• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, September 10, 2009

    डिएसपीको पिटाइले प्रहरी बेहोस


    सिन्धुपाल्चोकका डिएसपीले आफ्नै सहकर्मीलाई कुटेर बेहोस बनाएका छन् । बेहोस अवस्थामै रगत बान्ता गरेपछि प्रहरी जवानलाई अस्पताल भर्ना गरिएको छ ।
    डिएसपी प्रमोद खरेलले लगातार दुई घन्टा कुट्दा बेहोस भएका जवान वीरेन्द्रबहादुर खत्रीलाई अस्पताल लग्नुको साटो हिरासतमा थुनिएको थियो । तर, बिहानदेखि बेहोस खत्रीले रगत बान्ता गर्न थालेपछि साँझ मात्र चौतारा अस्पताल भर्ना गरिएको छ । रातिसम्म उनको होस खुलेको छैन ।
    इन्सपेक्टर चिरञ्जीवी दाहाल र प्रहरी जवान खत्रीबीच सामान्य विवाद भएको निहुँमा डिएसपी खरेल खत्रीमाथि जाइलागेका थिए । मुख लाग्नेको हालत यस्तै हुन्छ भनेर सबक सिकाउनुपर्छ भन्दै खरेलले सबै स्टाफका अगाडि जवानलाई कुटेका थिए ।
    गृहजिल्ला भ्रमणमा गएका राप्रपा नेता पशुपतिशम्शेर राणाको स्कर्टिङका लागि जाने तयारीका क्रममा इन्सपेक्टर दाहाल र प्रहरी जवानबीच विवाद भएको थियो । उनीहरूबीच भनाभन भइरहेका बेला हातमा पाइप लिएर खरेलले खत्रीलाई कुट्न सुरु गरेका थिए । बेहोस भएर ढलेपछि पनि डिएसपी खरेलले कुटेको प्रत्यक्षदर्शी प्रहरीले बताए ।
    खत्रीको ढाडमा अरू प्रहरीलाई कुल्चन लगाएर पनि खरेलले कुटेका थिए । 'खत्रीलाई भुइँमा सुताएर अन्य जवानलाई शरीर कुल्चन लगाएर डिएसपीसापले पाइपैपाइपले हिर्काउनुभो,' प्रत्यक्षदर्शी एक जवानले नयाँ पत्रिकासँग भने, 'मलाई पनि त्यस्तै आपत आउला, मेरो नाम त नलेखिदिनुहोला है !'
    जवान खत्री बेहोस भएपछि डिएसपी खरेलकै आदेशमा बर्दीसहितका उनलाई हिरासतमा थुनिएको थियो । करिब पाँच घन्टा उनी थुनिएका थिए । 'कुटिएको खबरपछि खत्रीका आमा र बहिनी भेट्न आएका थिए, तर ड्युटीवालाले बाहिर गएको छ भनेर भेट्न दिएनन्,' घटनाका प्रत्यक्षदर्शी एक हवल्दारले बताए । हिरासतभित्रै रगत बान्ता गर्न थालेपछि साँझ पाँच बजेमात्र उनलाई अस्पताल लगिएको हो ।
    साँझ अस्पताल लगिएपछि मात्र उनका आफन्तलाई भेट्न दिइएको छ । अस्पतालमा आफन्तको रुवाइले सबैलाई स्तब्ध पारेको थियो । 'मेरै अगाडि डिएसपीसापले कुट्नुभो,' बेहोस श्रीमान्को छेवैमा बसेर रोइरहेकी खत्रीकी श्रीमती बेलकुमारी बुढाथोकीले रुँदै भनिन् । श्रीमती बेलकुमारी पनि प्रहरी जवान हुन् । श्रीमान्-श्रीमती मेलम्चीबाट सँगै चौतारा तानिएका हुन् ।
    उपचारमा संलग्न चिकित्सकले समेत उनीमाथि कुटपिट भएको पुष्टि गरेका छन् । 'उहाँमाथि कुटपिट भएको पाएका छौँ,' उपचारमा संलग्न डा. सुशीलकुमार ठाकुरले भने ।
    डिएसपी खरेलले भने प्रहरी जवान खत्रीलाई अस्पताल भर्ना गरिएको तर आफूले कुटपिट नगरेको दाबी गरे । 'त्यस केटालाई वाकवाकी लागेछ त्यसैले अस्पताल लगिएको हो । सायद जन्डिस भएजस्तो छ,' खरेलले भने, 'आफ्नै स्टाफलाई किन कुट्नु ?'
    तर, उपचारमा संलग्न डाक्टरले नै खत्री कुटिएको पुष्टि गरेको स्मरण गराएपछि खरेलले भने, 'ऊ घामड पुलिस हो, ड्युटीमा जानै नमान्ने । हाकिमको आदेश नमानेपछि सामान्य लछारपछार मात्र भएको हो ।'
    कारबाहीबाट बच्न डिएसपी खरेल घाइते खत्रीलाई बलजफ्ती अस्पतालबाट उठाएर साँझ कार्यालय लगेका थिए । तर, उनको अवस्था चिन्ताजनक भएपछि राति अस्पतालै फर्काइएको छ । चौतारामा उपचार सम्भव नभए काठमाडौं रिफर गरिने अस्पतालस्रोतले जनाएको छ । आँखासामुन्ने हाकिमबाटै कुटिएर सहकर्मी बेहोस भई अस्पताल भर्ना भएपछि प्रहरीहरू स्तब्ध छन् ।
    सिन्धुपाल्चोक साँगाचोक घर भएका जवान खत्री यसै साता इलाका प्रहरी कार्यालय मेलम्चीबाट जिप्रका चौतारा सरुवा भएका हुन् । उनी चालकको जिम्मेवारीमा छन् ।

    No comments:

    Post a Comment