राष्ट्र बैंकले रकम नपठाएको भन्दै स्थानीय बैंकले भुक्तानी रोकेपछि दोलखमा किनमेलको रौनक देखिएको छैन ।
बैंकले भुक्तानी नदिएकाले दसैंको समयमा दोब्बर व्यापार हुनेमा कपडा, सुन र किराना सामग्रीको व्यापार घटेको व्यापारीहरू
बताउँछन् । उनीहरूका अनुसार पोहोर दसैंको तुलनामा यो वर्ष ७५ प्रतिशतले व्यापार घटेको छ । 'पहिलेपहिले किनमेलका लागि घटस्थापनाभन्दा १५ दिन अगाडिदेखि नै धान्न नसकिने भीड हुन्थ्यो,' पशुपति फेन्सीका गोविन्द श्रेष्ठ भन्छन्, 'अहिले ग्राहक आउने बाटो ढुकेर बस्नुपरेको छ ।'
नेपाल बैंक लिमिटेडले साताअघिदेखि पाँच हजारभन्दा माथिको चेक सटही रोकेपछि पैसा अभावले किनमेलमा पनि प्रभाव परेको हो । जिल्लामा कार्यरत कर्मचारी, शिक्षक, सेना र प्रहरी गरी चार हजारले तलब लिन पाएका छैनन् । केहीले बैंकमार्फत धमाधम आआफ्नै जिल्लामा भुक्तानी लिने गरी पैसा स्थानान्तरण गरेका छन् । यसैका कारण पैसा अन्यत्र पलायन भएको छ । यसले गर्दा जिल्लाको व्यापारमा नकारात्मक असर पुगेको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष रामेश्वर मानन्धरले बताए।
'तरलता नहुँदा यहाँका ग्राहकको क्रयशक्तिमा ह्रास आएको छ,' सुनचाँदी व्यवासायी संघका सचिव दीपक धनुकेले भने, 'दसैंका लागि ल्याइएको सुन पसलमै सजाउनुपर्ने बाध्यता आएको छ ।' उनका अनुसार अहिले ३० प्रतिशत व्यापार पनि छैन ।
पैसा अभावले उधारो कारोबार गर्नेहरूको संख्या बढी भएकाले जोखिम त्यत्तिकै बढेको छ । 'दसैंका बेला उधारो बिक्रीले समस्यै बनाएको छ,' फेन्सीका श्रेष्ठले भने । यसको प्रभावले चाडपर्वका बेला अत्यधिक भीड रहने सिलाइ पसलका कामदारहरू पनि फुर्सदिला भएका छन् ।
'नयाँ लुगा सिलाउनेको भीडले रातभर काम गर्नुपर्ने बेलामा फुर्सदिलो छु,' नवीन टेलर्सका नवीन गौतमले भने, 'ग्राहकसँग पैसा कम भएपछि काम पाएको छैन ।' ग्राहकहरू बैंकबाट पैसा निकालेर सामान खरिद गर्ने सोचमा रहेको उनको अनुभव छ । तर बैंकमा रकम अभावका कारण भुक्तानीमा समस्या आएको बैंकका अधिकारी बताउँछन् ।
सर्वसाधारणलाई चाडपर्वका बेला यस्तो समस्या राष्ट्र बैंकको बेवास्ताले गर्दा भोग्नुपरेको नेपाल बैंक लिमिटेड चरिकोटका प्रबन्धक सुन्दर खड्काले बताए । 'पटकपटक ताकेता गर्दा पनि राष्ट्र बैंकले पैसा पठाउने चासो दिएको छैन,' उनले भने । निजी बैंकले समेत यो अभावमा राहत दिन नसकेको खड्काले बताए ।
No comments:
Post a Comment