• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, February 9, 2010

    जमिम शाहको हत्यामा कुख्यात अन्डरवल्र्ड डन छोटा राजन समूहको संलग्नता

    प्रहरीले स्पेसटाइम नेटवर्कका अध्यक्ष जमिम शाहको हत्यामा कुख्यात अन्डरवल्र्ड डन छोटा राजन समूहको संलग्नता रहेको र हत्यामा प्रत्यक्ष संलग्न आक्रमणकारी तथा योजनाकारनजिक पुगेको जनाएको छ ।
    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसपी गणेश केसीले हत्यामा अन्तर्राष्ट्रिय संलग्नताको आशंका पुष्टि हुँदै गएको र हत्याराहरू छिट्टै पक्राउ पर्ने बताए । लाजिम्पाटको मुख्य सडकमा मोटरसाइकलमा आएका दुई आक्रमणकारीले आइतबार अपराह्न २:२० बजे ४७ वर्षीय शाहको गोली हानी हत्या गरेका थिए ।
    'अनुसन्धानबाट छोटा राजन समूहले नै हत्या गराएको बुझिन आएको छ । हामी हत्यारा र योजनाकारको निकै नजिक पुगेका छौं,' सोमबार साँझ कान्तिपुरसित उनले भने ।
    केबुल टेलिभिजन एसोसिएसन र एभिन्युज टेलिभिजनमा राजन समूहका भरत नेपालीको नामबाट आएको टेलिफोन तथा दर्जनौं व्यक्तिसँगको सोधपुछमा 'मिसन' नै बोकेर आएको समूहले शाहको हत्या गरेको उनले जानकारी दिए ।
    एसपी केसीका अनुसार भरतले सोमबार दिउँसो फोन गरी 'भारतविरुद्ध लाग्नेको हालत यस्तै हुन्छ' भन्दै शाह हत्याको जिम्मेवारी लिएका थिए । लगत्तै नेपाल टेलिकमबाट लिएको कल विवरण, जमिमनिकट विभिन्न व्यक्ति र केहीअघि भारतीय जाली नोट कारोबारमा संलग्न नेसनल टेलिभिजनका सञ्चालक युनुस अन्सारीसँगको कुराकानीबाट हत्यामा राजन समूहको हात रहेको बुझिएको एसपी केसीले बताए ।
    पहिले एसोसिएसनको नम्बरमा ११:४४ बजे आएको फोन त्यहाँ कार्यरत एक कर्मचारीले उठाउनासाथ भरतले हत्याको जिम्मेवारी लिँदै धम्क्याएका थिए । ४६ सेकेन्डमै फोन काटिएपछि उनले पटकपटक फोन गरेका थिए । एसोसिएसनमा तीनवटा 'मिस कल' देखिए पनि त्यहाँ गरिएको टेलिफोनको नम्बर टेलिकमबाट पत्ता नलागेको प्रहरीको भनाइ छ । त्यसपछि भरतले १२:१५ टेलिभिजन कार्यालयमा फोन गरी उही कुरा दोहोर्‍याएका थिए ।
    टेलिभिजन कार्यालयमा भरतले १८७७४२७३३६८ नम्बरबाट करिब ६० सेकेन्ड कुरा गरेको प्रहरीले जनायो । टेलिकम स्रोतका अनुसार विश्वका धेरै मुलुकमा बसेर फोन गर्न सकिने यो नम्बर क्यानाडाको कलिङ कार्डको हो । भरतले १२:३५ मा पनि नम्बर नदेखिने टेलिफोनबाट एसोसिएसनमा फोनगरी ५४ सेकेन्ड कुरा गरेको टेलिकमको हवाला दिँदै प्रहरीले जनाएको छ ।
    एसपी केसीका अनुसार नेपालकै अछाम र पाल्पा घर भएको चर्चा हुने भरत महाकालीपारी पिथौरागढतिरका सैनिक पृष्ठभूमिका व्यक्ति हुन् । सन् १९९७ मा सैनिक सेवा त्यागी राजन समूहमा संलग्न उनको अनुहार नेपालीजस्तै भएकाले आफूलाई नेपाली बताउने गरेको प्रहरीले बतायो ।
    हत्याको योजना भने भारत सीमावर्ती क्षेत्रमा क्रियाशील बब्लु नामका व्यक्तिले बनाएको प्रहरी स्रोतले बतायो । करिब दुई महिनाअघि डिल्लीबजार कारागारसमेत पुगी उनले थुनामा रहेका विभिन्न अपराधीसँग शाह र अन्सारीबारे बुझेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
    'यो समूहको पहिलो निशानामा अन्सारी रहेको बुझिएको छ । उनी जेल गएपछि जमिमलाई टार्जेट बनाएको हुनसक्छ,' स्रोतले भन्यो, 'बब्लु मध्ययमस्तरको मध्यस्थकर्ता हो । हत्यामा संलग्न दुई जनालाई उसले हायर गरेको बुझिन्छ ।'
    बब्लुले बोक्ने मोबाइल ट्रेस गर्दा उनी लाजिम्पाट क्षेत्रमै रहेको र दुई आक्रमणकारीसमेत उनीसँगै रहेको प्रहरी अनुमान छ । योजनाकारको विवरण सोमबार अबेरमात्रै खुलेको लोडसेडिङको कारणले रातको समयमा राम्ररी मोबाइल ट्रेस गर्न समस्या परेकाले अपराधीसम्म पुग्न नसकिएको प्रहरीले जनाएको छ । 'त्यस क्षेत्रमा धेरै भीआईपीको निवास रहेकाले पनि सीधै पसेर खोजतलास गर्न अप्ठेरो परेको छ,' प्रहरी मुख्यालयका एक अधिकृतले भने ।
    यसबीच सुरक्षामा लापरबाही गरेको भन्दै लाजिम्पाट प्रहरी वृत्तका हवल्दारसहित चारलाई निलम्बन गरिएको र एक असईलाई निलम्बनका लागि सिफारिस गरिएको छ ।


    शाह हत्याबारे भारतीय मिडियाको प्रतिक्रिया


    भारतीय सञ्चार माध्यमहरूले त्यहाँको सरकारी स्रोतको हवाला दिँदै जमिम शाहको सम्बन्ध पाकिस्तानी जासुसी संस्था आईएसआई र भूमिगत गिरोह (अन्डरवल्र्ड) का नाइके दाउद इब्राहिमजस्ता भारतविरोधी शक्तिहरूसँग भएको दाबी गरेका छन् । भारतीय सरकारी समाचार सेवा पीटीआईले नेपालमा केबुल टिभी थाल्ने तथा सञ्चार क्षेत्रका प्रमुख व्यक्तिका रूपमा शाहलाई चिनाउँदै उनको सम्बन्ध इब्राहिम र छोटा राजनजस्ता भूमिगत गिरोहहरूसँग भएको उल्लेख गरेको छ ।
    त्यस्तै टाइम्स अफ इन्डियाले आफ्नो वेबसाइटमा शाहले कुनै बेला भारतविरुद्ध प्रपोगान्डा फैलाउने स्पेसटाइम पत्रिका चलाएको उल्लेख गरेको छ । दाउदसँग सम्बन्ध भएको दाबी गर्दै भारतले नेपालसमक्ष शाहको स्पेसटाइम नेटवर्कको सम्पत्ति निष्क्रिय तुल्याउन सन् २००४ मा अनुरोध गरेको पनि पत्रिकाले वेबसाइटमा उल्लेख गरेको छ । 'शाहको सम्बन्ध आईएसआईसँग भएको विश्वास गरिन्थ्यो,' पत्रिकाले लेखेको छ, 'तर उनले दुवै आरोपलाई कडारूपमा अस्वीकार गरेका थिए ।'
    शाहको हत्या पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा युनुस अन्सारीको गिरफ्तारीपछि भएको उल्लेख गर्दै पत्रिकाले भनेको छ, 'कराँचीबाट सञ्चालित नक्कली भारतीय मुद्रा फैलाउने गिरोहलाई नेपाल प्रहरीले भन्डाफोर गरेपछि अन्सारी हालै पक्राउ परेका थिए,' पत्रिका लेख्छ, 'अन्सारी अहिले जेलमा छन् ।' 

    प्रधानमन्त्री जमिम शाह निवासमा


    प्रधानमन्त्री माधवकुमार नेपाल हत्या गरिएका सञ्चार उद्यमी जमिम शाहको पानीपोखरीस्थित निवासमा गएका छन् ।
    सिंहदरवारमा सुरक्षा अधिकारीलाई निर्देशन दिएलगत्तै प्रधानमन्त्री पानीपोखरीस्थित शाह निवासमा गएका हुन् । उनका साथमा प्रधानमन्त्रीमा राजनीतिक सल्लाहकार रघुजी पन्त पनि  रहेका छन् । शाहको शव पोस्मार्टमपछि उनकै निवासमा राखिएको छ ।
    यसअघि प्रधानमन्त्री नेपालले सञ्चार उद्यमी शाहको हत्याबारेमा सुरक्षा अधिकारीहरुबाट जानकारी लिएका थिए । उनले तत्काल अपराधीहरुलाई पक्राउ गर्न निर्देशन दिएका प्रधानमन्त्रीका सहयोगी सुरोजङ पाण्डेले ईकान्तिपुरलाई जानकारी दिए ।
    बैठकमा गृहराज्यमन्त्री रिजवान अन्सारी, गृहसचिव गोविन्द कुसुम, नेपाल प्रहरी, सशस्त्र र अनुसन्धान विभागका निमित्त प्रमुखलगायत उपत्यकाका विभिन्न प्रहरी ईकाईका अधिकारीहरुको उपस्थिति थियो । गृहमन्त्री भीम रावलसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरु भने अहिले चीन भ्रमणमा छन् ।
    च्यानल नेपाल तथा स्पेशटाइम नेटवर्कका अध्यक्ष शाहको आइतबार दिउँसो लाजिम्पाटमा गोली हानी हत्या गरिएको थियो । गोली लागेर शाहका सवारी चालक मधुकरमान मालाकार घाइते भएका छन् । उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    मन्त्रीले हप्काए सुरक्षा प्रमुखलाई

    सञ्चार उद्यमी जमिम शाहको हत्यालाई लिएर गृहराज्यमन्त्री रिजवान अन्सारीले तीन सुरक्षा अंगका निमित्त प्रमुखलाई हप्काएका छन्। उनले सोमबार बिहानै गृहमन्त्रालय तीनवटै सुरक्षा प्रमुखलाई बोलाएर कडा शैलीमा अनुसन्धानको निर्देशन दिएका छन्। 'दिन दाहाडै यत्रो घटना हुँदा सुरक्षाकर्मी के हेरेर बस्यो ?' मन्त्रीको भनाइ उदृत गर्दै स्रोतले नागरिकन्युजलाई भन्यो।
    सुरक्षा बैठक नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका निमित्त प्रमुखका साथै काठमाडौं प्रहरी प्रमुख गणेश केसी समेत सामेल थिए। हत्यामा अन्तरार्ष्ट्रिय अपराधीको संलग्नता रहेको खबर केसीले राज्यमन्त्री अन्सारीलाई सुनाएका थिए।
    हत्यालाई लिएर प्रहरी मौन रहेको भन्ने विश्लेषण मिडियामा आएपछि राज्यमन्त्री अन्सारीले सुरक्षा अंगका निमित्त प्रमुखलाई मन्त्रालय बोलाएर बैठक गरेका हुन्। गृहमन्त्री भीम रावल र प्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरी, सशस्त्र प्रहरीका महानिरीक्षक सनतकुमा बस्नेत र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अशोकदेव भट्ट चीन भ्रमणमा छन्।
    यसैगरी माओवादी नेता बाबुराम भट्टराई लाजिम्पाट पुगेर मृतक शाहका आफन्तजनसँग भेट गरेका छन्।
    जमिम हत्या छानबिन गर्न तीन समिति
    जमिम शाह हत्या प्रकरण छानबिन गर्न गठन भएका समितिको सङ्ख्या ३ पुगेको छ। सरकारले शाह हत्याको न्यायिक छानबिन गर्न पूर्व न्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि समितिको सङ्ख्या ३ पुगेको हो ।

    सरकारले गठन गरेको आचार्य समितिका सदस्यहरुमा राष्ट्रिय राष्ट्रिय अनुसन्धान विभाग प्रतिनिधि, नेपाल प्रहरीका एआइजी,  महान्यायाधिवक्ताको कार्यालय प्रतिनिधि र एकजना सुरक्षाविज्ञ छन्।
    त्यसअघि नै प्रहरी प्रधान कार्यालयले डीआइजी राजेन्द्रमान सिंह भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन भइसकेको थियो। भण्डारी समितिमा एसएसपी रणबहादुर चन्द, एसपी जीवन बस्नेत, डीएसपी जगतमान श्रेष्ठ र दिवस उदास छन्। समितिका अधिकांश सदस्यहरु मिर्जा दिलसाद बेग हत्याकाण्डमा अनुसन्धान गरेका अधिकृत हुन्। ११ वर्षअघि मिर्जाको हत्या भारतीय अन्डर वर्ल्ड अपराधी छोटा राजन समूहले गरेको थियो।
    सोमबार नै महानगरीय प्रहरी आयुक्तको कार्यालयले एसएसपी माधव नेपालको संयोजकत्वमा पाँचै सदस्य अनुसन्धान समिति गठन गरी घटनाको अनुसन्धान अघि बढाएको छ। समितिमा एसपी शिव लामिछाने, दिनेश अमात्य सहितका प्रहरी अधिकृत छन्।
    छोटा राजनले लियो जिम्मा
    जमिम शाहको हत्याको जिम्मा छोटा राजन समूहले लिएको छ।  एभिन्युज टेलिभिजनलाई फोन गर्दै समूहका सदस्य बताउने भरत नेपाली नामका व्यक्तिले भारतविरोधी कार्य गरेकोले शाहको हत्या गरेको बताएका हुन्।  अपराधीले खुल्लमखुल्ला सञ्चारमाध्यमलाई फोन गर्दै जिम्मा स्वीकार्दै गर्दा प्रहरीले घटनाको अनुसन्धान गर्न डीआईजी राजेन्द्रमान सिंह भण्डारीको नेतृत्वमा स्पेसल टास्क फोर्स गठन गरेको छ।  
    छोटा राजन भारतका अण्डरवर्ल्ड डन दाउद इब्राहिमका प्रतिस्पर्धी हुन्।
    प्रहरी चुकेको हो : गृह राज्य मन्त्री
    त्यसैगरी गृह राज्य मन्त्री रिजवन अन्सारीले हिजोको घटनामा प्रहरी चुकेको स्वीकार्दै अनुसन्धानले धेरै कुरा खुलाइसकेकोले छिट्टै अपराधी पक्राउ पर्ने दावी गरेको। हत्यामा राष्ट्रिय,अन्तर्राष्ट्रिय अपराधी संलग्न रहेको उनले बताए।
    जमिम निवासमा नेताहरुसोमबार प्रधानमन्त्री माधवकुमार नेपाल जमिम शाहको निवासमा पुगी शोकाकूल आफन्तजनलाई भेटेका छन्। त्यसैगरी सोमबार बिहान एनेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई पानीपोखरीस्थित जमिम निवास पुगेका थिए।
    शाहको अन्त्येष्टी मुस्लिम परम्परा अनुसार पर्सि हुने पारिवारिक स्रोतले जनाएको छ। पोस्टमार्टमपछि उनको शवलाई हाल जमिम निवास पानीपोखरीमा नै राखिएको छ। 

    गृहमन्त्रीको राजीनामाको माग

    राजधानीको महत्त्वपूर्ण स्थानमा दिनदहाडै जमिम शाहको हत्या हुनु भनेको सुरक्षा व्यवस्था असफल हुनु हो भन्दै व्यवस्थापिका संसदमा गृहमन्त्रीको राजीनामा मागिएको छ।
    नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित गृहमन्त्री भीमबहादुर रावल चीन भ्रमणमा रहेको बेला भएको हत्यामा सभासदहरुले सरकारको आलोचना समेत गरे।
    प्रमुख प्रतिपक्षी एकीकृत माओवादीका चन्द्रप्रसाद गजुरेलले प्रश्न गरे, 'संसारमै नहुने घटना सुरक्षा अंगका प्रमुखहरूसहित गृहमन्त्री चीन भ्रमणमा छन्, यही बेला सञ्चार उद्यमीको हत्या भयो, यो संयोगमात्र हो कि के हो?' पाँच वटा दूतावास रहेको क्षेत्रमा अपराध भएको यत्तिका समयसम्म पनि अपराधीका बारे सुइँको समेत नपाउनुलाई सरकारको असक्षमता र नालयकीपन भन्दै आलोचना गरे। उनले नैतिकताको आधारमा राजीनामा दिन पनि माग गरे।
    भारतीय सञ्चारमाध्यम पीटीआई र टाइम्स अफ इण्डियामा प्रकाशित समाचार उधृत् गर्दै भने, 'आईएसआईसँग शाहको संलग्नताबारे भारत सरकारले सन् २००४ मा नै पत्र पठाएको भन्ने समाचार आएको छ, त्यसबेला नै पत्र आएको हो भने सरकारले किन कारवाही गरेन?' उनले हत्या सुनियोजित भएको बताउँदै भने, 'आईएसआई र अण्डरवर्ल्डको बदला लिने रणभूमि नेपाल हुनु हुँदैन।'
    नेपाली कांग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले पेशेवर अपराधीले शाहको हत्या गरेको बताउँदै भने, 'सदनमा जानकारी दिएरमात्र पुग्दैन, कति दिनभित्र अपराधी पक्राउ गर्नसक्छ, त्यो पनि बताउनुपर्‍यो।' राष्ट्रपति भवन र पाँच वटा दूताबास रहेको क्षेत्रमा गोली प्रहार गरी हत्यारा हिंडेपछि मात्र प्रहरीले खानतलासी थालेकोमा आलोचना गरे। उनले भने, 'तीन वटै सुरक्षा निकायका प्रमुखहरू चीन भ्रमणमा लैजानु आपत्तिजनक छ।'
    एमालेका रविन्द्र अधिकारीले सुरक्षा निकाय परिचालन गरिएको महत्वपूर्ण स्थानमा शाहको हत्या भएको उल्लेख गर्दै भने, 'यो घटनालाई मिर्जा दिलसाद बेगको हत्यासँग जोडेर हेरिएका छन्। मुख्य कुरा नेपालमा नेपाली सुरक्षित हुनसक्छन् कि सक्दैनन्?' उनले प्रहरी नै आतंकित भएकाले व्यस्त सडकमा अपराधीले ५ मिनेट मोटरसाइकल स्टार्ट गर्न नसक्दा पनि पक्रन नसकेको बताए।
    राप्रपा नेपालका चन्द्रबहादुर गुरूङ, तमलोपाका ब्रिजेशकुमार गुप्ता, सद्भावना पार्टीका अनिल झा, राष्ट्रिय जनमोर्चाका सन्तबहादुर नेपाली, नेपा राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धर, पनि सरकारको राजीनामा माग गरेका थिए।

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete