• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, January 19, 2010

    चार पेग रक्सीको कमाल : अंगालोमा प्रचण्ड र माधव

    राजेन्द्र फुयाल

    नेपाली राजनीतिमा चर्चामा आइरहने यी चार पात्रबीच आपसमा गजबको सम्बन्ध छ । फरक फरक दल, दलभित्र पनि परस्परविरोधी ध्रुवमा उभिएका भनेर चिनिन्छन् उनीहरू । यद्यपि यो धु्रवीकरण स्थायी होइन, परिस्थितिअनुसार फेरिइरहन्छ । सार्वजनिक रूपमा एकअर्काको कटु आलोचना गरे पनि गोप्य जमघटमा भने उनीहरू मजैले खुल्छन् । तस्बिरले पनि त्यस्तै देखाउँछ ।
    माओवादी अध्यक्ष पुष्पकमल दाहालले गत पुस ७ मा बानेश्वरमा सरकार र सत्तारूढ दलहरूलाई 'नोकर' र नयाँदिल्लीलाई 'मालिक' को संज्ञा दिँदै चर्को भाषण गरेकै साँझ प्रधानमन्त्री माधवकुमार नेपालले धुम्बाराहीमा मिलाएको रात्रीभोजमा खिचिएको तस्बिर हो यो । एक एमाले शुभेच्छुकको घरमा आयोजित भोजमा नेपालसाथ एमाले महासचिव ईश्वर पोखरेल थिए भने दाहालसँग वरिष्ठ उपाध्यक्ष मोहन वैद्य । 
    भोलिपल्ट संसदमा प्रधानमन्त्री नेपालले अध्यक्ष दाहाललाई एउटा सानो पोका दिए । के थियो त्यसमा ? अन्य धेरैलाई जस्तै सभामुख सुवास नेम्बाङलाई पनि खुल्दुली भयो । पछि थाहा भयो, त्यो रहेछ अघिल्लो साँझ धुम्बाराही भोजमा छुटेको दाहालको चस्मा ।
    दाहाल र नेपालको सम्बन्ध नयाँ होइन । माओवादीविरुद्ध संकटकाल र 'रेडकर्नर नोटिस' जारी भएका बेला पनि दाहालसँग वार्ता गर्न नेपाल आफैं कहिले भारतको सिलीगुडी पुग्थे त कहिले लखनउ । खुला राजनीतिमा पनि उनीहरूको सम्बन्ध कहिले सौहार्द देखिन्छ त कहिले तिक्त । व्यक्तिगत रूपमा एकअर्काप्रति नरम हुँदाहुँदै पनि संविधानसभा निर्वाचनमा उनीहरूको सहकार्य सम्भव भएन । दाहाल प्रधानमन्त्री हुँदा नेपाललाई बालुवाटार जानु परेन, बरु दाहाल कोटेश्वर जाने गरे । अहिले दाहाल बालुवाटार जाँदैनन्, नेपालले पनि बाहिरै कतै उनलाई भेट्ने गर्छन् । 
    दाहालकै प्रस्तावमा नेपाल चुनाव हारेर पनि संविधानसभा सदस्य भए, जसको परिणाम अहिले प्रधानमन्त्री छन् । तर जब प्रधानमन्त्री बने, सार्वजनिक रूपमा दाहालले 'हरुवा' भन्दै हुर्मत लिइरहेका छन् । संवैधानिक समितिको सभापतिको प्रस्ताव गर्ने पनि दाहाल नै हुन् । पछि उनले नेपाललाई 'अमृत भनी रोपेको विष परेछ' भन्न पछि परेनन् । 
    पार्टीभित्र दाहालका गुरु हुन् वैद्य । तत्कालीन मशालको विवादास्पद 'सेक्टर कान्ड' मा सबै नेताको एक तह घटुवा गर्ने निर्णयसँगै २०४६ सालमा तत्कालीन महामन्त्री वैद्यलाई प्रतिस्थापन गरेका थिए दाहालले । त्यसयता उनी कहिले वैद्य निकट हुन्छन् त कहिले टाढा । पार्टी संगठनमा बलियो पकड राख्ने वैद्य दाहालको व्यक्तित्व र नेतृत्व कौशलको खुलेर प्रशंसा गर्छन् तर कार्यनीतिक मुद्दामा प्रायः अलग धारको नेतृत्व गर्छन् । गत वर्ष मंसिरमा फरक प्रतिवेदन पेस गरी चुनौती दिएका वैद्य हाल भने शीर्ष बैठकमा दाहालसँगै जान्छन् ।
    माओवादीभित्र अनुदारवादी छवि बनाएका वैद्य व्यक्तिगत रूपमा नेपाललाई नराम्रो ठान्दैनन् । नेपाललाई राष्ट्रपति बनाउने पक्षमा आफूहरू भएको तर एमालेकै नेतृत्वले त्यसो हुन नदिएको टिप्पणी वैद्यले गरिसकेका छन् ।    
    प्रधानमन्त्री नेपालका पुराना सहयोगी र विश्वासपात्र हुन्, महासचिव पोखरेल । नेपालले १५ वर्ष पार्टीको नेतृत्व गर्दा संगठनमा पोखरेल नजिक थिए । नेपालले पार्टी प्रमुखबाट राजीनामा गरेपछि भने उनी पार्टी अध्यक्ष झलनाथ खनाल नजिक पुगे । तर व्यक्तिगत रूपमा प्रधानमन्त्री नेपालसँग पनि उत्तिकै घनिष्ठ छन् । अध्यक्ष खनाल बिरलै देखिने बालुवाटारमा पोखरेल झुल्किरहन्छन् । किनभने नेपालले महत्त्वपूर्ण परामर्शहरूमा प्रायः उनैलाई सहभागी गराउँछन् ।

    No comments:

    Post a Comment