• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, November 3, 2009

    झुक्किए बामदेव !

    उपेन्द्र लामिछाने, वीरगन्ज कात्तिक १६ – बुद्ध एयरबाट बिहान  दस बजे सिमरा एयरपोर्टमा ओर्लिएका एमाले स्थायी कमिटी सदस्य बामदेव गौतम सरासर भिआइपी कक्षतर्फ मोडिए। हातमा फूल लिएर स्वागत गर्न बसेकाको ताँतीतर्फ उनी लम्किए।

    उनी तब छक्क परे, जब ती फूल  उनको स्वागतका लागि नभएर सोही जहाजमा आएका एकिकृत माओवादीका नेता गिरिराजमणि पोखरेलका लागि रहेछ भन्ने थाहा पाए। 
    आन्दोलनमा सहभागी हुन आएका  माओवादीका नेताको स्वागतमा  उभिएका  सभासद् जयराम दाहालसहितको टोली एमाले नेता गौतम हात उठाउँदै अचानक अगाडि आएर उभिएपछि  अलमलमा परेको थियो।  एमालेका  कार्यकर्ता ठानेर गौतमले उठाएको अभिवादन त उनीहरुले फर्काए तर हातका फूल र माला भने  दिएनन्।  दुई दर्जनको सङ्ख्यामा  रहेका माओवादी कार्यकर्ताबाट रित्तै हात फर्कंदै गरेका गौतमले धन्न खाली हात भने हुनु परेन। अन्तिम लहरमा रहेका एक कार्यकर्ताबाट अनायास  दुई थुङ्गा फूल  पाएपछि उनको मुहारको रङ फेरिएको थियो।
    'अगाडि उभिएर के छ कमरेड भनेर हात टपक्क समाउनुभयो ', स्वागत गर्न बसेका माओवादी कार्यकर्ता जगनाथ घिमिरेले भने –  मैले पोखरेलको स्वागतका लागि ल्याएको मालाबाट दुई थुँगा चुँडेर उनलाई दिएँ ।' आफूले फूल दिएलगत्तै गौतम मुस्कुराएको उनले बताए। केही समयअगाडि आफू एमालेमा रहेको बताउने घिमिरेले  माओवादीमा प्रवेश गरेको गौतमलाई थाहा नभएको पनि सुनाउन भ्याए।
    दुई थुङ्गा फूल लिएर भिआइपी कक्षमा आफ्ना कार्यकर्ताको प्रतीक्षामा बामदेव गौतम बसे। यता गिरिराजमणिलाई भने माओवादी कार्यकर्ताले भव्य स्वागत गरे। स्वागतका  क्रममा सँगै आएका गौतमलाई देखेर आफूहरु झुक्किएको माओवादी कार्यकर्ताले बताएपछि पोखरेलले उनलाई किन स्वागत नगरेको त भनेर प्रश्न गरेका थिए। 'तपाईंको अनुमतिविना कसरी स्वागत गर्न सर्क्छौ भन्यौ', घिमिरेले थपे – उहाँले बाँकी माला गौतमलाई  लगाइदिन आग्रह गर्नुभयो।' 
    भिआइपी कक्षमा बसिरहेका  गौतमलाई तिनै माओवादी कार्यकर्ताले ८–१० वटा माला गलामा लगाइदिँदा उनी अचम्ममा परे।  बल्ल उनले आफू झुक्किएको मेसो पाए। माओवादी कार्यकर्ता र नेताका लागि भिआइपी कक्षको माहौल रमाइलो बने पनि  गौतम भने त्यहाँ माला फुकालेर  गम्भीर मुद्रामा बसेको एक  सुरक्षाकर्मीले बताए। गम्भीर बनेका गौतमतर्फ हेर्दे गिराराजमणिले हामी सबै कम्युनिष्ट,  तपाईं कम्युनिष्टको नेता हो भन्दै उक्त स्वागतलाई अर्थाउने  प्रयास गरेका थिए। सरकारमा रहेका अन्य दलका नेता तथा मन्त्रीलाई ढुङ्गा प्रहार गर्ने माओवादी कार्यकर्ताले बामदेव गौतमलाई फूलको माला लगाइदिएपछि  एयरपोर्टमा खटिएका सुरक्षाकर्मी अचम्ममा परेका थिए। 
    किन झुक्किए गौतम ? 
    कोल्बी बजारमा मङ्गलबार हुने बारा क्षेत्र नम्बर ५ को  क्षेत्रीय भेलामा सहभागी हुन निम्ता पाएका गौतमले झुक्किएर एक दिनअगावै सिमरा आउँदा उक्त समस्या आइपरेको सुरक्षा श्रोतले जनायो। जहाजबाट ओर्लेपछि गौतमले फूलका माला र गुच्छा लिएर उभिएका माओवादी कार्यकर्तालाई आफ्नो स्वागतमा उभिएका एमाले कार्यकर्ता ठानेपछि अप्ठेरोमा समेत परे। 
    गौतम पनि ती कार्यकर्तालाई आफ्नो कार्यकर्ता ठानेर झुक्किएको बताउँछन्। 'लाइनमा उभिएकामध्ये कतिपय विगतमा एमाले थिए, त्यसैले आफ्नै कार्यकर्ता ठानें ', सिमरास्थित जिफन्ट कार्यालयमा नागरिकसँग भने – पछि थाहा पाएँ कि ती त माओवादीमा गइसकेका रहेछन्।
    उनले आफ्नो कारणबाट भिआइपी कक्षमा माओवादीलाई रमाइलो लागे पनि आफूलाई भने केही महसुस नभएको सुनाए। 'मेरो स्वागत गर्न पाउँदा उनीहरुलाई खुसी लागेछ ', उनले भने – म भने मौन बसें।   
    स्वागतका लागि खटिएका कार्यकर्तासँग आफू झुक्किए पनि सिमराचाहिँ झुक्किएर नआएको दाबी उनले गरे। 'म झुक्किएर एक दिनअगावै सिमरा आएको हैन', उनले भने- आउँदै गरेको खबर साथीहरुलाई गर्न नभ्याउँदा उहाँहरु स्वागतमा आउनु नभएकाले यस्तो देखिएको हो।

    No comments:

    Post a Comment