डिभोर्सका लागि सहमति दिँदैन किनभने डिभोर्स गर्नेबित्तिकै आफू नेपाल र्फकनुपर्ने हुन्छ । अर्को, डिभोर्स स्वीकृत हुन पनि समय लाग्छ । सरकारले अध्यागमन प्रयोजनका लागि भएको वा हुन लागेको बिहे दुरुत्साहित गर्न फेब्रुअरी २००५ मा होम अफिससँग स्वीकृति लिएर मात्र गर्न पाइने प्रावधान बनाएको छ । यसका लागि अविवाहित भएको प्रमाण पेस गर्नुपर्नेछ ।
    सोलिसिटर थापा बेलायतको कानुनअनुसार कुनै पनि व्यक्तिले कानुनतः बिहे गर्ने स्वतन्त्रतालाई युरोपियन मानव अधिकार सन्धि १९५० को धारा १२ ले 'वैवाहिक अधिकार' को सुरक्षा प्रदान गरे पनि बिहे दुई पक्षको दाम्पत्य जीवनसँग सम्बन्धित नभई केवल कागज र सुविधाका लागि पुष्टि हुन आए होम अफिसले झूटा विवरण दिएको ठानी फौजदारी अभियोगमा मुद्दासमेत चलाउन सक्नेछ । हालै मात्र कमेन्ट्री क्राउन कोर्टले एक युरोपियन डच महिलाले नाइजेरियनसँग गर्न लागेको बिहे अध्यागमन प्रयोजनका लागि मात्र हुन लागेको पुष्टि भएपछि निज नाइजेरियनलाई आफ्नै मुलुकमा फिर्ता पठाइदियो भने ती डच महिलालाई ६ महिना जेल सजाय तोकेको समाचार सार्वजनिक भएको थियो ।
    होम अफिसले बेलायतमा केबल आफ्नो अध्यागमन सुरक्षित गर्न कसैको भिसा समाप्त भएमा, भिसा थप्ने अरू प्रावधान नभएमा वा भिसा सकिने अन्तिम समयमा बिहेका लागि लिनुपर्ने स्वीकृति प्रमाणपत्र (सर्टिफिकेट अफ एप्रुभल) को निवेदन दिने संख्या बढिरहेको जनाएको छ । उसले वास्तविक बिहे हो होइन जाँच्न छडके सोधपुछसमेत गर्न सक्छ । त्यस क्रममा होम अफिस अधिकारीले दुवैलाई बेग्लाबेग्लै ठाउँमा राखी बेडसिट कभरको रंग, भान्साको बनावट, पहिलो यौनसम्बन्ध राखेको मिति आदि जस्ता 'उट्पट्याङ' प्रश्नसमेत सोध्ने एक कानुनविदले बताए ।

    1 comment:

    1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
      adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

      ReplyDelete