• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, August 2, 2009

    जापानमा नेपालको स्वाद

    डा माधवप्रसाद पोखरेल

    जापान फाउन्डेसनको विद्वत्वृत्ति दोस्रोपल्ट पाएर म एक वर्षलाई जापान आएको एक महिना नाघ्यो, तर जापानमा नेपालको स्वादै आएन । नेपालको जस्तो मनपरी, भाँडभैलो र लथालिङ्ग देख्न र भोग्न नपाएर सारै नियास्रो लाग्न थालेको छ । मलाई त एकदम मनै कोक्याएर आइरहेको छ । एक वर्ष यहाँ कसरी पो टिक्नुहोला ।
    मीठो बोल्न र नम्र तथा शिष्ट बन्न पनि पैसा चाहिँदो रहेछ भन्ने त जापानमा आएर पो बुझेँ त ! पैसाले मात्र होइन, अरू कोनी केले गरिब भएका नेपालीलाई मीठो बोल्न पुग्दैन । जुनसुकै जापानी कर्मचारी भने कुदाकुद गरेर हाँसेरै काम गरिदिइसकेर आफैं धन्यवाद भन्न भ्याउँछन् । मीठो बोल्न सधैं ती कर्मचारीलाई पुगेको देख्ता नेपालभरिका साना-ठूला सरकारी र निजी सार्वजनिक संस्थाका कर्मचारीको आलस्य र पर्पर्‍याउँदो व्यवहार झल्झली सम्झेर मलाई त नेपाल भेट्न कहिले पुगिहालुँ जस्तो लागिरहेको छ ! यी जापानीको बानी ती सभ्य नेपालीको जस्तो बन्ने छाँट देखिँदैन । गर्न पनि मनपरी अनुशासनले गर्दा नेपालीहरूले आफ्नो मुलुक जस्तो बनाउनसकेका छन्, त्यस्तो प्रकारको राष्ट्रनिर्माणको सोच यी जापानीको बुद्धिका भाँडामा कहिल्यै पनि भरिँदैन होला ! यी आफूले आफैंलाई कोनी के-के जाति'वादी' भन्ने घोषणा गरेर देशलाई बर्बादीतिर लग्न जान्दा रहेनछन् । 'वर' भनेको श्रेष्ठ हो र बर्बादी भनेको श्रेष्ठवादिता हो भन्ने सामान्य ज्ञान लिन यिनीहरूले लुम्बिनी, स्वयम्भु र बौद्ध भएको मुलुकतिरै जानुपर्छ भन्ने मेरो ठम्याइ छ !
    नेपालमा जति देशको मायाले पिरोलिएका र देशको उन्नतिका लागि जुर्मुराएका टोलैपिच्छेका चार-पाँच सय नेता उत्पादन नगरिकन जापानले राष्ट्रियता र आर्थिक विकासमा यति सारो उन्नति कसरी गर्‍यो होला कोनी ! अच्चम्म छ ! यी जापानी पाइलैपिच्छे हडताल पनि गर्दैनन्, झगडा र रोड्याइँ गरेको पनि देखिँदैन । मलाई यहाँ अच्चम्म लाग्ने कति कुरा छन्-छन् । झगडै नगरी यिनीहरूले आफ्नो हक के गरी पाउँदा हुन् ! नेपालबाट एक-डेढ लाख गुरु पैठारी गरेमात्र जापानीको चरित्रमा नेपालीको जस्तो सुधार होला कि जस्तो देखेँ मैले त ! नेपालमा आफूलाई रहर नलागे पनि जताततै सित्तैमा झगडा गर्न पाइन्थ्यो अनि जहाँसुकै सित्तैमा झगडा गरेको रमित हेर्न पाइन्थ्यो । यी जापानी त रोबोटजस्ता एकोहोरा रहेछन् । जति आँखा च्याते पनि यहाँ झगडा गरेको रमिताचाहिँ हेर्न पाइएन । होइन, नेपालमा त झगडा गर्न राम्रो नजान्ने मान्छे ठूलै हुँदैनन् त ! नेपालको चाहिँ मूल राष्ट्रिय उत्पादन भनेकै झगडा भएकाले होला, झगडिया र जिराहाले आफ्नोजति छिटो गर्छन्, नेपालमा भए, यी जापानीजस्ता सोझा र एकोहोराले त पेटपालो पनि गर्न सक्तैनन् भन्ने तब यिनीहरूलाई कसले बुझाइदेओस् !
    जापानमा सामान किनेर ल्यायो, चोखो छ, मिसावट छैन, ट्याक्सीमा चढ्यो, मिटर बिगारेको छैन, बाटो हिँड्यो, बजार गयो बन्द छैन । अनुशासनहीनता नभएकाले सडक जाम हुँदैन, सवारी दुर्घटना एकदमै कम सुनिन्छ । पैसामा अविश्वास छैन, चोरी-डकैती र लुटपाटले समाचार बन्ने मौका कमै पाउँछ । मान्छेलाई देखेर मान्छेले डराउनु पर्दैन । देशका जातजातिमा फुट र घृणाको बीउ उमार्न नेताले जानेको छैन । सबैतिर समन्वय र व्यवस्था छ, जताततै बिचाँजो देख्न पाइएन । जङ्गलका रूख चोर्दा र रक्तचन्दनजस्ता तस्करी माल ओसार्दा पैसा कमाउन सकिन्छ भन्ने बुद्धि पनि यिनीहरूलाई कसले सिकाइदेओस् ! अरूलाई चाहिँ कहिले विदेश जाउँ भइरहँदो हो । नेपालमा जस्तो सहज नपरेर मलाईचाहिँ विदेशमा आयो कि जहिले पनि यस्तै छट्पटी हुन्छ ।
    नेपालमा जनताभन्दा नेतै बढ्ता छन् ! जो हेर्‍यो नेतैजस्तो लाग्छ, जससँग बोल्यो नेतासँगै बोलेजस्तो लाग्छ । जापानमा पहिले एक वर्ष बस्ता पनि एउटै नेतासँग भेट भएको थिएन, अहिले पनि भेट हुने छाँट छैन । नेपालमा जस्तो बग्रेल्ती नेता नपुगेकैले हो कि किन हो, यहाँ अनेक किसिमको निहुँ र खोँचे थापेर बाटो र बजार बन्द भएको देख्नै पाइएन । यत्रो उन्नति र विकास गरेको मुलुकका नेतालाई बरु गाडी र बजार बन्द गर्ने बुद्धि आइदिए हुन्थ्यो नि ! मुलुकका जनताको हित कसरी गर्ने भन्ने कुरोचाहिँ जापानका मलुवा नेताहरूले नेपालका गनेर र चिनेर नभ्याइने फुच्चे र घागडान नेताहरूसँग सिके हुन्थ्यो ! तोडफोड, कुटाकुट, मारामार, बन्द र हडताल गर्ने कुरामा राजनीतिक दृष्टिले नेपालका च्याउसरि नेताको जति सचेतता यी जापानी नेतालाई किन नभएको होला !
    नेपालमा जति बन्द, अड्को, कुटाकुट र हानाहान अहिले विश्वमा कतै पनि हुँदैन होला । गएका आठ-दस वर्षमा गिनिज बुकमा नाम लेखाउन पुग्ने थुप्रै कीर्तिमान हाम्रो मुलुकले राखिसकेको छ । नेपालले राखेजति कीर्तिमानमा पश्चिमाहरू धेरै चासो दिँदैनन् र पो थुप्रै कीर्तिमानको लेखो नै भएको छैन, त्यसै छुटिरहेको छ । नत्र गिनिज बुकका कीर्तिमानमा नेपालमा अरू धेरै मुलुकलाई ढिम्किनदिने थिएन भन्ने कुरामा मलाई एकरत्ति पनि शंका छैन ।
    जापानका पत्रकारको पनि त्यति चेतनामा नेपालको जति विकास भएको देखिँदैन । एउटा-एउटा पार्टीको चम्चागिरी गरेर अरू पार्टी र नेताको मानहानि र आलोचना नै नगर्ने पत्रकारहरूले पत्रिकामा के लेखेर छाप्ने होला र पैसा कसरी कमाउने होला ! यी पत्रकारले उन्नति कसरी गर्न जान्लान् ! गाली र झगडा, भ्रष्टाचार र तोडफोड, बन्द र अड्को, कुटपिट र हत्या नै नभए खालि राम्रोमात्रै कुरो लेखेर पाठकलाई केले खोराक दिने होला अनि पत्रिका कसरी चलाउने होला ! नेपालमा एकजना वरिष्ठ पत्रकारले नै मसँग भनेका थिए, 'पत्रकारिता जापानको त्यति विकसित छैन ।' तिनको कुरो ठिकै होला ! मुलुक उँभो लगाउन जापानीले नेपालीसँग सिक्नुपर्ने कति हो कति कुरा देखेँ मैले त !
    जापानमा नेपालमा जस्तो नियमित लोडसेडिङ नभएर पनि, नारा, जुलुस र राजनीतिक रडाको सुन्न नपाउँदा पनि, धारामा पानी सधैं ख्वालाल्ल आइदिएर पनि, जताततै फोहोर देख्न नपाउँदा पनि, सडक र खोला किनारमा नाक थुनेर हिँड्न नपाउँदा पनि, अखबारमा झगडा, भ्रष्टाचार र अनुशासनहीनतामात्रको खबर पढ्न नपाउँदा पनि यहाँ आफ्नो राष्ट्रियता नै बिर्सिएलाजस्तो भइरहेको छ । मलाई त जापान मनपरेन !
    नेपालमा विद्यार्थीहरूले विश्वविद्यालयका कुलगुरुलाई कालोमोसो लगाएजस्तो उन्नतिशील विचार यहाँका विद्यार्थीमा देखिएन । यहाँका विद्यार्थीहरू गुरुमात्र होइन, गुरुजनलाई समेत देख्ता जतिपल्ट भेटे पनि टाउको निहुराउँछन् । विज्ञान र प्रविधिमा विश्वका विकसित देशहरूसँग सेखासेख गर्न सकेर के भो ! गुरुलाई कालोमोसो धस्ने र धम्की दिने कुरामा यहाँका विद्यार्थीले नेपालका विद्यार्थीसँग सिकेको भए जापान अरू विकासको धुरीमा कहाँ पुग्थ्यो होला, म त कल्पिन पनि सक्तिन ।
    धाराको पानी त्यसै कलकल खाँदा पेट नबिग्रेकाले पनि यहाँ नेपालमा बसेको स्वादै आएन । यहाँका नेताहरूले आफू कुर्सीमा नहुँदा आफ्ना कार्यकर्तालाई प्रहरीलाई शत्रु ठान्ने महान शिक्षा दिनजानेका रहेनछन्, त्यसैले प्रहरी र आन्दोलनकारीका बीचमा ढुङ्गा हानाहान भएको रमिता हेर्न नपाएर मलाई त कहिले पो नेपाल पुग्नुजस्तो भइरहेको छ !
    यहाँका राजनीतिक पार्टीले आफ्ना पछौटेलाई सरकारको आज्ञा नटेर्न, देशको कानुन र संविधान नमान्दा अनि आफूलाई अड्डाले लगाएको काममा अनुशासित नहुन सिकाएका रहेनछन् । कर्मचारी समयभन्दा अगाडि नै अड्डा पुग्ने, अड्डाको काम आफ्नै ठानेर खुसी भएर हतारिएरै गर्ने र अड्डाको समय बितेपछि मात्र घर जाने गर्दारहेछन् । नेपालका कर्मचारीले जस्तो गरेका भए यिनीहरूको के जान्थ्यो होला ! आफ्नो र मुलुक -भर्सेलै परोस् !) को उन्नति कसरी छिटै गर्ने भन्ने कुरामा यिनीहरूले नेपालीसँग सिक्नुपर्ने धेरै कुरा देखेँ मैले त ! मलाई त यस्तो देखेर सहजै भएन । के गर्ने होला !
    नेपालमा जस्तो यहाँ योग्यताको होडमा कतै छेकारो छैन । नेपालको राजनीतिमा जस्तो उद्योगधन्दा र व्यापारबन्द -बन्दव्यापार होइन) गराउने कुरामा मात्र सक्रिय हुनुको साटो यहाँको राजनीति र जनताको गतिविधिले चाहिँ त्यसैलाई उच्चतम प्राथमिकता दिएको देखियो । 'बन्दव्यापार' र 'व्यापारबन्द' भन्ने उही-उही शब्दको पनि नेपाल र जापानमा अर्थै उल्टो लागेको देखेँ मैले त ! नेपालको जस्तो हाकिम र भ्रष्टाचारी नेतालाई पुरेत बनाएर सबै खर्च सरकारले भर्नुपर्ने सामाजिक स्थिति देशमा कायम नगरेर जापान पुँजीवादी राष्ट्रहरूमध्ये सबभन्दा समाजवादी मुलुक भएको देखेर मलाई आफ्नो देश सम्झेर कहाली लागिरहेको छ । मलाई जापानमा स्वादै परेन । म त कबोल गरेको एक वर्ष नघाएर त एक सेकेन्ड पनि
    यो मुलुकमा बस्तिन । मलाई त सम्पूर्ण
    बिचाँजो र बेथितीहरू व्यवस्थित भएको आफ्नो नेपालै मनपर्छ ।

    2 comments:

    1. हरिजी, कुन पत्रिकामा थियो यो माधव सरको लेख?

      ReplyDelete
    2. basanta sir ..madhab sirko yo article kantipurma aayeko thiyo..

      ReplyDelete