Wednesday, June 29, 2011

एमाले नेता ज्ञवाली जापान छिर्न नपाउनुको अर्थ

हुन त देवी ज्ञवाली जापान आउन नसक्नुभएको सम्बन्धि आर्टिकल माईसंसारमा आईसकेको छ । प्रारम्भिक चरणमा सम्बन्धित पक्षहरुसंग गरिएको कुराकानीमा आधारित भई त्यो आर्टिकल तयार पारिएको थियो  । माईसंसारमा आईसकेपछि पाठकहरुले दिएको सुझावहरु र आएका नयाँ विषयवस्तुहरुसंग सम्बन्धित रहि सरोकारवाला व्यक्तिहरुसंग फेरि सम्पर्क गरिसकेपछि अपडेट सहित पुन यो आर्टिकल प्रकाशित गरेको जानकारी गराउँछु । पाठकहरुले दिएका विश्वसनीय आधार र सुझावप्रति कृतज्ञ छु ।
कतिबेला आउने होला  ? नागोया एअरपोर्टमा देवी ज्ञवालीको पर्खाईमा
देवी ज्ञवाली जापानको एअरपोर्टबाटै फिर्ता भएको सम्बन्धि विषयवस्तु र समाचार टोक्यो नेपाल डट कम, वीलभ नेपाल डट कम, अनलाइन खबर समुद्रपारी, माईसंसार डट कम, दृष्टि साप्ताहिक, कालिका एफ एम चितवन,  माइसंसार डट कम र नेपाल जापान डट कममा पनि प्रकाशित भईसकेको छ । टोक्यो नेपाल डट कमले समाचार टिप्पणी र एनडिएफ जापानका अध्यक्ष डा. दिलिपचन्द्र घिमिरेको विज्ञप्ति पनि प्रकाशित गरिसकेको छ ।--लेखक 
जुन १६ तारिख विहीवारका दिन नेकपा एमालेका केन्द्रीय सदस्य देवीप्रसाद ज्ञवाली जापानका नेपालीले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन नेपालबाट ड्रागन एअरमा हङकङ हुँदै उडे । तर जापानको नागोयास्थित चुबु अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कने क्रममा त्यहाँको अध्यागमनले ज्ञवालीलाई रोक्यो । नेपाली लोकतान्त्रिक मञ्च जापानले आयोजना गरेको “नेपालको दीगो शान्ति स्थापनामा प्रवासी नेपालीहरुको भूमिका” विषयक कार्यक्रममा भाग लिन र यहि संस्थाले प्रकाशन गरेको “सूर्योदय स्मारिका २०६८” विमोचन गर्न प्रमुख अतिथिको रुपमा ज्ञवाली जापान आउन लागेका थिए । लोकतन्त्र, शान्ति र मानव अधिकारका पक्षमा काम गर्ने यो आयोजक संस्थालाई एनडिएफ जापानको नामले पनि चिनिन्छ ।  जापानी समय अनुसार राती ९ः०५ मा ओर्लिएका ज्ञवालीलाई “रिसिभ” गर्न ८ बजे नै एअरपोर्ट गएकाहरु राती १२ बजेसम्म बसेर रित्तो हात फर्किएका थिए ।
सरकारमा रहेको पार्टी एमालेका निर्वाचित केन्द्रीय सदस्य, त्यहिमाथि शालिन र बौद्धिक नेता रुपमा चिनिन्छ नेपाली राजनीतिमा ज्ञवालीलाई । उनी भरतपुर नगरपालिकाका उपमेयर समेत भईसकेका छन् । यद्दपि कार्यक्रमको बहाना बनाएर जापानमा लुकी लुकी पैसा कमाउने उनको उद्देश्य पटक्कै थिएन । किनभने जुन २४ तारिखमा त उनलाई नेपाल जसरी पनि फर्कनु नै थियो ।
नेपालस्थित जापानी राजदूतावासबाट भीसा पाएर पनि जापानको अध्यागमनले ज्ञवालीलाई रोक्नका पछाडि के कारण होला ? यतिबेला आम नेपाली समुदायमा यो चासोको विषय बनेको छ । चिन्ता आयोजकदेखि देवी ज्ञवालीसम्मकालाई परेको छ । विभिन्न चोरबाटो समातेर जापान छिरेका नेपालीहरुको संख्या जापानमा कम छैन । जो वर्षौसम्म पनि अनाधिकृत ढंगले जापानमा बसिरहेका छन् । तर नेपाली समुदायको बीचमा पूर्वघोषित कार्यक्रम सम्पन्न गरी फेरि नेपाल फर्कने पवीत्र उद्देश्यका साथ जापान आउन लागेका ज्ञवालीलाई बीच बाटामै तगारो लगाउनुको अर्थ जापानले नेपाललाई नपत्याएकै हो त ? यो घटनाले आयोजक संस्था नै गलत हो या ज्ञवालीको नियत खराब हो भन्ने कुराको प्रश्न उब्जाएको छ । साथै ज्ञवालीको जापान आगमनका लागि डकुमेण्ट तयार पार्नेदेखि लिएर खर्चको प्रायोजन गर्ने एनडिएफ जापानमाथि पनि प्रश्न तेस्र्याइदिएको छ ।
ज्ञवाली आउने दिन म पनि उनलाई लिन विमानस्थलमा गएको थिएँ । किनभने म आफैले सम्पादन गरेको सूर्योदय स्मारिकाको १९ तारिख आईतबार टोकियोमा भव्य कार्यक्रमको बीच उनैबाट विमोचन हुँदै थियो । एनडिएफ जापानको प्रचार विभाग प्रमुखका हैसियतमा सुरुमा देवी ज्ञवालीलाई जापान ल्याउने प्रस्ताव पनि मैले नै गरेको थिएँ । एअरपोर्ट जाने क्रममा आयोजक संस्थाका अध्यक्ष डा. दिलिपचन्द्र घिमिरे र पत्रकार कविकिरण न्यौपाने पनि संगै थिए । हङकङबाट ज्ञवालीलाई उडाएर ल्याएको क्याथे प्यासिफिक ल्याण्डिङ भईसकेपछि ज्ञवाली निस्कने बाटो ढुकेर हामीले उनलाई कुरिरहेका थियौं । अध्यक्ष डा.घिमिरे फूल लिएर उनलाई स्वागत गर्न तयारी हालतमा थिए । तर करिब ४५ मिनेटपछि दुईजना जापानीज हाम्रो सामु आए । अध्यागमनले ज्ञवालीलाई केरकार गरेको र ज्ञवालीले उपलव्ध गराएको अध्यक्ष घिमिरेको फोन नं.मा फोन नउठेपछि शंकाको घेरामा राखेको ती जापानीजको भनाई थियो । यसैले एकपटक भित्र अध्यागमन विभागमा सम्पर्क गर्न उनीहरुले सुझाव पनि दिए । उनीहरु हङकङबाट ज्ञवालीसंगै आएका रहेछन् । यो जानकारी आएपछि घिमिरे विमानस्थल सोधपुछ शाखा खोज्नपट्टि लागे । यहि बीचमा मेरो मोवाइलमा पनि भित्र अध्यागमनबाट फोन आयो । उसले घिमिरेलाई खोजेपछि मैले उनी यहाँ नभएकोले एकछिनपछि फोन गर्न लगाउँछु भनें । तर एकैछिनमा घिमिरेकै मोवाइलमा अध्यागमनबाट फोन आयो र उनीहरुबीच लामो कुराकानी भयो ।
यतिबेला रातको करिब १० बजिसकेको थियो । जहाज ल्याण्डिङ गरेको करिब एक घण्टाभित्र सबै मान्छे अध्यागमनको फलामे ढोका पार गरेर आफ्नो मान्छेको जिम्मामा आईसक्छन् । तर ज्ञवाली चाहि हाम्रो जिम्मामा आउनुको सट्टा उनकै विषयमा अध्यागमन अधिकारीसंग अध्यक्ष घिमिरेको ट्याकल चलिरह्यो । अध्यागमन अधिकारीहरुसित घिमिरेको फोनमा “ट्याकल” भईरहँदा त्यहिबेला एनडिएफका प्रमुख सल्लाहकार डा. राजेन्द्रप्रसाद पराजुलीले टोकियोबाट मलाई फोन गरे ।
“देवीजी निस्कनुभो बाहिर ?”–उनले सोधे ।
“अँहँ । अझै निस्कनुभा छैन । अल्लि अठ्यारो पार्ला जस्तो लाग्यो इमिग्रेसनले ।”– घिमिरेले फोनमा गरेको एकोहोरो वार्ता सुन्दा उनलाई यो जानकारी दिन मलाई अप्ठ्यारो थिएन । अक्सर फोन हुँदा रमाइला र मीठा कुरा गर्ने डा. राजेन्द्रको आवाज एकाएक नर्भस भएको पाएपछि मैले थपे,– “केहि उपाय लगाउनुपर्ला जस्तो छ ।” देवी ज्ञवालीलाई जापान बोलाएर स्मारिका विमोचन गर्न लगाउने प्रकृयामा उनी पनि निकै खटेका थिए ।
“किन देवी ज्ञवाली नै ल्याउने ? अरु नेता छैनन् र एमालेमा ?” केहि साथीले गर्ने प्रश्नमा उनी देवी ज्ञवालीको पक्षमा तत्काल प्रतिकृया दिने गर्थे, “विदेशमा हुने कार्यक्रममा अवसर नपाएको । भूगोलमा खटेको नेता अनि शालिन र बौद्धिक व्यक्तित्वका धनी । सधैं ठूला पदमा बसेका नेतालाई मात्रै विदेश ल्याउनुपर्छ र ?” डा. पराजुली स्मारिका प्रकाशन समितिका सदस्य पनि हुन् ।
अध्यागमन अधिकारीसंग भएको फोनवार्ता सकिएपछि डा. घिमिरे पनि अल्लि निराश जस्तै देखिए । उनले यतिमात्रै भने,“अझै अनुसन्धान गर्दैछन् । तर सजिलै छोड्ला जस्तो छैन ।” अल्लि अप्ठ्यारो स्थिति सिर्जना भईसकेपछि टोकियोमा रहेका सूर्य पाठक र सुन्दर पौडेल लगायतलाई पनि देवी ज्ञवालीको विषयमा “अपडेट” गर्ने काम भयो । यतिबेला रातको साढे ११ बजिसकेको थियो । राजदूत गणेश योन्जन तामाङलाई फोन गरेको उठेन । पछि उनैले घिमिरेलाई फोन गरेर ज्ञवालीको विषयमा जानकारी मागे । तत्काल राजदूतले अध्यागमनमा फोन गरेर केहि अप्ठेरो भएमा आफ्नो र नेपाली दूतावासको जिम्मामा ज्ञवालीलाई छाडिदिन आग्रह गरे । अध्यागमनबाट सकारात्मक जवाफ आएकोले करिब दश मिनेटपछि ज्ञवाली बाहिर निस्कने राजदूतबाट जानकारी आयो । यो बीचमा अन्य क्षेत्र र तरिकाबाट पनि ज्ञवालीलाई बाहिर निकाल्ने प्रयास जारि रह्यो । साथै भित्र अध्यागमन अधिकारीबाट समेत घिमिरेसंग फोनवार्ता भईरहेको थियो । त्यहिमाथि राजदूतले समेत “देवीजी अब बाहिर निस्कन लाग्नुभएको छ” भनिसकेपछि हामीले समस्या समाधान भईसकेको ठानेका थियौं ।
रातको १२ बज्यो । अन्तर्राष्ट्रिय उडान भरेर यात्रुलाई “रिसिभ” गर्न आएका मान्छेहरु विमानस्थलमा सबै सकिए । रेलसेवा बन्द भईसकेको थियो । हामी तीनजना मात्रै बाँकि थियौं । ज्ञवाली आउने आशा जीवितै भएपनि सबैको अनुहारमा निराशा झल्कन्थ्यो । उनलाई स्वागत गर्न ल्याएको फूल पनि ओइलाइसकेको थियो । यत्तिकैमा विमानस्थल सुरक्षार्थ खटिएको एक जना सेक्युरिटी गार्ड हामी भएतिर आए । आउनुपर्ने जहाजका यात्रु सबै “क्लियर” भएकाले हामीहरु त्यहाँ बस्नुको उद्देश्य ती गार्डलाई जान्न मन लाग्यो । उनलाई सबै कुरा बताएपछि कुरो जे सुकै भएपनि “यो ठाउँ क्लियर” गर्नुपर्ने उनको भनाई थियो । यसैले त्यो ठाउँ छाडेर अल्लि पर अर्कै ठाउँ खोज्नपट्टि लाग्यौं । यति नै बेला अध्यामगनबाट घिमिरेको मोवाइलमा फेरि फोन आयो । किनभने यो विषयमा घिमिरेले नै अध्यागमनसंग डिल गरिरहेका थिए । अध्यागमनले घिमिरेलाई यतिमात्रै भन्यो,“तपाईहरुको आवश्यक कागजात, चित्तबुझ्दो जवाफ र प्रोफाइलप्रति हामी सन्तुष्ट हुन सकेनौं । यसैले हामीले देवी ज्ञवालीलाई जापान छिर्न नदिई नेपाल पठाउने निधो गर्यौं । यो हाम्रो अन्तिम डिसिजन भयो । यसमा ज्ञवाली पनि मञ्जुर हुनुभयो । उहाँ भोली दिउँसोको उडानमा नेपाल फर्कदै हुनुहुन्छ । अब तपाईहरु जान सक्नुहुन्छ ।” अध्यागमनको यो निर्णयले हामी सबै निराश भयौं । केहि समयअघिसम्म ज्ञवालीको विषयमा अपडेट गरिरहेकाहरु चिन्ता मान्न थाले । अध्यागमनलाई चित्त नबुझेपछि जो जसुकैलाई पनि आवश्यक कागजात, चित्तबुझ्दो जवाफ र  प्रोफाइलप्रति असन्तुष्ट भनेर प्रतिकृया दिईन्छ । तर भित्री गुदो कुरोको लागि चाहि आत्मसमीक्षा गर्नैपर्ने हुन्छ ।
 देवी ज्ञवालीलाई प्रमुख अतिथि बनाएर नागोया र टोकियोमा गरिने कार्यक्रमको भव्य तयारी भईसकेको थियो । अतिथिहरुलाई निमन्त्रणा पुगिसकेको थियो । त्यहिमाथि संस्थाले निकाल्न लागेको सूर्योदय स्मारिकाको विमोचनका लागि नेपालबाट ल्याएको किताब र व्यानर समेत उहासंगै थियो । ज्ञवालीलाई बाहिर आउन नदिएपनि त्यो सामान दिनका लागि हामीले गरेको अनुरोध पनि अध्यागमनले मानेन । यति भईसकेपछि लडाईमा हारेर लखतरान भएको सिपाही झैं विमानस्थल छोड्नु बाहेक हामीसंग अर्को विकल्प थिएन । राती नै भएपनि चिन्ता र चासोले गर्दा एनडिएफ जापानका जिम्मेवार पदाधिकारीहरुलाई यी सबै कुराको जानकारी भयो ।
कोठामा पुग्दा रातको २ बजिसकेको थियो । एमाले महासचिव ईश्वर पोखरेल र पत्रकार विष्णु छिमेकीलाई औपचारिक रुपमा यो विषयमा प्रत्यक्ष जानकारी गराईयो । प्रधानमन्त्री झलनाथ खनाल र विदेश विभाग प्रमुख केपी शर्मा वलीसंग सम्पर्क हुन सकेन । यद्दपि उहाँहरुका निकटवर्तीका कारण खबर पुरयाउने काम भने भयो । भोलीपल्ट विहानै भएपनि  एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई जानकारी गराईयो । जापान अध्यामगनले यो डिसिजन गरेपनि उहाँहरुलाई जानकारी गराएको खण्डमा नेपालस्थित जापानी दूतावासबाट देवी ज्ञवालीलाई कार्यक्रममा सहभागि गराउन सकिन्छ कि भन्ने झिनो आशा बाँकि नै थियो हामीमा । रात छिप्पिदै गईसकेकाले यो सम्भव चाहि थिएन । हामी कसैलाई निद्रा त लागेकै थिएन, त्यहिमाथि त्यो रात हामीले नेपाल र जापानमा रहेका धेरै मान्छेका मीठो निद्रा खल्बलाएर अन्याय गरिरहेका थियौं । राजधानी टोकियोमा रहेका संस्थाका पदाधिकारीहरुको हालत पनि उस्तै थियो । एमालेकै कोटामा राजदूत भएर जापान आएकै कारणले होला, राजदूत योञ्जनको तनाव पनि कम्ति थिएन । सबैको तनावले काम गर्न छाडेपछि भोली विहान कुर्नुबाहेक अर्को उपाय भएन । भोलीपल्ट शुक्रबार विहान पनि नेपालदेखि जापानसम्म उहाँलाई छुटाउन निकै पहल भए । तर विहानै जापानी समय अनुसार १०ः१५ को उडानबाट उहाँ जाने पक्का भएपछि थप प्रयास गर्न छाडि यो “युद्ध” हारेको बल्ल स्वीकार गरियो । उहाँको उपस्थितिमा हुने सबै कार्यक्रम “प्राविधिक कारणबश” स्थगित गरेको सूचना जारी भयो । तर यो जारी सूचनासंगै जापानवासी आम नेपालीका माझमा कौतुहलता बढ्दै थियो, आखिर किन यस्तो भयो होला ? भन्ने ।
देवी ज्ञवाली नेपाल फर्किएको पक्का भएपनि उहाँबाटै यो विषयमा आधिकारिक कुरा नआएसम्म खबरलाई सनसनी बनाउनु आवश्यक पनि थिएन । किनभने त्यत्तिको जिम्मेवार नेताले पक्कै अध्यागमन अधिकारीसंग पनि आफ्नै खालको ट्याकल गरेको हुनुपर्छ र सजिलै नेपाल फर्किनुभएको छैन भन्ने हामीलाई लाग्यो । यसको लागि शुक्रबार मध्यरातको समय कुर्नुपर्ने भयो । किनभने उहाँ शुक्रबार रातीमात्रै नेपाल पुग्ने कुरा अध्यागमनबाट जानकारी पाएका थियौं । त्यस रात उहाँको फोन लागेन । जापानी समय अनुसार शनिवार विहान ९ बजे उहाँसंग कुरा भयो । संयोग के परेछ भने कुक भीसामा टोकियो आएका एकजना चितवनका वासिन्दा पनि अर्को ठाउँमा काम गरेवापत अध्यागमन प्रहरीले पक्राउ गरेपछि नेपाल फर्केका रहेछन् । ज्ञवाली र उनको हङकङमा भेट भएको रैछ । यसरी फर्केकाहरु नेपालको अध्यागमनको निगरानीमा समेत पर्दारहेछन् । ती कर्मचारीले उनीहरुको कागजपत्रका आधारमा विदेशमा गरेको गल्तीको कसुर जाँचेपछि मात्रै त्रिभुवन विमानस्थल पार गर्न पाईने रहेछ । राती ती कर्मचारी विमानस्थलमा नभएका कारण ज्ञवाली र अर्का नेपालीको वास त्रिभुवन विमानस्थलमै वित्यो । शनिवार विहान ११ बजे अध्यागमन कर्मचारी आएपछि मात्रै उनीहरु बाहिर निस्केका थिए । पक्कै हङकङदेखि नेपालसम्मको यात्रा, अनि रातभरको विमानस्थलको वसाइका बेला ती नेपालीबाट जापानका नेपालीको अवस्थाबारे धेरै कुरा बुझ्ने अवसर ज्ञवालीले पाए ।
ज्ञवालीका अनुसार सुरुमा आयोजक संस्था र अध्यक्ष घिमिरेको प्रोफाइलमाथि प्रश्न उठाएको अध्यागमनले अन्त्यमा गएर जापानमा रहेका अन्य नेपाली समुदायका गलत क्रियाकलापमाथि बढि चासो देखाउँदै उनलाई पनि त्यहि दर्जामा राखेको प्रष्ट हुन्छ । तर अध्यक्ष घिमिरेले यसरी संस्थाको नाममा कोहि पनि जापानमा लुकिछिपी बसेको आफ्नो जानकारीमा नआएको बताए । एनडिएफ जापान र आफ्नो नाममा जमानी बसेर कोहि पनि यहाँ लुकिछिपि नबसेको घिमिरेको दावी छ । तर अध्यागमनको आशय शुरुमा विभिन्न कार्यक्रमको बहाना बनाएर कुनै संस्थाको आयोजना र प्रायोजनमा नेपाली जापान छिर्दा रहेछन् । अनि केहि समपछि “माओवादी पीडित” या अरु कुनै बहाना बनाएर शरणार्थी बन्ने लहर नै चलेको रहेछ । यस्ता नक्कली शरणार्थीहरुका कारण नै ज्ञवालीलाई जापान छिर्न अल्लि अप्ठेरो भएकै हो । राजदूतका अनुसार पनि जापानमा शरणार्थी मुद्धा लडिरहेका नेपालीको संख्या करिब १७० रहेको छ ।
तर देवी ज्ञवालीको हकमा चाहि जापानको अध्यागमनले एनडिएफ जापानको प्रोफाइललाई गलत ढंगले बुझेको र अध्यागमन कार्यालयमा भाषा अनुवाद गर्नेले त्यहाँका अधिकारीलाई पनि गलत तरिकाले व्याख्या गरेको अध्यक्ष घिमिरेको तर्क छ । अरु सबै कुरामा सम्झौता गर्न सकिएपनि अन्तमा आयोजकसंग पर्याप्त आर्थिक स्रोत नभएको भन्ने कारण देखाउनु भनेको ज्ञवालीलाई जापान छिर्न नदिने अध्यागमनको एउटा बहानाका रुपमा लिन सकिने उनको भनाई छ । उनीसंग रातो पासपोर्ट पनि थिएन ।  साधारण राहदानीका भरमा जापान आउँदा ज्ञवालीसंग भने १ सय ३० अमेरिकी डलर र १० हजार जापानी येन मात्रै थियो आयोजकले खाने, बस्ने र यातायात खर्च बेहोर्ने अवस्थामा देवी ज्ञवालीले आफ्नो साथमा ल्याएको यो रकमलाई पकेट खर्च को रुपमा केहि दिन जापान बस्न पर्याप्त नै मान्नुपर्दछ । ।किनकि ज्ञवालीलाई नेपालबाट बोलाएर जापानमा रहँदा हुने खर्च गर्नका लागि पनि एनडिएफसंग पर्याप्त आर्थिक स्रोत रहेको अध्यक्ष घिमिरे बताउँछन् । साथै पछिल्लो समयमा गएको जनवरीमा पनि एनडिएफकै निमन्त्रणामा एमाले महासचिव ईश्वर पोखरेल, अनेमसंघ सचिवालय सदस्य मीरा ध्वजु, एमाले सम्पर्क विभाग सचिव डा. भीष्म अधिकारी जापानमा कार्यक्रम गरि नेपाल फर्किएका थिए । यसपछि पनि आफ्नो व्यक्तिगत निमन्त्रणामा परिवारका मान्छेहरु जापान आई नेपाल फर्किएको घिमिरेले बताए । त्यसो त डा. घिमिरे पनि जापानमा “प्रोफेसर स्टाटस” भएका मान्छे हुन् । “ज्ञवालीले पनि परिचय खुल्ने सबै कागजात बोकेको, उहाँसंग पनि केहि पैसा रहेको र स्वमय् दुतावास जमानी बसेर नेपाल फर्काउँछु भन्दा पनि अध्यागमन तयार नभएको, ज्ञवालीसंग दुतावास र आयोजकलाई दोहोरो संवाद गर्न नदिएको कारण अध्यागमन र हामीबीचको बुझाइमा केहि समस्या भएकैले उहाँलाई जापान प्रवेश गर्न नदिएको भन्ने तत्कालको हाम्रो बुझाई छ ।” ज्ञवाली नेपाल फर्कनुको कारण प्रष्ट्याउँदै उनले निकालेको विज्ञप्तिमा उल्लेख छ । अहिले सरकारमा रहेको कम्युनिष्ट पार्टीको केन्द्रीय नेताको रुपमा चिनाउँदा अध्यागमनले चाहि ज्ञवालीलाई “माओवादी” का रुपमा बुझेको घिमिरेको भनाई थियो ।
अध्यागमनले धेरै शंका गर्न थालेपछि अन्तिममा फोनमा भएपनि राजदूत र आयोजकलाई भेट्न ज्ञवालीले निवेदन गरे । तर यसो गर्न पनि दिईएन । “त्यसो भए एक घण्टाका लागि मात्रै भएपनि मलाई बाहिर गएर आयोजकलाई भेट्न दिनुहोस्” भन्ने ज्ञवालीको अनुरोध पनि अध्यागमनले मानेन ।
“तपाई जापान छिर्नको लागि अब अपिल गर्नपर्छ ।” अध्यागमनले भन्यो । “अपिलको सुनुवाइ कहिले हुन्छ त ?” ज्ञवालीले प्रश्न गरे । “सामान्यतया छ महिनाभित्र” अध्यागमनबाट जवाफ आयो । त्यसोभए एनडिएफको कार्यक्रममा सहभागी हुन नपाए अपिलको कुनैपनि अर्थ नहुने भन्दै ज्ञवाली नेपाल फर्कन मञ्जुर भएका रहेछन् । किनभने उनलाई तत्काल एमालेकै मिटिंगमा सहभागी हुनुथियो । जापानको त्यो रात ज्ञवालीले अध्यागमनकै एक्लै एउटा कोठामा विताए । उनलाई खानेकुराको व्यवस्था गरिएको थिएन । 
ज्ञवालीलाई फर्काइएको घटनाबाट एनडिएफ जापान जिम्मेवार हुनैपर्छ, यसमा दुईमत छैन । तर राजनीतिक आस्थाका आधारमा यो घटनालाई “खुच्चिङ” भन्नुको चाहि कुनै अर्थ छैन । किनभने यसअघि माओवादी नेता सीपी गजुरेललाइ पनि यसैगरि नागोया विमानस्थलमा रोकिएको थियो, पछि राजदूत नै जमानी बसेर उनलाई छाडेका थिए । देवी ज्ञवालीका लागि पनि राजदूत जमानी बस्न खोजेका हुन् ।
यो समस्या आउनु भनेको नेपालको राजनीतिक नेतृत्वलाई जापान सरकारले हेर्ने दृष्टिकोणमा कमी आएकै हो । नेपालीे राजनीतिमा इमान्दारिता भएको भए नेपालका नेतालाई जापानको यो बेइमानी हुने थिएन । देवी ज्ञवालीले पनि यो कुरो बुझ्नु जरुरी छ । संगसंगै जापानमा रहेका नेपाली समुदायले जापान सरकारको विश्वास नजितेकै हुन् । किनभने नेपालीको समग्र प्रोफाइल पनि सन्तोषजनक छ जस्तो लाग्दैन । जापान बस्नकै लागि नक्कली शरणार्थीको कागज पेश गरेर अध्यागमनलाई छक्याउने खेल त नेपालीबाट भएकै छ, त्यहिमाथि नेपाली तथा इण्डियन रेष्टुरेण्टमा काम गर्ने कामदारहरुले श्रम अनुसारको ज्याला पाएका छैनन् । यस प्रकारका थुप्रै उजुरीहरु एनआरएनदेखि मजदुरका संगठनसम्म आएपनि जापानका “गन्यमान्य” समेत मुछिने डरले सबै मौन छन् । अनि “दले” को फन्दामा परि जापान आउन चर्को पैसा तिर्नेहरुको जमात पनि यहाँ कम छैन । अब यहाँका नेपाली समुदायबाट भएका गल्तीलाई दूतावासको पहलमा बेलैमा समाधान गर्न जरुरी छ । खराब नियतले जापान छिर्नेका लागि “मानव तस्करीहरु” ले अनेक चोरबाटाहरु त रचिहाल्छन् । तर यहि अवस्था रहेमा देवी ज्ञवाली झैं असल नियतले जापान आउन खोज्नेहरुका लागि भने “धान खाने मुसो, चोट पाउने भ्यागुतो” भईरहन्छ । 
नेपालको शान्ति प्रकृयामा जापानमै रहेर विद्यावारिधी गरिरहेका सूर्य पाठक यो घटनाले गरीब र कमजोर देशको नागरिकलाई स्वतन्त्रता र मानव अधिकारको प्रयोग गर्ने अधिकारबाट सभ्य देशले वञ्चित गरिरहेको बताउँछन् । “कमजोर र गरीब देशको नागरिक हुनुको पीडा कस्तो हुन्छ, शायद परदेशमा बसेका नेपालीलाई अनुभूति छ । किनभने ठूला देशको व्यवहारमा नेपाली त नागरिक नै होइनन् जस्तो भईसक्यो ।” एमालेका नेता समेत रहेका पाठकको तर्क छ ।
एनडिएफ जापानभित्र देवी ज्ञवालीको विषयलाई लिएर पदाधिकारीहरुबीच सल्किएको “भुसको आगो” निभाउने पहल कसैबाट भएको छैन । समय बढ्दै जाँदा यसको नैतिक जिम्मेवारी पनि कसैले लिएका छैनन् । अध्यागमनले त देवी ज्ञवालीलाई प्रष्ट कारण सहित फर्काइदिएको छ । कसैलाई एअरपोर्टपाटै फर्काउनु वा भीसा नै नदिनु भनेको सम्बन्धित संस्था र स्पोन्सर गर्ने व्यक्तिको प्रोफाइल गलत हुनु, चित्तबुझ्दो जवाफ अधिकारीलाई दिन नसक्नु र आवश्यक कागजात र पैसाको कमी हुनु नै साझा कारण हो । यसको आधार के त ? आत्मसमीक्षा हुनु जरुरी छ । अध्यागमन अधिकारीको भनाई उद्दृत गर्दै देवी ज्ञवालीले भने “एनडिएफ जापानका अध्यक्षले यस अघि नै अरु कसैलाई बोलाएर जापानमा लुकाइ छिपाइ राखेका रहेछन् । यहि भएर मलाई समेत जापान छिर्न समस्या परयो ।”  साथै घिमिरे र ज्ञवाली स्वयम्ले अध्यागमन अधिकारीलाई चित्तबुझ्दो जवाफ दिन नसकेकै हो ।  यतिसम्म कि जापानमा कहाँ बस्ने, के गर्ने, भन्ने सम्बन्धमा डा घिमिरे ले  “सेड्युल” पेपर बनाएर नपठाउँदा पक्कै दुई जनाबीचको कुरा बाझिएको अनुमान गर्न सकिन्छ । अध्यागमन अधिकारीले देवी ज्ञवालीसंग प्रश्न गरिरहँदा न उनीसंग धेरै पैसा थियो, न त सेड्युल पेपर र होटल बुकिङ अनि क्रेडिट कार्ड नै । पटक पटक विदेश गएको र आर्थिक स्तर राम्रो भएको नेताले यी सबै कुरा आफै जुटाउन सक्थ्यो होला, तर देवी ज्ञवाली जस्ता नेताबाट यो सम्भव पनि थिएन ।

2 comments:

  1. राम्रो

    ReplyDelete
  2. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

    ReplyDelete