• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 27, 2009

    जापानी चुनाव प्रचारका अनेक तिकडम


    image


    जापानको सत्तासीन लिबरल डेमोक्रेटिक पार्टीको वेबपेजमा यौटा कार्टुन राखिएको छ, जसमा नम्र र सुन्दर एक युवक एक युवतीसँग कुनै रेस्टुरेन्टमा खाना खाँदै छ । 'तिमीले मसित विवाह गर्‍यौ भने...' उसले युवतीलाई फकाउँदै छ, 'म तिम्रो राम्रो ख्याल राख्नेछु । हाम्रा बच्चाको स्याहार गर्नेछु । उनीहरूलाई राम्रो शिक्षाको व्यवस्था गर्नेछु । र, तिम्रो वृद्धावस्थाका लागि पर्याप्त पैसाको जोहो गर्नेछु ।' युवती उसलाई सोध्छे, 'यस्तो सबै व्यवस्था तिमी कसरी गर्नेछौ ?' युवक जवाफ दिन्छ, 'पहिले बिहे गरौँ, त्यसपछि देखाजाला ।'
    कार्टुनको युवक डेमोक्रेटिक पार्टीका नेता युकियो हातोयामा हुन् । यस कार्टुनको मुख्य उद्देश्य जनतालाई डेमोक्रेटिक पार्टीसँग खासै गतिला नीति छैनन् र यसले देश हाँक्न सक्दैन भन्ने सन्देश दिनु हो । जापानमा ३० अगस्टमा आमचुनाव हुँदै छ । चुनाव नजिकिँदै जाँदा दलहरू चुनावी अभियानमा नयाँ-नयाँ तरिका र तिकडम प्रयोग गरिरहेका छन् । आधा शताब्दीदेखि लगभग एकछत्र राज गरिरहेको लिबरल डेमोक्रेटिक पार्टी विभिन्न घोटाला तथा आर्थिक संकटका कारण यस चुनावमा त्यति बलियो देखिएको छैन । उता, विपक्षी दल डेमोक्रेटिक पार्टी भने लिबरल डेमोक्रेटिकलाई कडा चुनाैती दिइरहेको छ ।
    चुनावी अभियान सुरु भइसकेको छ र मुख्य प्रतिस्पर्धी यी दुई पार्टी मतदातालाई आकषिर्त गर्न प्रचारका अनेक तरिका प्रयोग गरिरहेका छन् । त्यसो त आमसभा तथा घरदैलो कार्यक्रमलाई पनि दुवै दलले भरपुर प्रयोग गरिरहेका छन् । 'पार्टीहरू चुनावका मुख्य मुद्दाको पहिचान गर्न र चुनावलाई अर्थपूर्ण तरिकाले व्याख्या गर्ने कोसिसमा छन्,' प्रोफेसर नाकानो भन्छन्, 'चुनाव परिर्वतनका लागि ठूलो मौका भएको डेमोक्रेटिक पार्टीको व्याख्या छ । उता सत्तासीन लिबरल डेमोक्रेटिक पार्टी आफू मात्र जिम्मेवार पार्टी भएको दाबी गर्दै छ । त्यसैले जनताले आफ्नो पार्टीलाई निरन्तर विश्वास गरिरहनुपर्ने बताइरहेको छ ।' महिला वा आमाहरूको मत आफूतिर तान्न उम्मेदवारहरूले अमेरिकी शैलीका राजनीतिक सल्लाहाकारसमेत नियुक्त गर्न थालेका छन् ।
    उम्मेदवारले आ-आफ्नो पार्टीका नीतिबारे छलफल सुरु गरेका छन् । दुवै पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्रमा स्वास्थ्य सेवा खर्च, पेन्सन सुधार, अनावश्यक सरकारी खर्च कम गर्ने र बच्चा स्याहार भत्ता आदिबारे पार्टीका धारणा स्पष्ट पारिएका छन् । लिबरल डेमोक्रेटिक पार्टीको कार्टुनजस्तो नकारात्मक चुनावी अभियान पनि छेडिएको छ । यो कार्टुन युट्युवमा राखिएको छ । डेमोक्रेटिक पार्टी सरकार चलाउन अपरिपक्व भएको आरोप लिबरल डेमोक्रेटिक पार्टीका सांसदले लगाउँदै आएका छन् ।
    चुनाव अभियानमा केही आधुनिक प्रविधिहरूमा भने प्रतिबन्ध गरिएको छ । १२ दिने औपचारिक चुनाव प्रचार अभियानमा इन्टरनेट-ब्लग, इमेल, वेबसाइट, सोसल नेटवर्किङ साइट ट्युटरमा प्रतिबन्ध लगाइएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति चुनाव अभियानका क्रममा इन्टरनेटको अत्यधिक प्रयोग गरेका थिए । चुनाव प्रचारप्रसारका लागि ओबामाको यो तरिका अत्यन्त लोकपि्रय भएको थियो । युवा जमातमाझ पुग्न इन्टरनेटले ओबामालाई अत्यन्त सहज बनायो ।
    जापानमा दुई मुख्य पार्टी सबैथोक छाडी चुनावी अभियानमा जमेका छन् । तर, साना दलहरू भने मत कसलाई दिने भन्ने निर्णय नगरिसकेका मतदाता आफूतिर आकषिर्त गर्न लागिपरेका छन् । लिबरल डेमोक्रेटिक पार्टीको गठबन्धन दल न्यू कोमिइतोले बौद्धमार्गी सोका गाकाई संस्थाबाट सहयोग पाउने अनुमान गरिएको छ । अहिलेको आर्थिक मन्दीले भने कम्युनिस्ट पार्टीलाई फाइदा पुग्ने देखिन्छ ।
    क्षेत्रीय पार्टी तथा साना पार्टीहरूको अर्काे नयाँ समूह पनि बनेको छ । नयाँ खुलेको 'द ह्यापिनेस रियलाइजेसन पार्टी' सन् २०३० सम्म जापानको जनसंख्या दोब्बर बनाउन चाहन्छ । जनसंख्या दोब्बर बनाउने मुद्दा लिएर यो पार्टी जनतासामु पुगेको छ ।
    समृद्ध जापानमा युकियोको चुनौती
    आउँदो सेप्टेम्बर १६ तारिखमा जापानले नयाँ प्रधानमन्त्रीको रूपमा युकियो हातोयामालाई पाउनेछ। गत साता सम्पन्न आमनिर्वाचनमा हातोयामाले नेतृत्व गरेको डेमोक्रेटिक पार्टी अफ जापान (डीपीजे) लाई संसद्मा बहुमत प्राप्त भएपछि उनी प्रधानमन्त्री बन्न लागेका हुन्। संसद्का चार सय ८० सिटमध्ये डीपीजेको पक्षमा तीन सय आठ छ। जापानी राजनीतिमा हातोयामाको परिवारलाई अमेरिकामा केनेडी परिवारको जस्तै सम्मान गरिन्छ। हातोयामाका हजुरबुबा प्रधानमन्त्री भइसकेका हुन् भने बुबा ७० को दशकमा विदेशमन्त्री बनेका थिए। ५० वर्षदेखि जापानी राजनीतिमा सत्ताको बागडोर सम्हालेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) प्रतिपक्षमा बस्न बाध्य हुनुपरेको विविध कारण हुनसक्छ, तर हातोयामाले नेतृत्व गरेकोे डीपीजेको घोषणापत्र र नेतृत्वपंक्ति महत्वपूर्ण मानिन्छ।
    प्रशस्त धन भएका व्यवसायीहरूले नेतृत्व गरेको पार्टी भएकाले धेरै महत्वाकांक्षी कार्यक्रमहरू अघि सारिएको छ। बालबच्चा स्याहार केन्द्रको वेतन वृद्धि, पेन्सन वृद्धि, कर कटौती, निःशुल्क माध्यमिक शिक्षालगायतका महत्वपूर्ण कुरा डीपीजेले घोषणापत्रमा समेटेको छ।
    हुन त डीपीजेको पृष्ठभूमि त्यति लामो होइन। सत्ता पक्षका केही र विपक्षी दलका विभिन्न पार्टी समाहित भएर सन् १९९८ मा डीपीजे स्थापना भएको हो। विशेष गरी असल शासन, भ्रातृत्व  र सुधारवादी पार्टीलाई एउटै बनाइएको हो। एक दशकमै सातजना अध्यक्ष भइसकेको डीपीजेलाई मोर्चाको रूपमा विश्लेषण गरिन्छ। दोहोर्यायएर प्रधानमन्त्री हुन नपाइने जापानी संविधानअनुसार एलडीपीमा कुशल नेतृत्वको अभावले डीपीजेलाई चिठ्ठा परेको विश्लेषण पनि गरिएको छ। हालका प्रधानमन्त्री तारो आशोले निर्वाचनका बेला यति विवादास्पद अभिव्यक्ति दिएकी जापानी जनतासमेत लाजले भुतुक्कै भए। त्यतिमात्र होइन, प्रधानमन्त्री बन्ने होडमा पार्टीको आन्तरिक विवादले पनि जापानी जनता दिक्क थिए। यो दुई वर्षको अवधिमा जापानले तीनवटा प्रधानमन्त्री पायो।
    आउँदो निर्वाचनमा सत्ताधारी दल बन्न सक्छ भन्ने संकेत डीजेपीले सन् २००३ को आमनिर्वाचनमा दिइसकेको थियो। त्यसबेला पार्टी नाओतो कानले नेतृत्व गरेका थिए। उनी पार्टीका तेस्रो अध्यक्ष हुन्। त्यसबेलाको निर्वाचनमा सो पार्टीले एक सय ७८ सिट प्राप्त गरेको थियो। निर्वाचनमा पराजयको विरोधसँगै जेलकाण्डले चर्चा पाउन थालेपछि कानले राजीनामा दिएका थिए। त्यसपछि कात्सुया ओकादाले पार्टीको नेतृत्व सम्हाले। उनको कार्यकाल पनि १७ महिनाभन्दा बढी टिकेन। हुलाकलाई निजीकरण गर्ने विधेयक पास नभएपछि तत्कालीन प्रधानमन्त्री जुनिचिरो कोइजुमीले संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका थिए। उक्त निर्वाचनमा डीपीजे ६२ सिटमा खुम्चियो। पार्टीको पराजयमा नैतिक जिम्मेवारी लिँदै ओकादाले राजीनामा दिएपछि सिजी माहिरा पार्टी अध्यक्ष बने। माहिराको अध्यक्ष पद त झन् ६ महिनाभन्दा बढी टिकेन। सत्तारुढ दल एलडीपीसँग अध्यक्ष माहिराको सम्बन्ध छ भन्ने हल्लाले व्यापकता पाएपछि उनी ६ महिनामै नेतृत्वबाट विस्थापित भए। त्यसपछि पार्टी महाधिवेशन भयो। महाधिवेशनले इचिहिरो ओजावालाई अधयक्षमा निर्वाचित गरायो। उनले पनि गत मेमा राजीनामा दिए। पार्टीमा चन्दा संकलनले डरलाग्दो रूप लिएपछि ओजावाले विवाद सामाना गर्नुभन्दा राजीनामा दिन उचित ठाने। त्यसपछि दोस्रोपटकका लागि हातोयामा अध्यक्ष बने। यसअघि उनी सन् १९९९ देखि २००२ सम्म अध्यक्ष बनेका थिए।
    पार्टी नेतृत्वको पछिल्लो परिस्थिति बनिबनाउ जस्तै छ। पार्टीमा हातोयामाकी आमाको अर्बौं यान खर्च भएको छ। आमा यासुको हातोयामा सोजिरो इसिबासीकी छोरी हुन्। इसिबासी ब्रोडस्टोड कर्पोरेसनका संस्थापक हुन्। इसिबासीको निधनपछि एकमात्र छोरी यासुको कर्पोरेसनकी मालिक बनिन्। आमाले अपुताली धन एकलौटी बनाइरहेका बेला हातोयामाका बाबु परराष्ट्रमन्त्री बनेका थिए। इचिहिरो परराष्ट्रमन्त्री भएकै बेला सन् १९५१ मा रुससँग दौंत्य सम्बन्ध स्थापित गरेका थिए। उनैले जापानलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाएका थिए।
    आमा यासुकोको पृष्ठभूमि व्यापारिक भए पनि राजनीतिमा अदृश्य खेलाडीका रूपमा जापानमा परिचित थिइन्। विश्व अर्थजगत र जापानी राजनीतिमा 'असल आमा' उपनाम पाएकी यासुकोले आफ्ना दुवै छोरालाई व्यापार र राजनीतिमा अब्बल बनाउने महत्वाकांक्षा राखेकी थिइन्। त्यसैले छोरा युकियो हातोयामाले तयार गरेको दललाई स्थापित गराउन अर्बौं खर्च गरेकी थिइन्। कान्छो छोरा तारो आसो अहिलेको मन्त्रिमण्डलमा आन्तरिक मामिलामन्त्री छन्। युकियाले टोकियो विश्वविद्यालयबाट स्नातक गरेका हुन्। सन् १९७६ मा उनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा पीएचडी गरेका थिए। स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययन गर्दागर्दै मियुकी यातोयामासँग युकियोको भेट भयो। उनीहरूले सन् १९७५ मा विवाह गरे। मियुकीको त्यो दोस्रो विवाह थियो। उनीहरूका छोरा किचिरो मस्को युनिभर्सिटीमा अनुसन्धान गर्छन्। त्यसो त हातोयामाले पनि टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजी र सेन्सु विश्वविद्यालयको सहायक प्राध्यापकका रूपमा काम गरेका थिए।
    युकियोको राजनीतिक एलडीपी पार्टीबाटै सुरु भएको हो। त्यही पार्टीबाट उनी सन् १९८६ मा होकाइदोको ३८औं जिल्लाबाट संसद्मा निर्वाचित भएका थिए। सन् १९९३ मा नाउतो कान र युकियोलगायत आधा दर्जनले एलडीपी त्यागेर साकिगाकी पार्टी खोलेका थिए। युकियो र उनका भाइका लागि अर्बौं रूपैयाँ खर्चेर आमाले डीपीजे पार्टी स्थापना गरेकी थिइन्। भाइ कुनियो हातोयामा पार्टी सिद्धान्त बाहिर गएको भन्दै सन् १९९६ मै डीपीजे त्यागे र एलडीपीमा संलग्न भएका थिए।
    कुनै भवितव्य भएन भने युकियो आउँदो साता प्रधानमन्त्री बन्ने निश्चित छ। तर उनी प्रधानमन्त्री बन्नुअघि नै श्रीमती मियुकी चर्चामा छिन्। उनी पेसाले कलाकार हुन्। हलिउड कलाकार मियुकी पाकशिक्षाका पुस्तक पनि लेख्छिन्। अत्यन्त महत्वाकांक्षी मिचुकीको मिल्ने पुरुष साथी टम त्रु्कज हुन्। टमसँग मिलेर नयाँ चलचित्र बनाउने योजना उनले हालै सार्वजनिक गरेकी थिइन्। परिवारमा नमिल्ने भएकीले अधिकांश समय उनी अमेरिकामै बसोबास गर्छिन्। युकियो प्रधानमन्त्री बन्ने भएपछि उनको फूर्ति बेग्लै भएको छ। धर्मकर्म र अध्यात्ममा विश्वास गर्ने मिचुकीको आत्मा त्रिभुज आकारको भएको उनले दाबी गरेकी छन्। पार्टीमा आमाको लगानी र श्रीमतीको महत्वाकांक्षाले भावी प्रधानमन्त्री युकियोको राजनीतिक छविलाई ड्यामेज गर्न सक्ने विश्लेषण पनि गरिएको छ। लगानीअनुसार आमाले छोराका लागि प्रतिफल त पाउलिन् नै, तर त्यो कति दिगो हुन्छ, त्यो महत्वपूर्ण हुन्छ। यासुको अथवा उनको दल डीपीजे जे जसरी प्रस्तुत भए पनि समृद्ध जापान निर्माणमा एलडीपीले खेलेको भूमिका यतिबेला गौण छ। तर डीपीजेको आन्तरिक राजनीतिले युकियो पछाडि धकेलिन सक्छ। किनभने दस वर्षको अवधिमा सातपटक अध्यक्ष फेरिसकिएको छ, यो पार्टीले। 

    No comments:

    Post a Comment