Saturday, December 12, 2009

'लेख्ने हात यही होइन भन्दै औंला चिरे'

टीका बिष्ट

क्याबिन नं. १४ काठमाडौं मोडेल अस्पताल, २०६६ मंसिर २७ - २३ गते घटना हुनुभन्दा १२ दिनअघि मैले लेखेको 'किन चाहियो तीर्थाको सिन्दूर माओवादीलाई ?' भन्ने लेख दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकमा प्रकाशित भएको थियो । त्यसको १५/२० दिनपहिले नै त्यही लेख रुकुमबाट प्रकाशित जन्तिधारा साप्ताहिकमा छापिइसकेको थियो ।
गणतन्त्र दैनिकमा छापिएको भोलिपल्ट 'नो नम्बर' बाट मेरो मोबाइलमा फोन आयो । मैले परिचय माग्न खोज्दा परिचय नै नदिई कुरा सुरु गरे । 'किन चाहियो तँलाई तीर्थाको सिन्दूर, खुब तीर्थाको सिन्दूरको बचाउ गर्ने भा'की, तँलाई बाँच्ने मन छैन ? मृतक पत्रकारको लिस्टमा तेरो नाम पनि चढाइदिउँ' भनेर धम्की दिए । मलाई अलिअलि चिन्ता लागिरहेको थियो तर पनि वास्ता नगरी काममा लागें ।
पत्रकार साथीहरूलाई घटनाबारे जानकारी गराएँ । स्थानीय रेडियोमा समाचार पनि बज्यो । ३/४ दिनपछि फेरि 'तँलाई जतिखेर जे पनि हुनसक्छ, ख्याल गर' भनेर अर्को फोन आयो । घटना हुनुअघि दुईपटक फोन आएको थियो ।
मेरो घर रुकुमको गरायला हो । पढ्न र काम गर्ने सिलसिलामा सदरमुकाम मुसिकोटस्थित डेरामा बस्दै आएकी छु । २३ गते बिहान म कोठामै बसिरहेकी थिएँ । सवा नौ बजेतिर नचिनेको नम्बरबाट फोन आयो । 'भाउजू बिरामी भएर जिल्ला अस्पतालमा ल्याएको छ भाउजूलाई भेट्न तुरुन्त जा' भन्यो । मसँग 'तँ' भनेर कुरा गर्‍यो । ११ बजेतिर म हतारिँदै अस्पताल जानका लागि कोठाबाट निस्कें । सदरमुकामबाट विमानस्थलतिर जाँदा सानो झाडी र खोल्साखोल्सी भएको ठाउँ छ । म त्यही बाटो हुँदै अस्पतालतिर जाँदै थिएँ । भाउजू बिरामी भएको चिन्ताले हतारिँदै थिएँ । मठ भन्ने ठाउँमा पुगेपछि कसैले जिस्क्याए जसरी पछाडिबाट ढुंगा हान्यो । म त्यति वास्ता नगरी हिँडिरहें । फेरि ढुंगा हान्यो र तेस्रो पटक ढुंगा हानेलगत्तै एक्कासि तीन जनाले मलाई समाए । तीनै जनाले कालो चस्मा लगाएर मुखमा पट्टी बाँधेका थिए । दुई जनाले मेरो एक/एकवटा हात समाएर पछाडि लगे । अर्कोले मेरो ब्याग खोस्यो र सामानहरू निकाल्न थाल्यो । ब्यागमा एउटा ल्यापटप, रेडियो, मोबाइल सेट, लेसनप्लान रजिस्टर, डायरी, कलम, औषधि र सात सय २३ रुपैयाँ थियो । एउटाले लेसनप्लानको रजिस्टर च्यात्न खोज्यो । मैले नच्यात् भन्दै लात्तीले हानें ।
'खुब फाइटर रै'छे' भन्दै मलाई अठ्याए । त्यसपछि मलाई एउटाले मात्र समाए र दुई जना मेरा सामान तोडफोड गर्न लागे । त्यतिबेरै एउटाको हात झडकारेर भागें । दुईवटा मोबाइलमध्ये एउटा मेरो साथमै थियो । उनीहरूले लखेटिरहेकै अवस्थामा मोबाइलबाट धनवीर दाहाललाई फोन गरें । 'दाइ मलाई लखेटिरहेका छन्, म घेरिएँ' भन्दै थिएँ, पकडिहाले र मोबाइल खोसे । त्यसपछि मेरो मुखमा पट्टी बाँधिदिए र तेरो लेख्ने हात यही होइन भन्दै दाहिने हातका औंलाहरू ब्लेडले चिर्न थाले । मैले 'सक्छस् भने खुकुरीले हान् किन ब्लेडले चिर्छस्' भनें । उनीहरूले ब्लेडले काट्या मान्छे मर्दैन भन्ने हामीलाई पनि थाहा छ, खुकुरी पनि ल्या'को छ, नाइनस्टिक पनि छ, नाइनस्टिकले के गर्छ थाहा छ तेरो दाइलाई मार्छ' भने । उनीहरूले मेरो दायाँ हातका औंलाहरू चिरिदिए । तीन जनाका अगाडि मेरो केही जोर चलेन ।
दस मिनेटजति यातना दिएपछि मेरो गर्दनमा समातेर भित्ताको ढुंगामा टाउको ठोक्काउन थाले । मलाई त्यतिसम्म मात्र याद छ । त्यसपछि के के गरे थाहा भएन । बेलुका आठ बजेतिर होसमा आउँदा त जिल्ला अस्पतालको बेडमा थिएँ ।
म होसमा आउँदा मेरा साथीहरू निकै खुसी भए । वरिपरि साथीहरूलाई देखेर मेरो आँखा रसायो । कुटपिटपछि मलाई भीरबाट फालिदिएका रहेछन् । पत्रकार साथीहरूले त्यहाँबाट बोकेर माथि गोरेटोसम्म ल्याएछन् र अस्पताल पुर्‍याएछन् । मैले फोन गरेको २० मिनेटपछि मात्र साथीहरूले मलाई भेट्टाउनुभएको रहेछ । म बस्ने घरभन्दा दुई सय मिटर टाढा साँघुरो सडक, एकापट्ट पर्खाल र अर्कोतिर भीर भएको ठाउँमा म आक्रमणमा परेकी थिएँ ।
माओवादीसँग पनि मेरो कुनै रिसिइबी छैन । एमालेको प्यारो बन्न लेखेको पनि होइन । २०५६ सालको संसदीय निर्वाचनमा एमालेका उम्मेदवारसमेत रहेका तीर्थाका श्रीमान् यदु गौतमलाई यातना दिएर माओवादीले हत्या गरेका थिए । सोही विषयवस्तुलाई छोएर यथार्थ कुरालाई लेखमार्फत बाहिर ल्याउन खोजेकी हुँ । कात्तिक १० गते माओवादीले लगाएको नारा उनै तीर्थाका विरुद्ध खनिएपछि मलाई लेख्ने प्रेरणा भएको हो । त्यही लेखकै कारण मलाई सुनियोजित आक्रमण भएको हो । अपराधी माओवादी सम्बद्ध हुन् भन्ने लाग्छ किनकि लेख छापिएपछि माओवादीले नै मलाई पटकपटक धम्की दिएका थिए । तेरो लेख लेख्ने औंला यही होइन भन्दै चिरिदिएकाले पनि मलाई आक्रमण गर्ने उनै माओवादी हुन् भन्न बाध्य भएकी हुँ ।
अझै पनि माओवादीले यथार्थलाई स्वीकार्न सक्नुपर्छ । होइन भने तीर्थाको श्रीमान्लाई मारेको होइन भनेर प्रमाणित गर्न सक्नुपर्‍यो ।
(कान्तिपुर संवाददाता कल्पना घिमिरेसँग कुराकानीमा आधारित)
http://www.ekantipur.com/np/news/news-detail.php?news_id=303335

No comments:

Post a Comment