Friday, October 2, 2009

बेलायतमा नेपाली विद्यार्थीको विचल्ली


नवीन पोखरेल/लन्डन
उच्च शिक्षाको नाममा 'पाउण्ड टिप्न' लाखौं खर्चेर बेलायत आइपुगेका नेपाली विद्यार्थी काम नपाएपछि विचल्ली भएका छन् । आफैं आर्थिक मन्दी खेपिरहेको बेलायतमा पर्याप्त रोजगारी नहुँदा सिमित 'ट्राभल चेक' बोकेर बेलायत उत्रेका असंख्य विद्यार्थी भोकै बस्नुपर्ने वाध्यता छ । आर्थिक अभावले केही नेपाली विद्यार्थी लन्डनस्थित साउथहल पार्कमै सुतेको खवर प्रकाशमा आएका छन् । खर्च सकिएपछि काम खोज्न करिव दश माइल पैदल हिंडेको समेत विद्यार्थीको दुःखेसो छ ।
जुलाई २४ मा युके आइपुगेका चन्द्रमणी चाम्लिङ अझै कामविहीन छन् । कामको खोजीमा उनले शहर डुल्दै धेरै सिभी छाडिसके । 'फोन आउने आशमा सिभी छोड्यो, तर कुनै जवाफ नआउँदा त दिक्कार लाग्छ'-उनको दुखेसो छ । धरान निवासी उनले कलेज अफ आइटी एण्ड इकमर्श, लन्डन बि्रजमा एड्भान्स् ग्रयाजुएड्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट पढ्न अंग्रेजी कोर्स सहित ३५ सय पाउण्ड बुझाइसकेका छन् । बुधवार, बिहिवार दुई दिन कलेज गएपछि बाँकी समय बिताउन सार्वजनिक पुस्तकालयमात्र उनको विकल्प छ । 'राम्रो शिक्षा र बाँच्नसम्म पाए मलाई अब कमाउने आस हरायो'-उनले भने-'खाने ठेगान छैन्, सिंगल बेडमा दुई जनासम्म सुत्नु परेको छ, के विजोग भयो यस्तो ।' बेलायतमा काम पाउन मुश्किल छ भन्ने थाहा हुँदाहुँदै पनि विदेश जाने चक्करले युके आएको बताउन लजाएनन् उनी । भने-'आइयो, चिन्ताले अन्यत्र सोच्नै भ्याएको छैन्, काम भएन भने त टिक्न पो गार्‍हो छ ।'


ह्यारोस्थित हेलिफ्याक्स् कलेजमा होटल म्यानेजमेन्ट पढ्न कलेज शुल्कमात्र ४६ सय पाउण्ड -करिब ६ लाख नेपाली) तिरेर १४ सेप्टेम्बरमा बेलायत आएका कृष्ण चौधरीको मन कामविहीन अन्य साथीहरुको रोदन र बेरोजगारी समस्याले झनै विक्षिप्त बनाइदिएको छ । 'सबै साथी काम पाइएन मात्र भन्छन्, मेरो समेत आशा हरायो'-चौधरीको चिन्ता छ-'अर्को वर्षको कलेज शुल्क त छँदैछ, व्याजमा खोजेको लाखौं रुपैंया ऋण कसरी चुक्ता गर्ने भन्ने पिरलोले पो दिक्दार लाग्न थाल्यो ।'
नेपाल मेडिकल कलेजमा दश वर्ष काम गरेर सेन्ट्रल लन्डनस्थित साइटेक कलेजमा हेल्थ केयर म्यानेजमेन्ट पढ्न २२ जुलाई, ००९ मा युके आइपुगेकी गीता ढकाल बाँच्नका लागि अझै कामको खोजीमा छन् । भौंतारिंदा भौंतारिदा सेन्ट्रल लन्डनमा साताभरका लागि १२ घण्टामात्र काम पाएकी उनले भनिन्-'अहिलेको कमाई ट्राभलमै सकिन्छ, अब कमाउन भन्दा पनि युके आउँदा खर्च भएको ८ लाख कसरी उठाउने भन्ने नै चिन्ता भयो ।'
बेलायत सरकारले अपि्रल १, २००९ देखि उसकै शव्दमा 'कडा नियम' लागू गरेपछि बेलायत पढ्न आउने विद्यार्थी संख्या झन् बढिरहेको छ । तर, विद्यार्थी एकैपटक ओइरिंदा न काम छ, न आवास व्यवस्था । 'एकोमोडेशन' का लागि अगि्रम शुल्क बुझाइसकेका विद्यार्थी पनि कलेज व्यवस्थापनको चतुर्‍याइंका कारण कि त एउटै बेडमा तीन जना सुत्न वाध्य छन्, कि भुईंमा । नेपालीको बढि जनघनत्व भएको लन्डनस्थित प्लमस्टिडमा त कलेज व्यवस्थापनले केटाकेटीलाई एउटै कोठामा लस्करै सुताइदिएको समेत विद्यार्थीको गुनासो छ ।
नयाँ विद्यार्थी नौलो ठाउँमा ठगिएका उदाहरण पनि उत्तिकै छन् । बढिमा सात पाउण्डको 'डे ट्राभल कार्ड' बाट गन्तव्यसम्म पुग्न सकिने हुँदाहुँदै ट्याक्सी वा क्यावले ५० देखि एक सय पाउण्ड सम्म लिएका पाइएको छ । अरु त अरु, अहिले एकथरि नेपाली नै आफ्नै देशका नयाँ विद्यार्थीलाई एयरपोर्टबाट 'पिकअप' गर्ने नाममा सयौं पाउण्डसम्म लिएर कमाउने धन्दामा लागेको चर्चा पनि छ ।

'केही विद्यार्थीले त साउथ इष्ट लन्डन पुग्न एक सय पचास पाउण्ड ट्याक्सीलाई तिरेछन् जुन तेब्बर बढि हो'- म्यारिटाइम ग्रीनवीच कलेज, लन्डनका पि्रन्सिपल नरेन्द्र कंडेल भन्छन् । एकवर्षको कलेज शुल्क तिरेपछि साथमा ६ महिनाका लागि पुग्ने खर्च बोकेर मात्र युके आउन सुझाव दिंदै उनले भने-'कमाइएला भन्ने आशमा ब्याजमा ऋण लिएर युके आउनु बेकार छ ।'


हल्लै हल्लाको भरमा युके ओइरिने विद्यार्थीलाई उचित सल्लाह/सुझाव दिन गठित 'स्टुडेन्ट्स हेल्प डेक्स एसोसिएसन' का कमल पन्थीको भनाइमा अहिले उनको शरणमा पुग्ने नेपाली विद्यार्थी असंख्य छन् । 'सबैको रोदन र विजोग हेर्नु बाहेक अन्य विकल्प हामीसंग पनि छैन् । हामी विद्यार्थीलाई केवल हटलाइन र इमेलमार्फत वस्तुस्थिति बताइदिन मात्र सक्छौं'-पन्थीले भने-'यहाँ ज्याक चल्दैन, काम कतै छैन् ।'
बेलायत सरकारको पछिल्लो 'प्वाइन्ट सिस्टम' बमोजिम युरोपेली बाहेक अन्य राष्ट्रका विद्यार्थीहरु बेलायत ल्याउन कलेजले होम अफिसबाट 'युकेबीए लाइसेन्स्' लिन जरुरी छ । लाइसेन्स प्राप्त कलेजहरुलाई सरकारले वाषिर्क कोटा दिने र त्यही कोटाभित्र सीमित रहेर विद्यार्थी झिकाउन पाइने नियम अनुसार यतिखेर नेपालबाट धमाधम विद्यार्थी युके ओइरिएका छन् । तर भाषा, अनुभव एवं कानुनी रुपमा पार्टटाइम (साताको २० घण्टा) मात्र काम गर्न पाउने विद्यार्थीको 'स्ट्याटस्' ले कामै पाउन मुश्किल छ ।
प्रायः सार्क र अफ्रिकी मुलुकका विद्यार्थीहरुले बेलायतमा रेष्टुरेन्ट, म्याकडोनाल्ड, केएफसी, हस्पिटल वा नर्सिङहोमतिर काम पाउँछन् । यद्यपि, आर्थिक मन्दीले यतिखेर त्यो सम्भावना पनि टरेको छ । भारतीय, बंगाली र पाकिस्तानीहरुले रेष्टुरेन्टमा काम दिए पनि घण्टाको ४ पाउण्ड हाराहारी मात्र दिएर श्रम शोषण गरिरहेका छन्, जुन एकदम न्यून ज्याला हो ।
पछिल्लो विश्व आर्थिक मन्दीको चपेटामा परेपछि बेलायत आफैं निरिह छ । बेलायतमा हाल बेरोजगार संख्या २.४ मिलियन -२४ लाख अधिक) पुगेको यहाँको राष्ट्रिय तथ्यांक विभाग बताउँछ । यो नोभेम्बर १९९६ यताकै अत्यधिक बेरोजगार प्रतिशत हो ।
बेलायतमा अहिले काम पाउने सम्भावना अत्यन्त कम रहेको बुझेका लन्डन थेम्स् कलेजका निर्देशक वीपी खनाल भन्छन्-'कलेजमा नियमित हाजिरी हुनुपर्ने अवस्थाले विद्यार्थीलाई काम पाइहालेमा पनि गर्न अप्ठ्यारो छ । त्यसकारण काम, अध्ययन र पैसाको तालमेल मिलाउन सक्नेबारे विश्वस्त भएमा वा परिवारले पढाइका लागि चाहिने रकम पुर्‍याउन सक्ने निश्चित छ भनेमात्र विदेश जाने प्रक्रिया शुरु गर्न मेरो सुझाव छ ।'

युके आएका नेपाली विद्यार्थीको विजोग गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएन, युके) सम्म पुगेको छ । नवनिर्वाचित एनआरएन, युके अध्यक्ष सूर्य गुरुङले विद्यार्थीका समस्यातर्फ आफूहरुको ध्यानाकर्षण भएको जनाउँदै भने-'धेरै विद्यार्थीले दुःख पाएका खवर सुन्नमा आएको छ, बेलायतमा नेपालीका धेरै रेष्टुरेन्ट भएकाले नयाँ विद्यार्थीलाई रेष्टुरेन्टमा भएपनि काम लगाइदिन हामीले सोचेका छौं ।'
बेलायतका विश्वविद्यालयमा मात्र युरोपेली मुलुक बाहेकका ३ लाख ४० हजार भन्दा बढि विद्यार्थी अध्ययनरत रहेको अनुमान छ । उनीहरुले वाषिर्क अध्ययन शुल्कमा १.२५ विलियन पाउण्ड, बसाईमा १.६ विलियन र बेलायतको अर्थतन्त्रका लागि वाषिर्क ८.५ विलियन पाउण्ड योगदान गर्ने गरेको अध्ययनमा छ ।


No comments:

Post a Comment