• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, January 6, 2010

    'बलिको बोका' बनाइए बाबुराम

    अनुप भण्डारी 

    फेरि एक पटक प्रचण्ड कै बोली चर्चाको केन्द्रमा छ। कहिले कसलाई कहिले कसलाई तारो बनाइराख्‍ने प्रचण्डले यसपालि आफ्नै पार्टीका उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रहार गरेका छन्। पार्टी कार्यकर्ताहरुलाई दिएको आन्तरिक प्रशिक्षणका क्रममा उनले भनेछन्- बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन भारतले दबाब दिइरहेको छ। उनको यो भनाईको अडियो सार्वजनिक भएपछि देशै तरंगित भएको छ। यसबाट प्रचण्डलाई फाइदैफाइदा भएको छ। यो समाचारलाई छाप्ने सञ्चारमाध्यमलाई पनि फाइदै भएको छ। बलिका बोका बनाइएका छन् बिचरा बाबुराम। गर्नु गर्‍यो बाबुरामलाई यो अडियोले। यो अडियोले प्रचण्डको धूर्तपना, बठ्याइँमात्र देखाएको छैन, पार्टीमा आफूमाथि ‘थ्रेट’ हुनसक्ने कसैलाई पनि चरित्र हत्या गरेर उठ्न नसक्ने बनाउने र एकछत्र राज आफूमात्रै गर्ने सोच छर्लङ्गै पारेको छ। उनको त्यो सोच राजामहाराजाले पनि नगर्ने आफ्नै रंगीन फोटो झुण्ड्याइएको पार्टी मुख्यालयको भित्ता अगाडि बसेर पत्रकार सम्मेलन गर्दै गरेका दृश्यले पनि स्पष्ट पार्छ। सम्मेलनमा उनले भने, सरकारमा जाने भए मेरै नेतृत्वमा जाने पार्टीले निर्णय गरेको छ।

    भारतविरोधी आन्दोलनका कमाण्डर नै भारतीय दलाल !
    बाबुरामलाई भारतले प्रधानमन्त्री बनाउन चाहेको भन्दै उनलाई ‘भारतको दलाल’ देखाउन खोजेका छन् प्रचण्डले। यो गरेर उनी आफूलाई महान् राष्ट्रवादी नेता देखाउन खोजेका छन्। तर उनले के भुलेका छन् भने अहिले उनको पार्टीले भारतविरोधी आन्दोलन छेडिरहेको छ, जसको नेतृत्व संयुक्त राष्ट्रिय जनआन्दोलन नामको माओवादीको एउटा समितिले गरिरहेको छ। समितिका अध्यक्ष उनै बाबुराम हुन्, जसलाई उनले ‘भारतीय दलाल’ देखाउन खोजेका छन्। 

    राष्ट्रवादी नेता देखाउने धोको
    सत्ता अनपेक्षित रुपमा छाड्नु परेपछि प्रचण्ड अहिले निकै हतास छन्। राजीनामा दिएर निस्केपछि अहिलेसम्म उनी बालुवाटार छिरेका छैनन्। प्रधानमन्त्री माधवकुमार नेपालसँग बरु उनको निजी निवास कोटेश्वरमा गएर वार्ता गर्छन्, तर बालुवाटार जानुपर्दा उनलाई औडाहा हुन्छ। एमाले, कांग्रेससँग जति वार्ता गरे पनि निकास निस्कन नसकेपछि अहिले उनी भारतविरुद्ध बोल्दा फाइदा हुन्छ भन्ने निश्कर्षमा पुगेका छन्। र त आफूलाई राष्ट्रवादी नेता देखाउन कहिले उनी कालापानी जाने प्रचार गराउँछन् त कहिले आफूलाई थ्रेट हुनसक्ने नेतालाई भारतीय पक्षको भनेर बताउँछन्। यो क्रममा उनी निकै हल्का साबित भएका छन्।

    राष्ट्रवादी नेताको छवि बनाउन उनले जसरी आफू कालापानी जाने प्रचार गराए, त्यो वास्तवमा संभव कुरा नै थिएन। किनभने यो जाडोको मौसममा कालापानीभन्दा मुनिका बस्तीहरुबाट त बासिन्दाहरु भारी हिमपातका कारण बेसी झर्ने बेलामा कालापनी पुगेर सभा गर्नु असंभव प्रायः नै थियो। कालापानी उच्च हिमाली क्षेत्रमा रहेको रणनैतिक महत्त्वको क्षेत्र हो। त्यहाँ गइहाले पनि वैशाख जेठ उतामात्र सकिन्थ्यो। तर प्रचार भयो अध्यक्ष कमरेड कालापानी जाँदैछन्। केन्द्रीय समितिको बैठकले गरेको निर्णयमा भने प्रचण्ड कालापानी हैन, महाकाली जाने भनियो। महाकाली अञ्चलको महेन्द्रनगरमा सभा गर्ने सोच पनि हुनसक्छ।
    किन महसूस गरे ‘थ्रेट’ बाबुरामबाट
    जानकार सूत्रका अनुसार प्रचण्ड चीन भ्रमणमा जाँदा चिनियाँ राजदूतले उनकै अगाडि बाबुराम भट्टराईलाई ‘अबको प्रधानमन्त्री तपाईँ नै हो’ भनेर भनिदिएछन्। यसले प्रचण्डको मनमा च्वास्स बिझ्यो। यता भारतले बाबुरामको नाम लिइरहने, उता चीनले पनि उनैको नाम लिने। आफू बाहेक कसैलाई नेतृत्वमा आउन नदिने सोच रहेका प्रचण्डलाई यसले बिझाउने नै भयो। राजीनामा दिएपछि अब सरकारको नेतृत्व म गर्दिनँ भनेर भनेका थिए। तर सार्वजनिक भएको अडियोमा उनले ‘मैले त्यसरी कहाँ भनेको हो र, मैले त्यसरी छाड्छु भनेकै हैन’ जस्ता कुरा गरेका छन्।

    यसबाहेक बाबुरामसँग उनको इगो प्रोब्लम पनि रहेको छ। २०२६ सालमा प्रचण्ड र बाबुरामले सँगै एसएलसी दिएका थिए। बाबुराम भए बोर्ड फर्स्ट, प्रचण्ड सेकेन्ड डिभिजनमा पास। वैचारिक मामिलामा उनी आफूलाई बाबुरामबाट थ्रेट महसूस गर्छन्। भट्टराई निकट स्रोतका अनुसार बाबुरामले पटकपटक प्रचण्डलाई राजनीतिमा पढाइको स्तरको कुनै गणना हुँदैन, नेतृत्व क्षमता महत्त्वपूर्ण हो, त्यो तपाईँमा छ भनेर सम्झाउने कोशिश गरेका थिए।
    अर्को कुटनीतिक रुपमा बाबुराम भट्टराईको सम्बन्धमा प्रचण्डको भन्दा राम्रो रहेको छ। यसबाट पनि उनी झस्कन बाध्य छन्।
    अझ महत्त्वपूर्ण कुरा प्रचण्ड नेतृत्वको सरकारमा सबैभन्दा स्वच्छ छविको र सबैभन्दा सफल बाबुराम भट्टराई र उनले सम्हालेको अर्थ मन्त्रालय नै भएको थियो। अभिलेखले देखाउँछ, भट्टराईको पालामा कीर्तिमानी राजस्व संकलन भएको थियो। भन्सारमा गैरकानुनी दस्तुरी प्रथा पूरै रोकिएका थिए। विदेश भ्रमणमा गएर नभएको बिल पेश गर्ने प्रचलनविपरीत उनले भ्रमणबाट फर्किएर बाँकी रहेको भत्ता रकम राज्यकोषमा फर्काएका थिए।
    चुनावका बेला नानाथरीका आश्वासन बाँड्ने र चुनावपछि जनतालाई चटक्कै बिर्सने नेताहरुलाई पनि उनी टाउको दुखाइ बनेका थिए। किनभने संविधान सभाको चुनाव ताका गोरखाका मतदातालाई उनले जे भने, त्यो पूरा गर्न उनी हरेक महिना जिल्ला पुग्ने गरेका छन्। त्यहाँ आफ्ना मतदातासित अन्तर्क्रिया गर्छन्।
    के फाइदा हुन्छ प्रचण्डलाई ?
    प्रचण्ड र बाबुरामको विवाद अहिले हैन, जनयुद्धकालदेखि कै हो। चुनवाङ बैठकअघि दुई बीच यति तिक्तता बढेको थियो कि भट्टराईलाई ‘जनसेना’ले बन्दी बनाएर राखेका थिए। तर पार्टी एकताका लागि भन्दै पछि भट्टराई र प्रचण्ड मिले। त्यतिबेलादेखि बाबुराम भट्टराईले नेतृत्व क्षमता प्रचण्डमा रहेको भन्दै प्रचण्डको नेतृत्व स्वीकारेका थिए। साथमा वैचारिक मार्गनिर्देशन प्रचण्डले भट्टराईबाट लिने सहमति भएको थियो। तर विकसित घटनाक्रमले प्रचण्डलाई विभिन्न किसिमबाट बाबुरामबाट आफ्नो महत्त्वाकांक्षामा खतरा देखिन थाल्यो। सर्वसाधारणलाई थाहा हुने गरी मात्रै आज यो कुरा बाहिर आएको हो, तर भित्री रुपमा माओवादीलाई बुझेकाहरु सबैलाई थाहा थियो, केही अघिदेखि बाबुरामविरुद्ध पार्टीभित्रैबाट प्रचार हुँदै आएको छ।

    पार्टी भारतविरोधी आन्दोलनमा लागिरहेको बेला पार्टीभित्रैका नेता भारतबाट सञ्चालित भनी देखाउन पाए सर्वसाधारणमा उनको इमेज नराम्रोसँग खस्कनेछ र त्यसबाट हुने फाइदा प्रचण्डलाई नै हो।
    के गर्लान् त बाबुरामले ?
    बाबुराम भट्टराई पार्टीलाई कमजोर हुने गरी वादप्रतिवाद गर्ने मूडमा छैनन्। उनले पार्टीको केन्द्रीय कमिटीको बैठकमा आफूले सँधै त्याग गरिआएको र नेतृत्वको दावी कहिल्यै नगरेको बताएछन्। मबाट असुरक्षित महसूस हुन जरुरी छैन भन्दै प्रचण्डसँग चर्काचर्की बहस भएछ। पार्टी सरकारमा जाँदा वामदेव गौतमलाई उपप्रधानमन्त्री चाहिन्छ भने अनि मैले पार्टीको निर्णय हुँदाहुँदै पनि उपप्रधानमन्त्री पद छाडेँ, पार्टी एकीकृत भयो अनि संसदीय दलका उपनेतामा प्रकाशलाई छाडिदिएँ, बहुपदीय प्रणालीमा पार्टी जाँदा पनि वरियता क्रम मोहन वैद्यलाई छाडिदिएँ। मैले कहिल्यै पद खोजेकै छैन, मदेखि असुरक्षित हुन किन जरुरी भयो ?

    मंगलबार बीबीसी नेपाली सेवासितको अन्तर्वार्तामा भट्टराईले बडो कुटनीतिक भाषामा हाम्रा अध्यक्ष कमरेडलाई दोष दिन चाहन्नँ भन्दाभन्दै पनि यो राजनीतिक संस्कारको अभावका कारण भएको भनी कडा टिप्पणी गरे। उनले भने, यो मेरो चरित्र हत्या गर्ने प्रयास हो।
    http://www.mysansar.com/archives/2010/01/id/8396#more-8396


    No comments:

    Post a Comment