• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, August 22, 2009

    कहाँ-कहाँ बिहे गरेछन् कोइरालाले ?

    बालकृष्ण अधिकारी/

    काठमाडौं, १ भदौ

    नेपालको सबैभन्दा पुरानो राजनीतिक घराना कोइराला परिवारको अन्तर्राष्ट्रिय पहिचान जति बलियो छ, वैवाहिक सम्बन्ध पनि उत्तिकै फराकिलो छ । कोइराला परिवारका सदस्यले छिमेकी भारत र पाकिस्तानदेखि युरोपसम्म बिहे गरेका छन् । गिरिजाप्रसादपुत्री सुजाताले जर्मन नागरिकसँग बिहे गरेको र बिपीकी नातिनी मनीषाले पनि विदेशीहरूसँग नै 'अफेयर' चलाएको तथ्य नेपाली समाजमा चर्चामा छ । तर, स्वयं गिरिजाप्रसाद, उनका दाजु केशवप्रसाद र तारणीप्रसादले पनि विदेशीलाई नै बिहे गरेका हुन् । बिपीका छोराहरू प्रकाश, श्रीहर्ष र शशांकका श्रीमती पनि नेपाली होइनन् ।

    गिरिजाप्रसादका बाबु कृष्णप्रसादले पहिलो बिहे भोजपुरमा गरेका थिए । तर, गर्भवती भएको समयमै पहिली श्रीमतीको निधन भएपछि कृष्णप्रसादले धादिङकी मोहनकुमारीसँग दोस्रो बिहे गरेका हुन् ।

    कृष्णप्रसादले तेस्रो बिहे काठमाडौं बालाजुकी दिव्यासँग गरेका हुन् । मोहनकुमारीका सन्तानका रूपमा मातृकाप्रसाद, नलिनी, इन्दिरा (शैलजाकी आमा) र शौभाग्यसुन्दरी जन्मिएकी हुन् । मातृकाले सप्तरीका पोखरेलकी छोरी मञ्जुसँग विवाह गरेका हुन् ।

    मोहनकुमारीका छोरीहरू नलिनीको कालीप्रसाद उपाध्यायसँग, इन्दिराको डा. पिनायकी आचार्य र शौभाग्यसुन्दरीको भैरव अर्यालसँग विवाह भएको हो । मातृकाका छोरा विमल, कमल, डा. अजय, विजय, सञ्जय हुन् । कमल एमालेका नेता हुन् भने अरू राजनीतिबाहिरै छन् ।

    कृष्णप्रसादकी तेस्री तथा कान्छी श्रीमती दिव्याको कोखबाट जन्मिए विश्वेश्वर, केशवप्रसाद, गिरिजाप्रसाद, हरिप्रसाद, तारणीप्रसाद र विजयालक्ष्मी ।

    बिपीले तौलिहवाका दाहालकी छोरी सुशीलासँग विवाह गरेका हुन् । सुशीलालाई कोइराला परिवारले मात्र होइन, समस्त कांग्रेसजनले आमा भनेर बोलाउँथे ।

    बिपीका तीनवटै छोराको बिहे विदेशी केटीसँग भएको हो, त्यो पनि लभ परेर । कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका बिपीका जेठा छोरा प्रकाशले काकी नोना कोइराला (केशवकी श्रीमती) का दाइकी छोरी सुष्मासँग बिहे गरेका हुन् । नोना र सुष्मा दुवै भारतीय हुन् । प्रकाश र सुष्माको जोडीले छोरी मनीषा र छोरा सिद्धार्थ जन्माएको छ ।

    त्यस्तै बिपीकै पुत्र श्रीहर्षले महाराष्ट्र बम्बैकी रुचिराकासँग बिहे गरेका छन् । उनका पनि एक छोरा र एक छोरी छन् ।

    कांग्रेसका वर्तमान केन्द्रीय सदस्यसमेत रहेका बिपीपुत्र शशांकले बिहे गरे सुपात्रासँग । नयाँदिल्ली घर भई थाइल्यान्डमा बस्दै आएकी सुपात्रासँग शशांकको बिहे काठमाडौंमा भएको हो । शशांककी एक मात्र छोरी छिन् ।

    'बिपीका तीनै छोराले लभम्यारिज गरे,' कांग्रेस सभासद् पुरुषोत्तम बस्नेतले भने, 'उनीहरूले विदेशीसँग बिहे गरे पनि समझदारी निकै राम्रो छ ।'

    बिपीपुत्री चेतना भने कमल दीक्षित

    (साहित्यकार) का भतिजासँग विवाह गरी अमेरिकामा बस्दै आएकी छिन् ।

    केशव र नोनाका छोरा निरञ्जनले काठमाडौं धोबीधाराकी सन्तोषी पाठकसँग विवाह गरेका हुन् । अमेरिकामा बस्दै आएकी सन्तोषीको नेपाल र्फकंदा जहाज दुर्घटनामा निधन भएको हो । उनका दुई छोरा छन् ।

    कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका शेखरले विराटनगरकी पुनमसँग मागीबिहे गरेका हुन् । यस जोडीको एक मात्र सन्तान छोरी छिन् । तारणीप्रसादले पनि बनारसकी रोसासँग बिहे गरेका हुन् । उनका एक छोरा एक छोरी छन् । छोरा ज्योतिले काठमाडौं, बौद्धकी इन्दिरा बस्नेतसँग बिहे गरेका हुन् । उनीहरूका दुई छोरी छन् ।

    तारणीकी छोरी कल्पनाले लक्ष्मण बस्नेतसँग विवाह गरेकी हुन् । बस्नेत कांग्रेसको मजदुर संगठनका नेता छन् भने कल्पनाको क्यान्सरबाट निधन भइसकेको छ ।

    गिरिजाप्रसादले पनि भारत, बनारसमै बिहे गरेका हुन् । उनले बाबुआमाको असहमतिबीच पनि सुष्मा उपाध्यायसँग बिहे गरेका हुन् । यो गिरिजाप्रसादको पहिलो बिहे हो भने सुष्माको दोस्रो । सुष्माले अघिल्लो श्रीमान्बाट जन्माएकी सुरेशलाई गिरिजाप्रसादले आफ्नै नामबाट नागरिकता दिएका छन् । सुरेश काठमाडौंमा छपाइ मेसिन चलाउँछन् भने गिरिजाप्रसाद र सुष्माकी छोरी सुजाता देशकी परराष्ट्रमन्त्री छिन् । सुरेशले विराटनगरकै भानु थापासँग बिहे गरेका हुन् । उनका दुई छोरा छन् । सुजाताले जर्मन नागरिक नोवदसँग बिहे गरेकी हुन् । यस जोडीको एक छोरा र एक छोरी छन् । सुजातापुत्रीको बिहे बंगलादेशमा भएको छ ।

    गिरिजाप्रसादका भाइ हरिप्रसादको सानै उमेरमा निधन भएको हो । राणाविरोधी आन्दोलनको दौरानमा बाबु कृष्णप्रसाद इजरायल भएकै वेला छोरा हरिको निधन भएको कांग्रेस नेता पुरुषोत्तम बस्नेतले बताए ।

    गिरिजाप्रसादकी बहिनी दिव्याकी छोरीले पाकिस्तानी केटासँग बिहे गरेकी थिइन् । उनले नेपाली दूतावासमा काम गर्ने पाकिस्तानी नागरिकसँग विवाह गरेकी हुन् । २००७ साल र त्यसपछिको आन्दोलनमा हतियार ओसारपसार गर्न उनले मद्दत गरेको बस्नेतले बताए ।नयाँ पत्रिका


    No comments:

    Post a Comment