• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, February 8, 2010

    च्यानल नेपालका जमिम शाहको गोली हानी हत्या

    उच्च सुरक्षाका बीच आक्रमणकारी फरार-दूतावासका सुरक्षाकर्मी गोली चलेको हेरेर बसे-

    'कमजोरी भयो':प्रहरी प्रवक्ता
    केपी ढुंगाना, काठमाडौं, माघ २५- उच्च सुरक्षा व्यवस्था रहेको लाजिम्पाटको बीच सडकमा टेलिभिजन सञ्चालक जमिम शाहको हत्या भएको छ। आइतबार मध्याह्न २:३५ बजे लाजिम्पाटमा रहेको फ्रान्सेली दूतावास नजिकै मोटरसाइकलमा आएका हतियारधारी आक्रमणकारीले उनी चढेको गाडीभित्रै गोली हानेर हत्या गरे। घटनामा उनका चालक समेत घाइते भएका छन्।
    बायाँ कञ्चट र बायाँ कोखामा गोली लागेका शाहको शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भयो भने बाँया तिघ्रामा गोली लागेका चालक मालाकार खतरामुक्त अवस्थामा उपचार गराइरहेका छन्।
    राष्ट्रपति निवास र प्रधानमन्त्री निवास सोही क्षेत्रमा रहेकाले उपत्यकाका अन्य क्षेत्रको तुलनामा लाजिम्पाट क्षेत्रमा सँधै उच्च सुरक्षा व्यवस्था गरिएको भए पनि आक्रमणकारीहरु प्रहरीको भीडबाटै सहजै फरार भए।
    करिब एक सय मिटरको पेरीफेरीमा चार वटा दूतावास छन्। घटनास्थलको २० मिटर पश्चिममा भारतीय र बेलायती दुतावास रहेको छ भने ५० मिटर उत्तरमा इजरायली दुतावास छ।

    घटनास्थलको १० मिटर अगाडि फ्रेन्च दूतावास छ। आइतबार बेलायती दुतावासमा बेलायती सेनाध्यक्ष आउने भएकाले सो क्षेत्रको सूरक्षा थप कडा थियो। दुतावासको सुरक्षामा नेपाल प्रहरीका तर्फबाट पाँच जना सुरक्षाकर्मी खटिएका हुन्छन्। घटना भएको क्षेत्रमा प्रहरीको तीन वटा बिट समेत छन्।
    यही गाडीमा सवार थिए जमिम शाह। तस्बिरः विजय राई
    आइतबार साढे तीन बजे उपराष्ट्रपतिको सपथका लागि काठमाडौंको सडक चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति थियो। सपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री माधवकुमार नेपाल लगायतका विशिष्ट पदाधिकारीहरु आउने भएकाले प्रहरीले सडकमा प्रहरीको बाक्लो उपस्थिति थियो।
    घटना भएको समय फ्रेन्च दूतावासको सुरक्षा पोष्टमा नेपाल प्रहरीका सुरक्षाकर्मी थिए। तर उनीहरुले कुनै प्रतिकृया जनाएनन्।
    प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका आक्रमणकारीले घटनास्थलमा करिब सात मिनेट समय बिताए र सहजै फरार भए। गोली हानेर मोटरसाइकलमा भाग्न खोज्दा मोटरसाइकल स्टार्ट नभएर उनीहरु अल्मलिएका थिए। सुरक्षाकर्मीको भीडबाट आक्रमणकारीहरु सहजै उम्किए।
    प्रत्यक्षदर्शीका अनुसार बा १५ प ८७३३ नम्बरको एफजेड मोडलको मोटरसाइकलमा आएका २ जना आक्रमणकारी कालो पोशाकमा थिए। दुबैले कालो रुमालले आफ्नो आधा अनुहार ढाकेका थिए। उनीहरु जमिम चढेको ना १ च २१५१ नम्बरको मित्सुविसी पजेरो नाघेर केही अगाडि मोटरसाइकल रोकेर जमिम नजिकै गएर उनको कोखा र कञ्चटमा गोली हानेका थिए। पोष्टमार्टमबाट जमिमको बायाँ कोखामा दुई र बायाँ कञ्चटमा १ गोली लागेको देखिएको छ।
    आक्रमणकारीले जमिमलाई गोली हानेपछि गाडी चालक मथुरामान मालाकारलाई पुनः गोली हानेर मोटरसाइकल चढेर पानीपोखरी हुँदै भागेका थिए।

    गोलीले प्वाल परेको गाडीको शिशा। तस्बिरः विजय राई
    प्रत्यक्षदर्शी सुर्यलाल महर्जनका अनुसार आक्रमणकारीले जमिममाथि गोली चलाइरहँदा फ्रान्सेली दुतावासमा खटिएका सुरक्षाकर्मी माथिबाट हेरेर बसिरहेका थिए। गोली चल्दा समेत उनले कुनै प्रतिकृया जनाएनन्। प्रत्यक्षदर्शी बनेर बसिरहे। गोली लागेर गम्भिर घाइते भएका शाहलाई बटुवाहरुले माइक्रोमा हालेर उपचारका लागि अस्पताल पुर्‍याएका थिए। चालक मालाकारलाई पनि बटुवाले नै उद्दार गरेर ट्याक्सीमा हालेर अस्पताल पुर्‍याएका थिए।

    घटनाका प्रत्यक्षदर्शी मर्हजनका अनुसार घटनाको समयमा सडक हल्का जाम भएको थियो। गाडिहरु सुस्त चलिरहेका थिए। शाह पजेरोमा ड्राइभरसँगै सिटमा बसेका थिए। गाडीको झ्याल खुल्ला थियो भने, उनले गाडीको सिसा लगाउन खोज्दै थिए। बाइकमा आएका २ जनामध्ये एक जना नजिकै गएर भटाभट गोली हाने।
    महर्जनका अनुसार बाईक जमिम चढेको गाडीभन्दा केही अगाडि रोकियो। आक्रमणकारी पुरै कालो पोशाकमा थिए। उनीहरुले आफ्नो मुख कालो रुमालले बाधेका थिए भने, कालो पाईन्ट र कालो ज्याकेट लगाएका थिए।

    गोली लागेर जमिम गाडीभित्रै ढलेपछि ती आक्रमणकारी फर्किएका थिए। बाइकमा बसिरहेका अर्को आक्रमणकारीले बाइक नारायणहिटीतिर फर्कन घुमाए। तर बाईक स्ट्राट भएन। बन्दुक बोकेका आक्रमणकारीले पुनः फर्किएर गाडीको अगाडिबाट गोली चलाए। बाइकमा सवार आक्रमणकारीले दोस्रो प्रयासमा बाइक स्टार्ट गरे अनी दुबै जना महाराजगञ्जतिर गए।

    प्रत्यक्षदर्शी अमित ढुंगानाका अनुसार गाडीबाट निकाल्दा नै शाह बेहोस थिए। उनको टाउको र जिउबाट रगत बगिरहेको थियो। माइक्रो चालकले शाहलाई शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याएपछि आकस्मीक कक्षमा राखिएको थियो। अस्पताल पुर्‍याउँदा गम्भिर अवस्थामा रहेका उनी आकस्मीक कक्षमै रहँदा मृत घोषित गरियो। चालक मालाकारको बायाँ तिघ्रामा गोली लागेको छ। अप्रेशन गरेर उनको गोली झिकेपछि उनी अहिले खतरामुक्त छन्।
    ढुंगानाका अनुसार गोली चलेर घाइते गाडिभित्रै हुंदा समेत कसैले रेस्क्यु गरेको थिएन। सबैजना वरिपरी झुम्मीएर बसिरहेका थिए। उनले भने 'गाडी सुस्त चलिरहेको थियो। एक्कासी गोली चलेको आवाज सुने। सबै गाडीहरु रोकियो। मेरो अगाडि माइक्रो बस थियो। के भएछ भनेर गाडीबाट बाहिर निस्कीए। नजिकै एक जना ट्राफिक प्रहरी थिए। एक जना प्रहरी दौडदै आए। वरिपरी मान्छेहरु झुम्मीए पनि घाइतेलाई गाडीबाट निकाल्न कोही तम्सिएका थिएनन्।' उनले अगाडि भने' ड्राइभरको सिटमा रहेको ब्यक्ति बोल्न सक्ने थियो। उसलाई तत्काल झिकेर ट्याक्सीमा हालेर पठायौं। घाइते एक जनामात्र होला भन्ठानेको अर्को सिटमा पनि मान्छे रगतमा लत्पतिएरको रहेछन। हतार हतार उनलाई पनि गाडीबाट निकाल्यौं। उनी होसमा थिएनन। सास पनि त्यत्ति चलेको थिएन। नजिकै निलो माइक्रो थियो। त्यसैलाई रोकेर उनलाई हालेर अस्पतालतिर पठायौं। त्यो बेलासम्म पनि अन्य प्रहरी घटनास्थलमा आईपुगेका थिएनन।'


    गोली लागेर शाह कारभित्रै ढलेका थिए। उनलाई माइक्रो बसमा राखी अस्पताल पुर्‍याइएको थियो। तस्बिरः विजय राई
    घटनामा संगठित समूह संलग्न
    सुरक्षाकर्मीहरुको बाक्लो भीडको बीचबाट अपराधी सहजै उम्किए पनि प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालयले आइतवार बेलुका उपत्यकाको सूरक्षा संयन्त्रको बारेमा समिक्षा गरेका छन। घटनाको समिक्षा गर्न प्रहरी प्रधान कार्यालयमा बसेको उच्च प्रहरी अधिकारीहरुको आकस्मिक बैठकले घटनामा उच्चस्तरको संगठित समूह संलग्न रहेको निष्कर्ष निकालेको छ।

    प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सात जना ब्यक्तिलाई पक्राउ गरेको छ। तर घटनामा उनीहरुको संलग्नता देखिएको छैन। स्रोतले भन्यो'यत्रो घटना घटाउने उनीहरुको बुता देखिंदैन , तर केही जानकारी पाईन्छकि भनेर सोधपुछका लागि पक्राउ गरेका हौं।'

    नाम उल्लेख गर्न नचाहने उच्च स्रोतका अनुसार प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानबाट आक्रमणकारीहरुले जमिमसंग केही समय कुरा गरेपछि बन्दुक निकालेर नजिकवाट गोली हानेको खुलेको छ। स्रोतले भन्यो घटनाको प्रकृति हेर्दा गोली निक्कै नजिकवाट हानेको पुष्टी हुन्छ।'

    प्रहरीले लामो समयको जमिमको दैनिकी पत्ता लगाएर आक्रमण गर्ने दिन र स्थान पहिलानै तय गरी योजनाबद्ध रुपमा आक्रमण भएको निष्कर्ष समेत निकालेको छ। स्रोतले भन्यो'घटनाको प्रकृतीले नै पुष्टी गर्छ यो सामान्य अपराधीको काम हैन। घटनामा उच्चतहका संगठीत अपराधीहरु संलग्न छन।'
    अनुशन्धानमा घटनामा ९ एमएम लाग्ने पेस्तोलको प्रयोग गरिएको पुष्टी भएको छ। जमिमलाई मार्ने उद्धेश्यले गाडिको बायां झ्यालवाट काखी र कञ्चटमा गोली हानेको र उनका चालकलाई घाइते बनाउन गाडिको अगाडिपट्टीबाट गोली हानेको देखिएको छ।
    घटनामा प्रयोग भएको मोटरसाइकल चोरीको भएको समेत पुष्टि भएको छ। घटनामा एफजेड मोडलको मोटरसाइकल प्रयोग भएको छ। तर यातायात व्यवस्था विभागमा सो नम्बर कामपा वडा-४ का रामकुमार राईको नाममा सुजुकी मोडल दर्ता छ।
    दरवारमार्ग प्रहरी प्रभागमा रहेको जमिम चढेको गाडिको अगाडिको सिसा चर्किएको छ भने विचमा एउटा मात्र प्वाल छ। गाडिको भित्र ह्यान्डब्रेकनिर रगत लागेको छ।

    प्रहरीले घटनाका प्रत्यक्षदर्शी समेत रहेका चालक मालाकारवाट घटनाको बारेमा महत्वपूर्ण जानकारी पाउने आशा गरेपनि उनले आफुलाई केही थाहा नभएको बयान दिएका छन।

    उपचारकाक्रममा अस्पतालमा रहेका मालाकारसंग प्रहरी टोलिले प्रारम्भीक बयान लिएको थियो। बयानमा उनले'गाडी सूस्त गतीमा रहेको बेलामा गोली हानिएको र आफु आत्तिएकाले केही थाहा नभएको बयान दिएका छन। उनले आक्रमणकारीहरुले मुख छोपेकाले चिन्न नसकेको बताएका छन।
    बैठकमा सहभागी स्रोतका अनुसार प्रहरी अधिकारीहरुले जमिममाथिको आक्रमणलाई २०५५ सालमा मारिएका मिर्जा दिलसादवेगको हत्यासंग जोडेर समिक्षा गरिएको थियो। २०५५ असार १५ गते बेलुका साढे सात बजे मित्रपार्क पछाडि रहेको घर जानेक्रममा मिर्जालाई गोली हानेर हत्या गरिएको थियो।
    अनुसन्धानकोक्रममा मिर्जाको हत्या भारतीय अन्डरबर्ल्डका कुख्यात अपराधी छोटा राजनले गरेको खुलेको थियो। प्रहरी अनुशन्धान रिपोर्टमा राजनको निर्देशनमा आठजना भारतिय नेपाल आएर २०५५ असार १५ गते मिर्जाको हत्या गरेको उल्लेख छ।

    मिर्जाको हत्याका अभियुक्त मञ्जित सिंह (मग्गा सरदार) मिर्जा मारिएको १३ महिनापछि मारिएका थिए। बब्लु श्रीवास्तव भारतिय जेलमा छन। अन्य भारतिय अभियुक्तहरु फरार छन। नेपाली अभियुक्तहरु साफिक अहमद खाँ, सुरेन्द्रकुमार भण्डारी, पुष्पराज गौतम र सतीश गौतम हिरासतमा छन।

    उच्च प्रहरीस्रोतका अनुसार जमिमको हत्यामा भारतिय अन्डरवल्डको संलग्नता रहेको आशंका गर्दै प्रहरीले हिरासतमा रहेका मिर्जाको हत्यामा संलग्न अभियुक्तहरुसंग सोधपुछ गरेको छ।


    अस्पतालमा शोकाकूल आफन्त। तस्बिरः विकास कार्की
    हामी झस्कियौँ : डिआइजी शर्मा
    प्रधान कार्यालयमा बसेको उच्च सूरक्षा अधिकारीको समिक्षा बैठकले समयमै सूचना सम्प्रेशण हुन नसक्दा आक्रमणकारीहरु प्रहरीकैविचवाट उम्कन सकेको निष्कर्ष निकाल्दै उपत्यकाको सूरक्षाको जिम्मा पाएको आयुक्तको कार्यालयवाट गल्ती भएको निष्कर्ष समेत निकालेको छ।

    घटनालगत्तै सो क्षेत्रमा रहेका प्रहरी अधिकारी र प्रहरी विटमा कार्यरत प्रहरीसंग घटनाको बारेमा सोधपुछ गरेको थियो। स्रोतका अनुसार विटमा कार्यरत प्रहरीले-गोली चलेको आवाज नसुनिएको' बताएकाले घटनामा साइलेन्सर जडित बन्दुक प्रयोग भएको आशंका गरिएको छ।
    स्रोतले घटना भए लगत्तै दुतावासको शुरक्षामा खटिएका प्रहरीहरु सक्रिय नभएको निष्कर्ष समेत निकालेको छ। स्रोतले भन्यो'सायद उनीहरुले आफ्नो कार्यक्षेत्र दुतावासको शुरक्षा मात्र हो भन्ने बुझेक्यारे, समयमै उनीहरु परिचालीत भएको भए नतिजा अर्कै हुनसक्थ्यो।'
    घटनाको बारेमा जानकारी लिन महानगरिय प्रहरी आयुक्त मदन खड्कासंग सम्पर्क राख्दा उनले बोल्नै चाहेनन। उनले भने'आज कुरा नगरौं म अपसेट छु।'

    प्रहरी प्रवक्ता विज्ञानराज शर्माले भने दिउसै गोली हानेर आक्रमणकारी सहजै फरार भएकाले उपत्यकाको सूरक्षा व्यवस्थाको बारेमा प्रहरी प्रधान कार्यालय झस्किएको बताए। उनले भने'दिउसै गोली हान्दा पनि आक्रमणकारीलाई ट्रयास आउट गर्न सकिएन यसमा पक्कै कमजोरी भएको छ।'

    कसले गर्‍यो जमिम शाहको हत्या?

    गिरीश गिरी/भोजराज भाटकाठमाडौं, माघ २५- जमीम शाहलाई नेपाल र भारतका सञ्चार माध्यमले दाउद इब्राहिम र पाकिस्तानी गुप्तचर संस्था आइएसआइसँग जोड्ने गरेका थिए। त्यस्तो आरोप किन लगाइयो भन्ने कहिल्यै जान्न नसकेको जमीमका दाजु मुकिम शाह बताउँछन्।
    'तर, हामी बारम्बार प्रताडित बनाइदै आयौं,' पानीपोखरीस्थित जमीमकै निवासमा भाइको शव छेउ उभिएका मुकिमले आइतबार नागरिकलाई भने, 'मिर्जा दिलसाद वेगको हत्याका बेला पनि प्रहरीले बोलाएर सोधपुछ गरेको थियो,
    कान्दाहारमा इण्डियन एयरलाइन्स अपहरणको बेला पनि बयान दिन जानु पर्‍यो, हुँदा हुँदा इराकमा नेपाली मारिएको बेला पनि हामीलाई लक्षित गरेरै आक्रमण गरियो।'
    केहि समयअघि जमीम स्वयंले दिएको आफ्नै टेलिभिजन च्यानललाई दिएको अन्तवार्तामा सञ्चार उद्योगमा लगानी भित्र्याएदेखि आफूमाथि यस्तो आरोप लाग्न थालेको बताएका थिए।

    सञ्चार व्यवसायमा हात हालेपछि धेरै 'इन्ट्रेस्ट' भएकाहरूसँग अल्भि्कनु पर्ने भएकाले आफूलाई त्यस्तै केन्द्रहरूबाट दाउद इब्राहिमसँग जोड्ने गरिएको उनले बताएका थिए
    नेपालमा पहिलो पटक तारमार्फत टेलिभिजन च्यानल प्रवाह गराउने 'स्पेसटाइम नेटवर्क' र निजी क्षेत्रको पहिलो टेलिभिजन 'च्यानल नेपाल' का मालिक जमीमले केहि वर्ष 'स्पेसटाइम दैनिक' र अंग्रेजीमा 'स्पेसटाइम टुडे' को प्रकाशन गरेका थिए। इराकमा नेपाली मारिएका कारण २०६१ साल भदौ १६ गते भएको आक्रमणपछि पत्रिकाको प्रकाशन स्थगित भएको थियो। त्यतिबेला सबैभन्दा बढी क्षति बेहोर्नु परेको बताउने जमीमले मीनभवनदेखि बागबजारसम्म आफ्ना सबै कारोबारमा एकैपटक गरिएको त्यो आक्रमणलाई नियोजित बताएका थिए।
    २०५२ सालमा स्पेसटाइम केबुल नेटवर्कको प्रकृया सुरु भएदेखि जमीम बढी चर्चामा आएका हुन्। बानेश्वरस्थित उनकै घरमा डेरा लिएर बस्ने विजय गच्छदार सञ्चार मन्त्री भएकै बेला उनले केबुलको लाइसेन्स मात्र पाएनन्, त्यो जारी गर्ने बेला सरकारलाई आउने पाँच वर्षसम्म अन्य कसैले त्यस्तो लाइसेन्स लिन नपाउने प्रावधान समेत लागू गराउन सफल भएका थिए। केबुलमा पछिल्लो समय एक सय १० करोड रुपैयाँको लगानी रहेको उल्लेख गरेका उनले त्यसमध्ये ७७ करोड रुपैयाँ बैंकको ऋण रहेको बताएका थिए। मुलुककै सबैभन्दा ठूलो दाबी गरिने उनको केबल नेटवर्कले अहिले काठमाडौंका अन्दाजी २८ हजार घरमा सेवा दिइरहेको छ।
    ४७ वर्षअघि काठमाडौंको ओटु टोलमा जन्मिएका रैथाने काश्मिरी मुश्लिम परिवारका सदस्य जमीम स्वयंले निकै अघि केहि लाख रुपैयाँ भन्सार छलेको स्वीकार गरेका थिए। 'तर आइएसआइ वा दाउदसँग जोडिएका मेरा कुरा पूर्णत गलत हुन्,' उनले अन्तर्वार्तामा भनेका थिए,'कसैले एक पैसा मात्र पनि विदेशी लगानी प्रमाणित गरिदिन्छ भने म व्यापारै छाडेर हिँड्न तयार छु।'

    कृषि अनुसन्धान परिषदमा महानिर्देशक र कृषि मन्त्रालयमा सह सचिवबाट अवकाश पाएका डा. मोइन शाहका तीन छोरामध्येका माहिला जमीम प्रारम्भमा पाइलट बन्ने इच्छा राख्थे। लेबोरेटरी हुँदै दरबार हाइस्कूलबाट एसएलसी गरेका उनी पाइलट पढ्नकै निम्ति ताइवान पुगेका थिए। बीचैमा पढाइ त्यागेर फर्केपछि उनले भिडियोका चक्काको व्यापार थाले। हङकङबाट चक्का मगाएर बेच्ने तथा भाडामा दिने त्यो व्यवसायसँगै उनले थोक व्यापारमा समेत हात हालेका थिए। त्यसपछि उनले स्पेसटाइम केबुल नेटवर्कमा लगानी गरेका हुन्। यसको निम्ति आफूले एक करोड ४८ लाख र बैंकबाट पनि एक करोड ४८ लाख नै ऋण लिएर काम थालेका थिए।
    'एकातिर मलाई दाउदसँग पैसा लिएको आरोप लगाउँछन्,' उनले भनेका थिए,'यता आफ्ना कर्मचारीलाई समयमा तलब दिन नपाएको देख्दा दुःख लाग्छ।'
    मुसलमान परिवारमा जन्मेको भए पनि आफ्ना ९९ प्रतिशत साथीसंगत हिन्दू भएको बताउँदै उनले भनेका थिए, 'म मन्दिरहरूले घेरिएको टोलमा जन्मे" र हुर्के", त्यसैले अहिले पनि प्रवचन सुन्न जान्छु।' उनले नेवार युवतीसँग प्रेम विवाह गरेका थिए। उनकी पत्नी इण्डोनेशियामा बहिनीसँग बस्दैछिन् भने एक्ला छोरा अमेरिकामा 'एनिमेसन फिल्म' पढ्दैछन्।
    दुई पटक हृदयाघात
    ४७ वर्षकै उमेरमा दुई पटक हृदयाघात बेहोरेका उनको नर्भिक र गंगालाल अस्पतालमा उपचार चलिरहेको थियो। 'पछिल्लो पटक भने ऊ स्वास्थ्यलाई लिएर निकै उत्साहित भएको थियो,' उनका व्यापारिक साझेदार तथा पुराना साथी बहादुरकृष्ण ताम्राकारले भने, 'अस्ति भर्खर मलाई फोन गरेर आफू २० वर्षको उमेर जस्तै तन्नेरी महशुस गर्न थालेको बताएको थियो।'
    आफ्नो समस्या हत्तपत्त कसैलाई नसुनाउने बानी भए पनि पुरानो साथी भएकाले उसका कुरा थाहा पाउने गरेको ताम्राकार बताउँछन्। 'तर, यो आक्रमणको उसलाई रत्तिभर जानकारी थिएन,' उनले भने, 'नत्र मैले संकेतसम्म भए पनि पाउथे।'
    जमीमका अर्का साथी बसन्त भट्टराइका अनुसार उनलाई बिना प्रमाण दाउद र आइएसआइसँग जोडेर धेरै दुःख दिइएको थियो। 'आजै मलाइ १२ बजे घरमा बोलाएको थियो तर, मेरी बहिनीको बिहे परेकाले आउन नसक्ने बताएको थिए,' भट्टराईले भने, 'शायद म आइदिएको भए उसको ज्यान जोगिने थियो होला।'
    आफ्ना पिता र भाइ मसुदका साथ जमीम आइतबार घरबाट निस्केका थिए। गाडीले उनलाई याक एण्ड यती होटलमा छाडेपछि पिता र भाइलाई पुननिर्माण हुँदै गरेको बागबजारस्थित घरमा छोड्न गएको थियो। प्रायः याक एण्ड यती होटलको क्लबमा गएर समय बिताउने जमीमलाई लिन फेरि गाडी पुगेको थियो। होटलबाट घर जाँदै गर्दा उनीमाथि प्रहार भएको थियो। तिघ्रामा गोली लागेका चालक भने घाइते छन्।
    'ड्राइभरलाई गोली लाग्यो भन्ने सुनेर म दौडादौड शिक्षण अस्पताल पुगेको थिए,' जमीमका दाजु मुकिमले भने,'तर, त्यहाँ त मेरै भाइ देखेँ त्यो पनि चिकित्सकले मृत घोषित गरिरहेको अवस्थामा।' भाइको हत्या कसले र किन गर्‍यो भन्ने बुझ्नै नसकेको उनले सुनाए। 'न कसैलाई नराम्रो गरेको थियो न त कसैसँग रिसइवी थियो,' उनले भने, 'सहयोगी भावनाको मेरो भाइलाई कसले र किन हत्या गर्‍यो भन्ने थाहा नपाउँदा थप यातना महशुस भइरहेको छ।'
    सुनसान च्यानल नेपाल
    हत्याको जानकारी पाएपछि के गर्ने कसो गर्ने भन्ने अलमलमा परेको च्यानल नेपालका कर्मचारीले बताए। हत्तपत्त सबै कार्यक्रम रोकेर प्रवन्ध निर्देशक शाहको तस्बिरसहित समवेदना देखाउन थालेको सात वर्षदेखि कार्यरत सदिपमान सिंहले बताए। 
    कार्यालय परिसरमा पत्रकार तथा कर्मचारी स्तब्ध देखिन्थे। त्यस्तै समस्या कार्यक्रम लिएर आउनेहरूको पनि थियो।

    'बेलुकी छ बजे प्रसारण हुने कार्यक्रमको क्यासेट बुझाउन आएको थिए,' मनोरञ्जक कार्यक्रम 'लोकमाला' का निर्माता निर्देशक टीका लोकान्द्री अँध्यारो अनुहार पारेर भन्दै थिए,'यहाँ आएर घटनाबारे सुन्ने बित्तिकै क्यासेट बोकेरै फर्किन लागेको छु।'
    निजी टेलिभिजन च्यानल सञ्चालकहरूले हत्याको भर्त्सना गर्दै यसले सञ्चार क्षेत्रमा लगानी गर्नेलाई आतंकित पारेको बताएका छन्।  

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete