• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, October 29, 2009

    मर्यो भने्र घाटमा लग्यो जिउँदै


    चिता छाडेर ठमठम घर फिर्ता

    काठमाडौं। तपार्इंका आफन्तजनलाई पशुपति आर्यघाटमा लगिएको छ भने तपार्इंलाई लाग्दो हो, उनको प्राणान्त भइसक्यो। तर, घाटमा पुर्यािउँदैमा मानिसको प्राणान्त नभएको पनि हुन सक्छ। अन्तिम अवस्थाको मानिसलाई 'घरको न घाटको' भन्ने नेपाली आहान भए पनि आर्यघाटको ब्रह्मनालमा सुताइसकेका सुनसरीका भवनाथ भट्टराई यतिवेला घर फर्केर ठमठम हिँडिरहेका छन् भन्ने सुन्दा यो आहान बेकारमा निर्माण गरिएको रहेछ भन्ने स्पष्ट हुन्छ। 
    अस्ति शनिबार मात्रै पशुपति आर्यघाटबाट पर्सा घर भएकी एकजना ५० वर्षीया महिलालाई घर फर्काइयो। काठमाडौं मेडिकल कलेजबाट बुधबार आर्यघाट पुर्याघइएकी उनलाई घाटका सुवर्ण वैद्यले उपचार गरेर तीन दिनपछि घर फर्काइदिएका हुन्। उनको नाम एक्पोज नगरिदिन आग्रह गर्दै परिवारका सदस्यले जनआस्थासित भने, 'उहाँ ओछ्यानमै हुनुहुन्छ, उहाँलाई क्यान्सर भएको हो।' 
    काठमाडौं मेडिकल कलेजबाटै आर्यघाट लगिएका दोलखा चरिकोटका ८० वर्षीय पदमबहादुर थापालाई घाटेवैद्यले असोज १८ गते घर फर्काइदिए। तर, फोक्सोको क्यान्सरले थलिएका उनलाई घरमा भने लगिएन। हाल उनी प्रहरी अस्पतालमा छन्। त्यस्तै, टिचिङ अस्पतालबाट आर्यघाट पुर्यासएका निजगढका ४० वर्षीय बालकृष्ण सिवाकोटीलाई पनि असोज १८ गते नै घर फर्काइएको छ। कात्तिक ७ मा दुर्गादेवी मास्के, कात्तिक २ मा लक्ष्मी दासी र असोज ६ मा गम्भीरमान रञ्जितकारलाई पनि आर्यघाटबाट घर फर्काइएको छ।  
    पशुपति आर्यघाटको माथ्लोछेउमा शव जलाउने ठाउँमै सटिएर रहेको घाटेवैद्यको कार्यालयमा दर्ता भएको तथ्यांक हेर्दा गत वैशाखदेखि कात्तिक ७ गतेसम्म ४४ जनालाई आर्यघाटबाट घर फिर्ता गरिएको छ। यसअवधिमा घाटेवैद्यकहाँ दुई सय ४८ जना दर्ता भएकामा दुई सय चारजनाको भने मृत्यु भएको थियो। आर्यघाटका वैद्यकहाँ ०५४ सालदेखि नै घर फिर्ता हुनेहरूको नामावली राखिएको छ। जसअनुसार विगत आठ वर्षमा पाँच सय ३६ जना आर्यघाटबाट फिर्ता भएका छन्। आर्यघाटका प्रमुख वैद्य एवं समाजसेवी सुवर्ण वैद्यको के दाबी छ भने आफूकहाँ आइपुगेकामध्ये ३५ प्रतिशत जीवितै फर्किने गरेका छन्।  
    आर्यघाटबाट फिर्ता हुनेहरूको कथा बडो मार्मिक छ। सुनसरीका भवनाथ भट्टराईलाई आजभन्दा सात वर्षअघि दसैँका वेला मृत्यु भएको ठानी ०५९ साल असोज २९ गते आर्यघाट पुर्याजइएको थियो। त्यसवेला उनी ८० वर्षका थिए। उनी मंसिर १८ सम्म आर्यघाटमै घाटेवैद्यकहाँ बसे। उनले दसैँ–तिहार पनि मनाए। हालसम्म पनि उनी जीवितै छन्। हालै पशुपति आर्यघाटमा उनलाई सम्मानसमेत गरिएको छ। 
    आर्यघाटमा वैद्यकहाँ स्वयंसेवीका रूपमा कार्यरत कृष्ण तिम्सिनाले जनआस्थासित अर्काे रोचक घटना सुनाए– 'भक्तपुरका एकजना वृद्धलाई मरिसकेको ठानेर ब्रह्मनालमा सुताइयो, तर वैद्यले छाम्दा उनको नाडी चलिरहेको थियो, भोलिपल्ट उनको बोली फुट्यो। तर, पर्सिपल्ट मृत्यु भयो।' 
    त्यसो त अस्पतालका डाक्टरले मृत घोषणा गरी आर्यघाटमा पठाइएका व्यक्तिले घाटबाट फर्केर डाक्टरको जागिरसमेत खाइदिएको स्मरण पनि आर्यघाटका सेवकहरूसित छ। तिम्सिनाका अनुसार छाउनी अस्पतालले मृत घोषणा गरी आर्यघाट पठाएका कृष्णबहादुर गुरुङ जिउँदै फर्किएका थिए। आफूलाई जिउँदै हुँुदा मृत घोषणा गरेको भन्दै उनले छाउनी अस्पतालका डाक्टरविरुद्ध उजुरी गरेका थिए। 

    किन लगिन्छ घाट?

    हिन्दु परम्पराअनुसार मानिसलाई नमरीकनै घाट लाने चलन छ। अन्तिमै अवस्थामा पुगेका र अब फर्कने अवस्था छैन भन्ने प्रायः निश्चित भएका मानिसलाई घाट लाने प्रचलन भए पनि पशुपति आर्यघाटमा कतिपय बिरामीलाई निको हुने आशमा पनि लाने गरिएको पाइएको छ। चरिकोटका पदमहादुर थापाका आफन्त भन्छन्– 'भीमेश्वरका एक व्यक्तिका आफन्त घाटमा पुगेपछि जाति भएका थिए, त्यही देखेर बिसेक हुन्छ कि भन्ने आशमा हामीले पनि घाट लगेका हौँ।' कतिपय असाध्यै गरिब व्यक्तिका बिरामी पनि घाटमा आउने गरेको स्वयंसेवी तिम्सिना बताउँछन्। घाटमा उपचार गर्ने वैद्यले औषधि खरिदबाहेक अन्य उपचार निःशुल्क गरिदिने गरेका छन्। 
    तर, घाट पुर्या एर फर्काइएका आफन्तजनका बारेमा बताउन भने प्रायःजसोले हिच्किचाउने गरेका छन्। समाजले केही भन्छ कि भन्ने उनीहरूको सोच हुन सक्छ। तैपनि घाटमा पुगेर फर्केको मानिसलाई सकारात्मक रूपमा हेर्नुपर्छ भन्ने सन्देश दिन चाहन्छन्, सुवर्ण वैद्य। त्यही भएर उनले हालै एक कार्यक्रममा विभिन्न समाजसेवीसँगै राखेर भवनाथ भट्टराईलाई सम्मान गरेका हुन्। ०५३ सालसम्म आर्यघाटमा भरत वैद्यले सेवा पुर्या एका थिए भने अहिले छोरा सुवर्णले पिताको बिँडो थामिरहेका छन्। मृत्यु भएको ठानी आर्यघाटमा सद्गति गर्न ल्याइएको व्यक्तिको नाडी चलेको छ या छैन भनी अन्तिम जाँच गर्ने वैद्य हुन्– सुवर्ण। आफ्नो मानिसको मृत्युबारे शंका लागी कसैले जाँच गरिदिन अनुरोध गर्नासाथ उनी ब्रह्मनालमा गएर नाडी छाम्ने गर्छन्। 
    पशुपति आर्यघाटमा जस्तै अन्य घाटमा पनि यस्तै सेवा विस्तार गर्ने योजनामा छन्, सुवर्ण। उनको समेत सक्रियतामा अहिले बनेपाको पनौतीघाटमा 'घाट अस्पताल निर्माण भइरहेको छ। भक्तपुरको हनुमानघाट र साँखुमा पनि यस्तो सेवा रहेको बताइन्छ। आर्यघाटमा वैद्यले आयुर्वेदिक र एलोपेथिक दुवै विधिबाट उपचार गर्ने गरेका छन्। यो सेवा दाताहरूले दिएको सहयोगबाटै सञ्चालित छ। 
    पाठकवृन्द, मान्छेलाई बाँच्ने चाहना कहिलेसम्म हुँदैन र! आफ्नो मान्छे नजलाउन्जेलसम्म सास रहिदिए हुन्थ्यो भन्ने आफन्तहरूलाई पनि लाग्छ। यस्तो वेलामा घाट पुगेका बढीभन्दा बढी मानिस घर फर्किनु खुसी र हर्षको कुरा हो। त्यसैले घाटबाट फर्कनेहरूलाई सम्मानको नजरले हेर्न र अन्तिम अवस्थामा मानिसको नाडी छाम्ने 'घाटेवैद्यहरू'लाई देशैभरिका घाटमा खटाउन आवश्यक छ। पशुपति आर्यघाटका वैद्यहरूको सेवा यसका लागि अनुकरणीय हुन सक्छ। 
    – अरुण बरालबाट  

    No comments:

    Post a Comment