• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, December 26, 2009

    किन चर्को बोलेर आफै पोलिने काम गर्छन प्रचण्ड ?



    गंगा बीसी
    काठमाडौ, २०६६ पुस ११ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफैं भन्छन्, 'मनमा लागेको कुरा बोल्ने भएकाले नै मलाई प्रचण्ड बनायो ।' अभिव्यक्ति सुन्दा लाग्छ, उनी कहिले भावनामा यस्ता कुरा गर्छन् त कहिले आबेगमा ।
    पछिल्लो पटक नयाँबानेश्वर सभामा 'मञ्चबाटै भारतसित वार्ता थालें' भन्ने उनको अभिव्यक्ति निकै चर्चा र विवादमा रह्यो । दाहाल भने आफू भावुक र संवेदनशील भएकाले मनमा लागेको कुरा लुकाउन नसक्ने धारणा राख्छन् ।
    'अहिले भाषण गर्दा मात्र होइन, जनयुद्धकालदेखि नै संवेदनशील, भावुक भएर मनमा कुरा आइसकेपछि लुकाउन नजान्ने र मनको भन्दिहाल्ने स्वभावको मान्छे हुँ,' उनले आफैंबारे बताए ।
    बानेश्वरमा आबेगमा आएर भाषण गरेको धेरैले ठाने पनि आफूले सत्य बोलेको उनको दाबी छ । 'मनमा लागेको कुरा मैले बोलेको हुँ,' उनले शुक्रबार कान्तिपुरसँग भने, 'आन्तरिक मामिलामा होइन, भारतसँग असमान सन्धिको बारे वार्ता गर्न सकिन्छ, नेपालका पार्टीहरू समाधान गर्ने हैसियत देखिएनन् भन्न खोजेको हुँ ।'
    त्यसको भोलिपल्ट उनले त्यो नेपालका अन्य दलहरूतर्फ लक्षित 'राजनीतिक व्यंग्य' भएको टिप्पणी गरे । त्यसलाई कतिपयले दाहालले कुरा फेरेको रूपमा अथ्र्याए पनि । तर माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महरा स्वीकार्दैनन् । 'पार्टीको निर्णयअनुसार अध्यक्षले बोल्नुभएको हो,' महराले कान्तिपुरसँग भने, 'आबेग वा भावनामा आएर बोल्नुभएको होइन ।'
    थुप्रैले आफूलाई धेरै नबोल्न सुझाव दिए पनि सुधार गर्न नसकेको माओवादी अध्यक्षको भनाइ छ । 'मलाई धेरै नबोल्नुस् भन्छन् । सानोमा पनि जे देख्थंे, त्यही बोल्ने बानी थियो,' उनले भने, 'अहिले पनि त्यही छ । सानोमा साँचो कुरा बोल्ने भएको हुनाले मलाई देउताको गाई भन्थे ।' अहिले पनि 'मनमा लागेको कुरा बोल्नु ठीक लाग्छ' उनलाई ।
    तर दाहालको आबेग र भावना बारम्बार विवाद उत्पादनको स्रोत बन्ने गरेको छ । अनमिनको प्रमाणीकरणमा हतियार कम देखिएपछि उनले भैरहवामा पार्टीलाई अप्ठ्यारो पर्ने गरी अभिव्यक्ति दिए, 'केही हतियार खोलाले बगायो र त्यसैले कम भए ।' युद्धका बेला जाजरकोट क्षेत्रमा भेरी नदीमा हतियार बगेको सन्दर्भ कोट्याउँदा उनी व्यंग्यका पात्र बनेका थिए । आफैंले बोलेको 'हतियार खोलाले बगायो' भन्ने कुरामा उनले धेरैचोटि प्रस्टीकरण दिनुपर्‍यो ।
    त्यसअघि बालुवाटारबाट पहिलोपटक सार्वजनिक भएकै दिन दाहालले सेनासम्बन्धी विवादास्पद अभिव्यक्ति दिए । 'नेपाली सेना बलात्कारी र हत्यारा' रहेको शब्द प्रयोग गर्दा एक सातापछि सच्याउनुपरेको थियो ।
    दुई वर्षअघि चितवनस्थित आफ्ना लडाकुको गोप्य बैठकमा 'प्रमाणीकरण हुनुअघि सेनाको संख्या थोरै भएको र समायोजनपछि नेपाली सेनालाई आफ्नो पक्षमा पार्ने' भन्ने अभिव्यक्तिको खण्डन अहिलेसम्म गरिरहनुपरेको छ ।
    माओवादी नेताहरूमा कार्यकर्ता र सर्वसाधारणमाझ लोकपि्रय कुरा गर्ने परम्परै बसिसकेको छ । हालै नयाँबानेश्वरमा बोलेको कुरालाई लिएर अध्यक्ष दाहालले भने, 'बोली विवादमा परेको हो कि बुझाइमा विवाद हो ? वास्तवमा त्यसको व्याख्या नपुगेको हुनाले विवादास्पद देखिएको हो ।'
    पार्टी सरकारमा जानुअघि गत वर्ष चैत २४ गते खुलामञ्चको सभामा उनले तत्कालीन सेनापति रुक्मांगद कटवाललाई खुला चुनौती दिए । 'को हो कटवाल ?' उनले आबेगमा भनेका थिए, 'नेपाली सेना उनका बाउको बिर्ता हो ?' त्यसपछि उनी प्रधानमन्त्री भए पनि माओवादी र सेनाको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन । कारण कार्यकर्ताको मन जित्ने आबेगपूर्ण अभिव्यक्ति थियो ।
    पार्टीभित्र मात्र होइन, बाहिर पनि दाहाललाई कठोर र नरम दुवै हुनसक्ने व्यक्तिका रूपमा चिनिन्छ । 'कठोर बेलामा कठोर र नरम बेलामा नरम हुनै पर्‍यो नि,' दाहालपत्नी सीताले भनिन्, 'मान्छे सधैं एकनास कहाँ भइरहन्छ र ?' उनले श्रीमान्बाट सिकेको सबभन्दा ठूलो कुरा हो, 'अप्ठ्यारोमा समाधान खोज्नु ।'
    आफूले विचार पुर्‍याएर बोल्न सुझाव दिने गरे पनि दाहालको 'नानीदेखिको बानी' नगएको उनको अनुभव छ । 'उहाँको मनमा लागेको कुरा फ्याट्ट बोल्ने बानी छ,' उनले थपिन्, 'कहिलेकाहीं यसले अप्ठ्यारो पार्छ ।'
    छोरी एवं सभासद रेणु दाहालले बुवालाई उदार नेताका रूपमा चिनेकी छन् । 'बुवा उदार र भावुक नेता हुनुहन्छ,' उनले भनिन्, 'कहिलेकाहीं
    बढी भावुक हुने, आबेगमा आउने र उदार हुने उहाँका राजनीतिक कमजोरी हुन् ।'
    कमजोरीका बाबजुद उनी आफूलाई भेट्ने व्यक्तिहरूसँग नरम र मिठो तरिकाले प्रस्तुत हुन्छन् । 'मनोविज्ञान बुझेर कुराकानी गर्ने भएकाले प्रायः सबै व्यक्ति उहाँबाट प्रभावित भएको पाएको छु,' स्वकीय सचिव समीर दाहालले अनुभव सुनाए ।
    शान्ति प्रक्रिया सुरु भएपछि पहिलोपटक दाहाललाई राजधानी ल्याएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला उनलाई 'साहसिक नेता' ठान्छन् । 'करिब १५ हजारको ज्यान जाने गएको सशस्त्र उग्रवादी धारबाट शान्तिपूर्ण लोकतान्त्रिक अवस्थामा ल्याइपुर्‍याउने प्रचण्डको साहसिक काम हो,' उनले कान्तिपुरसँग भने, 'यसलाई हाम्रा सभापति गिरिजाबाबुले पनि प्रशंसा गर्नुभएको छ ।'
    तर निर्वाचनपछि भने दाहाल असफल भएको सिटौलाको बुझाइ छ । 'एउटै विषयमा अलगअलग व्यक्तिसँग फरकफरक कुरा गर्नु कमजोरी हो । लोकतान्त्रिक व्यवस्थामा यसरी सफल हुन गाह्रो हुन्छ ।'

    1 comment:

    1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
      adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

      ReplyDelete