• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, March 12, 2011

    जापानमा ८.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प


    जापानमा शुक्रबार शताब्दीकै शक्तिशाली भूकम्प गएको छ । भूकम्प र त्यसका कारणलगत्तै आएको सुनामीबाट कम्तीमा ३ सयको मृत्यु भएको छ । स्थानीय समयअनुसार दिउँसो पौने ३ बजे राजधानी टोकियोबाट ३ सय ७३ किलोमिटर उत्तरपूर्वी भागमा केन्द्रविन्दु भएको ८ दशमलव ९ रेक्टर स्केलको भुइँचालो गएको हो । 
    प्रहरीका अनुसार सेन्डाई सहरमा मात्रै २ सयदेखि ३ सय शव फेला परेका छन् । अरू धेरै हराइरहेका छन् । जेनेभास्थित रेडक्रसले भूकम्पका कारण प्रशान्त क्षेत्रमा उठेको सुनामी त्यस क्षेत्रका टापुहरूभन्दा पनि अग्लो हुन सक्ने चेतावनी दिएको छ । 
    जापानमा शुक्रबार गएको ८.९ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट सबैभन्दा प्रभावित सेन्डाई सहरस्थित विमानस्थलमा सुनामीले बगाएर थुप्य्राएका हवाईजहाज, गाडी र अन्य भग्नावशेषहरू ।
    सेन्डाई सहरस्थित विमानस्थलमा सुनामीले बगाएर थुप्य्राएका 
    हवाईजहाज, गाडी र अन्य भग्नावशेषहरू । फोटो: एपी/रासस
    शक्तिशाली समुद्री छाल जापानको मियागी र फुकुसिमा क्षेत्रमा पसेको छ । त्यस क्षेत्रका दर्जनौं तटवर्ती बस्ती ध्वस्त भएका छन् । जापानी समाचार संस्था क्योदोका अनुसार १० मिटर अग्लो छालले मियागीस्थित सेन्डाई सहर छोपेको थियो । पानीको छालबाट बँच्न मोटरहरू बेसरी कुदिरहेको दृश्य टेलिभिजनले देखाएका थिए । टोकियो प्रहरीका अनुसार एउटा विदेशी यात्रुबाहक रेल हराइरहेको छ । त्यसमा कति यात्रु थिए भन्ने खुलेको छैन । एक सय यात्रु बोकेको अर्को जहाज छालले बगाएको पनि प्रहरीले जनाएको छ । 
    फुकुसिमा आणविक ऊर्जा केन्द्रको चिस्यान प्रणाली भूकम्पका कारण बन्द भएपछि त्यहाँ संकटकाल घोषणा गरिएको छ । मानिसलाई अन्तै सार्न थालिएको छ । भूकम्पको सबै क्षति यकिन हुन सकेको छैन् । सडकहरू पूरै भत्किएका छन् । टोकियोमा एक शैक्षिक समारोह भइरहेको भवनको छत खस्दा २० मानिस घाइते भएका छन् । 
    भूकम्पका कारण समुद्री छाल उर्लिएर आउन थालेको छ । छालले धानखेत बगाएको छ भने सहरहरू पूरै डुबाएको छ । उर्लिएको समुद्रले घरैसमेत उप्काएर सडकमा ल्याइदिएको छ । भूकम्पका कारण ८० भन्दा बढी ठाउँमा आगलागी पनि भएको छ । धक्काले मोटर र कारलाई खेलौनाजत्तिकैहुर्‍याइदिएको थियो । 
    जापानी प्रधानमन्त्री नाओटो कानका अनुसार प्रभावित क्षेत्रहरूमा आपतकालीन उद्धार सुरु भएको छ । रेडियो विकिरण ऊर्जा केद्रमा कुनै क्षति नपुगेको र ऊर्जा विकिरण नचुहिएको प्रधानमन्त्रीले बताएका 
    छन् । भूकम्पको केन्द्र नजिकैका ४ आणविक केन्द्र सुरक्षापूर्वक बन्द गरिएका छन् । तर फुकुसिमा आणविक ऊर्जा केन्द्रछेउका २ हजार परिवारलाई अन्यत्र जान भनिएको छ । लगातार जमिन हल्लिन थालेपछि आत्तिएका जापानी सडकमा निस्किएका थिए । कार्यालय र विद्यालयहरू तत्काल बन्द गरिएका थिए । बच्चाहरू बाटोमा रोइरहेका देखिन्थे । 
    भुइँचालोले पुलमाथि गुडिरहेका कार हावाले पत्कर उडाएजस्तै उडाएर नदीमा खसालिदिएको थियो । पानीमा कागजको डुंगा तैरिएजस्तो थुप्रै कार र जिपहरू तैरिँदै बगेका थिए । 
    भूकम्पमा भत्किएका भग्नावशेष हावामा ज्वालामुखीको लाभाजस्तै उडेका थिए । यसरी हावामा भग्नावशेषले डुंगा, घर र होर्डिङबोर्डलाई धक्का दिएका थिए । टोकियो र आसपासका सहरका ४० लाखभन्दा बढी घर बिजुली, पानी र टेलिफोन अवरुद्ध भएका छन् । टोकियो नजिकको तेल कारखानामा लागेको आगो निभाउन हम्मे परेको थियो । भूकम्प गएको घन्टौंपछिसम्म पनि सानातिना कम्पनहरू भइरहेका थिए । तीन घन्टाको बीचमा कम्तीमा ३० धक्का गए । सबभन्दा ठूलो धक्का ७ दशमलव १ रेक्टर स्केलको थियो । 
    अघिल्लो बिहीबार पनि जापानकै होंसु टापुमा ६ दशमलव ३ रेक्टर स्केलको भुइँचालो गएको थियो । बिहीबार त्यही क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको भुइँचालो गएको थियो । अहिलेसम्मको अभिलेखअनुसार चिलीमा सन् १९६० को मे २२ मा गएको भुइँचालो हालसम्मकै सबैभन्दा ठूलो हो । त्यो ९ दशमलव ५ रेक्टर स्केलको थियो । जापानमा शुक्रबार गएको भुइँचालो सन् १९०० पछिको सबभन्दा शक्तिशाली हो । 
    जापानमा पटक-पटक भूकम्प जाने गरेपछि शुक्रबारको भूकम्पले सबैलाई स्तब्ध पारेको छ । 
    'यो भुइँचालो अनुमानै गर्न नसकिने गरी आयो र धेरैबेर धेरै पटक दोहोरियो,' टोकियोका एक बासिन्दाले भने, 'मेरी पत्नी भुइँचालो जाँदा अहिलेसम्म डराएकी थिइनँ, तर आज आत्तिँदै झ्याल ढोका खोलिन् र घरै भत्किन लाग्यो भने भाग्नुपर्छ पनि भनिन् ।'  
    भुइँचालोपछि घरबाहिर निस्केका टोकियोवासी अझै भित्र पसेका छैनन् । 
    'सुरुमा त मलाई डर लागेन तर पछि भुइँचालो गएकोगयै गर्न थाल्यो,' मध्य टोकियोका अमेरिकी नागरिक मिचेल रोबर्टसले भने, 'पछि त साँच्चै डर लाग्यो, म बस्ने तेस्रो तलामा भएका सबै सरसामान छरिबरि भयो, धन्न हामीलाई केही भएन ।' अमेरिकी राष्ट्रिय मौसम केन्द्रले भूकम्पका कारण कम्तीमा ५० देशमा सुनामी आउन सक्ने जनाएको छ । सुनामीले प्रशान्त सागरमा चाहिँ भीषण छाल उर्लिन थालेको छ । 
    फिलिपिन्समा शनिबार बिहानै सुनामी पुग्ने अनुमान छ । त्यहाँको सरकारले तटवर्ती क्षेत्रका बासिन्दालाई अन्तै सर्न भनिसकेको छ । फिलिपिन्सजस्तै ५० देश र आसपासका क्षेत्रमा सुनामीको खतरा छ । रुसदेखि इन्डोनेसियासम्मै सुनामीको असर पर्ने मौसमविद्हरूले बताएका छन् । मध्य अमेरिकी मुलुक ग्वाटेमाला, एल सालभाडोर र कोस्टारिका साथै अमेरिकाको हवाई राज्यमा आपतकालीन साइरन बजाइएको छ । 
    अमेरिका र क्यानडाको तटवर्ती इलाकामा पनि यस्तै साइरन बजाइँदैछ । 
    केही मौसमविद्ले त प्रशान्त क्षेत्रका टापुका टापु नै सुनामीले उडाइदिन सक्ने चिन्तासमेत व्यक्त गरेका छन् । जापानमा प्रभावित क्षेत्रका मानिससमक्ष पुग्न मानवीय सहयोग निकायहरू उद्धारकर्तासँग सहकार्य गरिरहेका छन् । 
    'यस्तो भुइँचालोले जापानजस्तो देशमा त यतिका क्षति पुर्‍याउन सक्छ भने फिलिपिन्स र इन्डोनेसियाजस्तो देशमा गयो भने के होला भन्ने हाम्रो चिन्ता छ,' राहत कार्यमा लागेको अन्तर्राष्ट्रिय संस्था वल्र्ड भिजनका प्रवक्ता राचेल वल्फले भनिन् । उनका अनुसार वल्र्ड भिजनले जापानका भूकम्प पीडितलाई सहयोग गरिरहेको छ भने सुनामी आउने ठानिएका देशहरूमा पनि उद्धार टोली जुटाउन थालेको छ । 
    सुनामी भनेको शृंखलाबद्ध सामुदि्रक आँधी हो, जो कम्तीमा ५ देखि १५ मिनेटसम्म रहन्छ । यसले तटवर्ती इलाकामा ठूलो बाढी ल्याउँछ ।(http://www.ekantipur.com/np/2067/11/28/full-story/326299.html)


    नेपाली सुरक्षित

    होम कार्की


    जापानमा भूकम्प र त्यसपछि आएको सुनामीबाट नेपाली सुरक्षित छन् । सुनामीले सबैभन्दा बढी क्षति पुर्‍याएको सेन्डाई सहरमा झन्डै सय नेपाली विद्यार्थी सुरक्षित रूपमा बसिरहेका छन् । 
    मुख्य प्रभावित सेन्डाईबाट सम्पर्कमा आएका विद्यार्थी गोर्खाका राजेश थापाका अनुसार त्यस क्षेत्रमा अध्ययनरत विद्यार्थी एकै ठाउँमा भेला भइरहेका छन् । 'हामी समुद्री तटभन्दा टाढा रहेकाले छालले भेटेन । छाल झन्डै १० मिटरमाथिसम्म पुगेको थियो,' शुक्रबार राति उनले भने, 'जापानीसँगै झन्डै ५०/६० नेपाली विद्यार्थी कलेज चउरमा बसिरहेका छौं ।' 
    गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष चितवनका भूषण घिमिरेका अनुसार राति १० बजेसम्म नेपालीलाई क्षति पुगेको विवरण प्राप्त भएको छैन । 'प्रभावित क्षेत्रमा बस्दै आएका नेपालीसँग सम्पर्क भइरहेको छ,' उनले फोनमा कान्तिपुरलाई भने ।
    जापानस्थित नेपाली दूतावासले पनि त्यहाँ रहेका नेपाली संघसंस्थाबाट नेपालीको अवस्थाबारे विवरण लिइरहेको छ । भूकम्पबाट मुख्य प्रभावित क्षेत्र सेन्डाई हो । त्यस क्षेत्रमा विद्यार्थी मात्रै रहेको उनले जनाए । 'यहाँ कृषि उत्पादन बढी हुन्छ, नेपालीलाई काम गर्ने अनुमति छैन,' उनले भने, 'विद्यार्थी सम्पर्कमा आइसकेका छन् ।' 
    जापानको अध्यागमन विभागका अनुसार सन् २००९ सम्म नेपालीको संख्या १५ हजार २ सय ५५ छ । घिमिरेका अनुसार यो संख्या बढेर २० हजार पुगेको अनुमान छ । जापानमा नेपाली बढी होटल क्षेत्रमा काम गर्छन् । त्यहाँ व्यवसाय गर्दै आएका नेपाली पनि धेरै छन् । 
    सेन्डाईबाट दोस्रो प्रभावित क्षेत्र टोकियो हो । त्यसबाहेक नागोया, ओसाका सहरमा पनि बढी असर परेको छ । 'टोकियोमा पनि नेपाली दाजुभाइलाई असर परेको छैन,' उनले भने, 'सबैजनाले सतर्कता अपनाइरहेका छन् ।' 
    'नेपालीहरू खुला पार्किङमा बसिरहेका छौं,' कोइबामा रहेका हेटौंडाका कमल अधिकारीले शुक्रबार राति फोनमा भने, 'निकै त्रास छ, स्थिति भयावह छ । जापानीहरू एकअर्काका हात समातेर रोइरहेका छन् ।' उनीसँग कुराकानी भइरहँदा माइकिङ भइरहेको आवाज थियो । 'सरकारी अधिकारीले सुरक्षित हुने उपाय सुनाइरहेका छन्,' उनले भने, 'हामीलाई ग्यास बन्द गर्न भनिएको छ । खुला ठाउँमै बस्न अनुरोध गरिएको छ ।'
    जापानमा होटल व्यवसायी गर्दै आएका बागलुङ दीपक सुवेदी र हरि पोखरेलका अनुसार पनि नेपालीलाई क्षति पुगेको जानकारी रातिसम्म आएको छैन । योकोहामामा रहेका भक्तपुर ठिमीका हरि खड्काले सहरमा पानी, बिजुली र ग्यास केही नभएको जानकारी दिए । 'दस-दस मिनेटमा भुइँचालो गइरहेको छ,' उनले भने, 'यहाँ सुनामी भने आएको छैन ।' 
    नेपालीले चलाएको रेस्टुरेन्टमा काम गर्ने खड्काले त्यसका साहू बुद्धि तिवारी, उनकी श्रीमतीलगायत एउटै भवनमा रहेको र सबै सुरक्षित रहेको बताए । सिन्जुकुमा काम गर्ने आफ्नो छोरालगायत आफूलाई थाहा भएका सबै नेपाली सुरक्षित रहेको उनले जानकारी दिए । 'यताबाट फोन लाग्दैन,' उनले भने, 'जापानमा भूकम्प गइरहने भएकाले र सुनामीको प्रभाव नपरेकाले डराउने स्थिति छैन ।' 
    उनीसँगै बस्ने तनहुँ दमौलीका विश्वनाथ खनालले ३ बजे भूकम्पले रेस्टुरेन्टका सबै टेबुल पल्टाएपछि आफूहरूले थाहा पाएको बताए । 'करिब १५ मिनेट पीपलको पात हल्लिएजस्तो घरहरू हल्लिए,' उनले भने, 'तर दह्रो गरी बनाएका हुँदा रहेछन्, केही भएन ।' पाँचौं तल्लामा बसेका उनले रमाइलो गर्दै भने, 'चाल्नामा चालेजस्तै हल्लिएर बसिरहेका छौं तर सुरक्षित छौं ।' (http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=238205)


    जापानमा नेपाली सम्पर्कभित्र

    देवेन्द्र भट्टराई


    जापानमा शुक्रबार बेलुकी आएको महाभुकम्पका कारण बिचल्ली बेहोर्ने नेपालीको स्थिति पहिचान गर्न भूकम्प तथा सुनामी प्रभावित पीडित नेपाली सहयोग समिति गठन गरिएको छ ।
    टोकियोस्थित नेपाली दुतावासका उपनियोग प्रमुख डा.दुर्गाबहादुर सुवेदीको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष लालबहादुर केसी रहेका छन् । समिति सदस्यहरुमा भुषण घिमिरे, गोबिन्द श्रेष्ठ, अरुणकुमार श्रेष्ठ, किरणबिक्रम थापा, राजन प्रधानाङ्ग, भवन भट्ट, सरोज कूडेललगायत छन् । 'भुकम्प र सुनामीमा सबैभन्दा बढी प्रभावित फुकुसिमा र सेन्डाइमा केही नेपाली बिद्यार्थी, होटल व्यवसायी र भर्खरै गएका प्रशिक्षार्थी कामदार समेत रहेको थाहा भएको छ,'संयोजक सुवेदीले कान्तिपुरसंग फोनमा भने-'उनीहरु सुरक्षित तवरमा एउटा खुला चौरमा बसेका छन्, जापान सरकारले खाद्यान्न राहत उपलब्ध गराएको छ ।' समाचारमा आएजस्तो नेपालीहरु धेरै रहेको नागोया र ओसाका शहर भने असुरक्षित नरहेको उनले बताए । 
    एनआरएनका उपाध्यक्ष एवं बिद्यार्थी प्रतिनिधि भुषण घिमिरेका अनुसार जापानमा रहेका १ लाख अमेरिकी सेना पनि अहिले पीडितको राहत तथा उद्वारमा जुटेका छन् । 'सेन्डाइ शहरमा रहेका भाषा पढ्ने बिद्यार्थीमा केही सम्पर्कमा आएका छैनन् तर यसो भन्दैमा बेपत्ता भएको भन्न मिल्दैन । एकदिनदेखि बिजुली समेत नरहेको शहरमा मोबाइल चार्ज गर्न नपाएको अवस्था सृजिएको हुन सक्छ,'घिमिरेले भने । जापानमा पछिल्लो तथ्यांकअनुसार २० हजार जति नेपाली रहेकोमा शनिबार अपरान्हसम्ममा कोही हताहत भएको जानकारी दुतावासमा आएको छैन । राजधानी टोकियोमा ५ रेक्टरको मात्रै भुइचालो आएकाले युवाते, मियागी, फुकुसिमा, सेन्डाइजस्तो ठूलो क्षति र हताहत स्थिती समेत नरहेको दुतावासले जनाएको छ ।   


    भूकम्पले विश्वभर बिमा सेयरमा गिरावट



    जापानमा गएको शक्तिशाली भूकम्पका कारण विश्वव्यापी रूपमा बिमा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ठूलो क्षतिको मूल्य धेरै भुक्तानी गर्नुपर्ने भएकाले बिमा कम्पनीको आम्दानीको ठूलो हिस्सा त्यता खर्च हुनेछ । एसियाली र युरोपेली सेयर बजारमा समेत बिमा कम्पनीको मूल्यमा गिरावट आएको छ । डलरको तुलनामा जापानी ऐन कमजोर भएको छ । सिंगापुर, जर्मनी, बेलायत र प|mान्समा बजार निकै घटेको छ । फ्याकर्फटको बिमा कम्पनी म्युनिक रीको सेयर ५.३ प्रतिशतले गिरेको छ । यसैगरी एलियान्जको १.७ प्रतिशतले घटेको छ । उता स्विस  री र ह्यानोभर रीको ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । 
    सिंगापुरका विश्लेषक डेभिड कोहेन जापानी येन लगानीकर्ताका लागि सुरक्षित रहे पनि भयानक भूकम्पका कारण डलर मजबुत हुने बताउँछन् । एचएसबिसी बैंकको एसिया तथ्यांक प्रमुख अर्जना महेन्द्रन यसले येनमा लामो समयसम्म असर देखाउने बताउँछन् । 'जापानका ठूला बिमा कम्पनी र पेन्सन कोषले बाहिर गरेका लगानी फिर्ता ल्याउनेछन्,' उनले भने, 'भूकम्पको क्षति ठूलो छ । त्यसलाई बनाउन वैदेशिक लगानी भित्र्याउनैपर्छ ।' विश्लेशक कोहेनले जापानको कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशतले गिरावट ल्याउन सक्ने अनुमान गरे ।
    भूकम्पको क्षतिका कारण औद्योगिक उत्पादनमा ह्रास आउने उनले बताए । ठूलो इलेक्ट्रोनिक्स कम्पनी सोनीका ६ मध्ये उत्तरी क्षेत्रको मियागीमा रहेका ४ र फुकुसीमामा रहेका २ उद्योगले भूकम्पका कारण उत्पादन बन्द गरेका छन् । 'सबै उद्योगबाट अहिलेलाई उत्पादन बन्द गरिएको छ,' कम्पनीको सूचना विभागका सु ताङकाले भने, 'कहिलेदेखि पुनः उत्पादन थालिनेछ भन्न सक्ने अवस्था छैन ।' टोयोटा कम्पनीले आपतकाल लगाएर उत्पादन बन्द गरेको छ । कर्मचारीलाई सुरक्षित स्थलतिर सारेको छ । 
    एउटा तेल प्रशोधन कारखानामा आगो लागेको छ । बिजुली काटिएका छन् ।  योकोहामा नजिकै रहेको बन्दरगाहमा सुनामीले ठूलो क्षति पुर्‍याएको छ ।(http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=238230) 


    जापानको जस्तै भूकम्प गए के होला ?

    जापानमा शुक्रबार गएको जस्तै भूकम्प गयो भने काठमाडौंमा मात्र दुई लाखभन्दा बढीको मृत्यु र दुई लाखभन्दा बढी घाइते हुने आँकलन छ । देशभरिमा मृतकको संख्या करिब चार लाख नाघ्ने र चार लाख घाइते हुने अनुमान गरिएको छ ।
    'यो एक मिनेटको थकर्नपछि हुने दैवीप्रकोपको आँकलन हो,' भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक भूकम्पविद् आमोदमणि दीक्षित भन्छन्, 'अस्पतालमा आकस्मिक उपचार दिने व्यवस्थासमेत हुँदैन ।' विज्ञहरू भूकम्पीय जोखिमको दृष्टिले नेपालजस्तो संवेदनशील मुलुकमा पूर्वतयारीसँगै भूकम्पबाट बाँच्ने कला सबैले सिक्नुपर्ने बताउँछन् । भूकम्पविद्ले यो क्षेत्रमा कुनै पनि बेला शक्तिशाली भूकम्प जान सक्ने बताउँदै आएका छन् । मुलुकमा हरेक ७५ देखि सय वर्षमा विशाल भूकम्प र हरेक ५० वर्षमा मध्यम भूकम्प गएको इतिहास छ ।
    समाजले सात वर्षअघि राजधानीको ठूला अस्पतालको अध्ययन गर्दा ९० सालजस्तो थर्कन आउँदा अनवरत रूपमा सेवा दिने स्थिति नरहेको घोषणा गरेको थियो । हाल एकाध छाडेर निजी एवंं सरकारी प्रायः सबै अस्पतालको स्थिति उस्तै छ ।
    राजधानीको जनसंख्याबारे हालसम्म आधिकारिक तथ्यांक नरहे पनि विज्ञहरूले ४० देखि ६० लाख व्यक्ति बसोबास गरिरहेको अनुमान गर्छन् । उपत्यकाको वास्तविक घर संख्याबारे समेत कुनै तथ्यांक उपलब्ध छैन । 'उपत्यकामा करिब पाँच लाख घर भएको आँकलन गर्न सकिन्छ,' दीक्षित भन्छन्, 'तर भूकम्पबाट जोगाउने भवन निर्माण संहितालाई कडाइ साथ लागू गर्न सकिएको छैन ।' काठमाडौंको दरबार स्क्वायर कुनै पनि ठाउँबाट हेर्दा नौ/दस तल्ले घर देखिने गरिएको औंल्याउँदै दीक्षित भन्छन्, 'तर त्यो इलाकामा पाँच तल्लेभन्दा बढी अग्लो घर बनाउने मापदण्डै छैन, भूकम्प जाँदा यस्ता अग्ला घर पछि चिहान बन्नेछन् ।'
    नेपालजस्ता विकासोन्मुख मुलुकमा भूकम्पीय विनाशको मुख्य कारण घरलगायतका कमजोर संरचना भत्किनु हो । आचारसंहिताअनुसार घर बनाउँदा तीनदेखि पाँच प्रतिशत बढी रकम खर्च भए पनि भूकम्पबाट भने मृत्यु हुने सम्भावना अति न्यून हुन्छ । 'संहिताअनुसार निर्माण गरिएको घरले ९ एमएमआईसम्म थर्कन थेग्न सक्छ,' उनी बताउँछन् ।
    विज्ञहरूका अनुसार भूकम्पबाट मृत्यु हुने ८० प्रतिशत जोखिम घरले गर्दा हुन्छ । यस्तै आठ प्रतिशत मृत्यु अस्पताललगायत आकस्मिक सेवा दिने क्षमताका कमीले हुन्छ भने १२ प्रतिशत आकस्मिक सेवा दिने प्रणाली अभावले हुन्छ ।
    ६० प्रतिशत संरचना ध्वस्त हुन्छन्
     आमोदमणि दीक्षित
    कार्यकारी निर्देशक, राष्ट्रिय भूकम्प प्रविधि समाज
    नेपालमा यति नै बेला भूकम्प जान्छ भनेर भन्न सकिँदैन । जतिबेला पनि भूकम्प जान सक्छ । वैज्ञानिकले यति नै बेला भूकम्प जान्छ भनेर अध्ययन पनि गरेका छैनन्् र वैज्ञानिकले भनेका बेला भूकम्प जाने पनि होइन ।
    भूकम्पीय हिसाबले नेपाल जोखिमपूर्ण सूचीमा छ । त्यसमा पनि काठमाडौं उपत्यका सबैभन्दा खतरामा छ । भूकम्पीय जोखिमका हिसाबले विश्वमा नेपाल ११ औं स्थानमा पर्छ । नेपालमा ८.२ रेक्टरसम्मको भूकम्प जान सक्छ । जुन निकै ठूलो हो । नेपालमा मेचीदेखि महाकालीसम्म जुनसुकै ठाउँमा भूकम्प जान सक्छ । भूकम्प गयो भने सबभन्दा बढ्ता धनजनको क्षति काठमाडौंमा हुनेछ । भूकम्पीय हिसाबले काठमाडौंको भौतिक संरचना निकै कमजोर छ । १९९० सालमा नेपालमा ९/१० एमएमआई (मोर्डिफाइड मर्सेली इन्टेन्सिटी) बराबरको भूकम्प गएको थियो । त्यतिबेला पनि निकै विनाश भएको हो । नेपालमा १२ एमएमआईसम्मको भूकम्प जान सक्छ । नेपालको भौतिक संरचना हेर्ने हो भने ७ एमएमआईभन्दा बढीको भूकम्प थेग्न सक्ने भौतिक संरचना छैनन् । कम्तीमा पनि ९ एमएमआईसम्मको भूकम्प थेग्ने घरहरू बनाउन सकिए धनजनको क्षति न्यून हुन सक्छ । सरकारले पनि त्यतातिर अलि बढी ध्यान दिन जरुरी छ ।  शुक्रबार जापानमा गएको जत्तिको होइन, १९९० साल जत्तिकै भूकम्प गए पनि काठमाडौंमा ६० प्रतिशत घर भत्किन सक्छन् र लाखौं मानिसको ज्यान जान सक्छ । त्यस्तै, पुल र विमानस्थल पनि सखाप हुन सक्छन् । त्यतिबेला आर्थिक नोक्सानीको कुनै मूल्यांकन नै गर्न सकिन्न ।
    सरकारले भूकम्पीय जोखिम न्यून गर्न भवन निर्माण संहिता लागू गरेको छ । तर त्यसको कार्यान्वयन भएको छैन । नक्सा पास गर्दा संहिता उल्लंघन हुने गरेको छ । सरकारले पनि यसमा कडाइका साथ लागू गरेको देखिन्न । भवन निर्माण संहिता कार्यान्वयन गर्न नसक्नु हाम्रा लागि चुनौती हो । सरकारले आचारसंहिता लागू गर्न ध्यान दिनुपर्छ । त्यसो हुन सके हाम्रा घर र मानवीय क्षतिमा कमी हुनेछ ।
     (अब्दुल्लाह मियासँग कुराकानीमा आधारित)http://www.ekantipur.com/np/2067/11/28/full-story/326303.html

    जापानको महाभूकम्पः नेपालीको अनुभव

    अझै भूँइ हल्लिएको जस्तो लाग्दैछ
    -रीजन श्रेष्ठ-
    रातभर नेपाली र हिन्दी फिल्म हेरेर सुत्दा बिहानको यस्तै ५ बजेको थियो होला। दिउँसोको तीन बजेतिर कसैले खाट हल्लाए जस्तो लाग्यो। जापानमा बसेको आठ वर्ष जति भइसकेकोले यो भूकम्प हो भनेर ठम्याउन मलाई त्यति बेर लागेन। पहिले बिस्तारै अनि बेस्सरी, अझ बेस्सरी घर हल्लिन थाल्यो। कम्पन झन् तिब्र हुँदै गयो। ढोकानजिकै रहेको टेबलमाथि राखिएको फूलदानी भुइँमा झर्‍यो, अनि फुट्यो। हेर्दाहेर्दै फूल, पानी र सिसा भुइँभरी भए। म खाटको कुनातिर च्यापिएर सिरानीले टाउको छोपी सिरकभित्र गुटुमुटिएर भगवानको नाम लिँदै पल्टिरहेँ। यस्तै १-२ मिनेटको कम्पन हुनुपर्छ त्यो, तर मलाई भने झन्डै एक घण्टा जस्तो लामो लाग्यो।
    घर हल्लिन रोकिएपछि सबैभन्दा पहिले टिभी अन गरें। NHK मा भूकम्प कै समाचार आउँदै थियो। मियागीमा ७.९ र टोक्योमा ६.० म्याग्निच्युडको भूकम्प आएको रहेछ। यो भूकम्पले मैले जाबो एउटा फूलदानी गुमाए। तर सबैले त्यतिमै चित्त बुझाउन पाएनन्। समाचार अनुसार अहिले रातको १२ बजेसम्म ८४ जनाले ज्यान गुमाएका छन्। (अपडेटः टोक्यो समय अनुसार बिहान सवा ८ मा एनएचकेले दिएको खबर- अहिलेसम्म 427 को मृत्युको पुष्टि, २ सयदेखि ३ सय शवको पहिचान हुन बाँकी) फुकुसिमा र सेन्दाइमा अझै कयौं हराइरहेका छन्। अहिलेसम्म ज्यान गुमाउनेहरुमा अधिकांश बुढाबुढी रहेको थाहा हुन आएको छ। सेन्दाइमा करिब २००-३०० जनाको लाश पानीमा उत्रिरहेको अवस्थामा फेला परेको अपुस्ट समाचार पनि सुन्नमा आएका छन्।
    टोक्योनजिकै रहेको चिवामा एउटा ग्याँस स्टेसनमा आगलागी भएको लाइभ दृश्यहरु टिभीहरुले प्रसारण गर्दैछन्। दिउँसोको ठीक २. ४६ मा गएको यो भूकम्प सुरुमा ७. ९ म्याग्निच्युडको भनिए पनि अहिले ८. ८ को महाभुकम्प भएको पुष्टि भइसकेको छ।
    टोक्योमा भने शिन्जुकु, इकेबुकुरो र उएनो जस्ता प्रमुख स्टेसनहरुमा ३ देखि ४ हजार यात्रुहरु अलपत्र परेका छन्। टोक्योका यामानोते लगायत प्रमुख रेल सेवाहरु ठप्प भएका छन्। टोक्योलाई ओसाका, सेन्दाइ लगायत ठूला शहरसँग जोड्ने लामो दुरीका शिनखान सेन (बुलेट ट्रैन) को सेवा पनि बन्द छ। टोक्योलाई संसारका अरु शहरसँग जोड्ने हानेडा र नारिता एअरपोर्टमा पनि विमानहरु अवतरण गर्न रोक लगाइएको समाचार छ। टोक्यो क्षेत्रभित्र अहिलेसम्म चार जनाको ज्यान गएको थाहा भएको छ। टोक्यो टावरको सबैभन्दा माथि राखिएको एन्टिना पनि भूकम्पले गर्दा दाँयातिर बाङ्गिएको सुन्नमा आएको छ।
    म शिन्जुकुको अवस्था बुझ्न साँझ यहाँको गगनचुम्बी घरहरु भएको क्षेत्र (Skyscrapper District) मा गएको थिएँ। ठूलाठूला गगनचुम्बी घरहरु बाहिरबाट हेर्दा सकुशल नै देखिन्थे। तर भूकम्प जाँदा त्यसभित्र रहेका मान्छेहरुले कस्तो मानसिक तनाव भोगे होलान्, त्यो भोग्नेलाई मात्र थाहा होला। यो भूकम्पले गर्दा यी गगनचुम्बी घरहरु भित्रभित्र मक्किएर कतिको क्षती भएको छ तेस्को लेखाजोखा हुन बाँकी नै छ।
    धेरै पहिले टोक्योमा यी गगनचुम्बी घरहरुभित्र इस्प्रिङ्ग राखिएको हुन्छ, जसोजसो भूकम्पले जमिन हल्लाउँछ यी घरहरु पनि त्यही तालमा हल्लिन्छन् तर भत्किँदैनन् भन्ने “गफ” सुनेको थिएँ। आज मान्छे सिधा उभिन नसक्ने भूकम्पलाई पराजित गर्दै गर्व साथ उभिरहेका यी घरहरु देख्दा साँच्चै नै मान्छेले अलिकति भए पनि प्रकृतिमाथि विजय प्राप्त गरे झैँ लाग्यो।
    बाटोमा हुलका हुल मान्छेहरु हिंडेरै आफ्नो गन्तब्यतिर लाग्दै गरेका भेटिन्थे। सार्वजनिक टेलिफोन बुथका अगाडि मानिसहरु लाम लागेको यसअघि टोक्योमा मैले कहिले पनि देखेको थिइनँ। मोबाइलले काम गर्न छाडेका छन्। सडकमा गाडीहरुको जाम देखिन्थे। एम्बुलेन्स र दमकलका साइरनका आवाज एकोहोरो आइरहेको थियो।
    ४-५ रेक्टर स्केलका आफ्टर सकहरु आउने क्रम जारी छ। टोक्यो अझै हल्लिँदैछ। मलाई पनि रिङ्गटा लागेर हो कि किन हो अझै भुइँ हल्लिरहेको जस्तो लाग्दैछ। माथि होक्काइडोदेखि तल ओकिनवासम्म नै चुनामी आउने क्रम जारी छ। ठाउँ-ठाउँमा धेरैमा १० मिटरसम्मको चुनामी आएको खबर छ। सबैभन्दा धेरै इवातेमा ज्यान गुमाएका छन्। भोलि या पर्सिसम्ममा मर्नेहरुको संख्या बढ्ने निस्चित छ। अझै कति जमिनमुनि पुरिएर जिउनको लागि मृत्‍युसँग लड्दै होलान्। टिभीका फुटेजहरु हेर्दा लाग्छ टोक्योमा भन्दा बाहिर सेन्दाई र इवातेतिर धेरै भन्दा धेरै क्षति भएको छ। यस महाभूकम्पमा परी ज्यान गुमाउने सबैलाई हार्दिक श्रद्धान्जलि। घाइते सबैलाई सिघ्र स्वाथ्य लाभको कामना। विशेष गरी मियागी केनको क्यापिटल सिटी सेन्दाईतिर थुप्रै नेपाली विद्यार्थीहरु छन्। सबै जनाको कुशलताको कामना गर्दछु। साथै सबैलाई संयमित रहन आग्रह गर्दछु। ओचिचुकी मास्यौं, कि वो चुकी मास्यौं। रातिको २. ३० भई सकेको छ। आँखामा पटक्कै निन्द्रा छैन। एउटा ठूलो भुकम्प आएर पनि गइसकेको छ। तर पनि यो कालो दिनको सम्झना मेरो मानस पटलमा सदा ताजा भएर रहनेछ।
    रातभरी पार्कमा बिताएँ
    -किवा चामलिङ-
    सायद तपाईँहरुले न्युज हेरेर नै थाहा पाउनु भयो होला, हेर्नु भयो होल र हाम्रो अवस्थाप्रति चिन्तित भइरहनु भएको होला। माइसंसारका पाठकहरु माझ आज बल्ल म यो डरलाग्दो अनुभव बाँड्दैछु। किनभने हिजो सुनामीको डरले पार्कतिर नै रात बिताउनु पर्‍यो। भगवान पशुपतिनाथ र बुढासुब्बा भगवानको नाम लिँदै त्यहाँ रात बितायौँ।
    अहिले बिहानको ९.०६ समयमा यो लेखिरहँदा पनि सानोतिनो भुइँचालो (योसिन)गइ नै रहेको छ। आकाशमा हेलिकप्टर उडिरहेका छन् र सबैलाई alert बस्न र सक्दो सुरक्षित रुपमा बस्न आह्वान गरिरहेको छ। विभिन्न ठाउँमा फँसेका मान्छेहरु आ-आफ्नै घरतिर लाग्दैछन् तर पनि उनीहरुको मनभित्र डर छ।
    अहिलेसम्मको खबर अनुसार नेपालीहरुको बारेमा नराम्रो खबर सुन्नुपरेको छैन। केही परेको खण्डमा नेपाल राजदुतावासमा सम्पर्क गर्न र जानकारी दिन/पाउन सकिन्छ।
    हिजो जापानमा ठीक २.४५ र ३.१५ मा भुइँचालो आउँदा मेरो ग्राजुएसन पार्टी थियो होटलमा। मेरो कस्तो हालत थियो त्यो समयमा भन्दा टाइटानिक फिल्ममा जहाज डुब्दा जसरी मान्छेहरु आफ्नो ज्यान जोगाउन भागेका थिए, र २०१२ फिल्ममा जस्तो भागदौड मच्चिएको थियो, झण्डै त्यस्तै दृश्य थयो। अहिले पनि सम्झँदा डर लाग्छ। हाम्रो graduation party को त्यो रमाइलो पल एक्कासी भागाभागमा परिणत हुदा म भने एक दुई वटा तस्बिर र डर लागिलागि भए पनि क्यामेराले भिडियो खिच्दै थिएँ।

    भूकम्प आउँदाको त्यो कहालीलाग्दो क्षण


    प्रकाश पौडेल माइला
    भूकम्पको देश जापानमा आएको ५ बर्ष पुग्दा सयौँपटक भूकम्पको अनुभव गरियो । तर, मार्च ११ शुक्रबारको दिन जस्तो अत्यन्तै डरलाग्दो र कहालीलाग्दो अवस्था कहिले पनि आएको थियन । हरेक दिन जस्तै म योकोहामास्थित आफ्नै पसलमा काममा ब्यस्त थिएँ । ग्रहकहरु पनि आधा आधी कुर्चीमा बसेक थिए ।
    २:४६ हुनै लाग्दा भुकम्पको धक्का विस्तारै आउन लाग्यो । सबै जना केहि नबोली नबोली मुखामुख गर्न थालियो । किनकी कहिले काही दिन मै ५-७ पटक भूकम्पको धक्का आउने ठाउँमा आजको पनि त्यस्तै होला भन्ने सबैलाई लागेको थियो होला मलाई जस्तै । तर, धक्का रोकिने सुरसार रहेन । झन झन बलिया धक्का आउन थाले, घर हल्लिन थाले । बसेका मानिसहरु उठ्न थाले । कोही त अल्मलमा परेर बसीरहे । त्यतिबेलासम्म सबैको अनुहार कालो र निलो भइसकेको थियो । एक जना जापाननी नागरिकले पसलको बन्द भएको ढोका खुल्ला राख्न सुझाए, मैले त्यसै गरें ।
    बाहिर हेर्दा बाटोमा गुडेका सबै गाडीहरु रोकिएका थिए । र जमिन कति सम्म हल्लिएको रहेछ भने पैदलयात्रीहरु बिजुलीको पोल समातेर आफुलाई सम्हालिरहेका थिए । ओभर-हेड-ब्रिज क्रस गर्न लागेकाहरु पनि रेलिंग समातेर हलचल नगरी बसेका थिय, त्यो देखेर मेरो मन झन् डरायो । त्यतिबेलासम्म त खासै ठूलो भूकम्प होइन होला भन्ने लागेको थियो । पसलबाट निस्केर अगाडीको खुल्ला सडकमा पुगेँ, मोटरगाडी, भेहिकल, रुटको बस लगायतका सबै सवारी साधनहरु रोकिएका थिए । जमिन यित हल्लिएको थियो कि कतै नसमाती उभिन सक्ने अबस्था नै भएन । १०-१५ तलाको घरहरु नै बैसाखको हुरीमा बकैनाको झापो हल्लियाको जस्तो भएका थिए, ठूलो धक्का त रोकियो तर छिन छिनमा सानो सानो भूकम्पहरु आइरहेका थिए ।
    रेल सेवाहरु सबै बन्द भएका रहेछन, सिमिजु नाम गरेको एक जना जापानीलाइ भेट्ने कार्यक्रम रहेकोले म निकै भिडभाड रहेको बसमा कोचाकोच गरेर योकोहामा स्टेसनतिर लागेँ, फर्किदा साधनको समस्या पर्ला भन्ने मैले कत्ति पनि सोचिन । बाचा गरे भन्दा केहि ढिलो भै सकेको थियो, योकोहामा पुग्नलाई । त्यहाँ पुग्दा सिमिजु सान त थिएन, धेरैबेर यता उता डुलेर बसें, केहिबेर मै रेलसेवा सुरु होला नि एक छिन कुर्नुपर्यो भनेर कफीसप मा छिरेँ । निस्कदा साँझ परिसकेको थियो, त्यत्ति ठुलो योकोहामा स्टेशनमा पुरै मानिस नै मानिस ।
    रेल सेवा बन्द भएका कारण आफ्नो गन्तब्यमा जान नपाएकाहरु भुइँमा थचक्क बसेर थकाई मेट्दै थिए, झोलाको शिरानी राखेर सुतेकाहरु पनि प्रसस्तै थिए ।
    यति ब्यस्त ठाउँका मानिसहरु यसरि बस्दा देशलाई कत्ति ठूलो नोक्सान भएको होला…. मैले मनमनै सोचें । त्यो भन्दा ठूलो नोक्सान मियागीतिर आएको सुनामीले मच्चाइसकेको रहेछ, संचारसम्पर्क नभएकोले मैले त्यबारे जानकारी पाएको थिइन् । स्टेसनको पर्दामा बिभिन्नक्षेत्रको ध्वँसको अवस्था देखाइएको थियो । बिशेषगरि मियागीको सेन्दाइमा । फोन कतै लागेको थिएन, नेपाली दुतावास र एनआरएनका अध्यक्ष रोशन के सिजी लाई सम्पर्क गर्न खुब प्रयास गरेँ ,केन्द्रिय प्रबक्ता कुमार बस्नेतको मोबाइलमा पनि दर्जन भन्द बदी पटक कोसिस गर्दा पनि सफल हुन सकिन ।
    मैले खासगरी बिभिन्न ठाउँमा रहनुभएका नेपाली दाजुभाइहरुको अवस्था बुझ्न खोजिरहेको थिएँ । खुल्दुली कौतुहल्ता र तनाबमै धेरै समय बित्यो । नेसाजका कान्तो क्षेत्र उपाध्यक्ष बिमल अधिकारि जीसँग फेसबुक च्याट हुँदा नागोयामा खसै असर नगरेको बताउनु भयो । अल्ली ढुक्क भयो । तर मलाई त सेन्दाइमा रहनु भयका नेपालीप्रती नै चिन्ता लाग्यो । मैले चिनेका भाइहरु दीपेन्द्र पौडेल र राम कोईरालालाई धेरै पटक फोन लगाउँदा पनि लागेन ।
    राति १२ बजे सेन्दाइमा रहनुभएकी भवानी दवाडी दिदीसंग सम्पर्क स्थापित भयो । नेपाली दश जनासहित जापानीहरुलाई शिविरमा राखिएको खबर प्राप्त भयो । उहाँले नेपालीको कुनै अप्रिय खबर नरहेको जानकारी दिंदा मन खुसी भयो ।
    यता टोक्यो, योकोहामा लगायतका क्षेत्रमा सुनामी नआएपनि भूकम्प र त्यसका कारण बन्द भएका अत्याबश्यक सेवाले मानिसलाई सास्ति दिएको थियो । सबारी बन्द भएपछि मानिसहरु ४-५ घन्टासम्म पैदल हिडेर आफ्नो निवास पुगेका थिए । हिडेर फर्कन नसक्नेहरु अझैपनि सरकारी आवास, अफिस, स्टेशन आदिमा शरण लिएका थिए ।
    तर टि भि मा देखिने दृष्हरु चलचित्रका जस्तै छन् । कहालिलाग्दो, उदेकलाग्दो र डरलाग्दो । सुनामी आउँदा आउँदै सुनामी छल्न सकिएला र बाचिएला भनेर झन द्रुत गतिमा गाडी कुदाएकाहरु हेरेको हेर्यै बिनासकारी छालभित्र पुरिन्थे । सहयोगको गुहार माग्दै सेतो कपडा हल्लाएका मुहार कती आशाबादी देखिन्थ्यो कि टि भि बाट…..तर त्यहाँ चाहेर पनि गर्न कसैले सकेको थियन । हामीले त चित्रमा हेर्नु सिवाय केहि भएन, मलाई लाग्यो हाम्रा थुप्रै नेपाली दाजुभाईहरु पनि यस्तै अबस्थामा पो छन् कि ।
    नेपालतिर रहेका आफन्तले पनि खुब चासो र चिन्ता देखाए नेपालीहरुको बारेमा । इमेलमार्फत काठमाण्डौ अफिससंग निरन्तर सम्पर्क भइरहेको थियो । टिभीमा देखिएका कहालीलाग्दा दृष्यका कारण हामीलाई केही भयो कि भन्ने साथीहरुलाई पनि लागेको रहेछ । साथीहरुले नेपालीको अबस्था के छ भनेर निरन्तर सोधिरहेका थिए, तर सन्चार सम्पर्क बिच्छेद भएका कारण साथीहरुको अबस्था थाहा पाउन गरेको प्रयास सफल भइरहको थिएन् ।
    भुकम्पलाई मापन गर्न थालिएएता जापानमा आयको सबै भन्दा ठूलो भुकम्प र त्यस्को असारले गर्दा आएको बिनासकारी समुद्री आँधी अबका दिनमा अनुभव गर्न नपरोस् । सेन्दाइमा रहेका नेपाली सुरक्षित रहेको प्रारम्भिक रिपोर्ट आएपनि त्यहाँ रहेका नेपालीको बिस्तृत जानकारी आउन सकेको छैन् । एनआरएन, जनसम्पर्क समिति लगायतले सूचना संकलनका लागि पहल पनि गरिररहेका छन । प्राथना गरौ, सवै नेपाली सुरक्षित रहेका होउन ।


    1 comment:

    1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

      DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

      ReplyDelete