Thursday, November 26, 2009

बुझेरमात्र जाऊँ बेलायत

देवीप्रसाद गौतम 

तारानाथ शर्माको 'बेलायततिर बरालिँदा'को जस्तो रहेनछ आजको लण्डन। अंग्रेजी साहित्यमा विशेष गरी लण्डन वरपरको कथा र यहाँका विद्वान योगदान सम्झाउन बाध्य बनाउँछ लण्डनको वास्तविकताले। शेक्सपियरले एउटा भाले कुखुरा चोरेर स्ट्राटफोर्ड अपन एभन गाउँबाट लण्डनमा आएको कथा धेरै पटक आइरहन्थ्यो उसबेला अध्ययनका क्रममा। गाउँ भनेर पढिएको स्ट्राटफोर्ड हाम्रो राजधानी काठमाडौँ जत्रै देख्दा दंग पर्छन् जो पनि।
तपाईँ पहिलो पटक काठमाडौँको त्रिभुवन विमानस्थलबाट विद्यार्थी राहदानीमार्फत लण्डनको हिथ्रो विमानस्थल झर्दै हुनुहुन्छ भने साथमा प्लीज, सरी, एक्स्क्युज मी र थैंक्युजस्ता शब्दहरूलाई पनि खल्तीमा हालेरै ल्याउनुहोला। सभ्यताको जननी बेलायतले मानिसलाई सम्मान र सहयोग गर्नुपर्छ भन्ने ठान्छ। हुन त यहाँ पनि नेपालकै जस्तो आन्दोलन, लुटपाट, आत्महत्या, बलात्कारजस्ता कुरा हुँदै नहुने होइनन् तर आन्दोलन हुनेबित्तिकै तोडफोड, आगजनी र बिध्वंश भने भइहाल्दैन। एउटा निश्चित क्षेत्रमा आफ्नो आवाज बुलन्द गर्न आन्दोलनकारी भेला हुने अनि तत्काल सरकारले त्यसको सम्बोधन गर्ने हुँदा सरकारी भूमिका पारदर्शी लाग्छ। लण्डनको अण्डरग्राउण्ड रेल सेवामा एक नेपालीको मोबाइल, घडी र पाउण्ड चोरियो भनेर समाचार टिपिरहँदा होस् या मिनी क्याब लिएर चोरीको ल्यापटप सस्तोमा भिडाउन खोज्ने 'सभ्य' युरोपेली नागरिकका फन्दामा परेका पीडितका कथा सुन्नुभयो भने असभ्य पनि लाग्न सक्छ यो मुलुक।
जे भए पनि तपाईँले बोलिरहने प्लीज, सरी, एक्स्क्युज मी र थैंक्यु शब्दले साँच्चिकै अर्थ राख्दा रहेछन् यहाँ। लण्डनका सडकमा छत भएका र नभएका राता गाडीले तपाईँलाई लण्डनभरि यात्रा गराइरहेको हुन्छ, चौबीसै घण्टा।
बस विसौनीमा वा सडकमा हरियो बत्ती बलेपछि पैदल यात्री मरुन्जेल कुदिरहेको देख्नुभयो भने कृपया नहाँस्नुहोला। ठूलै आपत्ति परेजस्तै हस्याङफस्याङ गर्दै कुरिरहेको दृश्य लण्डनका सडकमा मज्जाले देख्न सकिन्छ। यहाँका नागरिकले समयको एउटा सानो किस्सालाई पनि कति महत्व दिँदा रहेछन् भन्ने उजागर गर्छ यस प्रसंगले।
झण्डै एक लाखभन्दा बढीको हाराहारीमा नेपालीको संख्या पुगिसकेको छ अहिले बेलायतमा। दक्षिण एसियाबाट यहाँ भित्रिनेको चाप बढ्दो छ। छिमेकी मुलुक भारतको पनि उत्तिकै बर्चस्व देख्न पाइन्छ। कतिसम्म भने पश्चिमी लण्डनको साउथ हल भन्ने ठाउँमा त साउथ इण्डिया र नर्थ इण्डिया भन्ने ठाउँका नामै रहेछन्। प्रायःजसो एसिया र अफ्रिकी महादेशका अशान्ति, हिंसा र तनावका कारण होला, शरणार्थी र विद्यार्थी बनेर लण्डन छिर्नेहरूको ताँती सहजै अनुमान लगाउन सकिन्छ। बाटोमा हिँड्दा, बस वा रेलमा यात्रा गर्दा होस् यहाँका रैथाने नागरिकभन्दा बाहिरी मुलुकबाट आउनेहरूको चाप सहजै देख्न सकिन्छ। हिमालयज नेपालको सम्पादन कार्यमा जुटिरहँदा एक दिन दिउँसो फ्रेन्च नागरिक ढोका ढकढकाउँदै 'तपाइँकहाँ जागिर पाइएला?' भन्दा विश्व इतिहासमा गौरवमय गाथा रचिसकेको फ्रान्सजस्ता कतिपय मुलुकका नागरिक पनि बेरोजगार भएर लण्डनमा चाहार्दै हिंडेको पाइयो। हुनसक्छ, आर्थिक मन्दीको प्रभाव सर्वत्र छाएको छ यति बेला।
लण्डनलाई आत्मसात गर्दै जाँदा एक ठाउँमा यस्ता जुझारु नेपालीसँग जम्काभेट भयो जसलाई भेटेपछि लाग्यो विदेशमै बसेर पनि आफ्नो मुलुकलाई सहयोग गर्न सकिँदोरहेछ। बाह्र, तेह्र वर्षअघि अध्ययनका लागि लण्डन आएका थिए। त्यस बेला उनले आफूलाई नेपाली हुँ भनेर चिनाउँदा प्राध्यापकले नेपालबारे मलाई राम्ररी थाहा छ, यो भारतको हिमालयज जोनभित्र पर्छ होइन? भनी सोद्धा चित्त दुखाएका थिए। तिनै व्यक्ति आज आफ्नो स्वर्गभूमि नेपाललाई विदेशीसामु चिनाउन हरतरहले जुटिरहेका छन्। उनले नेपालको पर्यटन क्षेत्र प्रवर्द्धनमा गरेको योगदान बिर्सिनसक्नु छ।
समसरा नेपाल समूह र सहयात्री कुमारी बैंक युकेका प्रमुख तथा फ्रेण्ड्स अफ् ब्रिटेन एण्ड नेपाल नामक नेपाल-बेलायत समाजका संस्थापक महासचिव राजाराम गिरीको देश विकासप्रति धेरै लगाव रहेछ। विदेशमा संघर्ष गरिरहेका धेरै नेपालीले नेपालका लागि थोरै मात्र केही गर्ने योजना बनाइदिए मुलुकले निकै फड्को मार्ने कुरा राजारामले कुराकानीमा बताए।
युके बोर्डर एजेन्सीले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा प्रक्रिया अलि खुकुलो बनाइदिएपछि विश्वबाट विद्यार्थी भिसाका माध्यमले युके आउने विद्यार्थीको चाप बढिरहेको छ। मुलुकको राजनीतिक अस्थिरता, दिन प्रतिदिनको असुरक्षित जीवनयापनका कारणले होला अधिकांश नेपाली विद्यार्थी बेलायत ओइरिने क्रम रोकिएको छैन। नेपालमै उच्च शिक्षाको उपल्लो तह पार गरिसकेकाहरूका त कुरै छाडौँ, सरकारी कार्यालयका उपसचिव बनिसकेका र सम्बन्धित विषयमा दक्षता हाँसिल गरिसकेका व्यक्तिले विद्यार्थी भिसाका माध्यमले बेलायत आइरहेको अवस्था छ। नेपालमा देखिएको सुनौलो भविष्यको सपना र यहाँको वास्तविकतामा आकाश जमिनको फरक छ। पढाइ बीचमै छाडेर, कोर्ट म्यारिज गरेर आउने र अंग्रेजी राम्ररी बोल्न नसक्ने व्यक्तिलाई निकै अप्ठ्यारो छ बेलायत। त्यसकारण सोचौँ, बुझौँ अनि क्षमताले भ्याएसम्म आफ्नो सपनालाई साकार पार्न खोजौँ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete