Saturday, September 26, 2009

सिर्जनामा दसैं

प्रभा भट्टराई
हट्यो सारा हिलो-मैलो 


हरायो पानीको बर्षा 


भवानीको भयो पूजा
चल्यो सानन्दको चर्चा ...


हिजोआज कवि शिरोमणि लेखनाथ पौड्यालको यो कवितांश संगीतले सजिएर सर्वत्र गुञ्जायमान भैरहेको छ। साँच्चै दसैंले सबैलाई छोएको छ, छोपेको छ। हिन्दुहरूको महान् पर्व दसैंले सबैको ढोका घच्घच्याइसकेको छ। विजयादशमीका रूपमा स्थापित यस पर्वको धार्मिक, सांस्कृतिक, सामाजिक, सांगीतिक, साहित्यिक अनेक पक्ष छन्। देवी दुर्गाले आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्दर्भ धार्मिक-पौराणिक पक्ष हो भने टिका-जमरा, ढोगभेट, आशीर्वाद, मिठो खाना, राम्रो लुगा, घरको लिपपोत र शृंगार, पिङ, जुवा-तास इत्यादि यसका सामाजिक र सांस्कृतिक पक्ष हुन्। मालश्री, दुर्गा भजनले रेडियो-एफएम र टिभी च्यानलमा ठाउँ जमाएको छ। विभिन्न साहित्यकारले नाटक, उपन्यास, कथा, कवितामा दसैंको चर्चा गरेका छन्। दसैंका मुखमा केटाकेटीले नाच्दै, औंला भाँच्दै गाउने बाल लोकगीत : 


दसैं आयो, पाती फुल्यो
खाउँला पिउँला,
कहाँ पाउँला?
चोरी ल्याउँला!
धत् पापी! छुट्टै बसौंला!

सायद यो नै हामीले सबैभन्दा पहिले सुनेको दसैंसम्बन्धी साहित्यिक अभिव्यक्ति हो। यसमा दसैं आएको जानकारी र खुसियालीसँगै कसरी दसैं मनाउने भन्ने प्रश्न, चिन्ता र समस्यासमेत उपस्थित छ। कसैले निकालेको समाधान (चोरी गरेर ल्याउनु) माथि अर्काको आपत्ति (छुट्टै बसिदिने) समेत देखिएको छ। त्यसैले चोरी गरेर दसैं मनाउनुभन्दा दसैं नै नमनाउनु राम्रो भन्न खोजेको संकेत एकातिर देखिन्छ भने अर्कातिर नेपालीको गरिबी र बाध्यता (नचोरीकन मिठो खान नपुग्ने!) समेत यस गीतमा प्रतिविम्बित छ। यसरी नजानिँदो पाराले नैतिक पाठ र मनोरन्जनसमेत एकैसाथ दिने यो बालगीतको अर्थ र महिमा हिजोआज बु‰दैछु। बालक मात्रै होइन, प्रौढहरूका अभिव्यक्तिमा सबैकोे लगभग यस्तै आसय भेट्ने गरेकी छु। लोकसाहित्यमा दसैंको सन्दर्भ कोट्याउँदा दसैंसम्बन्धी मर्मस्पर्शी कवितात्मक उखानहरूको पनि सम्झना आयो :
आयो दसैं ढोल बजाई, 


गयो दसैं ऋण बोकाई!
धनीलाई दसैं, गरिबलाई दशा!
हुनेलाई दसैं, नहुनेलाई बसैं!
अहिलेको दसैं त्यत्तिकै भयो, आगौं त मानौंला!

यसरी प्रचलित उखानले पनि दसैं भन्नेबित्तिकै उही ऋण काढेर भएपनि मिठो खाने, राम्रो लाउने कुरालाई उमंगभन्दा बाध्यताकौ स्तरमा अभिव्यक्त गरेका छन्। 'घाँटी हेरेर हाड निल्ने र अरूले घोडा चढे भन्दैमा आफूले धुरी चढ्न नहुने' पुर्खाका उपदेश पनि दसैं मुखैमा आइपुगेपछि प्रभावसुन्य हुन पुगेका छन्। अतिरिक्त राम्रो र अतिरिक्त मिठोकै महत्वाकांक्षाले हरेक वर्ष जनसाधारणको दसैंले खिन्नता छाडेर जाने गरेको छ। जसले गर्दा दसैंको वास्तविक अर्थ र महिमाबाट कोसौं टाढा हुनुपरेको छ। आफ्नै हैसियतको दसैंमा रमाउन जान्ने हो भने दसैंले वर्षभरिलाई पुग्ने खुसी छाड्न सक्छ। लीलबहादुर क्षेत्रीको 'बसाइँ' उपन्यास, भीमनिधि तिवारीको 'टीका' एकांकीलगायत अनेकौं गद्य विधाका साहित्यिक कृतिमा दसैंको चर्चा पाइन्छ भने कविता विधामा त गनिनसक्ना कृतिहरू दसैं सन्दर्भमा आएका छन्। प्रत्येकजसो नेपाली कविले आफ्नो जीवनको कुनै न कुनै दसैंमा यसबारे कविता लेख्ने गरेको देखिएको छ।
कवि शिरोमणि मात्र हैन महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि आफ्नो 'दसैंताक' भन्ने कवितामा पशुबलिका कुरा कोट्याएका छन् :
त्यो बोकाले खाइरहेछ 


खास घाँस
हामीहरूको आर्कै यहाँ छ
अनाज,
त्यो कालो छ हामीहरूको रङ सेतो छ
गाढा गाढा!
क्या मात्तेको मोटो पशु छ छाडा!
आउला दसैं!
यसको वलिदान!
हाम्रो उत्सव!

साँच्चै दुर्गापूजासँग जोडिएको बलिप्रथालाई धेरैले खुलेर समर्थन गर्न सकेका छैनन् भने बलिप्रथा रोकिन पनि कहाँ सकेको छ र? 'निमुखो-निर्धो साकाहारी प्राणीको हत्या गरेर देवीको प्रसाद' भन्दै मुख मिठ्याउनेहरूको विश्वासमा परिवर्तन नआइकन दसैंमा पनि परिवर्तन आउनसक्छ भनेर कसरी पत्याउने? महिषासुर, चण्ड-मुण्ड, धुम्रलोचन जस्ता शक्तिशाली एवं पराक्रमी दैत्यहरूको उछित्तो लिने वीरांगना देवी माताले आफ्नै सोझा र निमुखा सन्तानको बलि कसरी स्वीकार गर्लिन्?
कवि शिवगोपाल रिसाल आफ्नो 'दुर्गा पूजा र बलिको रहस्य' कवितामा भन्छन् : 

बोकादि काट्नु नै धर्म यदि साँच्चै हुने भए
बगरेजति धर्मात्मा धरामान हुने थिए
बोको, खसी र च्याङ्ग्रादि बिरालो पनि हैन रे
मुसोसम्म पुगे भान्छा छोइयो, अपवित्र रे!
काटियो जब त्यै बोको, पुण्यात्मा भो, पवित्र भो
भान्सामा उक्लियो मासु के यो वैदिक धर्म हो?

दसैंको समस्याका रूपमा नाना र खानामात्र नभएर बलिप्रथा समेत अगाडि तेर्सिएको देखिन्छ। यसलाई समाधान गर्न नसके 'निर्धाको बलि दसैं' भन्ने नयाँ उखान चल्न के बेर? यस्तै सन्दर्भमा कवि जगदीश घिमिरेको 'दसैं आयो, दसैं आएन' कवितांश :
नौरथाका नवै रंग बोकेर 


नौदुर्गाका नवै बैंस टिपेर
नौरत्नका नवै जुहार सिउरेर
के के न खाउँला, के के न लगाउँला
भन्दै दसैं आयो।
भल बाढीमात्र हैन घरखेत बगायो
जनावर मात्र होइन
निर्धा, निमुखाहरूको समेत बलि खायो
दसैं आयो, दसैं आएन।

कवि विवस पोखरेलको दसैंप्रति गुनासो बेग्लै छ। बाबुको लिँडेढिपीले पाट खेती गर्दा र साहुले त्यसको मूल्य नदिएर दसैं अलपत्र पर्दाको भाव उनको कवितामा छ :
हो, यसपालि हामीले दसैं मनाएनौं


केही घामले झुक्यायो
केही पानीले झुक्यायो
अलिकति त बाको लिँडे बानीले झुक्यायो।

कवि दुवसु क्षेत्री पनि दसैंसँग सन्तुष्ट देखिँदैनन्, आफ्नो 'दसैं दशा' कवितामा उनी यसरी मनको तितो पोख्छन् : 


जति जति समाधानका रामहरू निकाल्छु
उति उति समस्याका रावणहरू भेष बदल्दै आउँछन्।

अरूलाई देखाउन र इज्जत जोगाउनकै निम्ति भनेपनि दसैंमा ऋण काढ्नेहरू घटेका छैनन् तर बालबालिकाका कुरा अर्कै छन्। उनीहरू दसैं मनाउनुको रमाइलो मात्र सम्झन्छन्, अरू पीर-चिन्ता बु‰दैनन्। बालकवि अभयराज जोशी जुवालाई ध्यान दिँदै यसो भन्छन् :
दसैं आयो, दसैं आयो ... 


रामले जुवा खेल्दा सबैलाई हरायो
आफू हारेको देख्दा हरि करायो
तिनीहरू कराएको सुन्दा
एउटा बूढा बा सोच्न थाले
हैन! यिनीहरूको बुद्धि कता हरायो!

त्यस्तै धेरै बालबालिकाले दसैंका विविध पक्षबारे विभिन्न समयमा विभिन्न अभिव्यक्ति दिएका छन्। बूढापाकामा जस्तो निराशा र उदासीनता उनीहरूमा देखिँदैन। साँच्चै, दसैं केटाकेटीकै लागि रमाइलोसँग आउँछ। तर पछिल्ला समयमा कलिला नानीहरूको मुहार द्वन्द्वका कारण, प्राकृतिक विपत्तिका कारण विस्तारै ओइलिँदै गएको छ। उनीहरूबाट पनि पीडा र निराशाका कविता प्रस्तुत हुने नौबत नआओस्! दसैं धेरैका लागि धेरै अर्थ बोकेर आउँछ। परदेश गएकाहरू घर सम्झेर फर्कन्छन्, टिकोटालो, पिङ-जुवा, खानपान, प्रेम-सद्भाव जस्ता कुराले दसैंलाई आफ्नै पहिचानका साथ स्थापित गरिदिएका छन्। सबैमा सधैं सुखशान्तिले बास गरिदिऊन्, लोभ-लालच, तेरो-मेरो, तँछाड-मछाड सबैलाई बिर्सेर समभावका निम्ति दुर्गा भवानीले सबैलाई सद्बुद्धि दिऊन्, बस्!



1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं रुचि हो भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete