• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, November 25, 2009

    बेलायतमा आफ्नै कारणले अलपत्र नेपाली

    नवीन पोखरेल

    लन्डन, २०६६ मंसिर १० - चार महिनाअघि लन्डन उत्रेका चन्द्रमणि चाम्लिङ अझै कामविहीन छन् । जागिरको खोजीमा उनले सहरका चारैतिर असंख्य सिभी छाडिसके । कलेज अफ आइटी एन्र्डर् इ-कमर्श कलेजमा पढ्न ३५ सय पाउन्ड बुझाएर युके आएका चाम्लिङको अवस्था काम नपाएकै कारण अहिले दयनीय छ ।
    एल्बियन कलेज, लन्डनमा 'प्रोफेसनल हस्पिटालिटी म्यानेजमेन्ट' पढ्न ४ हजार ७ सय ५० पाउन्ड (६ लाख २० हजार नेपाली रुपैयाँ) तिरेर अक्टोबर ३ मा लन्डन टेकेका विकासमणि भण्डारीको अवस्था पनि उस्तै छ । दुइ दिन कलेजबाहेक साताको पाँचै दिन कामको खोजीमा भौतारिरहेका उनी अब एक महिनासम्म पनि व्यवस्था नभए बाँच्नै गार्‍हो हुने बताउँछन् । खर्च भएको दस लाख कसरी उठाउने भन्ने उनको पिरलो छ । 'ब्याजमा ऋण लिएर आइयो, अब कसरी उठाउने चिन्ताले भोक प्याससमेत हराएको छ,' उनले पीडा पोखे ।
    कलेज अफ सेन्ट्रल लन्डनमा पढ्न ३ हजार ४ सय ५० पाउन्ड बुझाएर १ अक्टोबरमा लन्डन उत्रेका २० वर्षीया रिसव घिमिरेका पनि यहाँका दिन सोचेजस्ता भएनन् । सुसम्पन्न र प्रजातान्त्रिक मुलुक बेलायतमा बसेर पढ्ने अनि सँगसंगै पैसा कमाउने उनको सपना अब लगभग समाप्त भइसक्यो । 'नेपालबाट ल्याएको २ हजार डलरको 'ट्राभल चेक' पनि सकिन लागिसक्यो । काम छैन्, सिभी छाड्न खोज्दा कसैले त ठाउँ खाली छैन भनेर बुझ्नसमेत बुझ्दैनन्,' उनले भने ।
    चाम्लिङ, भण्डारी र घिमिरे त केवल प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो पटक 'टायर फोर' अर्न्तर्गत धमाधम बेलायत ओइरिएका हजारौं नेपाली विद्यार्थी बेरोजगारीले भोकभोकै बस्नुपर्ने बाध्यतामा छन् । यतिसम्म कि काम नपाएरै कति विद्यार्थी नेपाल फर्किसके । कति पार्कमै टहलिदा अध्यागमन अधिकारीले 'डिपोट' समेत गरिदिएका समाचार छन् ।
    बेलायतको आर्थिक मन्दीमात्र उनीहरूले काम नपाउनुको कारण भने होइन । भाषिक समस्या, अनुभव र व्यक्तित्व (पर्सनालिटी) को कमीले पनि नयाँ विद्यार्थीले काम नपाइरहेको अवस्था छ । एड्भान्स ग्रयाजुएडस डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थी चाम्लिङ स्वीकार्छन्, 'विदेशमा भाषा समस्या र पुरानो अनुभव नभएर पनि म कामबाट विमुख हुनुपरेको सत्य हो ।'
    लिड्स विश्वविद्यालय, युकेका प्राध्यापक डा. र्सूय सुवेदी पनि नेपाली विद्यार्थीका तमाम समस्या देख्छन् । 'हाम्रो पालामा त ब्रिटिस काउन्सिलले पूर्वतयारीका लागि 'हाउ टु लिभ इन ब्रिटेन' नामक पुस्तक दिन्थ्यो तर अहिले बुझ्दै नबुझी युके ओइरिने धेरै भए' सुवेदी भन्छन्, 'सीप र आत्मविश्वास हुनेले त अहिलेकै मन्दीमा पनि धमाधम काम पाइरहेका छन् नि ।'
    विद्यार्थीमा बहुआयामिक, महत्त्वाकांक्षी र जस्तोसुकै काम पनि गर्छु नै हिम्मत हुन जरुरी रहेको औंल्याउँछन् डा. सुवेदी । 'काम दिनेले पनि स्मार्टनेस र आउटलुक हेर्छ,' सुवेदी भन्छन्, 'नेपालमा कहिल्यै काम नगरेको अल्छी बानी । त्योमाथि यो गर्दिन र ऊ गर्दिन भन्ने प्रवृत्तिले पनि विद्यार्थी कामबाट वञ्चित भइरहेका छन् ।'
    यहाँ नेपालमा जस्तो चिनजान, भनसुन वा पत्रपत्रिकामा छापिने विज्ञापनमार्फ काम पाइने सम्भावना कम छ । यहाँ जागिर खोज्न 'जब साइट' प्रयोग गर्ने प्रचलन बढी छ । तर, नेपाली वेबसाइटमार्फ जागिर खोज्ने कष्ट नै बेहोर्दैनन् । लन्डनस्थित साउथ ह्यारोमा 'ओमकार ट्रेडिङ लि.' नामको साइबर क्याफे चलाइरहेका अनोज श्रेष्ठ भन्छन्, 'विद्यार्थी याहु च्याट र फेसबुकमा कमेन्ट लेखेर बस्छन् तर जब साइटमार्फ काम खोजेको मैले पाइन ।'
    नयाँ विद्यार्थी बेरोजगार हुनुको पछाडि प्राविधिक कारण पनि छन् । काम सुरु गर्नुअघि हरेक कम्पनीले 'नेसनल इन्सुरेन्स' (एनआई) नम्बर खोज्छन्  तर एनआई नम्बर लिन आवेदन दिंदा सम्बन्धित निकायले कतै काम गरिरहेको प्रमाणित हुने कागजात माग्छन् । जसले गर्दा विद्यार्थीलाई सुरुमा त्यो प्राप्त गर्नसमेत अप्ठेरो हुने गरेको छ ।
    यहाँ विद्यार्थीले सातामा २० घन्टामात्र काम गर्न पाउँछन् तर रोजगारदाताले 'पार्टटाइम' भन्दा पूरा समय दिन सक्ने अधिकारप्राप्त कामदार नै रोज्छन् । यसले पनि विद्यार्थी कामबाट बिमुख भइरहेका बताउँछन् बेलायतका पहिलो नेपाली सोलिसिटर राजु थापा । 'विद्यार्थीले हाई कमिसनमा चाहि“ पर्याप्त 'फन्ड' देखाउने तर यहा“ पैसै नलिइकन आएपछि कसरी बा“चिन्छ त -' थापाको प्रश्न छ ।
    'अधिकांश नेपाली विद्यार्थीमा निर्धक्क बोल्नुभन्दा लजाउने स्वभाव छ, आइ कन्ट्याक्ट (आँखा जुधाएर बोल्नु) नभएपछि गोराहरू काम नै दिंदैनन्' ट्राभल टुर्सका क्षेत्रमा झन्डै २५ वर्षबिताइसकेका होलिडे युनाइटेड, युकेका निर्देशक आनन्दराज आचार्य भन्छन्, 'धेरै विद्यार्थीलाई अन्तर्वार्ता कसरी सामना गर्ने भन्ने नै थाहा छैन ।'
    धेरै विद्यार्थी नेपालीद्वारा सञ्चालित कलेजमै आएका छन् । तीमध्ये अधिकांश कलेज साउथ इस्ट लन्डनमा छन्, जुन व्यापारिक गतिविधि न्यून हुने क्षेत्र भएकाले पनि त्यहाँ कामको अवसर कम छ ।
     

    1 comment:

    1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
      ठीक।

      ReplyDelete