• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, October 4, 2009

    धोका दियो चितवन राष्ट्रिय निकुन्जको पल्टनेले

    दीपक भट्टराई
    दसैंमा सबभन्दा नरमाइलो लाग्छ,' चितवन माडीस्थित चियापसल भन्न मिल्ने गुरुङ रेस्टुरेन्टकी साहुनी मुनाले भनिन्।
    १३ वर्षअघि पतिसँग खिचेका फोटाहरू एल्बममा पल्टाउँदै गरेकी मुनालाई सोधिएको थियो, 'सबभन्दा नरमाइलो कहिले लाग्छ?'

    'दसैंमा परदेशिएकाहरू आउँछन्। सबैका घरमा रमाइलो हुन्छ। कान्छी छोरीले उसका साथीसंगीका घरमा बा आएका देखेर होला - सोध्छे, 'हाम्रा बा कहिले आउनुहुन्छ?' बाटामा थुप्रैका जोइपोई नारिएर हिँडेको पनि देख्छु। त्यसैले होला दसैं नरमाइलो लाग्छ,' मुनाले भनिन्।
    चितवन राष्ट्रिय निकुन्जको सुरक्षामा खटिएका सैनिकसँग १६ वर्षअगाडि मुनाको बिहे भएको थियो। निकुन्जसँगै जोडिएकाले मुनाको गाउँ कल्याणपुरमा सैनिकहरूको आवातजावत बाक्लै हुन्छ।
    दुई छोरीकी आमा र उमेरले ३५ नाघिसकेकी मुनाले थपिन्, 'लाहुरेको भर हुँदैन भन्थे - साँच्चै रहेछ। मैले आफ्नै जीवनमा भोगेँ।'
    उमेरमा होस पुर्‍याउनुपर्छ भन्ने मुनालाई लागिरहन्छ। 'त्यो बेला बुद्धि पुर्‍याउन सकिएन। अहिले पछुताएर बसेकी छु,' मुनाले आफ्नो श्रीमान् भोजबहादुर गुरुङलाई सम्झिँदै गाली गरिन्।

    मुनाकी जेठी छोरी १४ वर्षकी भइसकेकी छन्। करिब १७ वर्षअघि नेपाली सेनाका जवान भोजबहादुर कसरा ब्यारेकमा सरुवा भएर आएका थिए। ब्यारेकको काम निकुन्जको सुरक्षा गर्नु हो। निकुन्जका जनावर र जंगलको चोरीसिकारी नहोस् भनेर निकुन्जमा सैनिक ब्यारेक राखिएको हो।
    'दसैंका बेला गाउँमा रोटे पिङ हालेका थिएम्। केटाकेटीहरू राति अबेलासम्म पिङमा झुम्मिन्थे,' १६ वर्षअघि भोजबहादुरलाई भेट्दाको वर्णन मुनाले गरिन्, 'ब्यारेकबाट आर्मीहरू गाउँतिर उतिबेला नि खुब आउँथे, अहिले नि आइरहन्छन्।'
    मुनाका दुई दाजु र एक बहिनी छन्। सानामा दाजुहरूसँगै स्कुल गएकी मुनाले पाँच कक्षाभन्दा धेरै पढेकी छैनन्।
    मुना र भोजबहादुरको पहिलो भेट दसैंका बेला भएको थियो। 'पहिलोचोटि भेट्दा नै उसले याद गर्‍या रहेछ,' मुनाले भनिन्, 'त्यसपछि ऊ गाउँतिर आउँदा, घाँसदाउरा गर्न हामी निकुन्ज जाँदा भेट भइरहन्थ्यो। खोई राम्रो नि हैन, मान्छे त। मोराको बोली ललिते थ्यो। अनि माया भयो के रे।' मुनाले आफ्नो प्रेम बस्दाको क्षण सम्झेकी थिइन्। मुना र भोजबहादुरको पिरती बस्न धेरै समय लागेन। उनीहरूले बिहेको निर्णय गरे। मुनाका दाइले बिहे नगर्न सुझाव दिए पनि मुनाले मानिनन्।
    आफ्ना दाइले उतिबेला दिएको सुझाव मुनाले सम्झिन्, 'यहाँ पहिला पनि आर्मीले बिहे गरेर अलपत्र पारी छोडेका १२-१५ केटी छन्। तँलाई पनि त्यस्तै पार्ला भनेर दाइले त भनेको थियो।'

    कसरा ब्यारेकमा बसिन्जेल ब्यारेक नजिकका युवतीहरूसँग प्रेम गर्ने, विवाह गर्ने र अन्यत्रै सरुवा भएसँगै छोडेर जाने क्रम २० वर्षअगाडिदेखि नै चलिआएको मुनाले बताइन्। 
    'बिहे भनेको खेलाँची हो र? उस(भोजबहादुर)ले दाइलाई भनेपछि हाम्रो बिहे यही गाउँमै भएको हो,' मुनाले पुराना कुरा उप्काउँदै गएकी थिइन्, 'बिहे पनि के भएको हो र? हाम्रो जातको भगाउने हो के रे। उसले भगाएर दुई दिनजति भरतपुर राख्यो। पछि बाआमाले टिका लाइदिए।'

    बिहे भएको वर्षदिन नबित्दै मुनाकी जेठी छोरी अनिताको जन्म भयो। पेटमा बच्चा हुँदादेखि नै मुनाले भोजबहादुरलाई घर लान कर गरेकी थिइन्। भोजबहादुरले आफ्नो घर लमजुङ भुनुचोक हो र घरमा बाआमा छन् भन्नेसम्मको पारिवारिक जानकारी मात्र मुनालाई दिएको थियो।
    भोजबहादुरले धेरै वर्ष बिदा नमिलिको भन्दै मुनालाई घर लगेनन्। 'कहिलेकाहीँ तिमी मधेसको सुखमा हुर्केकी पहाडमा काम गर्न सक्दिनौ भन्थ्यो,' मुनाले भनिन्, 'बिहेपछि श्रीमानको घर खान जान पाइनँ मैले।'
    ठूली छोरी दुई वर्षको हुँदा सिपाही भोजबहादुरको धनगढी सरुवा भयो। आफ्नो घरगाउँ नलगे पनि भोजबहादुरले मुनालाई धनगढी लगेका थिए। त्यहाँ करिब पाँच वर्ष बस्दा भोजबहादुर र मुनाको दोस्रो छोरीको जन्म भयो।
    'धनगढी बस्दा नै मैले उसको गाउँमा अर्की जेठी पनि छ अरे भन्ने थाहा पाएँ,' मुनाले भनिन्। भोजबहादुरकै गाउँका अर्का सिपाहीले मुनालाई उनको पारिवारिक स्थितिबारे बताएका थिए।
    'पहाडमा जेठी रै छ। ऊपट्टि दुई छोराछोरी भइसकेका रैछन्,' मुनाले भनिन्, 'त्यो कुरा थाहा पाएसि मलाई छाँगाबाट खसेजस्तो भयो।' भोजबहादुरले सुरुमा होइन भनेर जिद्दी गर्न खोजे पनि पछि मुनासमक्ष घरमा श्रीमती र छोराछोरी भएको स्विकारेका थिए। मुनाका अनुसार एकपटक दसैंमा उनलाई माइती ल्याएर छोडेर 'म घरकीलाई सम्झाउँछु' भन्दै भोजबहादुर लमजुङ गए। 'माइतीका कसैलाई पनि घरमा जेठी सौता रैछ भनेर नभन है भन्दै किरया खुवाएर गाथ्यो,' मुनाले पुराना दिनलाई फूलका पत्र उप्काएझैं गरी एक एक गरी उप्काउँदै गइरहिन्। 'उताकीलाई गाउँमै मिलाएर छोडेर तँलाई जहाँ सरुवा हुन्छ उतै लान्छु भन्थ्यो केरे,' मुनाले पुराना कुरा सम्झदाँ भोजबहादुरलाई पटक-पटक गाली गरेकी थिइन्।
    मुनाले पनि सुरुमा आफ्नो घरतिरको कुरा माइतीमा कसैलाई भनिनन्। 'यहाँ कसैलाई भने पनि आफैले गाली खाने त हो। बाआमा, दाइले उतिबेलै होस गर भनेर पटक-पटक चेताएकै थिए,' मुनाले अनुहारमा दिकदारीको भाव ल्याउँदै थपिन्, 'आफैले विश्वास मानेर, रोजेर बिहे गरेको।'
    भोजबहादुरले गाउँबाट फर्केर आएपछि मुनालाई भेट्दा घरमा कान्छी ल्याएको जानकारी परिवारका सबैलाई दिएको बताएका थिए। 'धनगढीपछि उसको सरुवा काठमाडौं शिवपुरी भयो। त्यहाँ मलाई लगेन,' मुनाले कालो किटलीबाट उम्लेको चिया सिसाको गिलासमा हाल्दै आफ्नो कथा जारी राखिन्, 'त्यसपछि म माइतीमै बसिरहेँ।' शिवपुरी डाँडाको ब्यारेकमा 'फेमिली क्वार्टर' नभएकाले बस्न नमिल्ने र त्यतावरपर डेरा नपाइने भन्दै भोजबहादुरले मुनालाई माइतीमा छोडेका थिए।
    शिवपुरी हुँदा भोजबहादुरले मुनालाई पैसा र सामान पठाइरहन्थे। त्यसपछि भोजबहादुरको सरुवा हेटौंडा ब्यारेकमा भयो। त्यहाँ हुँदा पनि भोजबहादुरले मुनालाई सँगै लिएर गए। दुई वर्षपछि भोजबहादुरको सरुवा दाङ भयो। 'दाङ त टाढा रैछ। उसले लगेन। म पनि पछि खोज्दै जान सकिनँ,' मुनाले भोजबहादुर टाढा हुँदै गएको बेलाको सम्झना गरिन्।

    दाङ गएको केही समयमा नै भोजबहादुर २०५५ सालमा शान्ति सेनामा विदेश गएको र त्यसपछि कुनै सम्पर्कमा नआएको मुनाले बताइन्। 'दाङबाट शान्ति सेनामा जाने खबर आयो। शान्ति सेनाबाट फर्केपछि काठमाडौंमा सँगै बसम्ला भनेको थियो,' मुनाले थपिन्, 'त्यसपछि केही खबर आ छैन। शान्ति सेनामा गयो, गएन, आयो, आएन र कहाँ छ छ?'
    भोजबहादुरले विदेशबाट फर्केपछि काठमाडौं लाने भनेकाले मुना त्यतिबेला निकै खुसी थिइन्। 'कस्तो होला सहर। कस्ता होलान् मानिस भन्ने लागिरहने,' मुनालाई अहिले पनि काठमाडौं सम्झँदा हराइन्छ कि भन्ने डर लागिरहन्छ। 'त्यतिबेलासम्म टिभी नि थिएन। अहिले त टिभीमा काठमाडौं देखेकी छु। तैपनि उता गए हराइन्छ होला,' मुनाले भनिन्। 
    मुनालाई अहिले पनि काठमाडौं जाने मन भने छ। उनी भोजबहादुरको खोजीमा काठमाडौं जान चाहन्छिन्। '१२ वर्ष भयो उसलाई नदेखेको,' मुनाले भनिन्, 'सपनामा देखिरहन्छु। मोरो नाक ठूलो भएको ठ्याम्मै पहाडेले झैं बोल्ने सपनामा पनि।'

    'ऊ अहिले पेन्सनमा निस्केको छ। काठमाडौंमा आफ्नी जेठी बुढीसँग बस्छ। छोराछोरी पनि ठूला भइसकेका छन्,' मुनाले सपनाका आधारमा अहिलेको भोजबहादुरको वर्णन गरिन्, 'कुनै कम्पनीमा सेक्युर्टी गार्ड गर्दैछ।' सपनामा देखेकोजस्तै भोजबहादुर हुनुपर्छ भन्ने मुनालाई लागिरहन्छ। मुनाले भनिन्, 'त्यस्सै सपनाँ किन त्यस्तो देखिन्थ्यो र?'

    मुनाले भोजबहादुरको खोजी गर्ने मन भए पनि तरिका थाहा नभएको बताइन्। 'पहिला छोरीहरू हुर्काउन पर्‍यो। फेरि ऊ आउला भन्ने आसा लागिरह्यो,' मुनाले भोजबहादुर नखोज्नुको कारण बताइन्, 'अब खोज्ने भनेको हो। तर कसरी होला?'
    काठमाडौं वा लमजुङ जाने आँट आफूसँग नभएको मुनाले बताइन्। 'जीवन गुजारालाई माइतीमै खित्रेमित्रे पसल र चिया पकाउन थालेँ,' मुनाले भनिन्, 'फुर्सद मिलाउन पनि अप्ठेरै छ। तर बुढालाई एकपटक भेट्न पाए हुन्थ्यो। मलाई एक्लै कतै गएर खोज्ने आँट भने छैन।'

    श्रीमान्लाई भेट्ने विषयमा मुनाको मन परिवर्तन भइरहने उनको कुराबाट थाहा हुन्थ्यो। 'कहिले भेट्न मन लाग्छ, कहिले नदेखेकै ठिक भन्ने लाग्छ,' मुनाले एकै सासमा श्रीमान्का बारे मनमा उठ्ने भावनाहरू पोखिन्, 'कहिले मरेको समाचार सुनेर चुरा फोर्न पाए हुन्थ्यो भन्ने लाग्छ। एकपटक भेट्न पाए मुखमा थुक्ने थिएँ। छोरीहरूले सुन्ने गरी तेरो बाउ मरोस् भन्छु। उनीहरू रुन्छन्। तर सधैं त्यस्तो हुँदैन। बा, उसलाई पो केही बाध्य भयो कि बा बिरामी पो छ कि? बा मान्छे नै छैन कि। जेठीले पो यता आउन नदिएकी हो कि? कुनै दिन आएर लिएर जान्छ र मलाई र दिदीलाई सँगै मिलाएर राख्छ कि भन्ने लाग्छ। के के लाग्छ लाग्छ। मन धेरै बोल्छ। आजभोलि छोरीहरूसँग भुल्न पनि पाउँदिनँ। उनीहरू अब आफ्नै साथीसँग रमाइलो मान्ने भए।'


    मुनाका जेठी छोरी अहिले कक्षा ९ मा र सानी छोरी ६ मा पढ्छन्। मुनाले एल्बमबाट भोजबहादुरको दुइटा फोटो निकाल्दै भनिन्, 'यो फोटो लगेर काठमाडौंमा उल्लाई खोजिदिन सक्नुहुन्छ?'


    मुनाको एल्बममा भोजबहादुरसँग खिचेका फोटा तीनवटा मात्र थिए। तीमध्ये दुई वटाको रङ धेरै नै उडिसकेको थियो। ती फोटा लिएर कसैले लिएर हिँडेमा मुनासँग भोजबहादुरको हेर्न मिल्ने फोटा बाँकी रहने थिएन। ती फोटाको महत्व मुनालाई जस्तो अरूलाई हुँदैन।

    मुनासँग भोजबहादुरको खोजी गर्न मिल्ने धेरै जानकारी पनि छैन। नेपाली सेनाका भोजबहादुर श्रीनाथ गणका हुन्। उनी २०४९ सालमा कसरा ब्यारेकमा थिए। २०५१ सालतिर धनगढी ब्यारेकमा थिए।

    माडीकी मुनाको अन्य दुई छिमेकी पनि सैनिकबाट बिहे गरेर छोडिएका छन्। बिनु विकको १९ वर्षका बीए पढ्ने छोरा छन्। बिनु र कसरा ब्यारेकमा सरुवा भएर आएका सैनिक टेकनाथ वाग्लेबीच बिहे भएको हो। 'म विश्वकर्माकी छोरी - तपाईं बाहुनका छोरा, बिहे नगरौं भन्दा मान्नु भएन,' बिनुले भनिन्, 'बिहे भएको ९ महिनैमा छोरा जन्मियो। न्वारनमा धागो बाँध्न पनि आउनुभएन।'

    श्रीमान्ले आफूलाई केही वर्षसम्म छोरासँगै काठमाडौं लगेर राखेको बिनुले बताइन्। उतिबेलै बिनुले श्रीमानको अर्की पनि श्रीमती भएको थाहा पाएकी थिइन्। 'म आफै पत्ता लगाएर श्रीमान्को घर पनि पुगेँ,' बिनुले थपिन्, 'रात भने काट्न सकिनँ, मार्दिने पो हुन् कि।' 
    उनका श्रीमान् पनि दुई वर्षदेखि बेपत्ता छन्। 'छोरालाई अंश दिन पर्छ भनेर होला भागेको,' बिनुले शंका व्यक्त गर्दै भनिन्, 'बाउको नाममा नागरिकता लिने भन्दा छोराले अहिलेसम्म नागरिकता पनि पाएको छैन। अंश कसरी पाइएला र?'


    अर्की छिमेकी सविता तामाङ भने सैनिकले झुटो बिहेको नाटक रचेर छोडिएकी हुन्। सविताले भने सैनिक श्रीमान बेपत्ता भएपछि गाउँकै अर्कै युवासँग बिहे गरेको बताइन्। सैनिकपट्टिको एक छोरी भने उनीसँगै हुर्किरहेकी छन्। 'बाउको माया के हो, यसले थाहा पाइन,' आफ्नी ११ वर्षे छोरीलाई देखाउँदै सविताले भनिन्, 'अब भविष्यमा नागरिकता कसको नामबाट बनाउने हो? कसले पढाइ लेखाइ गरिदिने हो? यही समस्या छ।'
    माडीमा मात्र ४० जना यस्ता महिला भएको जानकारी सामुदायिक विकास नामको गैरसरकारी संस्थाले संकलन गरेको तथ्यांकमा छ। बाबुहरू बेपत्ता भएका असी जना केटाकेटीलाई संस्थाले प्राथमिक तहसम्म विद्यालय पठाउने व्यवस्था गरेको छ। 
    नेपाली सेनाले भने सैनिकबाट अलपत्र पारिएका महिला भए उनीहरूले केन्द्रीय कार्यालय, भद्रकाली अथवा क्षेत्रीय पृतनाहरूमा उजुरी गर्न सकिने जानकारी दिएको छ। वर्षेनी दर्जनौं महिला गुनासो लिएर सैनिक कार्यालयहरूमा पुग्ने गरेका छन्। सैनिक जनसम्पर्क निर्देशनालयमार्फत गर्न सकिने यस्ता उजुरीपछि कतिपय महिलाले श्रीमान्को पेन्सनसमेत पाएका छन्।

    श्रीमान् हराएका महिलाहरू आफूहरूसँग श्रीमान् टाढिनुको कारण थाहा नभएको बताउँछन्। 'उसैलाई सोध्नुस्,' मुनाले भनिन्, 'आफू जता गयो उतै मोजमस्तीकै लागि बिहेको स्वाङ पार्ने धेरै नै हुँदा रैछन् जागिरे।' माडीका ती पीडित महिलाले अहिले दिने सल्लाह भने एउटै छ, 'पल्टननजिक बस्तीका केटीहरूले धेरै नै होस पुर्‍याउनुपर्छ।

    No comments:

    Post a Comment