• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, January 5, 2010

    टीकाको साहसलाई सलाम!

    मेनुका बस्नेत
    जनकपुरकी पत्रकार उमा सिंहको हत्याको वर्ष दिन नपुग्दै रुकुममा टीका बिष्टको हातका औंला चिरिए। कलमका बैरीले बिष्टले देहत्याग गरिसकेकी ठानेका थिए, तर सौभाग्यवश भीरपखेरामा मूर्छित रगताम्य शरीरमाथि गाउँलेको आँखा पर्‍यो र उनी बाँचिन्। कलम चलाएकै कारण यो नियति भोगेकी पत्रकार बिष्टको मैले हिम्मत हारेकी छैन, बाँचुन्जेल कलम चलाइरहन्छु भन्ने साहसलाई सलाम!
    पत्रकार सधैँ निडर र निर्भीक हुन्छन् र हुनुपर्छ, तर अहिले देशको परिस्थिति त्यस्तो छैन। त्यसै पनि चुनौतीपूर्ण यो पेशा पछिल्लो समयअसुरक्षित समेत छ। पत्रकार र पत्रकारिता जहिले पनि स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्ने पाठ पढेका पत्रकारहरू लेखेकै भरमा कुनै पनि बेला आक्रमण, अपहरण र हत्या हुनसक्छ भन्ने त्रासका बीचबाँच्न विवश छन्। स्वतन्त्र पत्रकारिताको नारा जति लागे पनि स्वतन्त्र भएर लेख्न सहज छैन। यो पीडा राजधानी बाहिर दूरदराजमा रहेर काम गर्ने पत्रकारले झ्नै बढी बेहोर्नु परेको छ।
    देश पुनर्संरचनाको मोडमा भएका बेला पत्रकारले निर्वाह गर्नुपर्र्ने जिम्मेवारी र दायित्व धेरै छन्। तर, हातहरू तरबारले काटिन र औंलाहरू ब्लेडले चिरिन थालेपछि कसरी चलाउने कलम, कसरी गर्ने स्वतन्त्र र निष्पक्ष पत्रकारिता? अहिले पत्रकारले आफ्नो धर्म निर्वाह गर्न पनि धेरै पटक सोच्नुपर्छ। कुनै कुनै घटनाबारे लेख्नुअघि प्रतिक्रिया कस्तो आउँछ भन्ने पूर्वानुमान गरेर आफूलाई सेन्सर गर्नुपर्ने बाध्यता छ। अधिकांश (हरेक नै भने पनि फरक पर्दैन) विकृति र विसङ्गतिका पछाडि कुनै न कुनै रूपमा राजनीतिक दलको संरक्षण वा संलग्नता देखिन्छ। त्यो दल मावादी छ भने त त्यस्तो विषय उठाउने हिम्मत कमैले गर्छन्। किनभने, मर्नु कसैलाई छैन।
    डेकेन्द्र थापादेखि शुरु भएको मोफसलका पत्रकारमाथिको आक्रमण वीरेन्द्र साह, उमा सिंह हुँदै टीका बिष्टमा आइपुगेको छ। अहिलेसम्म यी कुनै घटनाका अपराधीमाथि कारबाही भएको छैन। दण्डहीनता यति मजबुत छ, मुलुकमा सरकार छ/छैन, कानुनले काम गर्छ/गर्दैन थाहा हुन छाडिसकेको छ। दुर्घटनामा परेपछि समवेदना प्रकट गरिदिने बाहेक पत्रकारको सुरक्षाको कुनै ग्यारेन्टी छैन। लेखेपछि आक्रमणमा परिने भयले मावादीले सुकुम्बासीको नाममा गरिरहेको जग्गा कब्जाकोसतही समाचार मात्र आइरहेका छन्, अन्तरवस्तु आउन सकेको छैन। उनीहरूका गलत कार्यलाई सबैले सामान्य रूपले लिएको होइन, तर हात नचिरियोस् र मुख बन्द नगरियोस् भन्ने त्रासकै कारण सत्यतथ्य बाहिर आउन नसकेको हो।
    आफ्नो तारिफ बाहेक केही पढ्न/सुन्न नचाहनेमावादी प्रवृत्तिबाट पत्रकारहरू कतिसम्म आतङ्कित छन् भन्ने कुराको पछिल्लो उदाहरण हुन्- पत्रकार विक्रम गिरी। सुदूरपश्चिम महोत्सवमा किन फेरिए प्रमुख अतिथि भन्ने समाचार लेखेका उनले धनगढीबाट रातारात भागेर महेन्द्रनगर आई ज्यान जोगाउनु पर्‍यो। शेरबहादुर देउवाले गर्ने भनिएकोे महोत्सवको उद्घाटन आयोजकलाई धम्क्याएर प्रचण्डबाट गराइएको तथ्य बाहिर ल्याएकोमा मावादीका स्थानीय नेताले कारबाहीको धम्की दिएपछि उनी भागेका थिए। मावादीहरू आफूविरुद्ध उभिने पत्रकारलाई तर्साएर, मारेर आफ्नो पक्षमा समाचार लेखाउन वा वास्तकिता बदल्न सकिन्छ भन्ने ठानिरहेका छन्।
    अहिले मावादीहरू पत्रकारिताको परिभाषा नै फेर्दैछन्- आफ्नो अनुकूल भए जनपत्रकारिता नभए प्रतिगामीकारिता! कुनै न कुनै पार्टीको छातामुनि नबसे पत्रकारहरू सुरक्षित हुने अवस्था छैन। प्रेस चौतारीमा हुने पत्रकारको युथ फोर्सले, प्रेस युनियनमा हुनेको तरुण दलले, क्रान्तिकारी पत्रकारको वाईसिएलले सुरक्षा गर्लान्; तर कसैको छातामुनि नभएका स्वतन्त्र र व्यावसायिक पत्रकारको सुरक्षा कसले गर्ने?यस्तो त्राहिपूर्ण वातावरणको असर भर्खर यो क्षेत्रमा उत्साहपूर्वक आइरहेका महिलाहरूमाथिअझ् बढी छ। पत्रकारितामा आउन र आए पनि प्रतिबद्ध भएर टिकिरहन नसकेका महिलामाथि एकपछि अर्को आक्रमण र हत्या हुन थालेपछि परिवारले पनि उनीहरूलाई यो पेशामा आउन रोक लगाइरहेका छन्।
    मावादी र तराईका सशस्त्र समूहको त्रास, मुलुकको दण्डहीनता, सरकारको अक्षमताले पत्रकारलाई स्वतन्त्र रूपमा कलम चलाउन नदिएको हो। डेकेन्द्र थापाका अपहरणकारी र हत्यारालाई कारबाही भएको भए वीरेन्द्र साह, उमा सिंहले मर्नुपर्ने, टीकामाथि आक्रमण हुने, विक्रम गिरीले धम्की खानुपर्ने थिएन; कलम चलाउनेले तरबार चलाउनेसँग डराउनुपर्ने थिएन, संचारकर्मीले हत्केलामा ज्यान राखेर काम गर्नुपर्ने थिएन। तैपनि पत्रकार यी चुनौतीको सामना गर्दै अग्रमोर्चामा रहेर तथ्यसत्य समाचार प्रवाह गरिरहेका छन् र गरी नै रहने छन्, डरले पत्रकारले लेख्न छाड्दैनन् र छोड्न पनि हुँदैन। उनीहरूका कलम काँप्लान्, तर अक्षर सग्लै हुने छन्।
    (बिष्ट महेन्द्रनगरबाट प्रकाशितपश्चिम नेपालदैनिकका अतिथि सम्पादक हुन्।)

    No comments:

    Post a Comment