Saturday, September 26, 2009

दसैँको समाजशास्त्र

चंकी श्रेष्ठ
उत्पादनका स्वरूप र सम्बन्धहरूसँगै धेरै कुरा फेरिन्छन्। नेपालमा भने व्यवस्था फेरिए पनि उत्पादनका स्वरूप र सम्बन्धहरू उस्तै छन् जसका कारण दसैँ 'सम्पूर्ण नेपालीको महान् चाड' भएको छ। सबै जना यतिखेर 'फेस्टिभ मुड'मा छन् । नेता, शासक, प्रशासक, पत्रकार, कवि, लेखक, स्तम्भकार, विद्रोही, आतंककारी, अपराधी सबैसबै। धर्मलाई अफिम मान्ने कम्युनिस्ट पार्टी माओवादीले पनि अहिलेसम्मकै सबैभन्दा ठूलो जनविद्रोह तिहारपछि गर्ने घोषणा गरेको छ। 
दसैँका विविध आयाम छन्। राज्य पुनः संरचनासँगै यस्ता चाडपर्व र संस्कृतिको पुनःव्याख्याका आवाज उठ्न थालेका छन्। जातीय सांस्कृतिक चेतसँगै झण्डै डेढ दशकदेखि कतिपय जनजाति र दलितले दसैँ बहिस्कार गरेका छन्। तिनका तर्क अनुचित छैनन्। दसैँ असत्यमाथि सत्यको जितको प्रतीक हो भनिन्छ। सुन्दा गजब लाग्ने यो मिथकको निहितार्थ अर्कै छ। इतिहास जित्नेहरूकै हुन्छ। जित्नेहरू जति अन्यायी, असती, र क्रूर भए पनि असल ठहरिन्छन्। पुराणमा हार्नेहरू, मारिनेहरू 'राक्षस' भएका छन् भने जित्नेहरू 'देवता'। देवता र राक्षस छुट्टाछुट्टै जाति हुन्। यी अहिले असल र खराबका प्रतीक भएका छन्। रावण र बाली युद्धमा नमारिएका भए महान् ठहरिन्थे। युद्धआचारसंहिताविरुद्ध निशस्त्र भएका बेला वाण प्रहार गरी नमारिएका भए कर्णजति शक्तिशाली र महान् कोही हुँदैनथ्यो। 
दसैँको समाजशास्त्रीय अध्ययन गर्ने हो भने विजयीलाई सत्यवादी भन्ने मान्यता स्थापित गर्न खोजेको देखिन्छ। दसैँसँग दुर्गाद्वारा मारिएका महिषासुर हत्यामा अयोध्याका राजा रामका कथा जोडिएका छन्। यो मूलतः हिन्दूहरूको चाड हो। नेपाली समाजको हिन्दूकरणपछि यो सबै नेपालीको चाड भएको हो। जनजाति अधिकारकर्मी दुर्गाहाङ याख्खा राईका अनुसार जंगबहादुर राणा प्रधानमन्त्री भएपछि गैरहिन्दू किरात समाजका अगुवा रामलीहाङ र रिदामाको हत्या गरी त्यही समाजमा जबर्जस्ती दसैँ मान्न लगाइयो। समाजशास्त्री सुरेश ढकालका अनुसार पृथ्वीनारायणले काठमाडौँ जितेपछि गोरखाली राज्यको सान भरथेग गर्न विशेष राजनीतिक महत्वसाथ दसैँ भित्र्याइएको हो। हनुमान ढोकामा भित्र्याउन गोरखा दरबारबाट फूलपाती ओसार्ने र बढाइँ गर्ने चलनले यसैलाई पुष्टि गर्छ।
गोरखाली शासकले लिम्बूवान कब्जा गरेपछि लिम्बूले पनि दसैँ मान्न र देवीलाई बलि दिनुपर्थ्यो अन्यथा राजाज्ञा उल्लंघन गरेको ठहरिन्थ्यो। दसैँ मानेको प्रमाणस्वरूप लिम्बूहरूले बलि दिइएका पशुको रगतको पञ्जाछाप भित्तामा लगाइराख्नुपर्थ्यो। सरकारी हाकिमहरू निरीक्षणका बेला आउँदा देखाउन यस्तो चलन चलाइएको थियो। असत्यमाथि सत्यको विजयको निहितार्थ यस्तो छ। आफ्नै पुर्खाको हत्याको मूल्यमा तिनले कसरी दसैँलाई विजयउत्सवका रूपमा मनाऊन्? के जित्ने गोरखाली शासकहरू सत्यका पक्षधर र हार्ने आदिवासी जनजाति, लोपोन्मुख अल्पसंख्यक सबै असत्यका पक्षपाती थिए? असत्यको पक्षधर भएकै कारण उनीहरूले हारेका हुन्? यथार्थ के हो भने पुराण र इतिहासका यी घटनामा सत्यको होइन, शक्तिको जित भएको छ। दसैँमा नारी शक्तिको उपासनाका रूपमा दुर्गाको पूजा गर्ने चलन पनि त्यतिकै भ्रामक छ। पौराणिक दन्त्यकथाका आधारमा नारी पूज्य छिन् भन्नुको अर्थ छैन। हुँदो हो त दसैँ मान्ने शासक वर्गका महिला पुरुषको अर्धांगिनीमात्र हुने थिएनन्। तिनको हैसियत मानवअधिकारका दृष्टिले अपराध हो। 
चलनहरू सबैजसो अन्धविश्वासले प्रेरित हुन्छन्। दसैँमा दिइने शुभकामना अन्धविश्वासजस्तै लाग्छ। इमेल र मोबाइलका इनबक्समा भरिएका शुभकामना सन्देशको जवाफ फर्काउनु पनि निरर्थक लाग्छ। धर्मसंकट त्यतिखेर हुन्छ जब नितान्त औपचारिक सम्बन्ध भएका व्यक्तिले भेटेर वा फोन गरेर दुर्गा भवानीको दुहाइ दिँदै शुभकामना प्रकट गर्छन्। अचम्म त के हुन्छ भने तिनका लाममा धर्मलाई अफिम मान्ने कम्युनिस्टहरू पनि हुन्छन्। हो, दसैँलाई बिदाका रूपमा भने सदुपयोग गर्न सकिन्छ। मेरो हकमा भन्ने हो भने यो बिदामा म रुसी उपन्यासकार येनायेभको उपन्यास 'म्याडहाउस' दोहोर्‍याउन चाहन्छु जसमा एउटा राज्यको क्रियाकलाप पूरै भ्रष्ट संस्थानिक ढाँचाबाट चल्छ। सेयर मार्केट विशेषज्ञलाई साहित्यिक एकेडेमी पठाइन्छ, सौन्दर्यशास्त्रीलाई कृषिफर्म र कविलाई पागलखाना। जुन व्यक्ति जहाँ हुनुपर्ने हो, त्यो त्यहाँ भयो भने पागलखानाको नियम तहसनहस हुन्छ। हाम्रो देश अहिले पक्का 'पागलखाना' भएको छ। यो उपन्यास हाम्रा नेता, प्रधानमन्त्री, मन्त्री, विद्रोही, पत्रकार, लेखक सबैले पढ्नु जरुरी छ। त्यस्तै, शबाना आजमीद्वारा अभिनित महेश भट्टको फिल्म 'अर्थ' गाउँका मेरा दुःखी दिदी-बहिनी, आमा-हजुरआमालाई भेला पारेर देखाउने मेरो चाहना छ जो सानो खुसीमा मात्तिन्छन् र सानै दुःखमा आत्तिन्छन्। लोग्नेबाट धोका पाएकी यस फिल्मकी नायिका पूजा मलहोत्राले गरेको संघर्षबाट तिनले धेरै कुरा सिक्न सक्छन्।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं रुचि हो भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete