Saturday, September 26, 2009

दसैँ चचहुई... चचहुई


कल्याणकुमार गुरुङ
दसैँको स्वागतमा सबैको मन उत्साहित होला । सयपत्री र मखमली फुलिरहेका होलान्, खेतभरि धानका बाला लहलह झुलिरहेका होलान्, कोही लिंगेपिङमा मच्चिँदै चच हुई...गर्दै रमाइरहेका होलान्, कोही आफन्तको पर्खाइको संघारमा बसेर पर्खिबसेका होलान् । कोही मनभरि उमंग बोकेर नाचगान र बाजागाजाले वातावरण उल्लासमय बनाइरहेका होलान् । नीलो आकाशमा टहटह लागेको जूनको शीतल प्रकाशमा सपनाको माला बुनेर भविष्यको गोरेटो पहिल्याउने भावमा कोही पौडिरहेका होलान् । कोही अभावको पहाडसँग आशा र प्रतीक्षाले जुवारी खेलिरहेका होलान् । शदियौँदेखिको परम्परालाई उत्साह र उमंगका साथ आ-आप\mनो गच्छेअनुसार भव्य तरिकाले आफन्तजनसँग बसेर दसैँ मनाउने प्रतीक्षामा तन र मनले खुसीसाथ पूजा र प्रार्थना चलिरहेको होला । बिहानीको शीतल हावाले बिस्तारै म्वाइँ खाँदा, प्रभातका सुनौला किरणले दिनको शुभारम्भको संकेत गर्दा औँला भाँचेर अग्रजको आशीर्वाद लिने दिन गनेर मानिसका हृदय चञ्चल भइरहेका होलान् ।


नेपालीहरू दसैँ, तिहार, छठ, ल्होसार, माघी, दुर्गा पूजा, तीज, उधौली र उभौली, कुमारी पूजा, इन्द्रजात्रा, गौरा पर्व र गाईजात्रा उत्तिकै श्रद्धा, विश्वास र सम्मानपूर्वक मनाउने गर्छन् जति इद र क्रिसमस मनाउँछन् । सबैले सबैको रीति-रिवाज र चाडपर्वलाई उत्तिकै सम्मान व्यक्त गर्ने नेपालीको सद्भावले उनीहरूलाई विश्वमानचित्रमा सम्मानित तुल्याएको छ ।
चाडपर्वले जति धेरै खुसियाली ल्याएको छ, आर्थिक रूपले विपन्नका लागि त्यति नै चिन्ता पनि थपेको होला । नयाँ लुगा किन्ने र अन्य खाद्यान्न किन्ने मीठो आशालाई मूल्यवृद्धिको तीतो यथार्थले पिरोलिरहेको होला । राजनीतिक अस्थिरताले मनभित्र त्रास अनुभूति गराइ नै रहेको होला । अस्थिरताका कारण रोजगारको खोजीमा आफन्तबाट टाढिएर विदेश बसेका नेपालीको मनमा बा, आमा, दाजु, भाइ, दिदी, बहिनी र पि्रयसीको यादले निराश बनाइरहेको होला । दूधेबालक र नवविवाहित पत्नी छाडेर हातमुख जोर्न विदेश बसेका युवाले बाध्यताको छायामा तिनलाई सम्झँदै लुकेर सुटुक्क मायाको आँसु खसालिरहेका होलान् । घर जान नपाएका सेना, प्रहरी र शिविरमा रहेका लडाकुले मनमनै बा-आमा र आफन्तलाई सम्झेर भावनाको बगैँचामा रम्दै हृदयभरि तिनका आशीर्वाद थाप्दै होलान्, साथीभाइले नदेख्नेगरी मायालुसँग बिताएका पललाई सम्झँदै प्रेमको आँसु बगाउँदै मायालुको तस्बिरलाई हेरिरहेका होलान् । कसैले इमेल, मोबाइल र फोनबाट आफन्तसँग कुरा गर्दै दसैँको सहभागिता जनाइरहेका होलान् । कोही आफन्तसँग भेटेर हाँसिरहेका होलान्, कोही आफन्तसँग भेट्न नपाएर दुःख मनाउँदै रोइरहेका होलान् ।
काठमाडौंबाट आÏनो घर जानेहरूको घुइँचो लागी नै रहेको छ । सुनसान गाउँमा मानिसका पदचापका मधुर आवाजले जीवन्तता दिइरहेको होला । एक वर्षमा गरेका काम वा भोगेका दुःख-सुखका अनुभव आफन्तसँग साटासाट भइरहेको होला । सबैले चाँडो घर पुग्न जिम्माको काम हतार-हतार सकाउने प्रयास गरिरहेका होलान् । कोही तराईको खेतमा, कोही पहाडका गरामा, कोही चियाबारीमा काम गर्दै दसैँ कसरी मनाउने होला भनेर सोच्दै होलान् । आफन्तलाई उपहार किन्ने र केटाकेटीलाई नयाँ कपडा किन्ने घुइँचोले बजारमा चहलपहल बढाइरहेको होला । विद्यार्थी विद्यालय र क्यापसमा चियापान गराएर साथीभाइलाई शुभकामना दिएर गाउँमा पुराना साथीभाइसँग खेल खेलेर रमाइरहेका होलान् ।
आफू जन्मेको ठाउँ, सानो छँदा पढेका विद्यालय, हिँडेका बाटा र खेलेका मैदानसँग धेरै समयपछि साक्षात्कार हुन पाउँदा आफन्तलाई भेटेजस्तै मनभित्र खुसी पलाउँदो होला । सानो छँदा नुहाएको अनि घरबाट लुक्दै माछा मारेको, पानीमा ढुंगा फालेर कति टाढा पुग्छ भनेर हेरेको त्यो खोला, त्यो किनारा र बगरमा साथीहरूसँग जिस्किएर भविष्यप्रति कुनै पर्वाह नगरी हाँस्दै, खेल्दै र कुद्दै हिँडेका स्मृतिले अहिले मानसपटलमा घरजम गरिरहेका होलान् । बाल्यकालमा कपर्दी र डन्डीबियो खेलेका चौतारी, लुकामारी खेलेका झ्याङ र मस्त भएर बेसुरमा भए पनि गीत गाएका बगैँचा अनि वंैशालु उमेरमा जिस्किँदै घुमेका भञ्ज्याङ र पवित्र मनले भाखा गरेका देउराली क्रमशः साउती मार्दै जिस्क्याउँदै होलान् । बाल्यकाल बिताइएको ठाउँको याद जतिसुकै टाढा भए पनि आई नै रहन्छ र त्यहीँ पुगेपछि त मानिस आफूलाई उही बालकै ठानेर खोला, बगर, चौतारी, झ्याङ, बगैँचा, बाटो, भञ्ज्याङ र देउरालीसँग मन मिचिमिची हाँसेर जिस्किरहँदो होला ।
बिहानीपख सूर्यको सुनौलो किरणमा हरियो दुबोमाथिका मोतीझँै टल्किरहेका शीतका थोपा, बगैँचामा प्रेमभावले फुलेका राता गुलाबका फूल, रूखमाथि बसेर चिरबिर गर्दै गीत गुनगुनाउने चरा, मन्दिरमा बजिरहेका शंख र घन्टाका मधुर ध्वनि, गोठमा बाँधिएका र चौरमा चरिरहेका गाई, भंैसी, गोरु, खसी, बाख्रा, चौंरीगाई, भेडा र च्याङ्ग्रा, खेतमा रोपिएको साग, तरकारी, वनमा फुलेका लालीगुराँस, रातमा हावालाई छिचोल्दै आकाशमा रमाउने चमेराको हुल, फाँटभरि रमाउँदै नाचेर उत्सव मनाइरहेका बकुल्ल्ााका बथान, संसारको वास्ता नगरी एकसुरमा कलकल बगिरहेका नदीका कञ्चन पानी र घर फर्किएका अग्रजसँग बाटोभरि खेल्दै जिस्किरहेका साना नानी ः यी सबैका यादले साँच्चै नै मानिसलाई निकै नै भावुक बनाउँदो होला ।
अन्त्यमा, सबै मानिसलाई आÏनो घर, गाउँ, बा-आमा, आफन्तको यादले सताइरहेको होला । देशभित्र वा बाहिर रहेका नेपाली आÏनो विगत, वर्तमान र भविष्यको त्रिवेणीमा उभिएर अग्रजको आशीर्वादसँगै आफन्तको माया-ममताको शीतल छहारीमा आँखाभरि मीठो सपना साँचेर दसैँको पर्खाइमा बसिरहेका होलान् । यस्तो स्थितिमा सबैले शान्ति-सुरक्षाको अनुभूति गर्न पाऊन्, तोकिएको समयमै नयाँ संविधान बनोस्, दलहरूबीच सहमति, सहकार्य र एकता कायम हुन सकोस्, विधिको शासन होस् र सबैको सुख, शान्ति र समृद्धि होस् । सबैलाई दसैँको शुभकामना !
-गुरुङ नेविसंघका निवर्तमान अध्यक्ष हुन्)


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं रुचि हो भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete