• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, September 23, 2009

    साझा सवालमा जबाफ नआएको प्रश्न!


    भुवन तिमिल्सिना
    कालो झण्डा देखाउने अन्दोलनले काम गरेको छ ?
    नयाँ संविधान निर्माणको ऐतिहासिक विन्दुमा पुर्‍याउनका लागि हामी संघर्ष गर्न बाध्य भएका हौँ।
    कालो झन्डाले समस्या सामाधान गर्ने भए सबैले कालो झन्डा बोकौं न।
    राज्यको बन्दुक नागरिकको मातहतमा भएन भने नागरिकले हात हातमा बन्दुक लिएर भएपनि नागरिक सर्वोच्चता कायम गर्नुपर्छ।
    केही हजार नेपाली बलीको बोको बन्नु पर्नेछ, त्यसो भए ?
    निश्चित्रूपमा, आन्दोलन चाँहि केक काटेको जस्तो हुँदैन।
    बीबीसीको साप्ताहिक बहस कार्यक्रम ‘साझा सबाल'को दोस्रो खण्डसम्म जनता र नेताबीचको सबालजबाफ लगभग यस्तै थियो। कार्यक्रमका मुख्य वक्ता थिए एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ।
    यस पटक युवा सहभाग धेरै थिए। छलफल निकै तातेको थियो। प्रश्न सोध्न धेरै सहभागीका हात उठेका थिए। कार्यक्रमको अन्तिम अर्थात् तेस्रो खण्डमा बाँकी केहीलाई सहभागी गराउने निधो गरी दोस्रो भागको अन्त्य गर्नुबाहेक अरू उपाय थिएन। यस पटक प्राविधिक कारणले लामो रेकर्ड गर्न सकिँदैनथ्यो।

    तेस्रो खण्डको सुरुमै कार्यक्रम प्रस्तोता नारायण श्रेष्ठले एक जना बालिकाको प्रश्न लिए। नारायणकाजी श्रेष्ठ त्यसको जबाफ दिँदै थिए। ओभी भ्यानमा बसेका प्राविधिकले ‘अडियो लेभल' कम भएको भन्दै आवाज चर्को बनाउन लागे। रेकर्डिङ् हलमा पनि सन्नाटा जस्तै व्याप्त भयो। दुई मिनेट पहिलेउम्लिएको नागरिक सर्वोच्चताको बहस सेलायो। सबै भावुक भए। केहीका आँखा रसाए। सामान्यतया चर्को स्वरमा बोल्न रुचाउने नारायणकाजी श्रेष्ठ मलिन हुँदैथिए। कारण थियो ती बालिकाको प्रश्न। उनले भनेकी थिइन् - मेरो नाम समिधा शाह, ठेगाना राम शिखर झाला रतीपुर कैलाली, प्रश्न माओवादी नेता नारायणकाजी श्रेष्ठलाई। मेरो बुवा कांग्रेसप्रति आस्थावान भएकै कारण माओवादीबाट काटिनु पर्‍यो। तपाँईको पार्टीले मेरो बुवाजस्ता हजाराँै निर्दोष नागरिकको हत्या गरेको थियो। तपाँईको पार्टी सरकारमा गएपछि आफ्फ्फ्ना पार्टीका मरेका कार्यकर्तालाई सहिद घोषणा गर्नुभयो र सहयोग पनि दिनु भयो। तर हामी निर्दोष बालबालिकाले आफ्ना अभिभावक गुमाइसकेपछि कसरी आफ्नो जीवन अगाडि बढाउने? यस विषयमा तपाईलाई कत्ति पनि आत्मग्लानि हुँदैन?
    उनको प्रश्न सकिएपछि चर्को ताली बज्यो तर एकाएक सबै भावुक भए। जवाफमा माओवादी उपाध्यक्ष श्रेष्ठले भने - सानो बैनीप्रति मेरो पूरै सहानुभूति छ, मेरो दुःख पनि छ। तर यो द्वन्द्व संधर्षको क्रममा हजारौँ हजार नेपाली जनताका छोराछोरी .......... परिवर्तनका लागि भनेर हाम्रै पार्टीकाले पनि सहादत भोग्नु भयो। त्यस क्रममा कतिपय अरूको पनि मृत्यु भयो, निधन भयो वा विविध ढंगले दुर्घटनाको सिकार हुनुपर्‍यो। अहिले हामीले इतिहासका ती घटनालाई र तीतोलाई हृेरि अगाडि सारेर हैन, नयाँ सिराबाट परिवर्तनका लागि अगाडि बढ्नुपर्छ तर ती सबै पीडालाई संबोधित गर्नुपर्छ, संवेदनशील हुनुपर्छ। ... त्यस प्रकारका घटना दोहोरिन नदिन नयाँ संविधान समयमै बनाऔं भनेका हौँ। तपार्इँजस्तै बालबालिकाले फेरि त्यस्तो संघर्ष गर्न नपरोस् भनेर नै शान्ति र नयाँ संविधानको ऐतिहासिक कार्यभार पूरा गरौँ भनेर हामी लागिरहेका छौँ।
    कार्यक्रम सकिएपछि समिधासँग फेरि भेट भयो। उनी हिजोआज काठमाडौं नै बस्दिरहिछिन् आफ्ना दाजुदिदीसँग। उनको प्रश्नको सिधा जबाफ नआएकोमा उनी निराश थिइन्।
    २०५९ साल भदौ १९ गते उनका बाबाको हत्या भएको थियो। घटनाको केही दिन पहिले बुबाले उनीहरूलाई काठमाडौंबाट धनगढी लगेका थिए। समिधा त्यस बेला पाँच वर्षकी थिइन्।
    उनलाई सम्झना छ, त्यस रात घर नजिकैको केरा घारीमा कोही आएको थाहा पाएपछि कुकुर बेसरी भुकेको थियो। घरको ढोका खुलै थियो। एकैछिनमा तीनजना घरभित्र छिरे। एकजनाले आमालाई घाँटीमा खुकुरी तेर्स्याए, एक जनाले बाबालाई टाउकोमा हिर्कायो र अर्कोले उनीहरूलाई घरको चोटामा थुन्यो। त्यसपछि उनीहरूले बाबालाई घिसारेर बाहिर निकाले। घर नजिकै पानीको धारा छ। त्यहीं पुर्‍याएर बाबाको घाँटी छिनाए। बावाको टाउको नभएको रगतपच्छे शरीर धारा नजिकै छोडेर ती मानिसहरू गए। टाउको उनीहरूले नै लगे। भोलिपल्ट त्यो टाउको गाउँ नजिकै सडकमा बाँसको लिंगोमा झुण्ड्याइएको थियो।

    साझा सबालको त्यस अंकको रेकर्डिङ सकिएपछि हामी उत्पादन टोलीका सदस्य पनि आपसमा नै प्रश्न गर्दै थियौँ - राजनीतिक खिचातानीमा रुमल्लिएका हाम्रा नेताले जनताका प्रश्नको सिधा जबाफ कहिले देलान्? द्वन्द्वको घाउ निको नभए त्यस्ता बालबालिकाको मनमस्तिष्कमा पर्ने नकारात्मक प्रभावका कारण फेरि देशले द्वन्द्व बेहोर्न पनि पर्न सक्छ। ती अबोध बालिकालाई आफ्ना बुबाको हत्याले लागेको त्यो चोट निको पार्ने सामर्थ्य हाम्रा नेताहरूमा छ कि छैन? सम्पर्ण बहसलाई स्तब्ध बनाउन सक्ने समिधाजस्ताको पीडाको ओखती नयाँ संविधानमा हुने छ कि छैन वा त्यस्तो संविधान बेलैमा लेखिने छ कि छैन? जवाफ पाउन गार्‍हो छ। तैपनि समिधाको प्रश्नको उत्तर नदिई त सुख पाइने छैन।



    1 comment:

    1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं रुचि हो भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

      ReplyDelete