• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, July 22, 2009

    वैदेशिक रोजगारीमा आर्थिक मन्दीको असर

    काठमाडौं, आर्थिक मन्दीका कारण गत आर्थिक वर्ष (०६५/६६) पहिलोपटक वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ ।अघिल्लो आव (०६४/६५) को तुलनामा १२ दशमलव ८० प्रतिशतले घटेको हो । वैदेशिक रोजगार विभागद्वारा उपलब्ध यसअघिका ११ वर्षको तथ्यांकमा सबै वर्ष विदेश जानेको संख्या बढिरहेको हुन्थ्यो ।

    गत आवमा २ लाख १७ हजार १ सय ६४ कामदार विदेसिएका छन् । अघिल्लो वर्ष यो संख्या २ लाख ४९ हजार ५१ थियो ।

    यसरी वैदेशिक रोजगारीमा जाने घट्नुको मुख्य कारण प्रमुख गन्तव्य मुलकमा परेको आर्थिक मन्दीको प्रभाव रहेको वैदेशिक रोजगार व्यवसायी बताउँछन् । 'गत वर्ष मलेसियाले कामदार आयातमा रोक लगायो,' वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तिलक रानाभाटले भने, 'इजरायलले पनि नेपाली कामदार दक्ष नभएको र धेरै शुल्क लिएको भन्दै ल्याउन रोक लगाएको छ ।'

    कोरिया सरकारले पनि यस अवधिमा कम कामदार लगेको रानाभाट बताउँछन् । 'रोजगारीको नयाँ गन्तव्य खोज्न सकेको भए विदेशीनेको संख्या घट्ने थिएन,' उनी भन्छन् । विभागका निर्देशक वेदप्रकाश लेखकले मेनपावर कम्पनीले ढुक्क भएर कामदार पठाउन नसकेकाले पनि संख्यामा गिरावट आएको बताए । 'कम्पनीहरू डराएका छन् यसले मागमा ध्यान दिएर मात्र कामदार पठाएका छन्,' लेखकले भने, 'बिदेसिनेको संख्या घट्नुको कारण यो पनि हो ।'

    विभागका अनुसार गत आवमा संस्थागत स्वीकृतिबाट १ लाख ७२ हजार कामदार विभिन्न १७ देशमा गएका छन् । यसमा १ लाख ६९ हजार पुरुष र ३ हजार ६५ महिला छन् । त्यस्तै व्यक्तिगत स्वीकृति लिएर ४४ हजार ४ सय कामदार विभिन्न ७५ देशमा गएका छन् । यसमा ३८ हजार पुरुष र ५ हजार महिला छन् । विभागले १ सय ७ देशलाई वैदेशिक रोजगारीका लागि खुला गरेको छ ।

    गत वर्ष ७६ हजार कामदार कतार गएका छन् । अघिल्लो वर्ष यो संख्या ८५ हजार थियो । त्यस्तै अर्को प्रमुख गन्तव्य मलेसिया जानेको संख्या गत वर्ष घटेर ३५ हजारमा झरेको छ । अघिल्लो वर्ष ५० हजार थियो । त्यस्तै संयुक्त अरब इमिरेट्स, साउदी अरब जानेको संख्या पनि घटेको छ ।

    यसरी कामदारको मुख्य गन्तव्य मुलुकमा माग घटेपछि सरकार नयाँ देशको खोजीमा छ । 'सेवा र निर्माण क्षेत्रका युक्रेन, साइप्रस र पोल्यान्डमा दक्ष कामदारको माग आएको छ,' लेखकले भने, 'हामी छलफलको प्रक्रियामा छौं ।'

    एघार वर्षमा वैदेशिक रोजगारीमा जानेको तथ्यांक

    आर्थिक वर्ष जाने संख्या परिवर्तन -प्रतिशतमा)

    ०५५/५६ २७,७९६ २५८.८८

    ०५६/५७ ३५,५४३ २७.८१

    ०५७/५८ ५५,०२५ ५४.८१

    ०५८/५९ १,०४,७३ ९०.३४

    ०५९/६० १,०५,०४३ ०.२९

    ०६०/६१ १,०६,६६० १.५३

    ०६१/६२ १,३९,७१८ ३०.९९

    ०६२/०६३ १,६५,२५२ १८.२२

    ०६३/६४ २,०४,५३३ २३.७७

    ०६४/६५ २, ४९,०५१ २१.७६

    ०६५/६६ २,१७,१६४ -१२.८०

    No comments:

    Post a Comment