• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, August 22, 2009

    यौनकर्मी छुटाउन मध्यरातमा प्रदर्शन

    जितेन्द्र साह

    काठमाडौं, राजधानीको एक व्यस्त प्रहरी वृत्त अघिल्तिर बुधबार मध्यराति अनौठो खालको विरोध प्रदर्शन भयो । गोंगबुका गेस्ट हाउसहरूबाट पक्राउ गरिएका यौनकर्मीलाई छाड्न नाराबाजीमात्रै भएन, गेस्ट हाउसका सञ्चालकले ढुंगामुढासमेत प्रहार गरे । पाँच गाडी र १५ मोटरसाइकलमा आएका समूहले गरेको प्रदर्शन बुझ्न केही छिनसम्म त प्रहरीलाई पनि हम्मे परेको थियो ।

    'म त केही ठूलै घोषणा भयो कि भनेर बाहिर निस्कें, कुरा बुझ्दा त उनीहरू त पक्राउ भएका यौनकर्मीलाई छुटाउन आएका रहेछन्' महाराजगन्ज वृत्तका प्रमुख डिएसपी शरदकुमार खत्रीले कान्तिपुरसँग भने । उनका अनुसार, प्रहरी कार्यालयको मुख्य द्वारलाई छेकेर राति साढे १२ बजे सुरु भएको अप्रत्यासित विरोधले स्थानीयवासीको निन्द्रा खल्बलियो । महानगरीय प्रहरीका विभिन्न कार्यालयले दैनिकरूपले यौनकर्मी, ग्राहक र दलालहरूलाई पक्राउ गरेर केही सार्वजनिक अपराधमा मुद्दा चलाए पनि यस्तो खालको यो पहिलो विरोध प्रदर्शन हो । यौन व्यवसायको आडमा हुने ठगी, लुट र उच्छृखल गतिविधि रोक्न नागरिक समाजको आग्रहमा बुधबार राति प्रहरीले छापा मारेको थियो ।

    'ठूलठूला फ्ल्याट र पाँचतारे होटेलमा यौन व्यवसाय गर्नेलाई नसमाउने, गरिबीका कारणले यो काम गर्नेलाई पक्राउ गर्ने ?,' एक गेस्ट हाउसका सञ्चालकले भने, 'समाउनु छ भने यस्तो काम गर्ने सबैलाई समाउनु पर्‍यो, होइन भने सबैलाई छाड्नु पर्छ ।' केही नलागेपछि लाठी चार्ज गरेर ती ३०/४० को समूहलाई प्रहरीले लखेटेकोेे र जुलुसको नेतृत्व गरिरहेका गोङबुका गोविन्द बानियालाई पक्राउ गरिएको डिएसपी खत्रीले जानकारी दिए ।

    प्रहरी टोलीले राति ११ बजे गोंगबु क्षेत्रको छ गेस्ट हाउसबाट ११ यौनकर्मी महिला र १५ ग्राहकलाई पक्राउ गरेको थियो । 'विदेशबाट कमाएर फर्केकाको माग अनुरूप ती गेस्ट हाउसमा हाइ प्रोफाइल यौनकर्मी उपलब्ध गराइने गरेको सूचना आयो,' डिएसपी खत्रीले भने, 'प्रमाणसहित समाउने योजना अनुरूप छापा मार्दा उनीहरू रंगेहात पक्राउ परे ।'

    उनका अनुसार बसपार्क र पर्यटकीय क्षेत्रमा संगठित एवं छरपस्ट रूपमा यौन व्यवसाय हुनु नौलो घटना नभए पनि यसकै आडमा लाखौं ठगी गरेको निरन्तर गुनासा आइरहेको छ ।

    वृत्तबाट पक्राउ भएका ११ यौनकर्मी महिलालाई बिहीबार बिहान थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ । पक्राउ गरिएका सबैलाई केही सार्वजनिक अपराध मुद्दामा कारबाही चलाइएको प्रहरीले जनाएको छ ।

    डिएसपी खत्रीका अनुसार पक्राउ गरिएका सबै यौनकर्मीहरूले आफूहरू यो पेसामा लागेको स्विकारेका छन् । उनीहरू गेष्ट हाउस सञ्चालको सम्पर्कमा रहने र ग्राहकको डिमान्ड अनुरूप फोन कलमा उपस्थित हुनेगरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गेस्ट हाउसका सञ्चालकले मोटो रकम लिएर आएका ग्राहकको मागमा एक रातका लागि हजारदेखि १ हजार ५ सयसम्ममा यौनकर्मी उपलब्ध गराउँछन् ।kantipur

    No comments:

    Post a Comment