• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, September 22, 2009

    जापानको कामदार छनोट प्रक्रियामा पारदर्शीता नहुने आशंका

    हिराचनले महासंघको बलमा हिरा फोड्ने 

    काठमाडांै। सरकारले जापानमा कामदार पठाउने जिम्मा नेपाल उद्योग वाणिज्य महासंघलाई दिएपछि पनि कामदार छनोट प्रक्रियामा पारदर्शीता नहुने आशंका जापानबासी नेपालीहरूले गरेका छन्। महासंघले पहिलो चरणमा ६ जना र दोस्रो चरणमा ३७ जना कामदार जापान पठाइसकेको र एक वर्षभित्र पाँच हजार जना पठाउने तयारी भइरहेको समाचार छ। जापान नेपाली कामदारका लागि आकर्षक गन्तव्य भएको र नेपालको मुख्य सहयोगी भएकाले कामदार छनोट प्रक्रियामा संवेदनशील हुनुपर्ने सुझाव जापानबासी नेपालीहरूले दिएका छन्।
    उवामहासंघले कामदार छनोटमा म्यानपावर कम्पनीले जस्तै बदनामी कमाउने आशंका उठ्ने पात्र बनेका छन्–जापानस्थित उवामहासंघका प्रतिनिधि तथा एनआरएन जापानका अध्यक्ष देवमान हिराचन। विगतमा तत्कालीन शाही नेपाल वायुसेवा निगमको काठमाडौं–ओशाका–काठमाडौं उडानका क्रममा जापानको जीएसए रहेका हिराचनले नेपाल वायुसेवा निगमलाई करोडौं घाटा पारेको घाउ नबिर्सिएका जापानबासी नेपालीले प्रशिक्षार्थी कामदार प्रकरणमा हिराचनको सक्रियताप्रति आशंका गर्न थालेका हुन्। उक्त उडानका कारण निगमले करोडौं नोक्सानी बेहोरेको थियो भने हिराचन रातारात करोडपति बनेको चर्चा जापानबासीबीच अद्यापि चल्नेगर्दछ। ५ हजार प्रशिक्षार्थी कामदार पठाउने क्रममा करोडमात्र होइन, अरबको चलखेल हुने भएकाले हिराचन एनआरएनको आगामी अक्टुबर १३, १४ र १५ तारिखमा काठमाडौंमा हुने अधिवेशनमा अध्यक्ष हुन निकै सक्रिय हुन थालेको चर्चा छ। हाल एनआरएन जापानको अध्यक्ष रहेका हिराचनले महासंघलाई प्राप्त ५ हजार कामदार पठाउने कोटाबाट अरबौं आम्दानी हुने भएकाले यसपटक आफूलाई अध्यक्ष बनाउनका लागि महासंघका अध्यक्ष कुशकुमार जोशी र वर्तमान एनआरएनका अध्यक्ष उपेन्द्र महतोलाई समेत बसमा पारिसकेको चर्चा छ। महासंघका अध्यक्ष जोशी त हिराचनलाई अध्यक्ष बनाउन जुटिसकेको बुझिएको छ। 
    जापानमा पठाइने प्रशिक्षार्थी कामदार छनोट प्रक्रियामा जिल्लास्थित उद्योग वाणिज्य महासंघले उद्योगहरूमा कार्यरत मजदुरहरूलाई छनोट गर्ने भनिए पनि त्यसको कुनै मापदण्ड नभएकाले यसमा समेत म्यानपावरले जस्तै लाखौं उठाउने खेल नहोला भन्ने आधार छैन भन्दै जापानबासी नेपालीहरूले गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष तथा नेउवामसंघका जापान प्रतिनिधि हिराचनलाई कामदार छनोटको पारदर्शीता र अन्य विविध पक्षमा जिज्ञासा राखेका छन्। अधिकांश जिल्लाहरूमा उद्योग नै नभएकाले कामदार छनोटमा धाँधली हुने र रकमको चलखेल हुने आशंका गर्नथालिएको छ। हिराचनले महासंघले पठाएका कामदारलाई जापानमा स्वागत गर्ने र जापानमा मान्छे झिकाउनका लागि मार्केटिङ गर्न दुईजना कर्मचारी किरणजंग थापा र चिरन्जीवी थापालाई राखेपछि महासंघको ब्यानरमा मानवतस्करी त भइरहेको छैन भन्ने आशंकालाई बल पुगेको छ। 
    यसैगरी जापानमा कामदार पठाएबापत प्रत्येक कम्पनीले महासंघलाई एक जना बराबर १५ हजार येन प्रत्येक महिना मेनेजमेन्ट शुल्क दिंदा १ हजार कामदारको १ करोड ५० लाख येन हुन्छ। नेपाली रुपैयाँ १ करोड २५ लाख आम्दानी प्रत्येक महिना महासंघलाई प्राप्त हुनेछ। यो रकम मजदुरले नै पाउने कि नपाउने भन्ने प्रश्नमा हिराचनले घुमाउरो जवाफ दिएर पन्छिने प्रयास गरेका छन्। मेनजमेन्ट शुल्क महासंघलाई आउने कुरा स्वीकार गरे पनि रकम १५ हजार येन नतोकिएको उनले बताएका छन्।   

    No comments:

    Post a Comment