• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, July 30, 2009

    तिम्रा “राष्ट्रियता, लोकतन्त्र र नागरिक सर्वोच्चता” तिमीसँगै राख

    - दीपक अर्याल
    कमरेड, म तिम्रो नागरिक सर्वोच्चताका लागि किन लड्ने? महोदय, म तिम्रो लोकतन्त्र र प्रजातन्त्रका लागि बलीको बोको किन बन्‍ने? मलाई दुई छाक खान, राम्रोसँग सुत्न र आङ ढाक्न कपडाको जोहो गर्न सिकाइदेउ वा व्यवस्था गरिदेउ त्यसपछि तिम्रा माग र नाराका बारेमा सोच्दै गरौंला। मलाई तिम्रो नोकर बने पनि नोकर नै बन्नु छ र अर्को कसैको नोकर बने पनि नोकर नै बन्नु छ भने म तिम्रै नोकर किन बनुँ? मालीक, मेरा लागि मालीक नै हुने भएपछि बोर्डर भित्रको मालीक र बोर्डर बाहिरको मालीकका माझ मैले किन विभेद गरौं? काला र गोरा, अग्ला र होचा, यो जात र त्यो जात भनेर किन छानौं? तिमीलाई बोर्डर चाहिएको होला, तिमीलाई प्रजातन्त्र, राष्ट्रियता, गणतन्त्र, नागरिक सर्वोच्चता चाहिएको होला, तिमीलाई शान्ति र विकास पनि चाहिएको होला तर मलाई सबैभन्दा पहिले दुई छाकको खाना चाहिएको छ, जाडोमा ओड्ने र गर्मीमा ओछ्याउने कपडा चाहिएको छ।
    मलाई यति भए तिम्रो गणतन्त्र फलोस् फुलोस्, तिम्रो राष्ट्रियता खतरामा नपरोस्, तिम्रो नागरिक सर्वोच्चता कायम होस् भन्ने कामना मैले पनि गरिदिन्छु।म दाङको कुनै गाउँमा बसेर मालीकको लागि हलो किसानी गर्ने र मजदुरी गरेर दैनिक गुजारा चलाउने राम लखनलाई के को लोकतन्त्र, के को नागरिक सर्वोच्चता अनि के को शिशु गणतन्त्र र प्रजातन्त्र? विहान खान पाए साँझ के खाने हो भनेर चिन्ता गर्ने म जस्तो मान्छेका लागि कुन दश गजा हो, कुन बोर्डर हो अनि कुन नेपाल, कुन भारत वा कुन चीन र अन्य मुलुक हो? मेरो भोको पेटले बोर्डरका माझ कुनै विभेद गर्दैन। मेरो बालबच्चालाई मागेर खानका लागि कुनै बोर्डरले छेक्न सक्दैन।माग्ने मान्छेका लागि के को राष्ट्रियता? खान नपाउने भोकाका लागि के को आफ्नो देश अनि के को पराई देश? कमरेड मैले त कुनै सिमाना देखेको छैन, मैले कुनै दश गजा र जङ्गे पीलर देखेको छैन।म त हिजो पनि त्यहीँ थिए, त्यस्तै थिएँ, आज पनि त्यहीँ छु, त्यस्तै छु।मलाई मेरो राष्ट्रियता के हो थाहा छैन तर जहान, बालबच्चा र मेरो भोक, गरिबी र अभाव के हो राम्रोसँग थाहा छ। मैले साहूको घरमा काम नै गर्नुपरेपछि बोर्डर पारि काम गरे पनि वारि काम गरे पनि के को गर्व, के को स्वाभिमान? माग्नु नै परेपछि, बोर्डर वारि मागे पनि माग्नु नै हो पारि मागे पनि माग्ने नै हो फेरि जङ्गे पीलर जहाँ राखे पनि मलाई के फरक पर्छ र कमरेड? बस, मैले त राम्रोसँग माग्न पाउनु पर्छ। देश र राष्ट्रियता भनेको ढुङ्गा, माटो, जग्गा, जमिन हो भने सारा नेपालीको जग्गा हुँदा म जस्ता कैयौं मान्छेको कुनै देश छैन, कुनै राष्ट्रियता छैन किन भने मेरो आफ्नो जमिन छैन, जग्गा छैन। यदि देश, राष्ट्रियता भनेको जनता पनि हो भने म जहाँ जान्छु, म जहाँ बस्छु त्यो देश हो, त्यो नै राष्ट्रियता हो। मलाई म बाँच्न नसक्ने राष्ट्रियताको के काम? मलाई म नअटाउने देशको के अर्थ, के महत्त्व?कमरेड, न त सुरक्षा दिन सक्छौ, न खाना, न बास र कपास दिन सक्छौ। न कुनै आशा दिलाउन सक्छौ, न कुनै भविष्यको सपना देखाउन सक्छौ।
    तिमीबाट मैले के आशा गरौं कमरेड? तिम्रा कुन कुरा पत्याउँ अनि तिमीले भनेको कुन बाटोमा हिडौं? मलाई दुईटा चक्की औषधी चाहिएको छ, के तिम्रो नागरिक सर्वोच्चताले औषधीको काम गर्छ? के तिम्रो गणतन्त्र वा प्रजातन्त्रले म विरामी हुनुको कारण पहिल्याउने कोशिस गर्छ? मलाई दुई छाक खान मन लागेको छ, के तिम्रो नागरिक सर्वोच्चता, गणतन्त्र वा प्रजातन्त्रले त्यसको जोहो गर्न सक्छ? मलाई लगाउने कपडा चाहिएको छ। वर्षा लाग्दैछ ओतिने बास चाहिएको छ। कमरेड! के तिम्रा कुराले र कामले मेरो कपडाको जोगाड हुन सक्ला, के वर्षामा मेरा लालाबालाहरूलाई जोगाउन सकुँला?कमरेड, मैले ठूला सपना देखेको छैन।मैले कुनै ठूलो माग राखेको छैन। मेरा नाममा राजनीति गरेकाले मलाई मनमा लागेको कुरा राखेको मात्र हो।नत्र त तिमीलाई जसरी मेरो मतलब थिएन वा छैन त्यसैगरि मलाई तिम्रो मतलब पनि थिएन र छैन पनि।तर, जब तिमीले बारम्बार मेरो नाम लिएर म जस्ता अन्यलाई सडकमा नाङ्गो दौडाउन खोज्छौ, म जस्ताको नाममा तिमीले जब राजनीति गर्छौ, जब तिमीले मेरो राष्ट्रियताको परिभाषा आफ्नो परिभाषा अनुसार परिभाषित गर्छौ, अनि जब तिमीले राष्ट्रिय स्वाभिमान र राष्ट्रियताका लागि जागरूक हुन र आन्दोलन गर्न आह्वान गर्छौ, मलाई एउटा कथाको सम्झना आउँछ।एउटा मालीकको आफ्नो पञ्जाबाट फुत्केको घोडालाई फकाउँदै भनेछ,- “हेर है बढी नमात्ती फेरि तँ शत्रुको कब्जामा पर्लास् र तँलाई कैद गरी र दु:ख देला।“विचरा घोडा मालिकतिर फर्केर भनेछ,- “मलाई तिमी कहाँ गए पनि उहीँ दुख हो अर्को मालीकले लगे पनि उही दुख दिने हो।मेरो काम मालीकको भारी नै बोक्ने भएपछि मलाई जो सुकै मालीक भए पनि के चिन्ता? तिमीहरू पो एक आपसमा शत्रु त, मेरो लागि त तिमीहरू दुवै मालीक न पर्यौं”।कमरेड यो कथा घोडाको मात्र होइन, हामी जस्ता गरीब, सर्वहारा नेपालीको पनि हो।
    हामीलाई राजा मालीक बनेर आउँदा पनि उहीँ थियो, त्यसपछि प्रजातन्त्र नामक शासनका मालीक आउँदा पनि उस्तै, गणतन्त्र नामक शासनका मालीक आउँदा पनि उस्तै। हामीलाई दश गजा र जङ्गे पीलर वारी बसे पनि मालीककै सेवा गर्नुछ, दश गजा र जङ्गे पीलर पारी गए पनि मालीककै सेवा गर्नुछ। आखिर सेवा नै गर्ने हो भने तिमीले भने जस्तो मात्र किन गर्ने? तिम्रो खटन पटन र निर्देशन किन मान्ने? तिम्रो अर्ति उपदेश र भाषण किन सुन्ने अनि किन मान्ने?हामीलाई रैति वा घोडाकै दर्जामा राख्ने हो भने तिम्रो सिमानाको सुरक्षा तिमी नै गर। तिम्रा सिमानामा परेड तिमी नै खेल। तिम्रा राष्ट्रियता, प्रजातन्त्र वा नागरिक सर्वोच्चताका कथा तिमीसँगै राख।हामी त जहाँ जान पनि स्वतन्त्र छौ, जसको सेवा गर्न पनि स्वतन्त्र छौं। मालीक आखिर मालीक नै हुन्, दशगजा पारीका मालीकको सेवा गरे पनि, अरबका मालीकका सेवा गरे पनि वा यूरोप र अमेरिकी मालीकका सेवा गरे पनि। सेवा गर्नेहरूको कुनै राष्ट्रियता हुँदैन, कुनै देश हुँदैन, कुनै सिमाना र बन्देज हुँदैन। ऊ सबैभन्दा स्वतन्त्र हुन्छ, कम्तिमा मालीक फेर्ने स्वतन्त्रता ऊसँग हुन्छ र त्यो स्वतन्त्रताबाट उसलाई कसैले वञ्चित गर्न सक्दैन र तिमीले पनि मेरो त्यो स्वतन्त्रता खोस्ने कोशिस नगर।‍deepakaryal@gmail.com

    No comments:

    Post a Comment