Saturday, July 28, 2012

जापानमा जागेको ‘कपीपेष्ट’ पत्रकारिता

गएको साउन २० गते पत्रकार मोहन वस्यालले रेडियो चितवनमा निम्ता गरे । उज्यालो ९० नेटवर्कमार्फत देशभरका रेडियोमा प्रसारण हुने कार्यक्रम “हाम्रो नेपाल राम्रो नेपाल” का लागि उनीसंग छलफल भयो । सोही कार्यक्रमको एक प्रसंगमा जापानमा चलिरहेको नेपाली पत्रकारिताको बारेमा उनले मलाई सोधे । “जापानमा चलिरहेको नेपाली पत्रकारिता कपी पेष्टमा आधारित छ” भन्नेसम्मको चर्चा चल्यो । म यसमा सहमत नै थिएँ । किनभने विगत चार वर्षदेखि जापानको नेपाली पत्रकारितालाई नजिकैबाट नियाल्ने अवसर मलाई प्राप्त थियो । संगसंगै अनलाइन पत्रकारितामा पनि थप संलग्न भएका पत्रकार वस्यालले चितवनमै रहेर पनि जापानको अनलाइन पत्रकारितालाई नचिन्ने कुरै भएन । यसबाहेक अनलाइनसंग खेल्ने र रमाउने पाठकदेखि पत्रकार जो कोहिलाई पनि नेपाली समाचार पढ्ने, हेर्ने र सुन्ने क्रममा फरक फरक मिडियामा आएका समाचार एकापसमा दाँज्ने मेसो समेत सजिलै प्राप्त छ । 
वैदेशिक रोजगारी र अध्ययनका क्रममा नेपालीहरु प्रवासिने क्रमसंगै पत्रकारिता पेशा गरेका र यसमा रुची भएकाहरु पनि विदेशिएका छन्  । अनि उनीहरुले विदेशमै बसेर अनलाइन पत्रकारिता शुरु गरेका छन्  । पत्रकारिताको सोखलाई टिकाइराख्न थोरैले विदेशमै छापा पत्रकारितालाई पनि माध्यम बनाएका छन्  । संगसंगै रेडियो र टेलिभिजन पनि शुरु भएको छ । यो निकै राम्रो काम हो । प्रवासिएका नेपालीलाई समेत यसले सुसुचित हुने मौका प्रदान गरेको छ । तर अधिकांशको समाचार श्रोत भनेको मुलधारका नेपाली मिडियामा प्रकाशित भएका समाचार बन्दै आएको छ । 
सबै देशमा छरिएर रहेका प्रवासी नेपालीले सञ्चालन गरेका पत्रकारिताका बारे जान्दाजान्दै उल्लेख गरेर यहाँ साध्य छैन । यसैले आउनुस् , पहिलो चरणमा जापानबाट सञ्चालित नेपाली पत्रकारिताबारे कुरा गरौं । जापानमा अहिले चार वटा अनलाइन र एउटा छापा पत्रिका नियमित रुपमा सञ्चालित छ । अनलाइनतर्फ जापानमा तिलक मल्लको समुद्रपारि डटकम, कुमार मोक्तानको टोक्यो नेपाल डटकम, शरद शेरचनको नेपाल जापान डटकम र सोनाम शेर्पाको वीलभनेपाल डटकम सञ्चालन भइरहेको छ । साथै भुषण घिमिरेले नेपाली समाचार पाक्षिक प्रकाशन गरिरहेका छन्  । यसअघि यो पत्रिका साप्ताहिक रुपमा प्रकाशित थियो । जापानमा वैध रुपमा रहेका करिब वीस हजार नेपालीमध्ये सबैजसोले उत्तिकै महत्वका साथ यी मिडियालाई प्रयोग गर्छन्  । 
जापानमा रहेका नेपाली संघसंस्था, दुतावास र अन्य व्यावसायीले पनि आफ्ना गतीविधि र विज्ञापन दिन पर्यो भने यसैलाई प्रयोग गर्छन्  । जसले गर्दा उनीहरु व्यावसायिक पत्रकारितामा पनि अगाडि बढ्ने प्रयासमा छन्  । तर पत्रकारिताको मर्म र धर्म निर्वाह गर्ने क्रममा जापानका सबैजसो नेपाली मिडिया चुकेका छन्  भन्दा गल्ती पटक्कै हुनेछैन । लगभग गल्ती सबैको देखिएको छ । जसका कारण फस्टाउँदै गएको नेपाली पत्रकारितालाई आम जनताले बुझ्ने दृष्टिकोण पनि बदलिएको छ । सबैको समस्या एउटै हो, कपीपेष्ट पत्रकारिताको निरन्तरता । अब त हामीलाई यस्तो लाग्दैछ, नेपालमा मुलधारका मिडिया एक हप्ता मात्रै बन्द हुने हो भने पनि यसरी सञ्चालित प्रवासी मिडिया समेत समाचारको अभावमा बन्द हुन बेर लाग्दैन । 
जापानमा कपीपेष्ट पत्रकारिताको समस्या अति नै भएपछि जापानी टेलिभिजनमा नेपाली कार्यक्रम प्रस्तोता डा.जिज्ञानकुमार थापा निराश भए । उनले कडा शव्दमै फेसबुकमार्फत गत मंगलबार अनुरोध सहितको रिस पोखे । उनको भनाई यस्तो थियो, “जापानका अनलाइन मेडियालाइ अनुरोध । तपाइहरुसंग आफ्नै साधन र श्रोत नभएर नेपालको अन्य मेडियाको समाचार कपि पेष्ट गर्नुहुन्छ त्यो सबैलाइ थाहा भएकै कुरा हो । त्यो नराम्रो पनि होइन । तर कृपया कुन पत्रिका वा मेडियाको समाचार हो श्रोत खुलाउनुहोला । नत्र तपाइहरुको अस्तित्व रहदैन ।” जसलाई ५९ जनाले फेसबुकमै “लाइक” ठोके । रेडियो चितवनमा जापानको नेपाली पत्रकारिता कपीपेष्टमा आधारित छ भनेकै भोलिपल्ट जिज्ञान थापाको पनि यस्तो भनाई आएपछि अझ अवस्था सुध्रिएको छैन है भन्ने लाग्यो । 
यो समस्या यसरी नै बढ्दै जाने र कसैले पनि सुझाव नदिने हो भने त कपीपेष्ट गरेरै पत्रकारिता चलिहाल्ने भो । यो आरोप पटक्कै होइन, आम पाठकको चाहना हो भनेर यी मिडिया सञ्चालकले बुझिदिने हो भने उनीहरुको गल्ती र कपीपेष्टको हद कतिसम्म छ भन्नेतर्फ एकैछिन नजर लगाउँदा ठिक होला ।  धेरैअघिदेखिका समाचार खोतल्नै पर्दैन । विहिवार जापानका अनलाइनमा एकदिन मात्रै देखिएका कपीपेष्टमा आधारित समाचार बारेमा एकैछिन चर्चा गरौं । 
सर्वप्रथम नेपाल जापान डटकम । “मैनाली मुद्धा पुनरावलोकन गर्न दिइएको निर्णयविरुद्धको रिटको फैसला मंगलबार” शिर्षकमा यहाँ एउटा समाचार प्रकाशित छ । सो समाचारको बाइलाइन अर्थात्  समाचार कसले लेखेको भन्ने ठाउँमा “नेपाल जापान डटकम सम्वाददाता” भनिएको छ । तर यही समाचार सोहि दिनको कान्तिपुरमा प्रकाशित छ । कान्तिपुरको शिर्षक चाहि “जापानी यौनकर्मी हत्याको अन्तिम फैसला हुने ” रहेको छ । शिर्षकमात्रै फरक तर, सम्पुर्ण समाचार अक्षरशः एउटै र समाचारका प्रमुख पात्र मैनालीको एउटै फोटो रहेकाले कान्तिपुर र नेपाल जापान डटकममा यो समाचार पढ्ने पाठकले सजिलै बुझ्छन् , कान्तिपुरबाट कपी गरेर यो अनलाइनले आफ्नो समाचार बनाउँदै पाठकलाई ठगेको हो । 
नेपाल जापान डट कममा प्रकाशित समाचार हेर्न यो लिंकमा क्लिक गर्नुस्  । 
नेपाल जापान डटकमले कपी गरेको कान्तिपुरमा प्रकाशित समाचार हेर्न यो लिंकमा क्लिक गर्नुस्  । 
अब कुरा गरौं, वीलभ नेपालको । यसलाई सोनाम शर्माले सञ्चालन गरिरहेका छन्  । “एक निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिन पाउने प्रस्ताव” शिर्षकमा प्रकाशित यो समाचार राष्ट्रिय समाचार समितिको हो । यो नेपालको सरकारी समाचार एजेन्सी पनि हो । यसले लेख्ने समाचार आम सञ्चारमाध्यममा पुनः प्रकाशनका लागि हो । तर राससका समाचार आफ्नो सञ्चारमाध्यममा राख्दा श्रोत रासस भनेर उल्लेख गर्नुपर्छ । यहि समाचार कान्तिपुरले पनि प्रकाशित गरेको छ, तर उसले पत्रकारिताको धर्म र मर्म निर्वाह गरेको छ । कान्तिपुरले जसरी नै वीलभ नेपालले पनि समाचारको श्रोत उल्लेख गरेर रासस लेखिदिंदा के विग्रन्थ्यो र ? भएको सबै समाचारका अंश कपीपेष्ट गर्नसक्नेले समाचारको श्रोत पनि उल्लेख गरिदिने हो भने उसले दिने अरु समाचार पनि विश्वसनीय बन्न सक्छन्  । 
वीलभ नेपाल डटकमले प्रकाशन गरेको समाचार हेर्न यो लिंकमा क्लिक गर्नुस् ।
वीलभ नेपाल डटकमले कपी गरेको कान्तिपुरमा प्रकाशित राससको समाचार हेर्न यहाँ क्लिक गर्नुस् 
यस्तै टोक्यो नेपाल डट कमको कुरा गर्ने हो भने पनि कोहिभन्दा कोहि कम छैनन् जस्तो लाग्छ । यहाँ एउटा समाचार छ,“श्रीमान्  पैसा कमाउने, श्रीमतीचाहि अर्कैसंग मोज गर्ने” । यो समाचार पनि राजधानी दैनिकबाट कपीपेष्ट गरिएको हो । सिन्धुपाल्चोकका पत्रकार दिनेश थापाले लेखेको यो समाचार राजधानीमा ११ गते “श्रीमान्  पसिना बगाउने, श्रीमतीचाहि रमाउने” शिर्षकमा प्रकाशित छ । राजधानीमा प्रकाशित समाचारको शिर्षक र समाचार काटछाट गरेर टोक्यो नेपालले आफ्नो बनाउन खोजेपनि यो समाचार टोक्यो नेपालको हुँदै होइन । समाचार दिने क्रममा उसले गरेको सानो असावधानीले यो पनि चोरी समाचार नै हो भन्ने लाग्छ । किनभने नाम परिवर्तन भनि समाचारमा उल्लेख गरिएको एकजना महिला पात्रको नाम राजधानी र टोक्यो नेपालमा एउटै छ, त्यो नाम हो रुपा । दुइवटा सञ्चारमाध्यमले प्रयोग गर्ने काल्पनिक नाम पनि कसरी एउटै भएको होला है । आश्चर्य लाग्छ भन्या । 
टोक्यो नेपाल डटकमले प्रकाशन गरेको समाचार हेर्न यो लिंकमा क्लिक गर्नुस् । 
टोक्यो नेपाल डटकमले प्रकाशन गरेको समाचार राजधानी दैनिकबाट यसरी काटछाट गरि तयार गरिएको हो । 
समुद्रपारि डट कम पनि कपीपेष्टको मामलामा कम छैन । नागपञ्चमीका दिन नेपालीले घरघरमा नाग टाँसे । तर समुद्रपारिले चाहि राससको नागरिकमा प्रकाशित “आज नागपञ्चमी” भन्ने समाचारलाई जस्ताको तस्तै समुद्रपारिमा टाँस्यो । समाचार श्रोतमा नागरिक दैनिक भन्न आवश्यक थिएन । तर राससको समाचारलाई हुबहु सारेर आफ्नै वाइलाइनमा समाचार प्रकाशन गर्नुलाई जायज मान्न सकिन्न । 
राससको समाचार नागरिकन्युजमा यसरी प्रकाशित भएको छ । जसलाई हेर्न यहाँ क्लिक गर्नुस् । 
तर समुद्रपारिले चाहि त्यही राससको समाचारलाई कपी पेष्ट गरेर यसरी नाग टाँसेझैं टाँस्यो । जसलाई यहाँ क्लिक गरेर हेर्न सकिन्छ । 


अब लागौं, जापानमा प्रकाशन भइरहेको एकमात्र छापा पत्रिकातर्फ । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य समेत रहेका भुषण घिमिरे जापानमा व्यवसायको अलावा पाक्षिक रुपमा नेपाली समाचार भन्ने पत्रिका पनि निकाल्छन्  । पाक्षिक रुपमा भएर पनि होला, तुलनात्मक रुपमा कपी गरिएका समाचार कमै मात्र आउँछन्  यसमा । तैपनि जापानका अनलाइनले अपनाउँदै आएको कपीपेष्टको रोग यो पत्रिकालाई पनि लागेको छ । रंगीन कलेवरमा आठ पेज प्रकाशन भएको यो पत्रिका पहिले साप्ताहिक रुपमा निस्कने गथ्र्यो । “अब पानी विना नै नुहाउन सकिने” शिर्षकमा अन्तर्राष्ट्रिय समाचार एजेन्सीले तयार पारेको समाचार नेपाली समाचारले पनि आफ्नो पत्रिकामा छापेको छ । नेस अर्थात् , नेपाली समाचार सम्वाददाता भन्दै काठमाडौंको वाइलाइनमा छापिएको यो समाचार पढ्दा समाचार उसैले तयार पारेको देखिन्छ । तर होइन । यो समाचार त समाचार एजेन्सीले तयार पारेको हो, जुन जेपीनेपाल डटकममा पनि प्रकाशित छ । शिर्षक र समाचार हुवहु एउटै रहेको यो समाचारको वाइलाइनमा नेस सम्वाददता नभनिकन एजेन्सी भनेको भए कति राम्रो हुनेथियो । 
समाचार एजेन्सीबाट प्राप्त जेपीनेपाल डटकममा प्रकाशित समाचार हेर्न यहाँ क्लिक गर्नुस् । 
एजेन्सीको समाचार नेपाली समाचारमा कसरी कपीपेष्ट भएको छ भन्नलाई यहाँ हेर्नुस् ।
यसो भनिरहँदा प्रवासमा पत्रकारिता गरिरहेकाले कपीपेष्ट मात्र गरिरहेका छन् भन्न पनि मिल्दैन । सम्बन्धित देशमा बसिरहेका नेपालीका गतीविधि र परोपकारी पत्रकारितामा पनि उनीहरु संलग्न छन्  । तर उनीहरुले दिने यस्ता समाचार निकै कम छन्  । नेपालमै पत्रकारिता गर्दागर्दैै जापान पुगेकाहरु पनि अनलाइन या छापामाध्यमबाट पत्रकारिताको पेशागत अस्तित्व धान्ने प्रयासमा देखिएको छ । जापान पुगेर पत्रकार बन्ने पनि यसरी नै अनलाइन चलाएकाहरु छन्  । उनीहरु पत्रकारितालाई माध्यम बनाएर अरु नै काममा संलग्न छन्  । जापानमा संचालित नेपाली मिडियाहरुलाई नेपालको प्रेस काउन्सिल, आचारसंहिता र प्रशासनले छुन सकेको छैन । उनीहरु कुनै सरकारी निकायमा दर्ता भएका पनि छैनन्  । पत्रकार बन्नका लागि चाहिने योग्यता, अनुभवको लेखाजोखा भएको पाइदैन । यसो भएपछि त्यहाँका मिडियाले नेपालमा झैं सेवा, सुविधा र सहुलियत पाउने कुरा पनि भएन । यद्दपि जापानमा पनि पत्रकार महासंघको शाखा छ । यसैले कपीपेष्ट पत्रकारिताले जापानमा पनि प्रश्रय पाएको रहेछ भन्ने लाग्छ ।
प्रेस काउन्सिलले प्रकाशन गर्ने संहिता द्धैमासिकमा ( http://www.presscouncilnepal.org/files/samita-8.pdf  ) पत्रकार अरुण बरालले प्रवासी पत्रकारिताको यो समयस्यालाई औंल्याएका छन्  । अधिकांश प्रवासी पत्रिकाले आफैं समाचार उत्पादन गर्नुको साटो नेपालका अनलाइन एवं अन्य सञ्चारमाध्यमका समाचार सामग्रीहरू हुबहु सार्ने गरेको समेत उनको बुझाइ छ । विशेष गरी अन्य सञ्चारमाध्यमका समाचार ‘कपी–पेष्ट’ गर्ने हरकतलाई नियमन गर्ने उपायको खोजी हुनु जरुरी भइसकेको उनी बताउँछन् ।
जापानमा बसेर नेपाली पत्रकारिता गर्नुको दुःख आफ्नो ठाउँमा छ । यो दुःख देखाएर गल्ती गर्दै जाने भन्दा पनि सवल र सक्षम पत्रकारिता गर्नतर्फ उन्मुख हुनु उत्तिकै आवश्यक हो । समस्या अहिले जापानमा मात्र छैन । अन्य देशमा यसरी पत्रकारिता गरिरहेकाले पनि जापानकै सिको गर्छन्  । अब भने सकेसम्म आफ्नै श्रोत र साधनबाट जति सकिन्छ त्यति समाचार उत्पादन गरेर पाठकसम्म पुर्याउन सके पत्रकारितामा आउन चाहने नयाँ ‘जेनेरेसन’ लाई फाइदा पुग्नेछ । यति सकिदैन र अरुबाटै समाचार नल्याइ मिडिया चल्न सक्दैन भने कमसेकम समाचारको श्रोत उल्लेख गरी ‘वाइलाइन क्रेडिट’ त दिनपरयो नि । यससंगै भइरहेको गल्ती सम्बन्धमा आम पाठकसंग क्षमा मागि स्वतन्त्र र निर्भिक समाचार खोज्न आफ् नै स्रोत साधन उपयोग गर्न जरुरी छ, प्रवासी पत्रकारका लागि । जापानमा मात्र होइन, अन्य देशमा छरिएर रहेका प्रवासी नेपालीहरुले सञ्चालन गरिरहेको मिडिया पनि कपीपेष्टमा आधारित भइसकेको छ । अरुका के कुरा गर्नु, नेपालमै रहेका मिडिया पनि यस कार्यबाट अछुतो रहन सकेका छैनन्। यसलाई सच्याउन पत्रकार आफैले इमान्दारिता देखाउनु आवश्यक छ । 

1 comment:

  1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

    ReplyDelete