• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, August 2, 2009

    अमेरिकामा बोसले थर्कायो- करिश्मा मानन्धरलाई

    image

    अमेरिकाबाट र्फकेपछि अभिनेत्री करिश्मा मानन्धरलाई धेरैले सोधे, 'तपाईंजस्तो नाम चलेकी अभिनेत्रीले अमेरिकामा कसर्री खटेर काम गर्न सक्नुभयो ?' यो प्रश्न उनलाई खुब फन्नी लाग्यो । उनको निवास गोदावरी पुगेर सोधियो, सिनेमाको चहलपहल छाडेर अमेरिका हान्निएपछि उनका सुरुका कामकाजी १० दिन कस्ता रहे ? समस्या के भइदियो भने उनका सबै दिन एकैनासका पो भएछन् । 'नयाँ काम सिक्दै थिएँ, सबै दिन एकैखालका थिए ।' १० दिनका फरकफरक अनुभूति सुन्ने हाम्रो उत्सुकतामा करिश्माले झ्वाम्म पानी हालिदिइन् । सायद यो प्रश्न उनलाई झन् फन्नी लाग्यो ! 'हामीकहाँ कामलाई सम्मान गर्ने कल्चर छैन त्यसैले यस्ता प्रश्न सोधिन्छन्,' उनी आफैँले 'एनलाइसिस' गरिन् ।

    जुन ठाउँमा काम गर्न पाउनु नै ठूलो कुरा मानिन्छ, त्यहाँ काम गर्दा दुःख मान्ने भन्ने कुरै हुँदैन । यो करिश्माको फेरिएको धारणा हो । 'प्रोफेसर नै पार्टटाइम जागिर खान्छन् । उनीहरू पनि स्यान्डविच बनाउँछन्, ग्राहकलाई दिन्छन् । उनीहरूसँग काम गर्न पाउनु गर्वको कुरा हो । त्यसैले मैले पनि कामलाई अप्ठ्यारो रूपमा लिइनँ,' आँखामा पुगेको कपाल निधारतिर सम्याउँदै उनले भनिन् ।

    अनि, कुनचाहिँ कुराले उनलाई यति लामो समय बाँध्यो त ? एकैनासका दिन दिक्दारलाग्दा थिएनन् ? 'थिएनन्, म आफूभित्र नयाँ 'चिज' खोज्न चाहन्थेँ । त्यस्तो केही नयाँ ।'

    पाउनुभयो त त्यस्तो केही नयाँ ? 'पाएँ ।' के पाउनुभो ?

    'अभिनयबाहेकको मेरो क्षमता । जस्तो, मलाई राम्रो सिलाउन आउँदो रहेछ । त्यो मलाई नेपाल हुँदा थाहा थिएन । ममा नेतृत्वक्षमता पनि रहेछ । नयाँ ब्रान्च खोल्दा मेरो बोसले सबै व्यवस्थापन गर्न पठाउँथ्यो ।' उनले आफ्नो नौलो गुण सुनाइन् । उनले कपडा बुन्ने मेसिनसमेत किनेकी छिन् अहिले । यसबाट उनले थाहा पाइन्, हरेक मान्छेमा लुकेका गुण हुन्छन् । त्यसलाई प्रयोगमा नल्याएसम्म थाहा हुँदैन । कति मानिस त आफ्नो क्षमता थाहै नपाई मर्छन् । यसमा करिश्मा भाग्यमानी देखिइन् । तर, उनी अझै सन्तुष्ट छैनन् । किनकि, उनले खोजेको ठ्याक्कै नयाँ भेटिकी छैनन् रे ! 'मभित्र अझै केही छ जस्तो लाग्छ । तर, मलाई थाहा छैन के ? अझै म त्यसको खोजीमा छु ।' फेरि उनी कतै जालिन्, आफूभित्रको अर्को कुनै नयाँ खोज्न ?

    उनले आफूभित्र केही गुण भेटिन् जो पहिलो देखिएका थिएनन् । त्यसबाहेक के पाइन् त ? पैसा ? 'पैसाको मलाई कमी थिएन । त्यसका लागि अमेरिका गएको पनि होइन । म आत्मसन्तुष्टिका लागि गएँ । आत्मसन्तुष्टिकै लागि र्फकें,' उनले भनिन् ।

    अमेरिकाले करिश्मालाई नयाँ खुबी सिकाएछ । नेपालमा एउटै जीवन थियो, अभिनय थियो, अनि घर । सिनेमामा उनलाई शासन गर्ने कोही थिएन । घरमा पनि थिएन । उनी पहिला किचनमा त्यति बस्दिनथिन् । अमेरिकामा बाह्रौँ घन्टासम्म उभिएपछि आजकल आफ्नो भान्छामा उभिन सजिलो भएको छ उनलाई । यहाँ भात नपकाउने करिश्माले आफ्नो भात आफैँ पकाउनुपर्छ भन्ने पनि सिकेर आएकी रहिछिन् ।

    अमेरिकाले उनलाई समयको महत्त्व पनि सिकाएछ । 'समयमा नपुगे 'बोस'ले गाली गथ्र्याे,' सिमानामा बाधिँदा कस्तो हुन्छ उनले थाहा पाइन् । सुरुसुरुमा आइसक्रिम पार्लरमा काम गर्दा उनी ढिला भइछिन् । एकदिन बोस करायो, 'ए, ढिला गर्छेस् ?' बोसको त्यस गालीले करिश्माका बाँकी रातको पनि 'निद' खाइदियो । अनि, गाली नखान उनले आफ्नो पुरानो बानी त्याग गरिन् । 'बिहान ढिलोसम्म सुत्ने मेरो 'खराब' बानी थियो । बोसको गालीले मलाई चाँडो उठ्नुपर्ने भयो । गाली खानुभन्दा समयमै पुग्थेँ,' यति भनिसकेर यी नायिका फिस्स हाँसिन् । त्यहाँ काम गर्दा घन्टौँ उभिनुपथ्र्याे । खुट्टा दुख्थे । तैपनि, सबैका आँखामा खुसी थियो । त्यही खुसी हेरेर उनको पनि पीडा हराउँथ्यो रे ! 'त्यहाँका सबै मान्छे जस्तो काम गर्दा पनि सन्तुष्ट । सन्तुष्टिले मानिसलाई खुसी बनाउँदो रैछ,' कुनै दार्शनिक प्रवचन दिएको भाँती पारेर उनले भनिन् । नेपालमा छँदा करिश्मालाई लाग्थ्यो, 'सबै मान्छे ठीक हुन्छन् ।' तर, अमेरिका पुगेपछि उनी झल्याँस्स भइन् । बाफ रे ! सबै मान्छे सही नहुँदा रहेछन् । 'कति मान्छेको त नियतै गलत पो हुँदोरहेछ । आफ्नो स्वार्थका लागि जे पनि गर्दारहेछन् मान्छेले । मान्छेलाई अनेक अपराध र खराब काम गर्न समय र परिस्थितिले पनि बाध्य पार्छ,' यस्तो निष्कर्ष लिएर उनी नेपाल फर्केकी रहिछिन् । कतै यी नायिकामाथि नै कसैले गलत नियतले गलत व्यवहार त गरेन ? उनैलाई त्यस्तो केही पर्‍यो ? 'पर्‍यो नि, त्यहीँबाट मैले थाहा पाएकी हुँ,' तर के पर्‍यो उनले खोलिनन् ।

    विदेश जाँदा सबै नेपालीमा एकाएक उत्पन्न हुने एउटा ठूलो भाव हो-देशप्रेम । देश छोडेर हिँडेपछि मात्रै देशको महत्त्व थाहा हुन्छ रे ? करिश्मालाई पनि त्यस्तैै भएछ । एयरपोर्ट पुगिनसक्दै एकाएक उनमा देशको माया जागेर आएछ । त्यसैले उनी अमेरिकामा हरेक नेपालीले आयोजना गरेका कार्यक्रममा हाम्फाल्दै पुग्थिन् । आफ्नो कोठामा पनि नेपालको राष्ट्रिय झन्डा राखेकी थिइन् । त्यो मायाको हृदयमा कति गहिरो डाम परेको रहेछ भने अहिले नेपाल फर्केर आइसक्दा पनि मायाको धोको पुगेको रहेनछ । 'जागोपछि जाग्यो । मैले त यही घरमा पनि ठूलो नेपाली झन्डा राखेकी छु ।' घरभित्र फर्फराएको झन्डाको गोपनीयता खोलिन् । उनले अमेरिका पुगेपछि थाहा पाइन्, 'मेरो देश कति धेरै राम्रो रहेछ । रारातालको सुन्दरता मेरा आँखामा घुमिरहन्थ्यो ।' यस्तो भन्दै गर्दा उनी भावुक देखिइन् ।

    अहिले र्फकंदा कस्तो लाग्छ त आफ्नो देश ? 'सुन्दर त छ, सिस्टम पनि राम्रो हुन सके गज्जब हुन्थ्यो ।' उनलाई अहिले काडमाडौं अलपत्र लाग्छ । ट्राफिक सबैभन्दा अस्तव्यस्त । 'मान्छे साधन चलाउनभन्दा कुदाउन रमाउँछन् । 'ओभरटेक इज मोस्ट' भइसक्यो । यसमा सुधार हुनुपर्छ । नत्र केही वर्षमा सम्हाल्न नसकिने हुन्छ ।' करिश्मासित समाधान पनि रहेछ, 'राजधानीका सबै चोकमा ट्राफिक लाइट राख्नुपर्छ । सबै सडकमा ट्राफिक पुगेको हुनुपर्छ ।'

    राजनीतिक अस्थिरता त छ । यो सबैलाई बिझेको कुरा हो । करिश्मालाई पनि बिझेको रहेछ । त्यसबाहेक सुरुमा आँखामा बिझेको त काठमाडौंको खाना रहेछ । 'हेल्थ इन्स्पेक्टर' छैनन् । बाटामा जहाँ मन लाग्यो, त्यहीँ पसल थाप्यो, पकायो । मानिस त्यही खाइरहेका छन् । यसले रोगी बनाउँछ । रोगले गरिब । सरकारले 'सिस्टम' किन बसाउँदैन ?' उनले प्रश्न गरिन् ।

    ६ वर्षको अवधिमा करिश्माविनाको नेपाली सिनेमा कस्तो लाग्यो उनलाई ? 'सुधि्रएको छ । नेपाली सिनेमा 'पर्खी बसेँ' हेरेँ, त्यति राम्रो लागेन ।' सिनेमाका कुरा आउँदा अभिनयको कुरा चल्यो । उनी आफ्नो २० वर्षे अभिनयबाट खुस छिन् ? 'त्यही अभिनयले मेरो नाम स्थापित गर्‍यो, खुसी नहुने कुरै भएन,' भनिन् । चलचित्र 'सन्तान'देखि 'हो, यही हो माया'सम्म आइपुग्दा उनलाई राम्रो लागेको आफ्नै पात्र कुन हो ? 'सबै एकैनासका थिए, त्यही गृहिणी । वसन्ती अलि फरक थियो । त्यसका लागि मिहिनेत पनि गरेँ ।' वसन्तीको जीवन मन पर्‍यो ? 'होइन, बाबै ! सक्दिनँ म त जंगलमा एक्लै बस्न । वसन्ती आफैँमा दुःखी पात्र हो । सम्झौतावादी । काम गर्दा रमाइलो भएको थियो । फरक थियो त्यति हो,' करिश्माले भनिन् । अमेरिकामा रहँदा उनलाई कहिल्यै सुटिङ सेट याद आएन ? आउँथ्यो कहिलेकाहीँ । 'बाटोमै चिप बिछ्याएर सुटिङ हुन्थ्यो । क्यामेरा त्यहीँ हुन्थ्यो । त्यसले मलाई नेपाली सिनेमाको याद आउँथ्यो ।' झन् हिरोइनका रूपमा त्यहाँ मानिसले गर्ने सम्मानले उनलाई लाग्थ्यो मेरो २० वर्ष खेर गएको रहेनछ ।'

    अमेरिकाका विभिन्न सहरबाट उनीकहाँ विद्यार्थीहरू भेट्न आउँथे । फोटो खिचाएर पनि जान्थे । बिर्तामोडबाट सानु नामकी एउटी फ्यानले प्रत्येक हप्ता फोन गर्थिन् । त्यसले पनि उनलाई सिनेमामाथिको लगाव हट्न दिएन । ती सबै फ्यानले उनीमाथि देखाएको माया र आफ्नै नपुगेको धोको मनभरि लिएर करिश्मा मानन्धर नेपाल आएकी छिन् । र, नेपाली सिनेमामा काम गर्न सुरु गरेकी छिन् ।

    प्रमिला देवकोटा ,Naya patrika

    No comments:

    Post a Comment