• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, November 2, 2009

    माओवादी सर्वोच्च हो वा विधि ?

    गगन थापा
    माओवादी नेताले पेरिसडाँडाबाट आन्दोलन शान्तिपूर्ण हुने दाबी गरिरहेकै बेला कांग्रेस नेता शेरबहादुर देउवा चितवनमा 'जन-ढुङ्गा' प्रहारबाट जोगिन संघर्ष गर्दै थिए । घटनापश्चात एक माओवादी नेता भन्दै थिए- 'तपाईंमाथि आक्रमण वा कारबाही गर्ने हाम्रो कुनै नीति थिएन ।'  मैले भनेँ- प्रश्न मेरो नाम तपाईंको कारबाहीको सूचीमा छ वा छैन भन्ने होइन, म त एउटा थोत्रो मोटरसाइकलमा साँझ/बिहान सुरक्षाविना एक्लो हिँडिरहेकै हुन्छु । मैले त मेरी आमालाई तलमाथि केही भइहाले १० लाख राहत र सहिदको टोपीको माग नगर्नसमेत भनिसकेको छु । त्यसैले मेरो प्रश्न आफ्नो सुरक्षासँग जोडिएको होइन, प्रश्न कारबाहीको सूची बनाउने यो अधिकारको स्रोत र आधार के हुन् ? भन्ने हो । प्रश्न राजनीति र अपराध बीचको भेद के हो ? भन्ने नै हो । प्रश्न, हिंसा र अहिंसा, स्वतन्त्रता र निरङ्कुशताको भेद कहाँ खुल्छ र कहाँ जोडिन्छ ? भन्ने हो । प्रश्न, माओवादी सर्वोच्च हो वा विधि ? भन्ने हो । प्रश्न तपाईंहरूको जङ्गली र असभ्य व्यवहारको हो । चिन्ता माओवादीको तालिवानीकरणको हो । उनीसँग कुनै उत्तर थिएन ।
    माओवादीलाई एउटा वाक्य साह्रै मनपर्छ- सबै नेपाली माओवादी, सबै माओवादी नेपाली । त्यसैले आत्मनिर्णयको अधिकार स्थापित गर्न गुड्डी हाँक्ने माओवादीले संविधानमा 'बहुलवाद' शब्दको प्रयोगलाई अस्वीकार नै गरे । टुप्पादेखि पुच्छरसम्मका माओवादी सबै गैरमाओवादी नेपाली अनागरिक हुन् भन्ने सैद्धान्तिक आत्मश्लाघाले ग्रसित छन् । यस्तो हुललाई जोतेर विरोधका कार्यक्रम सुरु गरिएको छ । नेतृत्वले चाहेर पनि यो शान्तिपूर्ण हुन सक्दैन । 
    अर्कोतर्फ के नेतृत्व आन्दोलनलाई शान्तिपूर्ण बनाउन चाहन्छ भन्ने प्रश्न छँदैछ । केही समयअघि कार्यकर्ता प्रशिक्षणको क्रममा माओवादी नेता भट्टराईले भने- 'जति बढी अराजकता मच्चिन्छ, त्यति नै चाँडो हामी सत्ताको नजिक पुग्छौं । जति सकिन्छ, अराजकता मच्चाउनुहोला ।' खै यसबाट के बुझौं, हामी अनागरिकले ? माओवादीले घोषणा गरेका कार्यक्रममा प्रकट हुने शैली र व्यवहार एउटा परीक्षण हो । 
    माओवादी ब्यानरमा 'नागरिक सर्वोच्चता' लेखिएको छ । तर उसले गर्ने नागरिकको परिभाषा भने एक रङ्गको छ, 'नागरिक- माओवादी- नागरिक' । हाम्रो परिभाषा अलि भिन्नै छ, 'नागरिक- कांग्रेस होइन, नागरिक- कांग्रेस, माओवादी, एमाले, फोरम....' यो धर्को त अनन्तसम्म तन्किएर जान्छ । गएको दुई महिनामा करिब पन्ध्रवटा जिल्ला घुम्दा नागरिकसँग प्रशस्त संवादको मौका जुर्‍यो । कष्टकर जीवन, सामाजिक असुरक्षा, असमवेदनशील राज्य, यस्ता कुरा उनका निम्ति कुनै नौलो अनुभव थिएन । तर पनि एउटा विश्वासले उनीहरू बाँचिरहेका थिए, परिवर्तनप्रतिको विश्वास । तीतो लाग्ला, तर सत्य यही हो, नेपालमा सकारात्मक परिवर्तन हुन्छ भन्ने नागरिकको विश्वासमा ठूलो पहिरो गएको छ । वास्तवमा सत्ताको अशोभनीय लुछाचुँडीमा एकले अर्कालाई नङ्ग्याउँदै जाँदा कतै यी निर्वाङ्ग नै पो होलान् कि भन्ने भयले अत्तालिएका छन् । यो डर जायज छ, किनकि नागरिकको पंक्तिले बुझेको छ, शान्तिको मोर्चामा एउटाको जय र अर्काको पराजय हुन सक्दैन । एउटा त्रास देखिन्छ, 
    साझा त्रास, शान्ति र लोकतन्त्रको । शोकगीत गाउँदै गणतन्त्रको मलामी जानुपर्ने त्रास । 
    तर विडम्बना, संविधानसभा, संघीयता र गणतन्त्रको जननी भएको दाबी गर्ने माओवादीमा भने यस्तो त्रास देखिँदैन । सैद्धान्तिक द्विविधा, भष्मासुरकारी दुःसाहस र अन्तरद्वन्द्वले आँखाहरू ढाकिएको माओवादी आसन्न खतरा देख्न सकिरहेको छैन । यथार्थ र रहर बीचको पार्थक्य छुट्याउने सामथ्र्य गुमाएको छ । रहर त आकाशको उचाइमा पुग्ने होला, तर पंखाहरू काटिइसकेको यथार्थलाई नबुझ्दा दुःसाहसी बनिने हो । कहिले सैद्धान्तिक रूपमा शुद्ध हुन खोज्ने, कहिले व्यवहार मिलाउन सिद्धान्त शून्यताको अवस्थामा पुग्ने । 'माओवाद'को श्राद्ध गरेर संशोधनवादी भएको हिम्मत नगर्दा भाकपा -माओवादी) ले भनेजस्तै माओवादी आज 'सारसंग्रहवादी' बन्न पुगेको छ । सारसंग्रहवाद नैतिकतावादमा अडिएको हुन्छ, यसले असल र खराब प्रश्नमाथि विचारै गर्दैन । परिणाम, आज माओवादीको अर्थहीन उग्रक्रान्तिकारिताले दक्षिणपन्थकै सेवा गर्न पुगेको छ । 
    शान्ति प्रक्रिया असफल हुनुको अर्थ के हुन्छ ? नेपालको द्वन्द्वको समाधान गर्न र उपलब्धिको रक्षा गर्न नेपाली सक्षम छैनन् । उत्तर र दक्षिण दुवैतिरका छिमेकी पानी लिएर यहाँको आगो निभाउन आउलान् भन्ने भ्रम कसैले नपाले हुन्छ । माओवादीलाई अझैसम्म आतङ्ककारीको सूचीबाट नहटाउने अमेरिका आफू सही प्रमाणित भएकोमा हषिर्त नै होला । यिनीहरू कोही केही हार्नेवाला छैनन् । हार्ने हामीले हो । र यो हामीभित्र माओवादी पनि पर्छ । 
    माओवादीको अज्ञानता, भ्रम, लहड र दुःसाहसले निम्त्याउने संकटबाट यो बाहेकका शक्तिहरू ओभानै रहन्छौं भन्ने भ्रम आत्मघाती हुन्छ । गैरमाओवादी कित्ताको एउटा अंश मुठभेडतर्फ जान बडो आतुर छ । युद्ध अर्थतन्त्रमा 'तर' मार्नेहरूले हिजोकै दिन फर्किने मनसुवा पालेकै छन् । तर एउटा कुरा बुझरिाखे राम्रो- अबको संकट यिनलाई मात्र जोगाउनेगरी व्यवस्थित ढङ्गले आउनेवाला छैन । प्रचण्डपथ र अन्धजातिवादको अवैध सम्बन्धबाट जन्मेको जातीय विद्वेष र घृणाको जगमा युद्धसरदारहरू जन्मिनेछन् । यी युद्धसरदारहरूले धोती लगाए पनि, टोपी लगाए पनि, यी कोही नेपाली रहन पाउनेवाला छैनन् । आज मुठभेडमा जान आतुर हुनेहरू, त्यसका निम्ति उकास्नेहरू यस्ता युद्धसरदारको पहिलो सिकार बन्नेछन् । 
    यस्तो अवस्थामा सतत् हस्तक्षेपबाट मुलुकको संकटमोचन कांग्रेसले गर्ने आशा र विश्वासले योतर्फ फर्किएर यसका सदस्यले हेर्नु स्वाभाविक हो । कांग्रेस महासमितिको बैठक प्रारम्भ भएको छ । यो महासमितिबाट कांग्रेसजनले गरेका अपेक्षा धेरै छन् । पार्टी जीवनमा कैयन प्रश्न उठेका छन् । पद्धतिको, मूल्यको, व्यवस्थापनको, विधिको, संरचनाको, सहभागिताको । प्रत्येक प्रश्नको उत्तर खोज्नुछ । रूग्ण र निरीह बन्दै गएको पार्टी पद्धतिभित्र मूल्य र मान्यताहरू स्थापित गर्नुछ । नेतृत्वलाई 'म'बाट 'हामी' बनाउनुछ । 'देवी'हरूमा चढेको भूत उतार्नुछ । पार्टी विभाजनको रेखा मेट्दै गुट, उपगुट र भागबन्डाको राजनीतिलाई अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउनुछ । पार्टीबाट खेदिएका, उपेक्षित सामाजिक, सांस्कृतिक, उमेर समूह र समुदायकालाई ढोका उघारेर स्वागत गर्नुछ । कांग्रेस भएकोमै जीउ र धन गुमाएकालाई पुनःस्थापित गर्नुछ । कांग्रेसलाई फेरि एकपटक गरिब, किसान, श्रमिक, मजदुर, दलित, जाति, जनजाति, महिला, युवा, हिमाल-मधेस र उपेक्षित समुदाय सबैले आफू अटेको महसुस गर्न पाउने पार्टी बनाउनुछ ।
    उदारीकरण र भूमण्डलीकरणको भरिया बन्दा व्यहोर्नुपरेको क्षतिको आत्मसमीक्षा गर्दै 'केन्द्रबाट देब्रे'तिरको प्रजातान्त्रिक समाजवादको नयाँ कार्यसूची तय गर्नुछ । विचार, संस्कार र कार्यक्रमका दृष्टिले सही ठाउँमा उभिनुछ । यही बैठकबाट सबै कार्यभार सम्पादन हुनेछन् भन्ने होइन । तर यो बैठकबाट र्फकंदै गर्दा प्रत्येक कांग्रेस एउटा विश्वास लिएर फर्कियोस्, एउटा उच्च मनोबल र ऊर्जा लिएर फर्कियोस् ।
    नागरिकको पंक्तिबाट कांग्रेससँग सोधिएको अर्को एउटा प्रश्न पनि छ । के गणतन्त्रको ठेकेदारको द्विविधा र दुःसाहसको कारण गणतन्त्रकै मलामी जानुपर्ने बनिरहेको अवस्थाबाट कांग्रेसले हामीलाई त्राण दिन सक्छ ? महासमितिले यसको उत्तर नखोजी घरेलु मुद्दामा मात्रै सीमित रहनु अन्ततः आत्मनाशी हुनेछ । राष्ट्र र समाजको ऐतिहासिक दायित्वलाई ठीक-ठीक ठम्याएर एउटा दलले मुलुकको नेतृत्व गर्न सक्ने हो । बीपी भन्नुहुन्थ्यो, 'प्रगतिको ऐतिहासिक महत्त्व नबुझेर समयको मागविपरीत काम गर्दा ठूलठूला संस्थाले इतिहासको पानाबाट मेटिएर जानुपरेका धेरै घटना छन् । अतः हाम्रै सुरक्षित भविष्यका निम्ति पनि केही विषयमा प्रस्टता आवश्यक छ । 
    प्रत्येक क्रान्तिको सफल नेतृत्व गर्ने तर क्रान्तिका उपलब्धिहरू जोगाउने योग्यता नराख्ने । यसरी नै बित्यो हाम्रो साठी वर्ष । यो शान्ति प्रक्रिया असफल हुँदा फेरि एकपटक गुम्नेछन् हाम्रो संघर्षका उपलब्धिहरू, फेरि एकपटक पराजित हुनेछ कांग्रेस, फेरि एकपटक गुम्नेछ लोकतन्त्र र फेरि एकपटक झुक्नेछ हाम्रो स्वाभिमान । अतः 'देब्रे' र 'दाहिने' कुनाबाट भएका आक्रमण र आत्मघाती प्रहारहरूबाट शान्ति प्रक्रिया जोगाउने र समयमा संविधान निर्माण गर्ने नै अहिलेको हाम्रो मुख्य कार्यभार हो । यसको निम्ति विचारमा प्रस्टता, आफैंप्रतिको भरोसा र आत्मविश्वास चाहिएको छ ।
    पेरिसडाँडामा तीन करोडको घर किनेर स्थायित्व खोजिरहेको माओवादीका महङ्गा गाडीहरू जङ्गलको गोरेटोबाट छिर्न सक्दैनन् भन्ने बुझ्ने हो भने, राज्यलाई कमजोर र समाजलाई भयवित बनाउँदै निर्वाचनमार्फत बलपूर्वक जनमतलाई नियन्त्रण गर्ने माओवादी योजना र सत्ताकब्जा गर्छ भन्ने हुइयाँ फैलाएर छिर्के हान्न बसेको दाहिने अतिवादीको मनसुवा ठम्याउन सकिन्छ । यसर्थ कांग्रेस एउटा नयाँ ठाउँमा उभिनुपर्छ, लोकतान्त्रिक संविधान निर्माणमा दृढता, सत्ता साझेदारीको सन्दर्भमा लचकताको नारा, जुझारु संगठन र संघीय नेपाल सञ्चालन गर्नसक्ने विवेकशील नेतृत्वसहितको कांग्रेसले दुई अतिवादी धारहरूको अवैध गठजोडबाट तुहिन लागेको शान्ति प्रक्रियालाई जोगाउन सक्छ । 
    महासमितिको मञ्चमा उभिन पाएका कांग्रेस तरूणले बैठकको छलफललाई जीवन्त बनाउन सक्नुपर्छ । शान्ति प्रक्रिया तुहियो भने र समयमा संविधान निर्माण भएन भने, शासन जसले गर्ला, निरङ्कुश सत्ताको खिलाफमा फेरि पनि सबैभन्दा पहिला संघर्षमा उत्रनुपर्ने कांग्रेस नै हो । निरङ्कुश सत्ता विरुद्धको संघर्षमा कांग्रेसभित्र कैयौं होनहार पुस्ताको उमेर र ऊर्जा सकियो, हाम्रो पुस्ताको कांग्रेसको ऊर्जा र उमेर फेरि निरङ्कुश सत्ता विरुद्धको संघर्षमा होइन, समतामूलक र समृद्ध नेपाल निर्माणका निम्ति उपयोग गर्नुछ । यसका निम्ति शान्ति प्रक्रियाको सफलता अनिवार्य सर्त हो । विश्वास छ, अन्योलग्रस्त वर्तमान र अनिश्चित भविष्य लिएर महासमिति बैठकभित्र छिरेका कांग्रेसजन दरिलो आत्मविश्वास, ऊर्जा र दृढ इच्छाशक्ति लिएर बाहिर निस्कनेछन् ।

    No comments:

    Post a Comment