• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, November 8, 2009

    परदेशमा हत्याराको छाप

    होम कार्की

    असोज ३० शुक्रबार साँझ गोरु तिहारको दिन । स्वदेशमा मात्रै होइन, विदेशमा समेत प्रवासी नेपाली कामदारहरू रमाइलोमा मस्त थिए । नेपाली चाडपर्व मनाउन बिदा हुँदैन । समय मिलाएर चाडपर्व मनाउनुपर्छ । साउदी अरेबियास्थित पुरानो रियादमा काम गर्दै आएका तनहुँका डिलबहादुर श्रेष्ठका साथीको समूहले पनि तिहारमा रमाइलो गर्न सामूहिक रात्रिभोज आयोजना गरेका थिए । भोजमा सँगै बस्दै आएका पाँच जना साथीहरू सहभागी थिए । एउटै कम्पनीमा काम गर्ने भएकाले ६ महिनादेखि उनीहरू एउटै कोठामा बस्ने, खाने गर्दै आएका थिए । उनको साथमा सिन्धुपाल्चोकका रामबहादुर तामाङ, मोरङका सन्तोषकुमार जमकट्टेल, चितवनका चित्रबहादुर थिए । उनीहरू अल सुलइमान मजराहा कृषिमा कार्यरत थिए । दिनभरको थकान, नेपाली चाडपर्व भएकाले त्यस दिन अलि रमाइलो
    मुडमा थिए ।
    दुखिया कामदारहरू टेलिभिजन हेर्दै खानाको स्वाद लिइरहेका थिए ।  टेलिभिजनको च्यानल परिवर्तन गर्ने विषयमा सुरुमा सामान्य विवाद भयो । विवाद बढेपछि जमकट्टेललाई अरू साथीहरूले हातपात गरे । रिसको झोंकमा जमकट्टेलले धारिलो छुराले रामबहादुर र डिलबहादुरलाई प्रहार गरे । युवा बहसका मोहन बानियाँका अनुसार रामबहादुरको देब्रो खुट्टा र डिलबहादुरको पेटमा लाग्यो । गैरकानुनी कामदार भएकाले सरकारी अस्पतालमा उपचार हुँदैन । साहूले खोजेर अस्पताल लैजानेक्रममा ढिला भइसकेको थियो । अन्ततः डिलबहादुरले ज्यान गुमाए ।
    आफ्नै हितैषी साथीहरूबीच सामान्य विवाद हुँदा नेपाली मारिएको साउदीमा एक महिनाको अवधिमा घटेको यो दोस्रो घटना हो । 'विशेष गरी एउटै कम्पनीमा काम गर्ने र सँगै बस्ने सहकर्मी नेपाली कामदारहरूबीच सामान्य विवादमा आवेगमा आउँदा एकले अर्कालाई हत्या नै गर्न थालेको छ,' रियादस्थित नेपाली दूतावासका प्रवक्ता खड्गप्रसाद दाहाल भन्छन् । महिना दिन अगाडि पनि 'दुई वटा पेप्सी खरिद' को विषयमा विवाद हुँदा एक जना सहकर्मीले रुम पार्टनरलाई हत्या गरिदिए । विष्णु घिमिरेले सहकर्मी उत्तम कुँवरलाई छुरा प्रहार गरी हत्या गरेका थिए । कुँवरले स्थानीय पसलमा घिमिरेको नाममा पेप्सी लिएर आएको रहेछ । त्यसमा विवाद हुँदा ज्यानै गुमाउनुपर्‍यो ।
    साउदीमा हत्यासम्बन्धी मुद्दामा निकै कडा कानुन छ । हत्या गरेको पुष्टि भएमा हत्यारालाई अदालतले 'शिर छेद' गरी मृत्युदण्ड दिन्छ । 'यहाँको कानुनबारे धेरैलाई जानकारी छ । तर पनि नेपाली
    कामदारमा यस्ता आपराधिक क्रियाकलाप देखिँदा झन् जटिल समस्या ल्याएको छ,' दाहाल भन्छन्- 'यस्ता दुःखदायी घटनाहरू बढ्न थालेका छन् ।'
    वर्ष दिन अगाडि हत्या गरेको घटनामा उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको फैसला सुनाइएको थियो । विवेकले आफ्नै मामाको छोरा भोजपुरका राजेन्द्र दाहाललाई बन्चरोले हानेर हत्या गरेका थिए । उनीहरू पूर्वी प्रान्तको दमाम छेउमा उ“mट चराउने कम गर्थे । दाहालका अनुसार अदालतसमक्ष पीडित परिवारबाटै मृत्युदण्ड नदिन अनुरोध गरेपछि विवेकलाई अदालतले मृत्युदण्डको सजायबाट भने मुक्ति दिएको छ ।  सरिया कानुनअनुसार अदालती निर्णयपछि पनि सम्बद्ध पीडित परिवारका तर्फबाट सजाय वा माफी दिनसक्ने व्यवस्था छ ।
    दूतावासका अनुसार हाल नेपालीले नेपालीलाई हत्या गरेको चार घटनाको मुद्दा अदालतमा चलिरहेको छ । अझ नेपालीले अन्य मुलुकका सहकर्मी कामदारहरूलाई हत्या गरेको अभियोगमा आधा दर्जन नेपालीलाई मृत्युदण्डको सजाय सुनाइसकेको छ । साउदीको उत्तरपश्चिम अलजौफ क्षेत्रमा पर्वतका सन्तबहादुर पुन मगर आफ्नै अरेबियन मालिकको हत्या अभियोगमा सात वर्षदेखि साउदीको गुडायत कारागारमा छन् । अभियोग पुष्टिपछि मृत्युदण्ड पाए पनि पीडित परिवारको अन्तिम निर्णयलाई अदालतले पर्खेर बसेको छ । मारिएको व्यक्तिको छोरा नाबालक -१५) वर्ष भएकाले अबको एक वर्षपछि मात्रै यो परिवारले सजाय वा माफीको निर्णय लिन सक्नेछ ।
    साउदीमा आपराधिक क्रियाकलापमा नेपाली कामदार संलग्न भएका पुराना भने झन्डै दुई हजार आपराधिक मुद्दा अदालतमा दर्ता भइसकेको छ । यस्ता आपराधिक घटनामा संलग्न भएका धेरैजसो गैरकानुनी कामदार छन् । 'जुन कम्पनीमा कानुनी रूपमा कामदार आएका छन्, उनीहरू कामबाट निकालिने र स्वदेश फिर्ती पठाइदिने डरले अनुशासित रूपमा कार्यरत छन्,' दाहालले भने ।
    साउदीमा अहिले गैरकानुनी रूपमा करिब ७० हजार कामदार गैरकानुनी पुगिसकेका छन् । उनीहरू निकै पीडादायी जीवन बिताइरहेका छन् । घर फिर्ने दिन अनिश्चित छ । दुई पैसा कमाउन पराई भूमिमा पसिना बगाउन गएका दुखिया कामदारहरूलाई हत्याराको छाप लाग्ने घटना बढ्दै छ । यसले झन् अर्को चुनौती थपिँदैछ ।
    hom.reporter@gmail.com

    http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=3950

    No comments:

    Post a Comment