• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, October 19, 2009

    सयौंकी एक दिदी भाइटिकाको




    सन्तोष न्यौपाने,
    सन्तोष न्यौपाने, काठमाडौं- भावनाको सम्बन्धले समाज जोड्ने जमर्को गर्दै छिन् अञ्जली - हरेक भाइटिकाको दिन। ताहाचल, मूल सडकभन्दा अलि भित्रपट्टिको चार तले घर। बैठक कोठाका टेबलमा थुप्रै फोटा छरिएका छन्। छेउमै छन्, भाइटिका पर्खिरहेका टिका, माला, फलफूल र मिठाइका किस्तीहरूको लस्कर।
    'तिहार आइसक्यो, सामानहरू मिलाउँदै छु,' अञ्जली मास्के छेउको सोफामा बसिन्। उनको व्यस्तता सुरु भएको एक महिना भइसक्यो। उनलाई यसमै खुसी लाग्छ।'रगतको नातामात्र ठूलो होइन,' सयौं दाजुभाइकी धनी अञ्जलीलाई लाग्छ, 'भावनाको नातामै वास्तविक मानवता छ।'
    भावनाको यही सम्बन्धले समाज जोड्ने जमर्को गर्छिन् अञ्जली - हरेक भाइटिकाको दिन।
    उनका कुनै साख्खै दाजुभाइ छैनन्। एकजना दाजु थिए, अहिले बितिसके। तर, बाह्र वर्षदेखि उनी 'अञ्जली दिदी' ले परिचित छिन्। विभिन्न कारणले टिका लगाउन नपाएका सयौं दाजुभाइलाई उनी काष्ठमण्डपमा सामूहिक टिका लगाइदिने गर्छिन्।
    'कतिजना दाजुभाइ पुगे'नि दिदीका?' उनले जजंका (नेवारहरूले भाइटिकाको दिन लगाउने माला) हातमा लिदै भनिन्, 'पोहोरसम्म दुई सय ५० पुगेका थिए। यसपालि कति थपिने हुन्। जो आए पनि खुला छ। भाइटिकाको दिन कसैको निधार खाली नहोस् भन्ने म चाहन्छु।'
    'कसरी आयो नि यस्तो काम गर्ने सोच?' यो प्रश्नले उनलाई बाल्यकालतिर डोर्‍याउँछ।
    सानैदेखि विभिन्न धार्मिक स्थल धाउँथिन् उनी। बसन्तपुरको गोरखनाथ बाबाको मन्दिरचाहिँ रोजै पुग्थिन्। उनै बाबाको भक्त बनिन् उनी। बालसुलभ मनमा धार्मिक आस्थाको गहिरो छाप पर्‍यो। बाबाको प्रेरणाले उनलाई असहायहरूको नजिक पुर्‍यायो।
    उनी वीर अस्पताल धाउन थालिन्, जहाँ असहाय बालबालिका र वृद्धवृद्धाहरू भेटिन्थे। उनले तिनलाई लुगाफाटा र खानेकरा पुर्‍याउन थालिन्। 'धन्य, यो संसारमा यस्तो मान्छे पनि भेटिँदो रहेछ। दिदी दिनदिनै आउनु है,' भोको पेट र नांगो शरीरले दिएको आसिकलाई उनको मन झनै पगाल्यो।
    उन्नाइस वर्षदेखि यो कार्य जारी छ।
    २०५५ सालतिर उनलाई अर्को काम गर्ने इच्छा पनि भयो - सामूहिक भाइटिका। समाजमा दिदीबहिनी नभएका, भएर पनि मिलन हुन नसकेका वा अन्य कारणले तिहारको दिन रित्तो निधार लिएर हिँडेका दाजुभाइ उनले धेरै देखेकी छिन्। 'मलाई ती खालि निधार भर्न मन लाग्यो,' उनी भन्छिन्।
    'सयजना आएका थिए,' उनी पहिलो वर्षको अनुभव सुनाउँछिन्, 'त्यसैअनुसार सगुन जम्मा गरेँ। काष्ठमण्डपमा मण्डप तयार पारेँ।'
    नेवार संस्कृतिमा भाइटिका लगाउन विशेष खालको मण्डप बनाइन्छ। मण्डपमा 'आयु र दिर्घायुको कामना' भन्ने लेख्नुपर्छ। अष्टभैरव, लावा, अबिर, गणेश र कुचोको पूजा गर्नुपर्छ। कुचोलाई लक्ष्मी मानिन्छ। सगुनमा अण्डा, माछा, मासु, रक्सी र बारा छुटाउनु हुँदैन। रक्सी नपिउनेलाई दही ख्वाइन्छ। अनि, घाँटीमा लगाउन जजंका।
    दोस्रो वर्ष मण्डपहरू अझ थपिए। तेस्रोपटकदेखि त काष्ठमण्डपमा तुलै राख्न थालिन् - 'यहाँ अञ्जली दिदीबाट निःशुल्क भाइटिका लगाइन्छ।' नाम दर्ताका लागि सम्पर्क नम्बर पनि दिइन्। सञ्चार माध्यमले पनि उनका बारेमा लेख्न र भन्न थाले।
    र, उनी सबैका 'अञ्जली दिदी' बनिन्।
    अचेल अञ्जली दिदी स्वदेशीदेखि विदेशी दाजुभाइसम्म चिनिन्छिन्। 'ऊ ती फोटाहरू हेर्नुस् न, आफैं थाहा पाउनुहुन्छ,' उनले टेबलभरि छरिएका फोटो देखाइन्।
    एमाले नेता बामदेव गौतमदेखि विदेशीहरूसम्मका फोटा थिए - सबै भाइटिकाको मण्डपमा खिचिएका।
    टिका लगाउने दाजुभाइबाट निकै प्रशंसा पाएकी छन् उनले। 'खुसीको सीमै हुँदैन,' उनका आँखा भरिएर आउँछन्, 'कतिले त कोसेली पनि ल्याउँछन्। त्यस्तोचाहिँ मलाई मन पर्दैन।' त्यही भएर हिजोआज उनी सुरुमै भन्छिन्, 'कोसेलीको कष्ट नगर्नुहोला'।
    उनका यी दाजुभाइमध्ये कति त दसैंको टिका थाप्न पनि आउँछन्। 'मेरो घर खोज्दै आइपुग्नुहुन्छ,' उनका आँखा चम्कन्छन्, 'निकै खुसी लाग्छ।'
    उनले केन्द्रीय कारारगारमा रहेका बन्दी दाजुभाइलाई पनि सामूहिक टिका लगाउन भ्याएकी छन्। २०५६ सालमा १३ सय बन्दीलाई टिका लगाइदिएका थिइन्। 'उहाँहरूको पनि भाइटिका मनाउने रहर हुन्छ। तर सबैका दिदीबहिनी त्यहाँ पुग्दैनन्,' उनले कारागार जानुको कारण खोलिन्।
    उनको काम यतिमै सीमित छैन। २०५३ देखि निःशुल्क बेल विवाह र ब्रतबन्ध पनि गराउँदै आएकी छन्। धेरै खर्च गर्न नसक्नेहरू वा काममा व्यस्त भएकाहरू सामूहिक बेल विवाह र ब्रतबन्ध गराउँछन्।
    साँच्चै यस्तो सामूहिक भाइटिका, बेल विवाह र ब्रतबन्धका लागि कति खर्च गर्छिन् त यी दिदी?
    'हिसाब नै गर्दिनँ भाइ म त। खर्च त लागिहाल्छ नि। हरेक सामानको महंगी बढेको छ। तर खर्चभन्दा पनि मेरो यो प्रयासले अरूको मुहारमा जुन खुसी देखिन्छ, त्यो नै मेरो लागि सबथोक हो,' उनी भन्छिन्।

    गत साल भने दाजुको मृत्युका कारण उनले बेल विवाह र ब्रतबन्ध गर्न सकिनन्। भाइटिका भने कहिल्यै रोकिएन।
    यसपालि पनि सगुनका अन्डा घर आइसके। मिठाइको अर्डर दिइसकिन्।
    २०२४ सालदेखि अञ्जली दिदीको हातबाट निरन्तर टिका लगाउँदै आएका छु। सामूहिक टिका लगाउनुअघि उहाँकै घर जान्थेँ। पछि काष्ठमण्डप आउन थालेँ। उहाँका आफ्नै दिदीबहिनी छैनन्। मखनमा सँगै रहँदा उहाँलाई दिदी बनाएँ। आफ्नै परिवारजस्तो लाग्छ।
    इन्द्रमान श्रेष्ठ (मखन)
    मेरा आफ्नै दिदीबहिनी पनि छन्। तर गोरखनाथ बाबाको प्रसादका रूपमा अञ्जली दिदीको हातबाट टिका लगाउँछु। हामी भगवानप्रति आस्था राख्ने, दिदी पनि गोरखनाथ बाबाको भक्त।
    महेन्द्र श्रेष्ठ (डिल्लीबजार)


    No comments:

    Post a Comment